कविता : समय-असमय

~कुमार सिंखडा~Kumar Simkhada

समयलाई थाम्न सकिएन;
अतः समयलाई लगाम लगाउन सक्ने
सारथीहरूको खोजी भइरहेछ ।
एउटा समय थियो
जहाँ समय नै थिएन, अर्थात् असमय थियो,
समयका पारखीहरूले रगत-पसिनासँग खेलेर
समय आयात गरे –
आज तिनै पारखीहरूमाथि पोखिएर
पशुत्व र पापको दहमा पौडिँदै छ समय,
आफ्नै पालक-पोषकको छाला काढेर
सर्वलुट, सर्वनाश, सर्व-उपेक्षाको सिँढी चढी
सर्वेसर्वा, सर्वाधिकारी, सर्वशक्तिमान भएको छ समय,
सर्वत्र छ समय,
सर्वव्यापी छ समय ।

समयको निरंकुशतालाई निराकार गर्नसक्ने
निमुखा, निरक्षर, निरपराधहरूलाई नियाँ गर्नसक्ने
निरञ्जनहरूको खोजी भइरहेछ ।

समयको जन्ती जानेहरूले
उसलाई घरभित्र भित्र्याउनुपर्थ्यो
घर-घाटसँग घनिष्ट बनाउनुपर्थ्यो
टोल-छिमेकमै टिकाउनुपर्थ्यो;
उसलाई त दरबारको दिवारभित्र लुकाई राखियो
बाघ र सिंहको चिडियाघरमा कैद गरियो ।
दरबारको बिलासी र उच्छृंखलतमा हुर्केर समय
कालो र कठोर बनेको छ,
पतित पातकी बनेको छ,
लुच्चो र लोदर बनेको छ ।

समयको रहस्य बुझ्न खोज्दैमा एउटा युग बित्यो,
र पनि यहाँ अँझै भीड छ
समयलाई हेर्न चाहनेहरूको भीड छ
समयलाई छुन चाहनेहरूको भीड छ
समयको चाकडी गर्न चाहनेहरूको भीड छ
समयको यौवन चाख्न चाहनेहरूको भीड छ
समयलाई हरण गर्न चाहनेहरूको भीड छ ।

समय महलको कोठीबाटै शासन गरिरहेछ,
क्लियोपेट्रा जस्तै कामूक र क्रुद्ध;
मतौरेहरूलाई यौवन लुटाई
आफू लोक लुटिरहेछ ।

समयलाई शिष्ट, समतामयी, र सावित्री बनाउन सक्ने
एउटा एन्टोनीको खोजी भइरहेछ ।

समयलाई समयमै समयसापेक्ष बनाउन सक्ने
समयनिष्ठ समकक्षीहरूको खोजी भइरहेछ
समवादी र शान्तिवादीहरूको खोजी भइरहेछ
समन्वयकारीहरूको खोजी भइरहेछ ।

– रचनाकार “मझेरी.कम” का प्रमूख चञ्चालक हुनुहुन्छ

(स्रोत : मझेरी.कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.