कथा : नेपाल हुनु त यस्तो पो हुनु

~श्रुणुति सिंह~Shrunyuti Singh

आज वर्षौपछि म नेपाल फर्कँदैछु। म अति खुसी छु। खै, म कसरी बताऊँ। यसलाई अभिव्यक्त गर्ने मसँग कुनै शब्द नै छैन। जे होस् म अकल्पनीय खुसीले मात्तिएकी छु। मलाई कता-कता लागिरहेको छ- मेरो जन्मभूमिमा धेरै परिवर्तन आएको हुनुपर्दछ। जताततै परिवर्तन आइरहेको बेला नेपालमा चाहिँ परिवर्तन नआओस् पनि कसरी? साँचो अर्थमा भन्ने हो भने नेपालमा पनि धेरै परिवर्तन भएको म देख्न चाहान्छु। तरपनि, आफूले विताएका हरेक पल ताजा गराउन सकियोस् भन्ने लोभले होला, मैले देखेका, भोगेका र विताएका ठाउँ र परिवेश आज पनि जस्ताको तस्तै भइदिउन भनेर म भित्रभित्रै कामना पनि गरिरहेकी छु। मनभित्रका यी दुई परस्पर विरोधी विचारहरूबीच मल्लयुद्ध चलिरहेको छ। मेरो परिवार, आफन्तहरू, साथीभाइ र छिमेकीहरू कस्ता-कस्ता भए होलान्? को-को के-के गरिरहेका होलान्? मनमा अनेक विचार र प्रश्नहरू उठिरहेका छन्। देश फर्किएको यो पल मेरा लागि कहिल्यै नमेटिने कौतुहलै कौतुहलको विषय बन्न पुगेको छ। शायद यसैले होला पट्यारलाग्दो लामो यात्राभन्दा पनि नेपाल पुग्नुअघिको केही क्षण विताउन मलाई हम्मे-हम्मे परेको छु। म घरीघरी विमानको घडीलाई नियाल्दै प्रत्येक सेकेण्डलाई बडो मुस्किलले बिताइरहेकी छु। यस्तो पनि हुँदो रहेछ।

नभन्दै विमानले नेपालको धर्ती छोयो। ”मेरो प्यारो काठमाण्डौं…” लामो श्वास फेर्दै म काठमाण्डौंलाई आफ्नो अङ्गालोमा बेर्छु। म विमानबाट निस्कन पालो कुरिरहेकी छु। लौ, पालो पनि आयो, म विमानबाट ओर्लन हुत्तिएँ। ओर्लिनुअघि मैले विमानको भ-याङ्गबाटै चारैतिर हेरेँ। विमानस्थल त निक्कै ठूलो पो भैसकेछ। चारैतिर ठूला-ठूला विमानहरू देखेँ। ”ओहो! नेपालमा पनि अन्तरराष्ट्रियस्तरका थुप्रै विमानहरू आउन थालेछन्” मेरो मुखबाट अचानक वाक्य फुट्यो। खुसीले रमाउँदै म विमानबाट ओर्लेँ। त्यहाँ हामीलाई वस कुरिरहेको रहेछ। म बसमा चढेर आगमन क्षेत्रतिर लागेँ।

”वाह! विमानस्थलको व्यवस्थापन” मेरो मुखबाट अनायासै अर्को वाक्य पनि फुट्यो। पहिले र अहिलेको विमानस्थलको रूप र ब्यवस्थापनमा आकास-जमिनको फरक पाएँ मैले। आवश्यक देखिएका सबै ठाउँमा सबैले बुझ्ने गरी सङ्केतहरू राखिएका थिएँ। खटिएका कर्मचारीहरू पनि निक्कै हँसिला, फूर्तिला र सहयोगी रहेछन्। एकछिन त मलाई यो विमानस्थल काठमाण्डौको त्यही कुरूप र लथालिङ्गे विमानस्थल हो जस्तो नै लागेन। हतार-हतार झोलाबाट क्यामेरा निकालेर काठमाण्डौमा पहिलोचोटी आएको पर्यटकले जस्तो गरी म एकपछि अर्को फोटो खिच्नतिर लागेँ। एकछिन त मलाई त्यहीँ फोटोमात्र खिचिरहूँ जस्तो लाग्यो तर परिवारसँग चाँडोभन्दा चाँडो भेट गर्ने लालसाले मलाई त्यहीँ रोक्न दिएन। मनलाई गाँठो पारेर म विमानस्थलबाट वाहिर निस्कने तरखरमा लागेँ। आगमन कक्षमा सबैजना लामबद्ध भएर आफ्नो पालो कुरिरहेका थिए, म पनि त्यसैमा मिस्सिए। मैले दायाँ बाँया हेरेँ-विदेशबाट नेपाल फर्किएका नेपालीहरू विमानस्थलको प्रगति र ब्यवस्थापन देखेर खुसी साटासाट गरिरहेका थिएँ। यो देखेर विदेशीहरू पनि वाह! वाह! गरिरहेका थिए। म भने मनमनै गदगद भैरहेकी थिए। जाँचस्थलमा मेरो पालो पनि आयो।

एकजना गहुँगोरी महिलाले मलाई भनिन्, ”नेपालमा तपाइँलाई स्वागत छ।”

मैले मनमनै भने, ”आहा! कति मीठो बोली!!” मैले उसलाई त्यसवापत धन्यवाद दिएँ। आफ्नो पासपोर्टको काम सकिने वित्तिक्कै ती महिलालाई पुनः धन्यवाद दिँदै म त्यहाँबाट समान लिने ठाउँतिर लागेँ। सामान पनि छिट्टै र सजिलै आइपुग्यो।

सामान लिएर म बाहिर निस्केँ। कता-कता मलाई उही पूरानो नामले बोलाए जस्तो लाग्यो। नभन्दै एक-एक गरी परिवारका सबै सदस्यहरू मैले आफू अगाडि पाएँ। साइनो अनुसारको ढोगभेट, नमस्कार, आशिर्वाद, आलिङ्गन, हाँसो र भलाकुसारीसँगै हामी घर जाने तरखरमा लाग्यौं। यसो हेरेँ, सबैको आ-आफ्नै गाडी रहेछन्। कुन गाडीमा बस्ने भनेर एकछिन त म अकमकिएँ, तै पनि एउटामा पसिहालेँ। गाडी गुड्न थाल्यो। गाडीमा रहेकाहरूले मलाई मेरो प्रगति बारे सोधे मैले चाहिँ उनीहरूको प्रगति बारे सोधेँ। एक अर्काको प्रगति बारे वातचित हुँदै थियो त्यत्तिक्कैमा मेरो बोली एकाएक बन्द भयो। मेरो ध्यान गाडी बाहिरको दृश्यले तान्यो। काठमाण्डौ त मैले छाडेको जस्तो रहेन छ। म कुनै विरानो बाटोमा गैरहेको छु जस्तो लाग्यो मलाई। हुन पनि हो, हामी नेपालको कल्पनै गर्न नसकिने राजमार्गमा गैरहेका थियौं। मूल र सहायक सबै बाटाहरू खुल्ला र व्यस्त थिए। एकछिनपछि गाडी राजमार्गबाट भित्री बाटोतिर लाग्यो। अचम्मको कुरा त त्यो बाटो पनि जाने दुई र आउने दुई गरी चार पङ्तिमा विभाजित थियो। बाटाका दुबैतिर रूखहरू थिए। दुबैतिर मान्छे हिँड्ने र साइकल चलाउने पेटीहरू थिए।

विहानको समय भएर होला कोही जगिङमा त कोही किनमेल गरेर फर्केका जस्ता देखिन्थे। कोही कामतिर जान लागेका जस्ता पनि देखिन्थे। कतै-कतै केटाकेटीहरू विद्यालयको पोशाकमा झुण्ड-झुण्डमा उभिएका थिए। शायद उनीहरू विद्यालय जाने बस कुरिरहेका थिए। मैले टाढैबाट पुल देखेँ र सकेसम्म नदिलाई हेर्नु नपरोस् भने आँखा छोप्न खोजेँ। वास्तवमा बाग्मती र विष्णुमतीको फोहोरी दृश्य र दुर्गन्धलाई हेर्ने र सहने शक्ति ममा थिएन। तैपनि छड्के आँखाले चियाएँ मैले एकाएक अर्कै दृश्य पो देखेँ। नदी त मैले सपनामा पनि नचिताएको जस्तो सफा र कञ्चन भैसकेको रहेछ भने नदीको दुबै किनारमा पार्क बनिसकेको। मानिसहरू नदीको उक्त मनोरम वातावरणमा रमाईरहेका थिए। हतार-हतार झ्याल खोलेर लामो श्वास फेर्दै मैले भने, ”वाह! कति पवित्र हावा र मनमोहक दृश्य।” आँखाबाट ओझेलमा नपरून्जेल मैले परिवर्तित उक्त दृश्यलाई हेरिरहेँ।

एक ठाउँमा पुगेर गाडी रोकियो। सबैजना ओर्लिए तर म ओर्लिन। मलाई त्यो ठाउँ एकातिर परिचित जस्तो पनि लागिरहेको थियो भने अर्कोतिर अपरिचित जस्तो पनि।

”लौ घर आइपुग्यो” कसैले भन्यो, म झस्किएँ। मेरो अनुहारमा आशङ्काको छनक देखेर होला कसैले मलाई ‘हाम्रै घर हो शङ्का गर्नु पर्दैन’ भनेर विश्वास दिलायो। म गाडीबाट ओर्लिएँ। एक पटक चारैतिर नियालेँ। पूरानो घर र टोललाई निक्कै राम्ररी व्यवस्थित गरिएको रहेछ। चोक फराकिलो र रमणीय देखिन्थ्यो। म जन्मेको, खेलेको र हुर्केको घर र टोल दुबैले काँचुली फेरिसकेछ। घरभित्र छिर्न खोज्दा निक्कै फरक महसुस गरेँ। नयाँ घरमा आएको जस्तो लाग्यो। म सम्हालिँदै घरभित्र छिरेँ। मेरो घरको बाहिरमात्र हैन भित्र पनि निक्कै परिवर्तन आइसकेको रहेछ। तर नेपालीपन भने गजबले झल्किएको पाएँ। मैले घरभित्र पनि एक छुट्टै किसिमको आनन्दको वातावरण पाएँ। कोठामा पुग्ने वित्तिक्कै पिउने पानी मागेँ।

”ओहो! कतै पानीकै कारण म विरामी त पर्ने हैन?” मलाई शङ्का लाग्यो तर त्यो क्षणभरमा दूर भयो। धारमा २४ सै घण्टा शुद्ध पानीको बन्दोवस्त रहेछ। अझ घरकै धारामा फिल्टर पनि जडान गरेको रहेछ। पानीलाई फ्रीजमा राखेर चिसो बनाउने गरिएको रहेछ। मैले निर्धक्क भएर पानी पिएँ। आहा! क्या स्वादिलो पानी! मलाई लाग्यो मैले यति मीठो पानी पहिलो चोटी पिउँदै छु। हल्का चियानास्ता पछि बचपनमा झैं गरी मैले झ्यालबाट बाहिर चियाएँ। भनिन्छ नि ‘आखाँ लोभी मन पापी’। हुन त मेरो मन पापी छैन, मलाई त्यस्तो लाग्छ, तर आँखा चै पक्कै लोभी छ मेरो। मैले झ्यालबाट देखेँ- घर वरिपरि निक्कै सफा छ। चोक पनि त्यत्तिक्कै सफा छ। पहिले-पहिले जस्तो एकदमै धनी र गरिब छुट्टिने खालको पहिरन कसैको देखिदैन। सबै ‘फेशनेवल’ नै देखेँ। त्यही चोकमा मानिसहरू पहिले-पहिले चिया खाएर घण्टौं गफ गरेर समय विताउँथे तर ती मानिसहरू मैले आज देखिन। जतिलाई देखे, कसैको हातमा पत्रिका त कसैको हातमा एफ.एम रेडियो थिए। मलाई लाग्यो- मानिसहरू पहिलेकोभन्दा जानकार, ब्यस्त सुध्रिएछन्।

देख्न सकिने सबै दृश्यहरू नियाल्दै र मनभित्र हुरीसरी चलेका तरङ्गहरूमा तरङ्गिदै म घण्टौं समय झ्यालको झ्यालमै विताइरहेकी छु। म घरभित्र र वाहिर बराबर नियाली रहेछु। घरका सदस्यहरू चाहिँ कोही खाना बनाउन भान्छामा खटिरहेका छन्, कोही फोनमा ब्यापारिक गफमा रमिरहेका छन्, कोही आपसी हँसीमजामा मस्त त कोही इन्टरनेटमा व्यस्त देखिन्छन् भने केटाकेटीहरू कोही पढिरहेका छन् त कोही खेलिरहेका छन्। तल बाटोमा कोही परिचित त कोही अपरिचत मानिसहरू हिँडिरहेका छन्। सबैमा निक्कै परिवर्तन आएको म देखिरहेको छु। जे होस् मैले घण्टौं झ्यालमा बसेर भएपनि आफूले वर्षौंदेखि गुमाएका क्षणहरूको मजा लुट्ने प्रयास गरिरहेकी छु। म त्यसै-त्यसौ फुरूङ्ग परेकी छु, आफैलाई विर्सेर रमाएकी छु।

”घरको भान्छाको मजा लिन को पछि पर्ला र म पनि परूँ?” मेरो मनमा त यस्तो कुरा फुर्न थाल्यो। म भान्छातिर लागेँ। भोक नलागे पनि मैले आमालाई खान मन लाग्यो भने आमाले हतार-हतार खाना पस्किन लागिन्। बर्षौपछि परिवारसँग बसेर गफैगफमा यति खाना खाएँ कि के भनुँ, खाना खाएपछि म उठ्नै पो सकिन त।

”ल जा, जेसुकै होस्” मैले मनमनै भने र खाना खाएकै ठाउँमा बसेर पुनः गफिन थालेँ। कुराकानीमा परिवारभित्रका विषयहरू त समेट्ने नै भए, ती समेटिए पनि, त्यसमा आफन्तहरू र छिमेकीहरूको प्रसँग पनि जोडियो। मेरो अनुपस्थिमा भएका कार्यहरू र सुखदुःखका अनुभवहरू सुनिरहेँ। कुरा सुन्दासुन्दै मलाई लाग्यो म पनि प्रत्येक अवसरमा सहभागी भएकी थिएँ, वास्तवमा मैले कुनै अवसर गुमाएकी रहेन छु। यतिसम्म कि म बाहिरबाट भर्खरमात्र आएकी छु जस्तो त पटक्कै लागेन। मैले सबैको कुरा सुने तर आफ्नो कुरा चाहिँ सुनाउँनै विर्सेछु।

लामो गफगाफ र भान्छाको काम फत्ते भएपछि हामी टी.भी. हेर्नतिर लाग्यौं। नेपाली च्यानलहरू हेर्न पाउँदा खुसी लाग्यो। टी.भी.मा सधैँ सुनिरहूँ जस्ता लाग्ने मीठा-मीठा नेपाली गीतहरू बजिरहेका थिए। ”अरू च्यानहरू पनि हेरौं न” मैले भने। मलाई अरू च्यानलहरू पनि देखाए। सबैमा फरक-फरक कार्यक्रमहरू आइरहेका थिए। कतै वालवालिका लागि कार्यक्रम, कतै खेलकुद, कतै नेपालको पर्यटनसम्बन्धी कार्यक्रम, कतै गृहणीहरूका लागि कार्यक्रम, कतै युवाहरूका लागि अवसरसम्बन्धी कार्यक्रम, कतै सिनेमाहरू र कतै समाचारै समाचार आइरहेका थिए। पहिले-पहिले केवल हिन्दी गाना, टेलिसिरियल र सिनेमाहरू मात्र आउने च्यानलहरूका ठाउँमा प्रशस्त नेपाली च्यानलहरू देख्न पाउँदा म त सपनैमा पो छु कि जस्तो लाग्यो। हुन त नेपाली बाहेक अङ्ग्रेजी र हिन्दी च्यानलहरू पनि नभएका होइनन् तर नेपालीहरू भने नेपाली च्यानलहरू नै बढी मनपराउँदा रहेछन्। हुन पनि टी.भी.मा बोलिएको नेपाली भाषा निक्कै मीठो, सरल, त्रुटिरहित र सललल बगेको पाएँ। मलाई नेपाली भाषा पनि धेरै धनी भाषा रहेछ भन्ने लाग्यो। नेपालमा रहँदा म पहिले कसरी समय विताउने भनेर चिन्तित हुन्थेँ तर अहिले सबै समय टी.भी. हेरेर विताउँ जस्तो लागिरहेको छ। खासै भन्ने हो भने मलाई दिनमा २४ घण्टाको समयले पुगेकै छैन भन्दा एकदम ठीक हुन्छ अहिलेको सन्दर्भमा।

यतिबेला म परिवारका केही सदस्यहरूका साथ घरको छतमा छु। पहिले यहाँबाट हेर्दा चारैतिर घरैघर मात्र देखिन्थे र एउटा घरले अर्को घरलाई छेक्थ्यो। घरहरू त अहिले पनि देखिन्छन् तर ती सबै ब्यवस्थित देखिन्छन्। प्राय घरहरूको उचाई बराबर देखिन्छ। ठाउँ-ठाउँमा निक्कै घरहरू पनि देखिन्छन्। चारैतिर हरियो डाँडा र मन्दिरहरू देखिन्छ। पहिले-पहिले घरबाटै ननिस्कौं जस्तो लाग्थ्यो तर अहिले मलाई घुम्न जाउँ-जाउँ लाग्दैछ। घरका मानिसहरू अरू नै दिन घुम्न जान भनिरहेका थिए तर मैले आजै जान्छु भनेर ढिपी गरेपछि दिदीहरूको साथ लागेर घुम्न जाने सहमति भयो। ”तेरो ढीपी त उस्तै रहेछ नि?” आमाले भनिन्। ”पानी फेरिन्छ तर बानी फेरिदैन भन्या यै हो आमा” माइली दिदीले थपिन्। ”हो हो ठीक भन्नु भो, अब लुगा लगाऔं र बाहिर घुम्न जाऔं” मैले भने। हिँडेरै विशाल बजार, न्यूरोड र बसन्तपुर जाने सल्लाह गरेर हामी घरबाट बाहिर निस्क्यौं।

विशाल बजारको संरचना त उस्तै रहेछ तर ब्यवस्थापनमा भने निक्कै सुधार भएको रहेछ। बाटाका पेटीहरूमा सामान बेचिएका छैनन र गाडी पार्क गरिएका पनि छैनन्। धेरै मानिसहरू पैदलै यात्रा गरिरहेका छन्। बाटाहरू खुल्ला र शान्त देखिन्छन्। बेहुली झै सिंगारिका केही रिक्साहरू भने गुडिरहेका छन्। स्टोरहरू विभिन्न साइजका छन् र आवश्यक सामान सबै भेटिन्छन्। खाना नास्ताका दोकानहरू सफा देखिन्छन्। त्यहाँ मानिसहरू निर्धक्क खाना खाइरहेका छन्। किनमेल गर्नेहरू पनि पहिलेको जस्तो बाझाबाझ नगर्दा रहेछन्। सडकमा हिँड्नेहरू निर्धक्क हिँडिरहेका छन तर उनीहरूले ट्राफिक नियम उलङ्घन गरेको देखिएन। साँझको शहरी-जीवन यति सुन्दर र व्यवस्थित देखेर म दङ्ग परेँ।

”हामी पनि केही चाखौंन” मैले भने।

”देश हेरियो, स्वाद फेरियो भन्थे कोही-कोही, तर तेरो चैं स्वाद फेरिएन?” माइली दिदीले सोधिन्।

”देश पो हेरियो, स्वाद पो फेरियो तर जिब्रो त त्यही छ नि मेरो” मैल जवाफ फर्काएँ।

”तँलाई कुरामा कस्ले जित्ने? आखिर तँ त कान्छी छोरी परिस् क्यारे! तर जे भनिस ठीक भनिस्। हिँड जाउँ जिब्रो पड्काउन” माइली दिदीले समर्थन जनाइन। हामी दिदी-बहिनीको बानी वच्चैदेखि यस्तै छ। लाग्छ अब यो बानी कहिल्यै फेरिदैन।

नभन्दै खाना त निक्कै स्वादिलो पो रहेछ। खानापछि हामी बसन्तपुरतिर लाग्यौं। झपक्क साँझ परिसकेको छ तैपनि झिलिमिली बत्तीको उज्यालोमा बसन्तपुर धपक्कै बलेको छ। बसन्तपुरमा त्यो पनि साँझको समयमा यत्तिका धेरै पर्यटकहरू पहिलोपल्ट देखेँ। जताततै क्यामराका फ्याशलाइट चम्किएका छन्। कतिपयले विना फ्याशलाइट पनि फोटो खिचिरहेका छन्। कोही ब्यक्तिगत मुभी क्यामरा पनि चलाइरहेका छन्। नेपाली सामानहरू स-साना स्टलहरूमा लोभलाग्दो गरी सजाइएका छन्। पर्यटकहरू सामान हेरिरहेका, मुल्य सोधिरहेका र किनिरहेका छन्। उनीहरूको सुविधाको लागि व्यवस्थित सूचनाकेन्द्रको पनि व्यवस्था गरिएको रहेछ। ठाउँ-ठाउँमा स्पीकर राखी मन्द आवाजमा मीठा-मीठा नेपाली लोकधुनहरू बजाइएका छन्। कोही त्यसैमा जीउ हल्लाउँदै त कोही गुनगुनाउँदै हिँडिरहेका छन्। ठाउँ-ठाउँमा गीत सङ्गीतसहितको देशी-विदेशी खानाका रेस्टुराँहरू देखिन्छन्। हरेक रेस्टुराँमा मानिसको भीड देखिन्छ। नेपालीहरू पनि हप्तामा एक पटक परिवारसहित बाहिर खाना खान जाँदा रहेछन्। म चैं अर्कै लोकबाट पहिलोपल्ट धर्तीमा आएकि परी झैं गरी देखेजतिका सबै कुराको जानकारी बटुल्दै रहेँ भने दिदीहरूचाहिँ मौका छोपी केही किनमेल गर्नतिर लागे। उनीहरू किनमेल गरून्जेल म बाहिरै बसेर फोनबाटै भएपनि फोटो खिच्नतिर लागेँ।

क्यामरा ल्याउन भुलेकोमा निक्कै रिस उठ्यो। मेरो नजीकका केही पर्यटकहरूसँग मैले कस्तो लागिरहेको छ भनेर सोधेँ। उनीहरूले निक्कै रमाइलो छ, उपलब्धिमुलक र समय गएको पत्तै नपाएको कुरा बताए। नेपालबारे कसरी थाहा पायौ त भनेर सोध्दा इन्टरनेटबाट, साथीभाइबाट, आफ्नो देशमा भएका नेपालीहरूबाट, नेपालको पर्यटनसम्बन्धी उनीहरूको देशमा प्रसारित विज्ञापन र कार्यक्रमहरूबाट र पहिलेको आफ्नै भ्रमणबाट थाहा पाएको कुरा बताए। नेपाल कस्तो लाग्यो भन्ने प्रश्नमा सफा, शान्त, सुन्दर, सस्तो, छुट्टै किसिमको धर्म, संस्कृति, कलाशैली, थुप्रै घुम्ने ठाउँ भएको, हरियाली र अनुपम प्राकृतिक वातावरणले सजिएको भन्ने जस्ता जवाफ पाएँ। नेपालीहरू कस्ता रहेछन त भन्ने प्रश्नमा निक्कै मिजासिलो, भद्र, अनुशासित, मेहनती र बौद्धिक आदि भन्ने उत्तर पाएँ। नेपाल र नेपालीप्रतिको उनीहरूको ठम्याई थाहा पाएर मैले आफूलाई निक्कै गौरवान्वित भएको महसुस गरेँ। यत्तिक्कैमा दिदीहरूले घरजाने बेलाभएको कुराको सङ्केत गरे। मलाई घर गैहाल्ने मन त थिएन तर पनि लामो यात्राबाट आएको पहिलो दिन भएर हो कि म पनि थाकिसकेको थिएँ। हामी घरतिर लाग्यौं।

घर पुग्ने वित्तिक्कै नेपालमा यति धेरै परिवर्तन यति छिट्टै कसरी आयो भनेर परिवारका सदस्यहलाई सोधेँ। उनीहरूले यसको जस सक्षम र योग्य राजनैतिक नेतृत्व तथा सञ्चारमाध्यममा आएको परिवर्तनलाई दिए। पहिले-पहिले हिन्दी गाना, टेलिसिरियल र सिनेमाहरू मात्र प्रसार गर्ने कार्यक्रमहरू हटाएर नेपालीहरूलाई आफ्नो भविष्यप्रति कसरी सजक बनाउने खाले कार्यक्रमहरू प्रसारण गरेका रहेछन्। आन्दोलन र विद्रोहका समाचारमात्र प्रसारण नगरी ती आन्दोलन र विद्रोहका कारणहरू केलाई त्यसलाई समाधान कसरी गर्न सकिन्छ र त्यसमा जनता, दल, सरकार र अन्यको भूमिका कस्तो हुनुपर्छ भन्नेजस्ता कुरा पनि प्रसारण हुँदा रहेछन्। सानोभन्दा सानो प्रगतिका खबरहरूलाई सफल कथाको रूपमा प्रसारण गरी सबैलाई प्रोत्साहित गरिँदोरहेछ। यस्तै प्रयासहरूबाट नै नेपालमा शान्ति र समृद्धि आउने र नेपालको भविष्यमा सुधार आउनुका साथसाथै हरेक ब्यक्तिको जीवनमा पनि परिवर्तन आउने कुरा प्रसारण गरिने रहेछ।

विद्यालय र क्याम्पसमा हुने छुद्र राजनीतिक क्रियाकलाप हट्दै गएका रहेछन्। देशमा विश्वस्तरीय विश्वविद्यालयहरू खुलेका रहेछन्। पूर्वाधारसम्बन्धी दीर्घकालीन योजना आएको र त्यसमा निजी क्षेत्रलाई उचित स्थान दिइएको रहेछ। ब्यक्तिगत स्थार्थ र भ्रष्टाचारको स्थान जिम्मेवारी र पारदर्शीताले लिएको रहेछ। विकासका न्यूनतम कार्यक्रमहरू राजनीतिक दलहरूवीचको सहमति र जनसहभागितामा अगाडि बढेको रहेछ। खासमा भन्नुपर्दा विगतबाट पाठ सिक्दै नेपाल यसरी नै अगाडि बढिरहेको रहेछ। पहिले-पहिले विद्यालय उमेरमा नेपालको बारेमा कण्ठ पारिएको ‘सुन्दर, शान्त विशाल’ भन्ने नारा त अहिले पो साकार होला जस्तो लाग्दैछ मलाई।

खाना खाइवरी म सुत्न आफ्नो विछयौनामा पल्टेँ। शरिर थाकेपनि मेरो दिमाग चाहिँ अझै घुमेको घुम्यै छ। यतिखेर मलाई आज मैले नेपालमा जति देखेँ र सुनेँ त्यो वास्तविकताभन्दा निक्कै कम भएको जस्तो पनि लागिरहेको छ। भोलि फेरि नयाँ-नयाँ कुराहरू हेर्ने र सुन्ने योजना बुन्दैछु म यतिखेर। मैले नेपालका परिवर्तनका सम्वाहक, सारथी र सहयात्रीहरू सवैलाई कोटी-कोटी नमस्कार गरेँ। सँधैभरि नकारात्मक काम-कुरा मात्र देख्ने, सुन्ने, बोल्ने र गर्ने बानी परेका हामीलाई राम्रो कुराले पनि प्रभाव पार्दोरहेछ भन्ने लाग्यो। यस्तै-यस्तै कुरा सोच्दा सोच्दै म निद्रादेवीमा काखमा पुगेँ। उनले मलाई मायालु छोरीलाई झैं गरी आफ्नो न्यानो अङ्गालोमा बेरिन। उनले मेरो टाउको सुमसुम्याइन। आफ्नी आमाको काखमा दुधे वालक घुप्लुक्क निदाए झैं गरी म उनको काखमा मस्त निदाएँ।

अचानक कसैले मलाई झक्झक्यायो, ”लौ अब विमान ल्याण्डिङ्ग गर्ने बेला भो” उसको आवाज मेरो कानको पर्दामा ठोक्कियो। मलाई विजुलीको झट्का लागे झैं भो। म ब्युँझिएँ। म त अहिले पनि विमानमै पो रहेछु। ”धत्, सपना पो रहेछ” मैले आफूले आफैलाई भनेँ। सपना आखिर सपनै हुन्छ तैपनि मलाई यो सपनाबाट बाहिर निस्कन निक्कै गाह्रो भयो। मैले आफूलाई सम्हाले तर भनभित्रको चाहनालाई भने मैल हटाउन सकिन। म अहिले सोचिरहेकी छु, ”नेपाल हुनु त यस्तो पो हुनु।”

(स्रोत : “लालीगुराँस” बिद्युतीय साहित्यिक पत्रिका – अङ्क २, फेब्रुअरी २०१०)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.