~मीनराज ज्ञवाली~
शान्ति!
तिमी कहाँ छ्यौ?
कुन रूपमा छ्यौ?
तिम्रो अनुपस्थितिमा
यहाँ अशान्ति बढेको छ
इज्जत जोगाउनै गाह्रो परेको छ
म एक्लिएको छु
निसासिएको छु
त्यसैले
शान्ति तिमी छिट्टै आऊ ।
हुन त मलाई थाहा छैन
तिमीसँग मेरो के साइनु पर्छ भनेर
तर तिम्रो न्यानो सानिध्यता
मलाई अझै याद छ
यदि तिमी
मेरो पनि हजुरआमा हौ भने
आफ्ना नाति नातिनीहरूलाई
हठी हुनबाट रोक्न
स्वार्थी र सङ्कीर्ण हुनबाट रोक्न
हत्या, हिंसा अनि अपहरणको
कुबाटोमा हिँड्नबाट रोक्न।
यदि तिमी
मेरो पनि आमा हौ भने
रातौं-रात षडयन्त्रको जालो बुन्ने
तिम्रा छोराछोरीहरूलाई सम्झाइदेऊ
षडयन्त्र कति घातक हुन्छ भनेर
नाङ्गो नाटक नखेल भनिदेऊ
अहिले उनीहरूको आँखालाई
मोतिबिन्दुले ढाकेको छ
त्यसैले हे आमा
उनीहरूको आँखा उपचार गरिदेऊ
आफ्नो-पराई चिनाइदेऊ।
यदि दिदी हौ भने
आऊ माइती
र बस बहिना, भाइ र बुहारीसँग,
आपसमा खिचातानी र षडयन्त्र
गर्न हुन्न भनिदेऊ
त्यसो गरे के हुन्छ बताइदेऊ
मलाई विश्वास छ
उनीहरूले तिम्रो कुरा मान्नेछन्
परिवारमा एकता र खुसी छाउँनेछ
तिम्रो माइत
ठूलो दुर्घटनाबाट बच्नेछ।
बहिनी हौ भने
के हेरेर बसेकी छ्यौ?
कमसेकम वर्षको एकपटक
तिहारमा टीका त लगाइदेऊ
दाजु भाउजू र दिदी भिनाजुबीचको
अविश्वासको खाडल पुरिदेऊ
राक्षसलाई रोक्न सक्ने तिमी
अशान्तिलाई रोक्न किन अघि नसरेकि?
अब त अशान्तिलाई रोक्न अघि सर
एकता र भातृत्वको माला गाँस्न अघि सर
आँगनमा मखमली सजाऊ
हरेकको तन र मनमा
मखमली बास पनि छाऊ
अनि आफ्नो परिवारलाई बचाऊ।
भन त शान्ति तिमी को हौ?
कतै माइजु त होइनौ?
यदि हौ भने हेर त
कसैले फ्याँकेको टुक्रामा
कसरी लुछाचुँडी गर्दैछन्
तिम्रा भाञ्जा भाञ्जीहरू
अलि आकर्षक दक्षिणा फ्याँकिदेऊ त
कसरी झुम्मिन्छन् तिनीहरू
के तिमी यही चाहन्छ्यौ?
हैन भने
आऊ र केही गर।
ए फूपु पो सम्झेकि?
शायद त्यसैले होला तिमीलाई
यहाँ आउन गाह्रो भा’को
पाइला यता नसरेको
भदा र भदैले लगाएको तगारो देखेर
तर
के तिमी अझै तमासा हेर्छौ त?
तिम्रा भदा र भदै आफै सिद्धिए भने
कस्लाई तिमी भदा भन्छौ?
कस्लाई तिमी भदै भन्छौ?
के तिमी
रगतको साइनु बिर्सेर
फगतको साइनु खोज्दै हिँड्छौ?
हैन भने
तगारो पन्छाएर भए नि आऊ
एक पटकका लागि भए नि आऊ
तिम्रो आगमन
सबैलाई पक्कै पनि नबिझाउला
सबैलाई पक्कै पनि नगन्हाउला
त्यसैले तिमी आऊ
उनीहरूलाई बचाऊ
र जाने बेला
अलिकति सुवास छर्केर जाऊ।
हजुर, भाउजु पो?
ओहो! बुझी नसक्नु छ दुनियाँ
तिमी भाउजु भइसक्यौ?
नाचगान त असाध्यै राम्रो छ रे
हिजो-आज तिमीलाई के हुँदैछ?
नन्द र देवरहरू कुस्ती खेल्दा पनि
मूकदर्शक बनिरहन्छौ,
रगतको खोलो बेगको हेरिरहन्छौ
हैन तिमी कति निष्ठुरी बनेकी?
यदि तिमी भाञ्जी हौ भने
अनि किन आउँदिनौ यहाँ मावली?
के तिम्रो यहाँ कोही छैनन्?
यदि तिमी छोरी हौ भने
बाबु आमाको ईज्जत जान थालिसक्यो
तिमी किन टाढा?
तिमी छिटो आऊ यहाँ
आफ्नो सम्बन्ध गाढा बनाऊ।
साँच्चै शान्ति तिमी
नातिनी हौ र?
यदि हौ भने
बाजे बज्यै डाँडामाथिको घाम भैसके
बाबा-आमा झगडामा व्यस्त छन्
काका-काकीको अवस्था पनि उस्तै छ
दिदी र दाजुहरू पनि उस्तै छन्
कोही कम छैनन्
हिजो तिम्रो घर
शान्ति र एकताको घर थियो
आज इर्स्या र झगडाको घर भएको छ
कतै तिम्रो निश्चल हाँसो र निष्पाप बोलीले
उनीहरूको मन पग्लिन्छ कि?
कतै तिम्रो छुनुमुनुले
अलिकति शान्ति ल्याउँछ कि?
त्यसैले तिमी आऊ।
अब त
हेर्न पनि नसकिने भो
सुन्न पनि नसकिने भो
पन्छाउन पनि नसकिने भो
बिर्सन पनि नसकिने भो
अब त अति भो
त्यसैले, प्रिय शान्ति…
अब तिमी छिटो आऊ
आफ्नै जन्म घर आऊ,
पराईको भर नपर
दिल्ली र न्यूयोर्कमा के छ र?
जे छ आफ्नैमा छ
जो छन् आफ्नै छन्
जे गरिन्छ आफ्नैका लागि गरिन्छ
त्यसैले
मैले एक कदम बढाएँ
तिमी पनि एक कदम बढाऊ
आऊ मिलाऊ हाम्रा हातहरू।
२०६६/१०/१४
(स्रोत : “लालीगुराँस” बिद्युतीय साहित्यिक पत्रिका – अङ्क २, फेब्रुअरी २०१०)