~सरला गौतम~
शारदीय साँझको रमाइलो थियो । हावाको खुस्बु अलग थियो । मेरा दुई खुट्टाको आडमा दुई केटी सुस्ताइरहे । एकतिर नेपालको हिन्दु परिवारकी केटी । अर्कोतिर श्रीलंकाकी केटी जो बौद्ध धर्ममा आस्था राख्छे । म पाकिस्तानकी मुस्लिम केटी । एक मनले सोचें– ठीक यही बेला कोही आएर, देशको सीमा, धर्म वा अरू कुनै नाममा हामीलाई छुटाउन खोजे म के गर्थें हुँला । फगत यही कारणले तिमीहरूको मित्रता वर्जित छ भन्यो भने मैले के ठान्थें हुँला । यो संसार अनाहकमा यति विभाजित छ । पहिलोपटक महसुस गरें र दु:खी भएँ ।’
यसै भनेकी थिई पाकिस्तानकी नूर जेवाले त्यो दिन । पहिलो दिन भेट्दा आफ्नो धर्मको कट्टरतामा गर्व गर्दै बोलेकी ऊ अन्तिम दिनमा आइपुग्दा सार्कको आठवटै देशको मिसिएको मायाले पग्लिसकेकी थिई । उसले कल्पना गरिछ, यी दुई संगिनीलाई आड दिएकै कारण उसको धर्म ऊविरुद्ध खनियो भने ?… अनि भयभीत भइछ ।
———
कुरा सात वर्षअघिको हो । काठमाडौंको गोदावरीमा संगत साउथ एसिया नामक सञ्जालले आठवटा देशका चालीस युवतीलाई एक महिना सँगै राखेर संसार एकै ठाउँबाट चियाउने मौका दिएको थियो ।
पहिलो दिन मैले ‘म कुनै धर्मको अनुयायी होइन, मेरो जन्म भने हिन्दु परिवारमा भएको हो’ भन्दा सुरुमा अचम्म माने पाकिस्तानका मुस्लिम साथीहरूले । पछि अन्तसम्ममा यस्तो भयो उनीहरूसँग छुट्ने बेला गला अवरुद्ध भयो ।
अफगानिस्तानकी फौजियाले आफ्नो देशको ‘स्टोन थ्रोइङ’ (महिलाले परपुरुषसँग सम्बन्ध राखेको थाहा भए समाज उल्टेर ढुंगाले हानेर मार्ने कुरीति) बारे बोल्दा र डकुमेन्ट्री देखाउँदा सबैजना रोएको भर्खरजस्तो लाग्छ । बन्द समाजमा स्कार्फले मुख छोपेर हिँड्ने पाकिस्तानकै अमरिनले ननभेज जोक सुनाउँदा तुलनात्मक रूपमा खुला समाजमा हुर्किएका हामी नेपाली केटीहरूको पनि मुख आँऽऽऽ भएको थियो । त्यसपछि त सबै उसकै पछि पछि । जोक सुनाउने लोभ देखाएर ऊ कति काम पटाउँथी पनि । साँझको मन्द बदासमा नूरले सुनाउने शेर आहा † भावुक भएको कुनै बेला त लाग्थ्यो, यार मन मिल्नेहरूको एउटा गाउँ भइदिए । इन्द्रेणीजस्तै रंगीन भइदिए । फूलबारीमा एकैथरी फूल कहिले पो राम्रो देखिएको थियो र !
हामी सबैका लागि त्यो बेलासम्म बाँचिएको जीवनमध्ये त्यो समय जीवनकै उत्कृष्ट थियो । छोरी मान्छे पढेर पहिलो हुन्छन्, बुद्धिमान हुन्छन् र रमाएर बाँच्ने हैसियत पनि बोकेका हुन्छन् भनेर नसोच्ने भूगोलका थियौं हामी सबैजना । अर्थशास्त्री अमत्र्य सेनले भनेजस्तै ‘फस्र्ट ब्वाईहरूको देशमा’ जन्मेर पौंठेजोरी खेल्दै गरेका । भूगोलको फरक थियो, भोगाइ त एउटै थियो नि । त्यसैले सीमा छिचोलेर आलिंगनमा बाँधिएको त्यो समय मनमा चित्र नै बनेर बसेको छ । मनमा माया गरेर राखेको यो चित्र बेलाबेला मान्छे बनेर रुन्छ । माटोमै मिलेको मायामा जब तेजाब छरिन्छ वैमनष्यताको, अनि यो घाइते हुन्छ । जस्तो– अहिले भएको छ जो ।
केही वर्षअघि बानेश्वरमा एकले अर्को जातिविरुद्ध विष ओकल्दा हामी मायामा जात नदेख्नेहरू लुकेर रोएथ्यौं । त्यही समय एक दिन मेरी एक लामा थरकी साथीले ‘अर्जेन्ट छ भेटम्’ भनी । म हुुर्रिएर अनामनगर पुगें । एकछिनमा हामी बिजुली नभएको अँध्यारो गल्लीमा गयौं । ऊ घुक्कघुक्क गरेर मेरो काँधमा टाउको राखेर निकैबेर रोई । अनि भनी, ‘जनजाति अधिकारका कति संस्थामा म छु । दिनभरि यिनैका काममा थिएँ । तर मलाई पीर पर्दा रुन तँ बाहुनी नै चाहियो ।’
———
त्यति नै बेला समाजशास्त्री गणेश गुरुङले कुराकानीका क्रममा आफ्ना मुसलमान मित्रलाई मख्ख परेर सम्झे र भने, ‘ओहो हामी भेटेपछि त कस्तो पो हुन्छ, त्यो मेरो परम मित्र तँ तँ म म चल्ने, म भन्छु तँलाई म आज कफी खुवाउँछु ऊ भन्छ ह्या यार अन्नपूर्णमा कफी ख्वाउने पैसाले त बियर ख्वा न बरु ।’ मनले त अर्कै भन्छ नि । हामीलाई फुटाउने र लडाउने यो कम्बख्त दिमाग न हो ।
छोरीहरूमा सपना नसाँचिने देश हो हाम्रो । सबै कहर छिचोलेर छोराहरूको हाराहारीमा उभिन गरेका कष्ट छन् प्रशस्त । अझै पनि भनिदैछ तिमी र तिम्रो भाइमा फरक छ । तिमीले बिहा गरेको मान्छे परदेशी पर्यो भने वंशजको आधारमा नागरिकता पाउँदैनन् तिम्रा सन्तानले । मन कति दुख्छ र आन्दोलित हुन्छ त्यसको के सीमा । कोही मेरो अस्तित्वलाई मान्न तयार छैन अनेक बहानामा । फेरि मनले नै भन्छ फूलबारीका कोपिलाहरूमा रिस नपोख है । इन्द्रेणीको रंगमा कालो नपोत है । मायाले बनाएको संसारमा मायाकै बलमा लडौंला । आफ्ना आफ्ना लागि मात्र होइन । एकअर्काका लागि । महिलाको दु:खमा मधेसी मन, दलितको घाउमा ठकुरीको मल्हम । देशभित्र मात्र किन, छिचोलेर सीमा साटौंला पिरती, बाँडौंला सास्ती । पहिला मनमन त एक होस् ।
यो शारदीय हावा मलाई सधैं प्यारो लाग्छ । आफ्नो मान्छेले माया बतासभरि पठाएको सम्झे झन् प्यारो लाग्छ । माया गर्ने साथी कतै आफ्नै आँखाअघि छन् । कति परपर छन् । कतिसँग जात धर्म र देश पनि मिल्ला । धेरैसँग केही मिल्दैन । मन मुर्झाएको दिन जब यिनै आफ्नाहरूको पिरती बोकेको बतास आएर गालामा ठोकिन्छ त्यो दिनको लालिमा अर्कै हुन्छ । केहिले नछेक्ने मित्रता केहिले नछेक्ने पिरती स–साना नाराले नछेकिदिए यो संसार अर्कै हुन्थ्यो नि है ..।
प्रकाशित: मंसिर १२, २०७२
(स्रोत : कान्तिपुर – कोसेली)