~निशा केसी~
अंकल भरे आउँदा मलाई हिजोजस्तै चकलेट अनि चुइगम ल्याइदिनु है!’ सानीले फुलबुटे फ्रक हल्लाउँदै बालसुलभ भावमा भनी। ढोकामा तार्चा मारिसकेपछि मोहन अंकल सानीको छेउमा पुगे।
सानीको कपाल स्नेहले सुमसुम्याउँदै भने, ‘ल! ल! हुन्छ! खोइ त अंकललाई पप्पी?’ दुबै आँखा चिम्लिएर अंकल भुईंमा टुक्रुक्क बसे। सानीले हत्तनपत्त आफ्नो ओठ मोहन अंकलको गालामा जोडेर च्वाक्क गरी। अनि टेरिवेयर च्यापेर खेल्न दौडिई। मोहन अंकल बिस्तारै उठे। सानीको निश्छल पप्पीलाई मनमनै अनुभूत गरे। र, लामालामा पाइला बढाउँदै लागे कलेजतर्फ। सानीलाई काठमाडौंको बोर्डिङमा पढाउने रहरले एक महिनाअघि मात्र आफ्नो पहाड घर खोटाङबाट लिएर आएका थिए, सानीका बाबाले।
काठमाडौंमा कोठा खोज्दाखोज्दा वाक्कै भएपछि जे पर्लापर्ला भनी धोबीघाटमा ससानो भुईतले घर भाडामा लिई बसेका थिए। अग्लो पर्खालले घेरिएको सानो आंगनमा पखेटा काटिएकी चरीझैं सानी एक्लै टोलाइरहन्थी। भरखर गाउँबाट आएकी उसका गाउँमा जस्तो साथीहरु थिएनन्। खुल्ला आकास मुनि खेल्ने चौरहरु थिएनन्। आमाको त्यो मायालु काख थिएन, जुन काखको सिरानीमा ऊ भुसुक्क पिंढीमै निदाउँथी।
नियासि्रएका सानीका अनुहार र बटारिएका परेलीलाई सुम्सुम्याउँदै सानीका बाबा द्रविभूत बन्थे। ‘गेट बाहिर ननिस्कनु है सानु! भोक लाग्यो भने बिस्कुट खानु ल!’ गेटसम्म पच्छयाइरहेकी सानीलाई लक्ष्मणरेखाको बोध गराउँदै गरुङ्गो पाइला बढाउथे कलेजतर्फ। स्विकारोक्तिमा टाउको हल्लाउँथी सानी।
र, झोलुङ्गेपुलबाट ओझेल नपरुन्जेलसम्म टिठलाग्दो आँखाले हेरिरहन्थी बाबालाई। उसका मुक आँखाले प्रश्न गरिरहन्थे बाबासँग, आमा कहिले आइपुग्नु हुन्छ? सानीलाई सुनसान एकलासे घरमा एक्लै छोडी क्याम्पस जान उनको मनले पनि मान्दैनथ्यो। परिस्थितिले गर्दा उनी विवश थिए। स्कुल भर्ना हुनुअघि दिनुपर्ने प्रवेश परीक्षाले गर्दा सानीकी आमालाई घरको चाँजोपाँजो मिलाएर जतिसक्दो छिटो आउन भनी अपरझटमा सानीलाई लिएर आएका थिए।
कीर्तिपुर विश्वविद्यालय नजिकैपर्ने धोबीघाटको डेरामा सानी एक्लै टोलाएर यताउती गर्थी। उसको स्कुल सुरु हुन अझै केही दिन बाँकी नै थियो। यसै बीचमा मोहन सर पनि विश्वविद्यालय पायकपर्ने कोठा खोज्दै रहेछन्। सानीका बाबालाई ढुङ्गा खोज्दा देउता मिलेजस्तै भयो। अनावश्यक कोठा राखिछाड्नुभन्दा साथीलाई भाडामा दिए आर्थिक भार पनि केही कम हुने र मान्छेको चहलपहलले सानीको न्यास्रो पनि मेटिने सोची आफूले दुइटा कोठा र एउटा भान्छा लिएर दुइटा कोठा मोहन सरलाई भाडामा दिए।
पहिलोपटक मोहन अंकललाई देख्दा सानी निकै डराएकी थिई। मोटो, अग्लो उचाइ, कालो रङ, बल्ढेंग्रे आँखा र लत्रेका भद्दा ओठ! देख्दै भयङ्कर डरलाग्दो! आफ्नै भान्छामा खाना खाइरहेका बेलामा बाबाको छेको परेर उसले मोहन अंकल र उनका भाइ केशव अंकललाई पालैपालो नियालेकी थिई। कम बोल्ने, बोल्दा मुसुमुसु हाँस्ने केशव अंकल उसलाई आफ्नै काकाजस्तै लागेको थियो। मोहन अंकल भने प्याकुलीको घरको कालो गोरुजस्तै! त्यो गोरुसँग ऊ मात्र नभई गाउँका सबै केटाकेटी डराउँथे। नडराउन् पनि किन? त्यस गोरुले एकपटक प्याकुलीको दाजुलाई नै हानेको थियो। धन्य आँखा जोगिएछ। गाला मुनिको नीलडाम देखेर गाउँलेहरु जिब्रो टोक्थे। ‘कत्ति प्यारी छोरी रहिछ दवाडीजी, तपाईँको! चकलेट सकलेट केही लिएर आइएन। कत्ति वर्षकी भई?’ मुख चुठेर तौलियाले पुछ्दै मोहन अंकलले सोधे।
‘भोलिदेखि आठ पुरा भएर नौ लाग्छे।’ मिति र गते जोड्दै सानीका बाबाले भने। ‘मेरो छोरी पनि त यत्रै त छे। चालीस वर्षमा जन्मिएकी!’ मुसुक्क हाँस्दै मोहन अंकलले भने।
उनीहरू निकै अबेरसम्म कुराकानी गर्दै रहे। सानीलाई निद्रा लागेको हुँदा ऊ पलङको भित्तापट्टी फर्कर भुसुक्कै निदाई। त्यस रात सानीले सपनामा मोहन अंकललाई देखी। थुप्रै थुप्रै चुइगम, चकलेट सानीको पोल्टाभरी हालिदिएर मायाले सानीको कपाल सुम्सुम्याउँदैं गरेको। त्यति धेरै चकलेट र चुइगम पाएर ऊ सपनामा खुशी भएकी थिई। भोलिपल्टको साँझ, सपनाभन्दा पनि बढी खुशी र रमाइलो लाग्यो सानीलाई।
मोहन अंकल र केशव अंकलले सेतो रङको सुन्दर टेडिवेयर र डेरी मिल्क उपहार दिएका थिए। उसको जन्मदिनको खुशीयालीमा। त्यस साँझदेखि सानीको मोहन अंकलसँगको डर हराउन पुग्यो। मोहन अंकलले गरेको माया, आफन्तीय व्यवहार र घरमा पस्दा सानी! सानी! भन्दै बोलाउँदै छिर्ने बानीले गर्दा सानी मोहन अंकलसँग केशव अंकलसँग भन्दा बढी घुलमिल भएकी थिई। त्यसैले त ऊ निसंकोच मोहन अंकलसँग चुइगम, चकलेटको माग गर्न थालेकी थिई।
त्यस दिन मोहन अंकल छिट्टै घर फर्किए। झोलुङ्गे पुलमा आउँदै गरेका अंकललाई टाढैबाट देखी सानीले। खेल्दै गरेको टेडिवेयर च्यापेर अंकलको गला समाउन पुगी। उनी पनि सानीलाई डोर्याउँदै कोठा भित्र छिरे। लुगा नै नफेरी ओच्छयानमा पल्टिए।
भाइलाई विश्वविद्यालयमा डिग्रि गर्न र प्राइभेट कलेजमा पार्टटाइम पढाउने प्रबन्ध मिलाएर आफू इलामतिरै फर्कने मनसुवा बनाएका मोहन सर जतिसक्दो छिटो इलाम क्याम्पसमै सरुवा मिलाउने ताकमा दिनहुँजसो डिन कार्यालय पनि धाउने गर्थे। छ महिना भइसकेको थियो उनको परिवारसँग भेट नभएको। धनकुटाबाट काठमाडौं सरुवा भएपछि, श्रीमती, छोरा र सानी जत्रै छोरीलाई घर पुर्याएर भाइ केशवलाई लिएर उनी काठमाडौं आएका थिए। त्यस दिन पनि डिन कार्यालय पुगेर उनी निरास भएर फर्किएका थिए।
ढोका छेउको मेचमा बसेर सानी आशाभरी नजरले अंकललाई टुलुटुलु हेरिरही। उसका आँखाले अंकलको खल्तीमा रहेको चकलेट र चुइगमको खोजी गरिरहेका थिए। सधैंसधैं त घर भित्र छिर्नेबित्तिकै सानी सानी भन्दै चकलेट र चुइगम दिने गर्थे। तर आज किन नदिएको होला? ऊ निरास भएर फर्किनै आँटेकी थिई। मोहन अंकलले भने, ‘सानी चकलेट नखाने?’ सानीको अनुहारमा खुशीका रङ फेरिए। उसले खुशी हुँदै सोधी, ‘खै त?’ ‘आउ, यहाँ नजिकै अंकलसँग आएर बस। अंकललाई मायाँ गर। खै त? तिमीले अंकललाई मायाँ गरेकी? तिमीलाई अंकलको माया लाग्दैन?’ अलिकति भित्तापट्टी सर्दै अंकलले भने। ‘लाग्छ।’ सानी अंकलको नजिकै गई। सधैंका झैं माया गरी। मुलायम टेडिवेयर सुम्सुम्याउँदै अंकलको अनुहार टुलुटुलु हेरिरही।
दुई दिनदेखि नखौरिएर छुस्सछुस्स निस्किएका तीलचामले दाहि्र कालो अनुहारमा तीखा काँडा बनेर टल्किएका थिए। लत्रिएका मोटा सुष्क ओठ, सरुवा मिलाउन डिन कार्यालय धाउँदा र पिरियडैपिच्छे चर्को आवाजमा चिच्याउँदा चिच्याउँदा कलेटी परेर नीला भएका थिए।
सानै भए पनि उसले अंकलको त्यो अवस्थाको निरीक्षण गरी। त्यसरी उदास र दुःखी भएको अंकललाई देखेर उसको मन अमिलो भएर आयो। निकैबेरसम्म अंकल केही नबोलेपछि उसले मायालु आवाजमा सोधी, ‘अंकललाई सन्चो छैन हो?’ राताराता अर्धुदित आँखाबाट सानीतिर अलिकति चिहाउँदै अंकलले भने, ‘हो! एकदम टाउको दुखेको छ। अंकलको टाउको थिचिदेउ न, हुन्छ?’ सानीले स्वीकारोक्तिमा टाउको हल्लाई।
गाउँमा आमालाई टाउको दुखेर पच्छ्यौरीले टनटनी बाधेर आमा छट्पटिएको बेला उसले धेरैपटक आमाको टाउको थिचिदिएकी थिई। यो बेला पनि उसको मन उड्दैउडदै उही खोटाङमा पुग्यो, जहाँ ऊ चरीझैं रम्ने गर्थी। साथीहरुसँग वनका काफल र ऐंसेलु टिपेर खाने गर्थी। परालका कुन्युमा आसपास खेल्दै लुक्ने गर्थी।
सानीले एक नजर आफूले बोकेकी टेडिवेयरतर्फ फाली। बोल्दै नबोल्ने निर्जिव टेडिवेयर मात्र अब उसको साथी थियो। सानीले टेडिवेयर पलङको छेउमा थपक्क राखी। र, कलिला हत्केलाले बिस्तारै थिच्न थाली अंकलको टाउको। अंकल आँखा चिम्म चिम्लिएर लामोलामो स्वास फेरिरहेका थिए। अलि एक्लो परेको घर। दिउँसोको समय भए पनि उतिसारो हल्लाखल्ला सुनिंदैन थियो।
घामले तातेर बाग्मती नदी ढल मिसिएको गन्ध लिएर एकनाससँग बगिरहेको थियो। सानीलाई उकुसमुकुस भएर आयो। भकुन्डो जत्रो टाउको थिच्दाथिच्दा उसका कलिला हत्केला गलेर लखतरान भइसकेका थिए। थकित आवाजमा उसले सोधी, ‘भयो अंकल?’ अंकल गहिरो निद्राबाट ब्युझएजस्ता भए, ‘अँ! भयो! भयो! कत्ति सन्चो भयो मेरी प्यारी सानी।’ भन्दै सानीलाई अँगालोमा बेरेर म्वाई खाए। सानीलाई अंकलको आजको म्वाइ अरु दिनको भन्दा बेग्लै लाग्यो। अंकलको अँगालोबाट फुत्किने प्रयास गर्दै भनी, ‘छ्या कस्तो गन्हाएको खोला! अंकललाई गन्हाएको छैन?’ ‘हो त कस्तो गन्हाएको नि!’ अंकलले झ्याल ढोका बन्द गरेर सारिएको पर्दालाई टम्म मिलाए। पर्दा लगाएपछिको मधुरो उज्यालोमा सानी असमन्जस्यमा परेर पलङमा बसिरही। दिउँसोको घामले तातेर खोला गन्हाउँदा उसको बाबाले पनि झ्याल ढोका बन्द गर्ने गर्नुहुन्थ्यो। तर पर्दा भने लगाउनु हुन्न थियो। तर अंकलले किन पर्दा लगाए! उसले बुझ्न सकिन। उसलाई कताकता त्यो अँध्यारो कोठासँग डर लाग्यो। उसले अंकलको अनुहारमा पुलुक्क हेरी।
राताराता धर्सा भरिएका आँखा लोलाउँदै अंकलले भने, ‘चकलेट नखाने?’ सानीले प्रश्नसूचकभावमा अंकलको अनुहारमा हेरी। सानीसँगै टाँसिएर बस्दै अंकलले सानीको हात च्याप्प समातेर पाइन्टको गोजीमा घुसारे। गोजीको भित्रीले ढाकिएको अनौठो वस्तुसँग सानीको हातले स्पर्श गर्यो। सानीले छामेर हेरी। तर त्यो चकलेट थिएन। ‘अंकल यहाँ त चकलेट छैन।’
सानीले रित्तो हात गोजीबाट निकाल्दै भनी। अंकल हाँसे। ‘तिमीले देखिनौ? यो के त?’ उनको इसारा खुलेको पाइन्टको चेनतर्फ थियो। सानीले विश्मयभावले अंकलको अनुहारमा हेरी। प्याकुलीको कालो गोरुको भन्दा पनि मानवको भयानक दानव स्वरुप देखेर सानीको सातोपुत्लो उड्यो। डरले थरथरी काम्दै हठात आफनो हात अंकलको हातबाट छुटाउँदै टेडिवेयर टिपेर ऊ पलङबाट झर्न खोजी। अंकल छुट्टै दुनियाँमा प्रवेश गरिसकेका थिए। उनको स्वास उनको नियन्त्रणमा थिएन।
सही र गलत छुट्याउन सक्ने उनको विवेक शून्य भइसकेको थियो। उनले सानीलाई बाघले झम्टेझैं झम्टे! बलिष्ट पञ्जाले सानीलाई र्च्यापे। भोको बाघले भेट्टाएको सिकारझैं सानीलाई उफार्दै थचार्दै आफ्ना वलिष्ठ दाह्रा गाड्नै आँटेका थिए। त्यसैबेला कसैले ढोकामा ढकढक गरेको आवाजले उनी झस्किए। हत्त न पत्त पेन्टको चेन बन्द गर्दै उनले सानीलाई चुप रहने संकेत दिए। डर र पीडाले लुगलुग काम्दै सानी रुन थाली। ढोकामा लगातार ढकढकको आवाज आइरहेको थियो।
मोहन अंकलले खुम्चिएको तन्ना तन्याकतुनुक पारे। पर्दा उघारे। आफूलाई सामान्य बनाउने कोशिस गर्दै ढोका खोले। ‘के भयो सानी? किन रोएकी?’ कोठाभित्र छिर्दै केशव अंकलले सोधे। ‘आज चकलेट ल्याउन बिर्सिएँछु त्यसैले रोएकी। कत्ति फकाइसकेँ मान्दै मान्दिन।’
मोहन अंकलले नजर झुकाएर भने। ‘सधैं चकलेट चुइगम दिएर केटाकेटीको बानी बिगार्न हुन्न भनेर त पहिल्यै भनेको थिएँ नि।’ भताभुतुङ्ग भएको सानीको कपाल र भुईंमा लडिरहेको टेडिवेयरलाई पालैपालो नियाल्दै केशव अंकलले भने। सुँक्कसुँक्क गर्दै सानी पलङबाट ओर्लिई। ‘सानी लेउ तिम्रो टेडिवेयर।’
केशवले भुईंबाट टेडिवेयर उठाएर सानीलाई दिंदै भने। टेडिवेयरलाई हेर्दा पनि नहेरी छिटोछिटो ऊ आफ्नो कोठातिर लागी।