~रामनाथ खनाल~
उसैगरी बग्दैछ काली गण्डकी । त्यो त त्यो उसको नियमितता पनि हो । आकस्मिक आउने हुरी बताँसले उसको बगाईको वेग कहाँ बदल्न सक्छ र ? बग्नुसँग नै उसलाई गर्व छ ।
त्यस दिन पनि काली गण्डकीको बगाईमा पनि कुनै बदलाव आएको थिएन । आकासमा उस्तै रोशनी छाएको थियो । धर्ती उज्यालीने तरखरमै थियो । बास बसेका चराहरु गुँडबाट आहाराको खोजीमा आकाशमा उड्न थालिसकेका थिए । मंसिरमास फाँटमा गहुँ, जौ लगाउन हतारिरहेका किसानहरु पिठ्यूँबाट पसिना चुहाउँदै मलको भारी बोकेर उँधो वेशी झर्दै थिए । तर शिवदाइको दिनचर्या किसानहरुको भन्दा अलि भिन्न छ । काली गण्डकीको किनार चहारेर भोक भर्नु, जीवनको रथ गुडाउनु, फाटेका पैताला घिसारेर जिन्दगी निर्वाह गर्न उसको नियति हो । वर्षात महिनामा खोला तर्न नसकेर अलपत्र परेका बटुवालाई पारी किनार पुर्याईदिनु उनको वर्षौँदेखिको कर्म हो । त्यसका अलावा काली गण्डकीको उराठ र पट्यार लाग्दो बगरमा खोँचे थापेर या वल्छि अड्काएर माछा मार्नु उनको नफेरिएको दैनिकी हो ।
उ कहिले काँही काली गण्डकीमा दुवाली फर्काएर खोँचे थाप्छ । र बग्रेल्ती माछा पार्छ । कहिले हप्ता दिनमा पनि भोक भर्ने माछा भेटाउँदैन कहिले नदीको सुस्काईमा सुसेली हाल्छ । काँधमा कहिल्यै रेडियो छुटाउँदैन । उसलाई नचिन्ने को होला ?
दुःखी शिवेको व्यथा माझी दाइको कथा भन्दा कम निरश लाग्दोे कहाँ छ र ? उसको घर त्यहीँ काली गण्डकीको किनार कतै हो । सायद बाग्लुङ तिर । बाऊ बेलैमा मरे । बाऊ मरे पछि आमाले पनि छोडेर पोइल हिँडिन् । बाऊआमा दुवैले छाडेपछि एक्लो शिवे चिवे चरा झैँ फुक्का भयो ।
अचेल काली गण्डकी खोलो नै उसको साथी भएको छ । कहिले काली गण्डकीको बगरका शालीग्रामहरु लगेर बजार तिर बेच्छ । कहिले माछाका भुरा जम्मा पार्छ भोक भर्छ । बँचेको बजारमा लगेर बेच्छ । आखिर जिन्दगी त यही काली गण्डकी जस्तै त होनी बगिहाल्छ नी आफैँ ।
उसको भाषामा पनि जीवन यही नदी जस्तै हो । वर्षातको भेलमा मिसिएर कहिले गड्गडाएर बग्छ । कहिले तुषारे शिशिर झैँ कठ्यांग्रिएर बग्छ ।
कालीको किनारमा उसले सानो टहरा ठड्याएको छ । साँझ भएपछि ऊ त्यहीँ ओत लाग्छ । सिस्नो फाँडो पकाउँछ । बटुवाले दिएको पीठो अराल्छ । पेटभरी खान्छ ।
00
मंसिरको महिना विस्तारै चिसो बढ्दै छ । काली गण्डकीमा अचम्मको सिरेटो चल्छ । आँतै काम्ने चिसो जाडो । विहानको सात बजिसक्दा पनि घामको अनुहार देख्न पाएको छैन । च्यातिएको च्यादर र झुत्रिएको स्वीटरले जाडो थेग्न मुस्किल भैसकेको छ ।
अचानक उसको आँखा कालीमा हिजो उसले थापेको खोँचेमा माथि पर्यो । जाडोले काम्दै ऊ कालीको किनार तर्फ अघि बढ्यो । खोँचे मा अल्झिएको अनौठो वस्तुले ऊ झसंग भैसकेको थियो ।
मंसिर महिना भएकाले पानीको बहाव निकै घटी सकेको छ । त्यसैले उसले भएभरको काली त्यहीँ खोँचेमा अटाइदिएको छ । बबुरो खोलो उसकै खोँचे भएर बग्न विवस बनिरहेको छ ।
हैन के अल्झिए छ त खोँचेमा भन्दै ऊ के अघि बढेको मात्र थियो उसका पाइला एकाएक रोकियो मुटु चिसो भएर आयो । विहानीपखको शीतले निथु्रक्क भिजेको अनुहारमा अनायसै चिटचिट पसिना आउन थाल्यो ।
यस अघि कहिल्यै नभोगेको र नदेखेको घटनाबाट ऊ सशंकित भयो र विस्तारै ऊ खोँचे भएतिर अझै अघि बढ्यो । त्यतीवेलामा सम्म उसको शरीरमा नौ रेक्टर स्केलको भुकम्प जस्तो कम्पन पैदा भइसकेको थियो ।
खोँचेको फराकिलो मुखबाट तल उँधोमुन्टिएको र कम्मरमा पटुकीले छोरी बाँधेकी महिलाको अर्धनग्न शरीर देख्दा सुरुमा त ऊ आत्तियो । हतारिँदै खेतमा कामगरिहेका मानिसहरुलाई ठूलो डाँको गरेर बोलायो ।
एकैछिनमा फाँटभरीका मान्छे भेला भए । सवैजना मुखा मुख गर्न थाले । कसैल चिनेको हो भन्न सकेनन् । एउटा अपरिचत महिला र कम्मरमा बाँधिएकी छोरी सहितको अपरिचित शवले उनीहरुलाई आश्चर्यमा पार्यो । शवलाई कालीको भंगालोले निर्मम प्रहार गरिरहेको थियो ।
शव झिकि हाल्ने कुरा थिएन । पुलिसलाई खवर गर्ने विचारमा गाउँले पुगे । खै कसरी गाउँलले प्रहरीका खवर पुर्याएछन् । दिउसो सवा १ बजे तिर प्रहरी आइपुग्यो ।
प्रहरी आइपुग्नु अघि शिवले अनेक सोचे ।
कस्तो निर्दयी आइमाई आफू त मर्नु नै थियो, यो नावालक छोरीलाई पनि बाँधेर आफूसँगै नदीमा किन फालहाली ? यस्तै अनेक प्रश्नले ऊ भित्रभित्रै रन्थनीएको थियो ।
उसले ५० हिँउद खाई सकेको हुँदो हो तर जीवनमा यस्तो अप्रिय घटना आँखाले कहिल्यै देखेको थिएन । कानले भने सुनेको थियो तर आज उसले आफ्नै आँखा सामू त्यो दर्दनाक दृष्य नहेरी धरै पाएन ।
उसको मथिङगलमा त्यही प्रश्न घुमिरह्यो के एउटी महिला यती निर्दयी र क्रुर बन्न सक्छे ?
किन सक्दिन ?
‘नपत्याए हेर तेरो आँखा अघिको विभत्स दृष्य’ उसलाई अर्को मनले भन्यो ।
नपत्याई उसले धरै पाएन ।
एकै छिनमा ग्वारग्वारर्ती प्रहरीहरु आए । केरकार गर्न थाले, ‘कहाँ थियो यो शव, पहिला कसले देखेको ?’
‘शिव दाइले देखेको’ सवैल उसैलाई देखाए ।
‘यहीँ हजुर’ डरले उसले काम्दै भन्यो ‘विहान माछा झिक्न खोँचे भएतिर आउँदा देखेको ।’
‘अन्दाजी कति बजेको थियो’ अर्को प्रहरी बोल्यो । सायद हाकिम हुनुपर्दछ ।
‘खै ठ्याक्कै समय त थाहा भएन तर त्यस्तै साढे सात हुँदो हो’, उसको जवाफले प्रहरी केही धैर्य भयो ।
‘कसैले चिन्नु भएको छ, को हो उनीहरु ?’
कतैबाट चालचुल आएन ।
‘खै ? हजुर मैले पनि आज भन्दा अघि त कतै देखेको थिइनँ’ शिवले प्रष्टिकरण दिए ।
प्रहरीको एकटोली अनुसन्धानको लागि कालीको किनार तिर सोझियो ।
अरु प्रहरीले लख काटे, ‘त्यस्तै सात/आठ घण्टा अघि मृत्यु भएको हुनुपर्छ, शव त्यती गलिसकेको छैन ।’
‘हत्या या आत्म हत्या के हो, पोष्टमार्टम रिपोर्ट नआई यसै केही भन्न सकिन्न’ एक जना बोल्यो ।
‘आमाछोरी दुवैको शव पोको पार ।’ प्रहरी मध्येको हाकिमले उर्दी लगायो ।
शिव दाईलाई सवैभन्दा ननिको दिन आजै लाग्यो । आँखा अगाडिको विभत्स दृष्यले उसलाई कताकता पीडाबोध गरायो । जीवनका हरेक मृत्युलाई नजिकबाट देखेको उसलाई त्यो मृत्यु निर्दयी र भयानक लाग्यो ।
लासलाई खोेँचेबाट बाहिर निकाल्ने जिम्मा उसकै काँधमा आयो । खोलाको किनार वरिपरी भेला भएका अन्य मानिसहरु लास नजिक आउनै डराईरहेका थिए । केही प्रहरीहरुले पनि उसलाई साथ दिए । खोँचेबाट विस्तारै लास निकाल्यो र बगरमा ल्यायो ।
महिलाको कम्मरमा बाँधेको पटुकी फुकादियो । सँगै रहेकी छोरी पनि बगरमा राख्यो । पानीले खाएको शव प्लाष्टिकमा पोको पार्न कहाँ सजिलो थियो र ?
प्लाष्टिकमा पोको पार्नुभन्दा अघि प्रहरीहरुले महिला र बालिकाको शरीर खानतलासी गरे । पटुकी भित्र प्लाष्टिकमा पोको पारिएको सानो कागजको टुक्रो बाहेक अरु केही फेला पार्न सकेनन् ।
000
काइँली हो मेरो नाम । घर कालीको किनार पिपलबोट हो । राम्रो घर भनेर सानैमा बाआमाले विवाह गरी पठाइदिए । तर विवाह गरेको भोलि पल्टैबाट मेरो दुर्दिन सुरु भयो ।
सानामा काँडाले समेत नकोतरेको मलाई विवाह गरेको दिनबाटै घर परिवारले प्रताडना दिन सुरु गरे । ठूलो जहान परिवारको कान्छी बुहारी भएर त्यहाँ पुगेकी थिएँ । परिवार त्यती सम्पन्नसाली पनि थिएन । बनिबुतो गरेरै हात मुख जोर्नुपर्ने ।
विवाह गर्नु भन्दा अघि मैले मेरो श्रीमान् कहिल्यै देखेकी थिइन । विवाह पछि थाहा भयो उहाँको जाँड रक्सी खाने खराव आदत रहेछ । जाँड रक्सी खाएर हो–हल्ला गर्ने, मध्यरातमा घर आउने, परिवारमा तमास देखाउने मलाई कुट्ने, लछार पछार पार्ने यि त उहाँका सामान्य काम नै थिए ।
जे जस्तो भए पनि माइतीले मलाई विवाह गरेर त्यही घर पठाएका थिए । चुपचाप स्वीकार्नु बाध्यता थियो । कति पल्ट माइतमा गएर आमासँग भक्कानिएकी थिएँ । ‘के गर्छेस त बाबै, छोरीको जात यस्तै हो । जे जस्तो भएपनि अर्काको भित्तो टाल्नै पर्छ । दुःख सुख गरेर खा, माइतीलाई दुःख दिन नआइज’ आमाले यसै भन्थिन् ।
श्रीमान्ले दुव्र्यवहार गरे पनि परिवारले राम्रो गर्लान भन्ने आशा थियो । अहँ भएन ।
धेरैपल्ट मायापूर्वक श्रीमान्लाई राम्रो बाटोमा ल्याउने प्रयत्न नगरेकी पनिहोइन । तर उनको नानी देखि लागेको बानी कहाँ सुध्रन्थ्यो र ? उल्टै उनले मेरो गहना लत्ता कपडा बेचेर सिध्याए ।तरपनि उनको बानी सुध्रने छाँट थिएन ।
एउटी महिलाको लागि सवै भन्दा ठूलो सहारा र भरथेग गर्ने मान्छे भनेको उसको श्रीमान् नै हो । तर म श्रीमान्कै कारण दिनरात आँसुमा पौडिएर जीवन कटाउन बाध्य थिएँ । त्यतीकैमा एउटी छोरी जन्मी । त्यसपछि उसको पनि दुर्दिन सुरु भयो ।
समय आफ्नै रफ्तारमा थियो । विवाह गरेर खुसी संसारमा भित्र्याउन माइतीले मलाई अन्माएर पठाए पनि म भने कहिल्यै उम्कने दुःखको भंगालोमा परेकी थिएँ । त्यसबीचमा मैले धेरै पल्ट आत्महत्याको प्रयास नगरेको होइन । तर मर्न पनि त कहाँ सजिलो छ र ? संयोगै आउनु पर्दो रहेछ ।
त्यस्तैमा एक दिन विहानै बजार जान्छु भनेर निस्किएका श्रीमान् उतैबाट वेपत्ता भए । धेरै खोजपताल गर्दा पनि उनको केही पत्ता लागेन । कति ले त जड्याँहा कहाँबाट लडेर मर्यो भने । मलाई सान्त्वना दिने कोही भएन ।
जँड्याहा भए पनि श्रीमान् हुनु र नहुनुमा धेरै फरक पर्दो रहेछ । त्यसदिन देखि मलाई परिवारले पनि यातना दिन थाल्यो । मेरै कारणले श्रीमान्ले घर छोडेर हिँडेको आरोप समेत लगाए । उनीहरुले मलाई र मेरी छोरीलाई राम्रोसँग खान पनि दिँदैनथे । श्रीमान् घर छोडे देखि माइतीले पनि राम्रो मान्दैनथे । दुःखको जँघारमा फसेको मेरो जीवनमा झन् ठूलो बाढी नै आयो ।
सबै सहेकी थिएँ । किनभने सहने बानी परिसकेको थियो । जे जस्तो भए पनि यही सानी छोरीको मुख हेरेर जीवन बिताउनु भन्दा मेरो अर्को विकल्प के थियो र ?
एकपछि अर्को दुःख भित्रिरहेको मेरो जीवनमा अर्को बज्रपात आइलाग्यो । अचानक एक दिन घरमा कोही नभएको मौका छोपेर मेरा जेठाजुले मलाई जवरजस्ती गरे । मैले अनुनय विनय गरेँ उहाँको अगाडि दयाको भीख मागेँ । अहँ पत्थरको उनको मन पग्लिएन । उल्टै कसैलाई भनिदिए मारिदिने धम्की दिँदै मेरो अस्मिता धुलाम्य पारे ।
एउटा जवरजस्त पुरुषको अगाडि एउटी अनाथ र अवला नारीको केही शीप चलेन उनले मेरो यौवन लुटेर छाडे । त्यस अघि उनले ममाथी त्यस्तै प्रयास नगरेको होइन । तर यस पटक म बच्न सकिन । त्यसदिन देखि म अर्को भुमरीमा परेँ । अनेक दुःख र कष्ठले निर्मम चिथोरिएको म जेठाजु गिद्धे सिकारमा परेँ ।
दाजु सरह मान्दै आएको जेठाजुले मलाई घिनलाग्दो कर्म गलार्न भन्ने कल्पनै गरेको थिइनँ । यस्तो कुरा म कसरी अरुलाई सुनाउँन सक्थे ? अरुले के भन्थे होलान् ? उल्टै दाजुलाई बात लगाई भनेर म माथि झनै अत्याचार न हुन्थ्यो ।
एक पटक दुइ पटक त सहेँ तर उनको दुव्र्यवहारको सिमा नाघ्न थाल्यो । घरमा कोही नभएको वेला उनले जे चाहन्थे त्यही मलाई गर्थे । तर चुपचाप सहिरहनु मेरो निर्मम बाध्यता बनिरहेको थियो । उनको दुव्र्यवहारले चरम सीमापार गरिसकेको थियो । एक दिन विहानै घरमा कोही नभएको मौकामा उनले म माथि दुव्यर्वहार गर्न आए । मैले अति भएर हातमा रहेको कुचो प्रहार गरेँ । उनको गालामा थोरै घाऊ लाग्न गयो । त्यसपछि त के चाहीयो र उनले मलाई शव्दमा बर्णन गर्न नमिल्ने दुव्र्यवहार गरे । अन्तिममा सवै परिवार मिलेर मलाई घरबाट निकाले । र गोठमा राखिदिए ।
एक्लै बस्दा दुव्र्यवहार त सहनु नपर्ला नी भनेर केही दिन त मन ढुक्क भयो । तर उनलाई उल्टै मौका मिलेछ । हिजो वेलुका पनि उनी म बसेको कटेरोमा आए । सहनुको सीमा समाप्त भैसकेको थियो मैले हल्ला गरिदिन्छु भनेँ । उसले उल्टै तँ र तेरी छोरी दुवैलाई म यसै गर्छु भन्दै मेरी नाबालिका छोरी पनि नछाड्ने कुरा गरे ।
आफूले त दुव्र्यवहार भोगेँ भोगेँ तर पापिष्टबाट नाबालिका छोरीको अस्मिता जोगाउनैका लागि मैले यस्तो कुकर्म गर्नु पर्यो ।
म आफू त मरुँला तर यो छोरी यिनै पापिष्टहरुबाट कसरी जोगिएली र भन्ने सोेचेर मैले छोरी सहित काली गण्डकीमा हाम फाल्ने निधो गरेँ ।
समाजका बुद्धिजीविहरुले सक्नुहुन्छ त्यो पापिष्टलाई कारवाही गरेर मेरो आत्मालाई शान्ति दिनुहोस् । यो कुकर्मको भागीदार म आफैँ हुनेछु ।
उही काईली/पिपलबोट/काली गण्डकी किनार
चिट पढ्दा नपढ्दै प्रहरी अधिकारीको अनुहारको भाव विग्रियो । तत्काल वाकिटकीबाट माथि के कुरा गर्यो, राम्रो बुझिएन । शवको मुचुल्का उठाएर शिव दाईलाई समेत सहिछाप गराएर प्रहरीको एकटोली सदरमुकाम हानियो । अर्कोटोली महिलाको घर तर्फ ।
शिवदाइको मन एक तमास भो ।
आखिर पुरुषको वर्वर ज्यादती सहन नसकेर महिला कतिञ्जेल प्रताडित बनिरहन्छन् , मारिइरहन्छन् र यसैगरी काली गण्डकीमा हाम फालिरहन्छन् ? शिव दाईले आफैँलाई पश्न गरे ।
शिव दाईको यस प्रश्नको उत्तर आज पर्यन्त अनुत्तरितनै रह्यो ।
अस्तु ।
(स्रोत : Nepalpati)