~किशोर नेपाल~
कालीघटा छाये सैयाँ, कालीघटा छाये’ : सहरको सबभन्दा पुछारको टोलमा जमानाको वुश रेडियो घन्किरहेको छ । सारै पुरानो भए पनि बडो लक्जरियस छ रेडियो । एन्टिक । नौवटा त ब्याट्री नै खान्छ । पहिले पहिले नौवटा एभरेडी ब्याट्रीले नौ महिना धान्थ्यो । अहिलेको ब्याट्रीले नौ दिन पनि धान्दैन ।
महायुद्धमा बर्मातिर लड्न जाँदा हजुरबाले लाहुरबाट ल्याएका, उनले सुन्नुसम्म सुने । उनी मरेपछि हजुरआमाले सुन्न थालेकी हुन् । रेडियोमा उनी भजन सुन्न खोज्छिन्, रेडियो भने ‘कालीघटा छाये’ मात्र सुनाउँछ । बेला बेलामा भन्छ– ‘ये अल इण्डिया रेडियोका उर्दू सर्भिस है । आप सुन रहें है पुराने फिल्मों के गाने ।’ नाकाबन्दीको अघिल्लो रातसम्म रेडियोले रेडियो नेपाल राम्रै टिप्थ्यो । अब त्यो पनि टिप्दैन । दलानको छेउमा बसेर पारिलो घामको आनन्द लिँदै मोबाइल च्याटमा व्यस्त नातिसँग हजुरआमा बेला बेलामा कराउँछिन्– ‘ए बाबु, यो रेडियो के भन्छ भन्छ, लौ न भजन लाई दे न ।’ र, आफैं गुनगुनाउन थाल्छिन्– राधेश्याम, राधेश्याम । भज प्यारे मन सीताराम ।
‘लाग्दैन के हजुरआमा । वान्टिन ट्वान्टीको यो रेडियोमा भजनै लाग्दैन, म के गरूँ त ? भजनै सुन्ने भए पल्लाघरका काकाको घरको जस्तो हेर्न पनि मिल्ने र सुन्न पनि मिल्ने टेलिभिजन ल्याउँ भनेको, मानेको होइन,’ नाति कराउँछ । त्यसपछि एक्लै भुतभुताउँछ, ‘एलईडी सेट ल्याएर पनि कहाँ राख्नु र ? घर भत्किइहाल्यो । गोठमा बसिएको छ । बा सधैं पैसा छैन, सरकारले सहयोग गरेपछि घर बनाउने भन्छन् । सरकारको सहयोग आउला र घर बन्ला भन्दाभन्दै जुनी बित्ने भो ।’
हजुरआमा नातिको कुरा सुन्दिनन् । महायुद्धबाट फर्किएपछि हजुरबाले किनेको घर वैशाखको भुइँचालोले गल्र्याम गुर्लुम भत्काइदियो । छोरा–नातिलाई सहर–बजारमा हुर्काउने, पढाउने र बढाउने हिसाबले उनले काठमाडौं शहरको पुछारको गाउँमा जग्गा–जमिन जोडेका थिए । त्यो गाउँ अब शहरको मुख्य हिस्सा बनिसकेको छ । भुइँचालोले घर भत्काएको दिनदेखि टालिएको आमाको कान अहिलेसम्म खुलेको छैन । तोरीको तेलमात्रै एक कुरुवा हाली सकिन् होला कानमा । केही गरे खुलेको होइन । एक हिसाबले यो राम्रै भएको छ । उनी कसैको कुरा सुन्दिनन् । भन्छिन्– आवाज कानमा पर्छ । बुझ्दिन । माखो कराएको जस्तो भुनुनुननन मात्र गर्छ । अचेल कसैले उनको कुरा सुन्दा पनि सुन्दैनन् । ध्यान पनि दिँदैनन् ।
बूढीको कुरा सुन्ने फुर्सद पनि कसलाई छ र । सबै आ–आफ्नो काममा व्यस्त छन् । जेठो नाति तेल ढुवानीमा लागेको छ । बिहानै उठेर बाइक चलाएर ठोरी जान्छ । चालीस लिटर तेलका दुईवटा जब्बर जर्किन मोटरसाइकिलको दुईतिर झुन्ड्याएर राति अबेर फर्किन्छ । बल्ल केटाले राम्रो काम पाएको छ । माइलो ग्यास ओसार्ने काममा लागेको छ । धुलीखेलदेखि धुनीबेंसीसम्म– दिनहुँ टिपरमा आठ दस सिलिन्डर हालेर दौडेको दौडियै गर्छ । कान्छो दिनभर मोबाइलमा केटी साथीहरूसँग च्याट गर्छ । दिनभर आफ्नो कमिसनसमेत जोडेर दाइहरूले जम्मा गरेको पेट्रोल र ग्यास बेच्छ । भाउ घटबढ भइरहन्छ । मौका हेरी पेट्रोल एक लिटरको ३५०–४५० रुपैयाँसम्म । ग्यास एक सिलिन्डरको ५ हजारदेखि ७ हजारसम्म ।
बा खुसी छन् । केटाहरूले राम्रै कमाइरहेका छन् । दैनिक खाइ–लाइ कटाएर बाको खातामा बीस लाखभन्दा बढी नै जम्मा भइसकेको छ । बाले यसलाई सरकारको सहृदयता ठानेका छन् । सरकारले व्यापारका लागि वातावरण बनाइदिएको छ । अहिलेसम्म छोराहरूको बाटोमा सिपाही पुलिस कसैले रोकटोक केही गरेको छैन । बरु शुभेच्छुकहरूले सह्राएका छन् । नाकाबन्दीले यत्रो हाहाकार मच्चाएको बेला ज्यान जोखिममा राखेर केटाहरूले अलिकति भए पनि अभाव मेटाएका छन् । नाकाबन्दी अलिदिन लम्बियो भने बाले सोचेको जस्तो घर बनाउनेछन् । सरकारले सहयोग नगर्दा पनि केही फरक पर्ने छैन ।
‘पारस, पारस’ जोड जोडले नारा लगाउँदै गल्लीको मुखमा क्रिकेट खेलिरहेका नवागन्तुक पींढिका सदस्यहरू अचानक नारा बदल्दै चिच्याउँछन्, ‘बत्ती आयो, बत्ती आयो ।’ क्रिकेटको ब्याट संघारमा ठड्याएर केटाकेटीहरू टेलिभिजनमा निन्जा हतौडी र तारक मेहताका उल्टा चस्मामा व्यस्त हुन्छन् । घर–घरमा जेनेरेटरको आवाज गुन्जिन थाल्छ । गृहिणीहरू भूमिगत पानी तान्न व्यस्त हुन्छन् । राजधानी शहरको विशेषता भन्नु नै पानीको अभाव हो । त्यो अभाव हटाउने कल्पनाका साथ कार्यान्वयन थालिएको मेलम्ची आयोजनाले गल्ली गल्लीका चिल्लो सडक भत्काएर पाइप गाडने काम गरे पनि पानी ल्याउने कुरा सपनामा नै छ ।
पानीको व्यवस्थापन सकिएपछि गृहिणीहरू इन्डक्सन चुलोमा चिया चमेना बनाउन सक्रिय हुन्छन् । बाथरुमका फ्लसहरू चल्न थाल्दछन् । खुसी झल्किन्छ अनुहारहरूमा । छिमेकको वातावरणमा खुसी नै खुसी भरिन्छ । तर, यो खुसी धेरै बेर टिक्न पाउँदैन । आएको पन्ध्र मिनटपछि बत्ती र खुसी दुवै सँगसँगै जान्छन् । टेलिभिजनको अगाडि बसेका केटाकेटीहरूको मुख निन्याउरो हुन्छ । आधा पाकेको चमेना हेर्दै गृहिणीहरू थाप्लामा हात राख्दछन् । बत्तीको आउने र जाने दुवै सेड्युल तीन तीन दिन बिराएर संशोधन हुन्छ । त्यसलाई विधिवत् सार्वजनिक गरिएको हुन्छ । गृहिणीहरूले पटक पटकको त्यो सेड्युल कण्ठाग्र पारेका हुन्छन् । तर, कुन एरियामा कतिबेला बत्ती झ्याप हुने र नहुने ? त्यो सेड्युलमा होइन बत्तीको लोडमा भर पर्दछ । बिजुली अड्डाका बबुरा कर्मचारीहरूले के गरून् ? ग्राहकका डिफ्युज भएका मिटरमा फ्युजको मोटो तार हालेर एक हजार रुपैयाँ फी बुझुन् कि ग्राहकको गुनासो सुनुन् ?
सहरमा बिजुलीका ट्रान्सफर्मरहरू पडकेको पडक्यै छन् । ट्रान्सफर्मर उद्योगहरू मर्मत–सम्भारमा जुटेका छन् । युध्दस्तरमा भइरहेको छ काम । संविधान जारी भएपछि गठन भएको राष्ट्रवादी सरकारले भुइँचालो र नाकाबन्दीपीडित उद्योगहरूको नाममा भर्खरै एक खर्ब रुपैयाँ छुट्याएर औद्योगिक आत्म–निर्भरतातिर पाइलो चालेको छ । उद्योगहरूले भनेजत्ति र चाहेजत्ति पैसा कमाउने अवसर नै पाएका छैनन् । तैपनि, उद्योगपतिहरू चलायमान छन् । अब कमाउने अवसर खुलेको छ । देशको बत्ती वा बिजुली उद्योग सबभन्दा पीडित छ । हजारौं–हजार मेगावाट बिजुली उत्पादनका सपनाहरू चरमोत्कर्षमा पुगेर स्खलित हुने क्रममा छन् । राजनीतिक नेतृत्वले बिजुली उद्योगलाई नै आफ्नो आर्थिक आत्मनिर्भरताको पहिलो लक्ष्य र स्रोत बनाएका छन् । बत्ती उद्योगको मूल तत्त्वका रूपमा रहेको कमिसनमा कुरा नमिल्नेबित्तिकै योजना राष्ट्रघाती हुने उहिलेको प्रचलन झन् घनीभूत भएको छ । नेताहरूले राजधानी सहरमा मात्र होइन, देशमा बत्ती र पानीको छेलोखेलो हुने कथा वाचन गर्दै आएका छन् । त्यो कथाले अब गरुड पुराणको रूप लिइसकेको छ ।
एक जमाना यस्तो पनि थियो जब यो सहर लाखौंलाख मानिसको सपना थियो । तर, सपना नै दु:स्वप्न वन्ने हो । जस्तो कि, शहर अहिलेसम्म, राजधानी शहर भएर पनि, खुला दिशामुक्त क्षेत्र बन्न सकेको छैन । शहरको मुटुको छेउछाउमा रहेको सानो टुँडिखेल (दशरथ रंगशाला) को कुनामा अक्षरहरूको रंगीबिरंगी साइन चम्किने गथ्र्यो– आज यतिजना नेपालीले खुला ठाउँमा हगे । लाग्थ्यो, खुलामा हग्नेको गिन्ती कसले गर्ने होला ? अचेल ती अक्षर चम्किन्छन् कि चम्किँदैनन् ? सम्झना छैन । धन्य हो, सहर टुक्राटुक्रामा भए पनि सफा छ । ती केही टुक्रालाई छाडेर बाँकी शहर धूलाम्मे छ । वैशाखको भुइँचालोले पछारिएको धरहराका भग्नावशेषहरूको स–साना प्याकेट बनाएर सुभेनियरका रूपमा बेचिएको भए महानगरपालिका मालामाल हुने थियो । जर्मनीलाई पूर्व र पश्चिममा छुट्याउने बर्लिनको पर्खाल भत्किँदा जर्मनहरूले पर्खालका इँटा र माटोलाई सुभेनियरका रूपमा बेचेर करोडौं कमाएका थिए । अहिले धरहराको भग्नावशेष टुँडिखेलमा थुपारिएको छ । अरू भग्नावशेषहरू जहाँ जस्तो स्थितिमा थिए त्यहीं त्यस्तै स्थितिमा रेट्रोफिटिङ कुरेर बसेका छन् ।
पुसमा शहर कडा चीसोमा डुब्छ । कुहिरो र तुषारोले बिहानीलाई ढपक्क ढाकेपछिदिनभरि चीसो घाम लाग्दछ । अहिलेसम्म शहरमा चराहरू चिरबिराउन छाडेका छैनन् । चराहरूको चिरबिराहटसँगै बिहान ढोकामा आउने समाचारपत्रहरूमा समाचारभन्दा चिरबिराहट नै धेरै हुन्छ । सन्दर्भहीन चिरविराहट । आशा कम र निराशा बढी । सकारात्मकताको अर्थहीन गन्थन । हुनेले नहुनेलाई दिएको उपदेशका भारीहरू । सरकारका आश्वासनहरू जसले कहिल्यै खुला घाम देख्दैनन् । राजनीतिक नेताका प्रमोसनलहरू । दुई तीन दिनअघि एउटा अंग्रेजी दैनिक समाचारपत्रले पहिलो पृष्ठमा मुख्य समाचारका रूपमा छाप्यो – ओल्ड कपल, साइटलेस, होमलेस, हेल्पलेस । वृध्दहरूप्रति समाजको करुणा जगाउने थियो होला उसको उद्देश्य । तर, समाजको कुनचाहिं सदस्यलाई फुर्सद छ र करुणामय हुने ? शहरमा सवै व्यस्त छन । पेट्रोल, ग्यास, बत्ती र पानी । सबै जगत्को ध्यान आफूप्रति आकर्षित होस् भन्ने चाहन्छन् । बालक बबुरा भएका छन्, वृध्द बिचरा ।
भुइँचालोले धरहरा भत्काएको छ । देवल, दरबार र दरबारका गल्लीहरूको विनाश गरेको छ । शहरलाई धूलाम्मे बनाएको छ । सँगसँगै समाजलाई एकोहोरो बनाएको छ । शहरले जबर्जस्त कोल्टे फेरेको छ । तर, कुन कोल्टे फेरेको हो कसैलाई थाहा छैन । कोल्टे फेरेको स्वीकार गर्न पनि कोही तयार छैन । भुइँचालोपछिको नाकाबन्दीले संस्कृतिलाई अस्तव्यस्त तुल्याएको छ । शहर अखबारका पानामा साँघुरिन थालेको छ । अजीव छ अवस्था, साँच्चै अजीव ।
तै, हामी भने शहरमा नै छौं ।
प्रकाशित: पुस २५, २०७२
(स्रोत : कान्तिपुर – कोसेली)