~ध्रुवसत्य परियार~
मेरो प्यारो भञ्ज्याङ
मायामय भावमा
र, भावमय मायामा
असीमको तर्कमा
माया नै माया र माया नै माया
सम्झना त छँदै छ
यो मान्छेको जीवन र जगत
सम्झनाबाहेक के बाँकी रहन्छ र ?
जुन हाम्रो भावनात्मक सम्बन्ध
सम्झेर भावुक भए पनि
भेटेर भावकु भए पनि
भावुकता भड्केर भावुक भए पनि
आखिर भाव न हो
जसको भेद पाउन
भावुक नै हुनुपर्दोरहेछ ।
भञ्ज्याङ ! तिम्रो काखमा
मैले देह र दिल दुवै बिसाउनुपथ्र्यो
सायद, तिमी मसँग रिसायौ होला
तिम्रो भावनाविपरीतको मबाट कुनै भुल भएर
तर, न म कहिल्यै तिमीसँग रिसाउनुपथ्र्यो
बिहानीका ती कोमल–कोमल किरणहरु
सेता–सेता हिउँहरुमाथि परिरहेको एउटा अद्भुत दृश्य
भावना मिल्ने भेना र सालीको भेटजस्तो
अथवा, यस्तो नभएर अर्कै हुन्थ्यो पनि
कुनै अर्को भावुकतामा
जहोस्, तिम्रो काखमा मलाई
कुनै एउटा भ्रमको भरपुर आनन्द हुन्थ्यो
कि ती नै दृश्यहरुमा
ती जराहरु नाच्थे–गाउँथे
जुन रमाइलो र घमाइलोमा
मजस्तै आनन्द विभोर हुन्थे त
तिम्रै काखमा
तिम्रो काख
लाख–लाख ।
भञ्ज्याङ ! तिम्रा साथीहरु
देउराली, लाँकुरी, पँधेरी, चौतारी
र साथै, साथीहरुका पनि साथीहरु
जोसँग तिम्रो भावनात्मक सम्बन्ध छ
र त मेरो पनि छ
तिनीहरु सबैलाई
तिमीले हावामा हुत्त्याइदिनु
माया र सम्झनालाई सही सम्बोधन गर्ने शब्दहरुसँगै
मेरा हजार–हजार मायाहरु र सम्झनाहरु
माया ! माया !! माया !!!
सम्झना ! सम्झना ! सम्झना !!!
यद्यपि, यो शब्दको सर्वस्व हरण भएको समयमा
शब्द अस्मितामाथि खेलवाड भएको समयमा
यो संकटकालीन समयमा
अर्थात् अभावमा
अत्युक्ति होला मेरा अभिव्यञ्जनहरु
तथापि, भाव भष्म नहोला
बलेको आगोको तापजस्तै
हावाहरुमा
भाव पोख्न नसकिएला
भाँडोको पानीजस्तै वा दूधजस्तै
अमृतजस्तै अथवा विषजस्तै
शब्दहरुमा ।
भञ्ज्याङ !
म तिम्रो काखमा हुँदाको भाव
अर्थात् भावको भाव
म तिम्रो काखमा नहुँदाको भाव
अर्थात्, अभावको भाव
अभावको अस्तित्व
अभावको अनुभव
वा भावना र संसार
के भावशून्य हुने सम्भव होला र ?
यो भावनाको भवसागरमा
मान्छे माछो वा भ्यागुतो हुनुमा कुनै भेद छैन
मान्छे सबै माछो हो
र, मान्छे सबै भ्यागुतो हो
लेउ–झ्याउ र आफूभन्दा साना जीव खाएर बाँच्ने
कि गहिराईका मोती खाएर बाँच्न नसक्ने ।
हो, मान्छे भौतिकवादी हुनैपर्छ
मान्छे आवादी हुनैपर्छ
बर्बादी मान्छेको लक्ष्य हुनै सक्दैन
त्यसैले मानवताको भावना जगाऊ
मानवताको भावनामै रमाऊँ
यो समय हो भावनाको फूल फुलाउने
भावनाको मूल फुटाउने
एउटा यस्तो असीम एकत्वको जनभावनाको भेल होस्
जहाँ, जस्तासुकै दमन र दुवालीको कुनै अर्थ नहोस् ।
भञ्ज्याङ !
यो समयको सन्देशलाई
नबिर्सेर सुनाइदिनू
गाउँका युवा, बूढापाका, आबालवनिता सबैलाई ।
म कल्पिरहेछु—
भञ्ज्याङको चौतारीमा
गाउँले सबै भेला भएका छन्
नयाँ सन्देश सुन्नलाई
ज्ञानका कुरा गुन्नलाई
पुराना दोष फाल्नलाई
नयाँ सोच थाल्नलाई
मेरो भाकल पूरा भएको छ
आफैँ पूजारी भएर
डाँडैकी देवीलाई पूजा गर्न
म चाँडै गाउँ फर्कंदै छु ।
भञ्ज्याङ ! भेटमा भावुक हुनु त छँदै छ ।।
(कवितासंग्रह बकपत्र– ०६५ बाट)
(स्रोत : Ratopati)