~बालकृष्ण भट्टराई~
रातको एघार बज्यो। मनमा अनेक कुराहरु खेलिरहन्छन्। निद्रा पटक्कै छैन। के गर्ने के गर्ने उसको मन त्यसै अलमलमा छ। दुई दर्जन किताबहरु पढिसक्यो तै पनि लेख्न केही सकेको छैन। आज त जस्तो जानेको लेख्न भनेर बस्छ तर मनमा उब्जेका भावनाहरुलाई कापीमा उतार्न सक्दैन। मनमा एकैचोटि धेरै कुराहरु खेल्न थाल्छन्। तैपनि जस्तो जानेको कोरेर शान्त हुन चाहन्छ। त्यसैले लेख्न बस्छ। प्रायजसो दिनभरि गरेका, देखेका, भोगेका कामहरुलाई साँझमा आफ्नो डायरीमा टिप्ने गर्दथ्यो। तर सधैँ एउटै कुरा मात्र उठेको समय, खान खाएको समय, घुम्न गएको समय, गफ गरेको समय, पाखा बसेको समय यस्तै यस्तै। कुनै नयाँ कुरा छैन। सायद त्यो ज्ञानको अभावले होला कुनै नयाँ कुरा फुट्न सकेन। तैपनि लेख्ने गर्थ्यो।
पटक–पटक नौलो कुरा लेख्न भनेर बस्छ तर अलमलमा पर्छ, अनि रोकिन्छ। फेरि लेख्छ। धेरै समयको प्रयासबाट ऊ फेरि एकपल्ट आफ्नो अनुभूति लेख्ने कोशिस गर्दैछ जानेर वा नजानेर।
धेरै भयो केही लेखेको छैन, डायरी पल्टाएको पनि छैन। धेरै दिनदेखि त्यो डायरी त्यहीँ टेबलमा छ। हुन सक्छ, एउटै कुरा बारम्बार दोहोरिएकाले ऊ दिक्क भएर लेख्न छोडेको होला। तर आज आधा रात हुन लाग्यो ऊ चाहिँ डायरी लेख्न बसेको छ। निन्द्रा पटक्कै आउँदैन। मध्यरात हुन केही समय मात्र बाँकी हुँदो हो। बिस्तारै वरिपरि घरहरुमा बत्ती बन्द हुन थाले। माथी डाँडामा जोडजोडले कुकुरहरु भुकेको आवाज मात्र आइरहन्थ्यो। आकासमा ताराहरु चम्कँदै थिए। कोठामा सन्नाटा छाएको थियो। नजिकैको झाडीबाट कीराहरुको एकोहोरो आवाजले वरिपरिको वातावरण निस्तब्ध हुन्छ।
कोठाको त्यस निस्तब्ध वातावरणमा घडीको टिकटिक बाहेक अरु कुनै आवाज सुनिँदैन। तर अचानक बाहिरको मसिनो खत्र्याक्खुत्रुक आवाजले उसको लेखाइको क्रम टुट्छ। अलिकति टाउको निकालेर बडो ध्यान पूर्वक झ्यालबाट बाहिर हेर्छ। एक हुल मानिसहरु साना पिलपिले बत्ती बोकेर उत्तरतिर लाग्छन्। कसैले गाग्रो, कसैले बाल्टिन, कसैले जर्किन बोकेका अलिअलि झल्याकझुलुक देखिन्छ।
उसले अचानक हिजो टेकुमा देखेको कुटाकुट सम्झन पुग्दछ। लाइन मिलाएर पानीको प्रतिक्षामा डोरीले बाँधेर राखेका रित्ता भाँडाकुँडा सम्झन्छ। हेर्दाहेर्दै दुई महिला बीचको कुटाकुट सम्झन्छ र कोठाको कुनामा थुपारेका आफ्न रित्ता भाँडाकुँडालाई सम्झेर झल्यास्स हुन्छ। सपना हो कि विपना हो छुट्याउन गाह्रो पर्छ।
ऊ फेरि तिनीहरुको आवाजले बाटातिर तानिन्छ। तिनीहरु मध्ये एउटाले भन्छ–यार मेरो त पाँच लिटर मात्र भए पनि ल्याउनै पर्छ नत्र भोलिलाई खाना पकाउने पानीको थोपो छैन।
दोस्रोले भन्छ–एक महिना १० दिन भैसक्यो तै पनि धारामा पानी दिने पत्तै छैन।
तेस्रोले भन्छ–अहिले ल्याउन सकिएन भने त भोली दूधपोखरी पुगेर भए पनि ल्याउनु पर्छ, मेरी त जाहान सुत्केरी छन्।
यस्तै संवाद चलिरहेको थियो। बाँकी उसले सुन्न सकेन। तिनीहरु निकै अगाडि पुगिसकेका थिए। बिस्तारै तिनीहरु अँध्यारोमा बिलाउँछन्। ऊ फेरि लेख्न बस्छ।
चन्द्रमाको उज्यालो किरण झ्यालबाट कोठामा पर्दै थियो। कोठाको एउटा कुनामा पानी बिनाका रित्ता ग्यालेनहरु लडिरहेका थिए। उसलाई केही लेख्न मन लाग्दैन। बिछ्यौनामा पल्टिन्छ। धेरै बेरसम्म आँखा चिम्लिएर पल्टिरहन्छ तर निदाउन सक्दैन अनि खाटबाट उत्रिन्छ र झ्याल लाग्छ। उसले धेरै बेरसम्म अँध्यारोलाई चिर्दै टाढाटाढा सम्म हेरिरहन्छ। अचानक के सम्झिन्छ कुन्नि नजीकैको टेबलमा बस्छ र कापीमा केही कोर्न थाल्छ।
उसका आँखामा अनौठो सपनाहरु छाइरहन्थ्यो। दुब्ला औँलाका नङहरु लामा भएका थिए। कपाल ६ महिना देखि नकाटेको जस्तो भएको थियो। चिउँडोमा चुस्स दारी पलाएको थियो। साँझपख केही समय छतमा बस्थ्यो। वरिपरिको वातावरणलाई हेरेर केही समय आफूलाई भुलाउँथ्यो। अनि कोठामा फर्कन्थ्यो।
ऊ अब कसैसँग पनि धेरै बोल्न छोडिसकेको थियो। ऊ एक्लै कोठामा दिनभरि बसिरहन्थ्यो, जस्तो जानेको कुरा लेखिरहन्थ्यो। पढिरहन्थ्यो। उसका दिनचर्या धेरै जसो कोठामा नै बित्ने गर्दथे। साथीभाइसँग भेटघाटका लागि जान छोडिसकेको थियो। सम्पर्क बिहिन र एकान्त जीवन उसलाई प्यारो लाग्न थालेको थियो। समाचार सुन्न पनि छाडिसकेको थियो। जहिले पनि बिग्रेका, भत्केका, अशुभ खबरहरुले वाक्क लागेर होला। उसले अलिकति लेख्थ्यो, त्यसलाई पढ्थ्यो फेरि के चित्त बुझ्दैनथ्यो कुन्नि त्यसलाई काटेर फेरि लेख्न थाल्थ्यो। राम्रा कुरा लेखेर दिनको उपभोग गर्न हतार गर्दै थियो। ऊ बाँच्न हतार गर्दैथ्यो। उसमा अब डरलाग्दा विचारहरु उब्जन थालेका थिए। प्रेममा तल्लिन प्रेमीहरु, मृत्युमा शोकाकुल मृतकका आफन्तहरु, आफैलाई बेचिरहेका बेश्याहरु, बच्चा फुल्याइरहेका आमाहरु यी सबै कुरा उसका नजरमा कुनै मानब थिएनन्। यी सबै दृष्टि भ्रमहरु हुन्, खुसीका भ्रमहरु हुन, सौन्दर्यका भ्रमहरु हुन् र यी सबै नाशवान छन्। यस्तै सोचाइमा ऊ डुब्न थालेको थियो। हावाको लहर बिस्तारै उसको झ्यालबाट कोठामा सर्दै थियो।
अचानक माथिल्लो कोठामा डाङ्डुङ्को आवाज आउँछ। ऊ कान ठाडो पारेर चुपचाप उभिन्छ र मनमनै सोच्छ। हुनसक्छ कोठामा मुसो पस्यो क्यार। ऊ झसङ् हुन्छ। उसले पनि दूर गाउँबाट आमाले पोका पारेर पठाएको । त्यसमा पनि बन्दको अनेक मार खप्दै ल्याएको चामलको सम्झना हुन्छ। हतार–हतार झ्याल बन्द गर्छ र सुत्ने तरखर गर्छ।
उसले धेरै बेरसम्म ओछ्यानमा पल्टिएर कोठाका रित्ता जर्किनलाई नियालिरहन्छ, उसलाई खटपटी भइरहन्छ। र बिहान सबैभन्दा चाँडो उठेर कुवामा पानी लिन जाने कल्पनामा ऊ निन्द्राले चूर भएर निदाउँछ। अब ऊ सधैँलाई डायरी लेख्न बन्द गर्ने निधो गर्छ। सायद नै कहिल्यै फेरि लेख्ने छैन।
किर्तिपुर, ट्याङ्लाफाँट
हाल बसन्तपथ, सिधार्थनगर–१२, रुपन्देही