~अमर नेम्बाङ लिम्बू~
धेरै वर्ष भयो एक दिन
तुम्लिङको उकालो बाटोमा
घत्र्याकघुत्रुक गर्दै
हिँडिरहेका थिए
तीनचार वटा खच्चरहरू ।
जति जति हिँड्दैजान्थे ती खच्चरहरू
उति उति ठोकिंदैजान्थे मेरा कानमा
तिनीहरूका घन्टीका आवाजहरू ।
आधा शरीर कुहिरोभित्र
आधा शरीर कुहिरोबाहिर पारेर
खुला ठाउँदेखि बाक्लो कुहिरोभित्र
क्रमिकरुपले
पसिरहेका थिए ती खच्चरहरू
मानुँ कुहिरोले
धमाधम निलिरहेका थिए तिनीहरूलाई
अजिङरले कुनै जनावरलाई निले झैँ।
त्यस दिन म कहाँ गइरहेको थिएँ ?
कोसँग गइरहेको थिएँ ?
केको लागि गइरहेको थिएँ ?
सबै बिर्सिसके अहिले ,
तर खच्चरहरूलाई चाहिँ
अझसम्म बिर्सेंको छैन मैले ।
सम्झनसाथ कस्तो उदासिलोरुपले
खुरहरू बजाउँदै कुहिरोभित्र
धमाधम पसिरहेका हुन्छन् ती खच्चरहरू !
कस्तो बिरहरुपले कुहिरोभित्र
बजिरहन्छन् ती घन्टीहरू !
त्यसरी नै आजतक यो सानो सम्झना
यो मनमा अझै टाँसिरहेको छ
कहिल्यै नमेटिने गरेर ।