व्यङ्ग्य निबन्ध : तपाईँले किताव निकालेको छ?

~चर्चित ढुंगेल~Charchit Dhungel

केही महिनाअघि प्रज्ञा भवन कमलादीमा ‘एनसेल नेपाली लिटरेचर फेस्टिवल–२०१२’ मा जाने मौका मिल्यो। फेसबुकबाट घनिष्ट भएका मित्र रमेश कँडेलसँग प्रज्ञाको गेटैमा भेट भयो। मैले उनलाई चिनिहालेँ। उनले मलाई चिनेनन्। मैले अनुमान लगाउन भनेँ। केही बेर उनी चिनेजस्तो, सम्झेजस्तो गर्न थाले तर मेरो नाम भन्न सकेनन्। ब्यस्त समयमा चल्तो मान्छेलाई किन अल्झाइरहनु भनेर आफैँले आफैँलाई चिनाइदिएँ। उनी दुवइबाट फर्किएर नेपाली साहित्यको सेवा खातिर एउटा प्रकाशन संस्था दर्ता गर्न लागिपरेका रहेछन्।

केही समय आत्मियता साटासाट गरियो। उनले हातमा समातेर यसबर्षको मदन पुरस्कार विजेता ‘सेतो धर्ती’ उपन्यासका लेखक अमर न्यौपानेसँग भेटाइदिए। चिनाइदिए। मलाई चिनाउँदा ‘उहाँ राम्रो ब्यंग्य लेख्नुहुन्छ’ भने। यती सुनेपछि अमरले ‘तपाईँले किताव निकालेको छ?’ भनेर सोधे। मैले ‘छैन’ भनेँ। मरुभुमिमा कनिकुथी ब्यंग्यको बोक्रा उकाउने मलाई चुरो सम्झेर उनले कुरो गरेका थिए। तर आफु ‘ज्ञानीले नलेखेपछि अल्पज्ञानीले चानस पाएको मान्छे’ परेकाले कितावको ‘क’ त के ब्यंग्यको ‘ब’ समेत राम्ररी नछिचोलेको यथार्थ तिनलाई भन्नुमा भन्दा नभन्नुमै कल्याण देखेँ। ‘कहाँ राजाको सवारी, कहाँ जँड्याको जुहारी।’

अलिपछि चियापानमा कवि सिमा आभास, कवि राजु थापालगायतका साथीहरुसँग भेटघाट भयो तर मैले आफुलाई चिनाउन खासै रुचि राखिँन। चिनाएको भए तिनले पनि मलाई उही मर्ममा हान्थे होला ‘तपाईँले किताव निकालेको छ?’ भनेर। कहिलेकहीँ नचिनारु भइदिँदा पनि फाइदै हुने रहेछ। उहिलै एकजना बिद्धानले भनेका थिए, ‘लोकप्रियताबाट बच।’ यो भनेको चिनारीबाट बच्नु पनि हो। चिनारी लुकाउनु र चिनारीको प्रसंग नउठ्नुमा फरक छ। उठेन र खुसी भएँ।

अलिअघि कतारमै एकजना मित्रले ‘तपाईँले ब्यंग्यको किताव निकाल्नुपर्छ’ भनेर भने। एउटा श्रमिकको बर्षभरिको कमाइले कभर डिजाइन गरेको खर्चिन नसक्ने अवस्थामा मलाई उनको भनाइ गज्जवको ब्यंग्य लाग्यो। मनमनै आफैँलाई भनेँ, ‘तँ नाथेले के ब्यंग्य लेखिटोपल्छस्, ब्यंग्य त यि बिद्धानले तँलाई गरेर गए। त्यो पनि थोरै शब्दमा, एकै सासमा।’ अझै पनि उनले ब्यंग्य गरेको सम्भि्कँदा म हायलहायल हुन्छु। तर खुसीको कुरो पछिल्ला भेटमा उनले सोधेका छैनन् ”तपाईँले किताव निकालेको छ?’ भनेर।

मेरा सहसाहित्यिक मित्रले एउटा कार्यक्रममा आफ्नो किताव ‘पुस सेल’ गरिरहेको देखेर छेवैमा बसेका एक समाज सेवीले मलाई कोट्याउँदै भने, ‘तपाईँ चैँ किताव ननिकाल्ने?’ मलाई उनको यो प्रश्न कुनै प्रलयकारी भुकम्प भन्दा कम लागेन। कुनै रुखै हान्ने शक्तिशाली चट्याङ्ग भन्दा कम गह्रुंगो लागेन। चट्याङ्गले हानेको घरमा छाती चिरेर भुईँचालो गए झैँ भयो मलाई। उनको मन्द मुस्कानमा कुटिल सुनामी देखेँ मैले। पानी परेर रोकिएको आकास झैँ शान्त भएर भन्दिएँ, ‘तपाईँले स्पोन्सर गर्नु नभएर किताव गर्भमै छ।’ यो सुनेपछि उनी बाह्र हात पर तर्किए। ति महाशयलाई आनन्द अधिकारीले लेखेको गीत सुनाउन मन भयो, ‘भन्न सजिलो, कस्ले पो बु¤छ र मनको पहिरो, दैव छोडेर…दैव छोडेर।’

मेरा आधा दर्जन मित्रहरुले किताव–कृति कतार बसेरै निकालेका छन्। मभन्दा पहिले र मभन्दा पछि लेख्न थालेका मित्रहरुले पनि किताव निकालेका छन्। उनीहरुको आर्थिक हैसियत वा स्पोन्सर मिलनले त्यो सम्भव भएको म ठान्छु। आफु त जातै नहुने, दिनदुःखी परियो कसरी किताव निकाल्ने। त्यसैले कतिपय भेटमा मेरो ब्यंग्यका फ्यान, एसी, कुलर र फ्रिजहरुले कितावबारे कुरो निकाल्दा निन्याउरो अनुहार लाउनु मेरो विवशता हो। र तिनको यो उराठलाग्दो प्रश्न मलाई ‘टाउकामा टेकेर नाकमा हान्ने’ शैली झैँ लाग्छ। ‘मान्छेलाई अरुको मर्ममा लात हान्न कति मज्जा हुँदो हो होकी?’ भन्ने नलागेको दिनै हुँदैन।

केहीअघि एकजना खुंखार कविले एउटा शोक–कविता संग्रह निकाले। उनको त्यो कविता संग्रह चार कक्षाको विद्यार्थीले सिकेको खेस्रा जस्तै थियो। एकजना भुमिका लेखकले महिना दिन लाएर हेर्नसम्म हुने बनाइदिएका थिए। बास्तवमा भन्ने हो भने अकविता संग्रह थियो त्यो। स्वयं भुमिका लेखकले पनि यो कुरो भेटमा भनेका छन्। उनलाई भुमिका लेख्दा ‘नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छा बाबुको अनुहार’ भएको रहेछ। धर्म थाम्नुपर्ने बाध्यताले भुमिका लेखिदिएको उनले एक भेटमा भनेका थिए।

अर्का एकजना आख्यानकारले उनैलाई हेरिदिन र भुमिका लेखिदिन एउटा कृतिको ‘झण्डुलिपी'(पाण्डुलिपी भन्दा अन्याय हुने भएकाले) दिएका रहेछन्। त्यो हेरेपछि मलाई शहरमा ‘कुकुरदेखि सावधान’ लेखेको देखेजस्तै ‘कितावदेखि सावधान’ भयो। ति भुमिका लेख्दिने मित्र त झन् लल्याकलुलुक भए। छेउ न टुप्पाको ‘झण्डुलिपी’का हरेक पन्ना उनलाई बिझाउने रहेछन्। सम्पादन पनि कतिसम्म गर्ने? उनी दिनभरि हलो जोतेर थाकेको गोरुकै हैसियतमा पुगेछन्। एक साँझ भेटमा उनले गुनासो पोखे, ‘अव मैले भुमिका लेख्नुभन्दा भुमिगत हुनु बढि श्रेयस्कर छ।’ बिचारा उनले पनि सग्लो किताव निकालेका छैनन्।

किताव निकालेर जैदाह पार्क, तरवारगेट वा ट्याक्सी पार्कमा ‘पुस सेल’ गर्न गाह्रो छ। किताव निकाल्ने आफैँले ‘मेरो किताव किनिदेउ’ भन्न पनि गाह्रो छ। नेपालमा पचास रुपैँया दाममा पाइने पुस्तकलाई यहाँ पच्चिस रियाल ठटाउँछन्। यो एकप्रकारको ‘पुस्तक आतङ्क’ हो। गुदी नभएको पुस्तकलाई महङ्गोमा किनेर पढीनसक्नु भएपछि बिस्तारै पुस्तक किन्ने जमात पातलिँदै गएको छ कतारमा। स्तरहिन पुस्तकले बजार सखाप पार्दैछ। ल्याकत नहुनेले नछपाए पनि हुने हो तर लहड र रहरमै धेरैले किताव निकालेका छन्। हो, त्यही स्तरको किताव हुने देखेर मजस्ता धेरैले किताव निकाल्ने आँट नगरेको हो। यसरी अरुले बुझिदिए कति गज्जब हुने थियो।

कृपया मलाई कसैले कहिलै पनि नसोधे हुन्थ्यो, ‘तपाईँले किताव निकालेको छ?’ भनेर। नत्र मलाई यो प्रश्न ‘गरिबका घरमा प्रधानमन्त्री पाहुना’ जस्तै हुनेछ ।

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.