~मालिकराम राई ‘वियोगी’~
माधवको प्रथम लेख एउटा पत्रिकामा प्रकाशित भएँपछि उसका आफन्तहरूले उसलाई एउटा लेखक- उनीहरूको सोचाइमा त ऊ कथाकार) नै ठान्न थाले । एउटा कथा संग्रह निक्लेपछि त झन् ऊ ठूलै लेखक भयो, उनीहरूको नजरमा । अनि साथीहरूले, कसैले स्वयं आफ्नो, कसैले अरुको घटनामा आधारित कथा लेख्न उसलाई अनुरोध गर्न थाले । सबैलाई एउटै उत्तर दिने गर्थ्यो ऊ- “कथा भन्ने कुरो त्यसै लेखिदैन । जुनसुकै घटनाले पनि लेखकको अन्तरभावनालाई छोएको हुनुपर्छ, चाहे त्यो सानै घटना नै किन नहोस् । कुनै पनि घटनाप्रति लेखक मानसिकरुपमा प्रभावित हुनैपर्छ । अनि मात्र कुनै विधाको सिर्जना हुन्छ ।”
यद्यपि दिलमानले उसलाई एक दिन भन्यो- “दाइ, मेरो जीवनको घटनाचाहिँ एकदम दुःखदायी छ जसलाई तपाईंले कथामा रुपान्तर गरिदिनै पर्छ । म कुनै दिन तपाईंलाई बताउँला ।” उसले हाँसि दियो । किनकि त्यस्ता घटना सबकोहीसँग हुन्छ । आफ्नो कथालाई सबैले दुःखदायी नै भन्ने गर्छन् । अर्थात ऊ दिलमानको कुरोप्रति त्यति संवेदनशील भएँन ।
फेरि अर्को भेटघाटको क्रममा दिलमानले उसको विगत भन्न थाल्यो,- “दाइ, म र बहिनी हङकङमै जन्मेका हौं । बाबुले हामीलाई लिएर गाउँ निक्लनु भयो । छुट्टी सिध्याइ हङकङ आउनु भयो । त्यसपछि बाबु कहिल्यै घर र्फकनु भएँन । अर्को छुट्टीमा घर निक्लादा बाटोमै उहाँको असामयिक निधन भयो । तथापि बाबुले हाम्रो लागि भनेर गाउामा खेतीपाती निकै किन्नु भएँको थियो जुन सागोलमै -काकाहरूसँग) थियो । उहाँको विचार थियो, आफ्नो कमाइ पनि सबै भाइहरूलाई बराबर होस् । त्यसबेला घरको अवस्था नाजुक थियो जसलाई उहाँ सुधार्न चाहनु हुन्थ्यो । त्यसैले उहाँले आफ्नो दुई तीन छुट्टीको सम्पूर्ण कमाइ खेतीपाती किन्न र घर जिर्णोद्वारतिर लगाउनु भयो । बाबुको मृत्यु पश्चात काकाहरूमा लोभ, लालच र स्वार्थ बढ्यो । उहाँहरूले आमा, म र बहिनीलाई पाखा लाउन थाल्नु भयो । मानौं, हाम्रो त्यहाँ केही पनि छैन । उहाँहरू त्यहाँको सर्वेसर्वा हुनुभयो । मानौं, उहाँहरू स्वयंको त्यो कमाइ हो जसमा उहाँहरूको मात्र अधिकार छ । उहाँहरू बाबुको मृत्युको क्षतिपूर्ति र अन्तिम पाउादार पनि आमालाई थाहै नदिई अनेकौं तिकडम अपनाएर लिनुभयो, जुन कुरो गाउँले सबैलाई थाहा थियो । वास्तवमा हाम्रो बाबुको सम्पत्तिले उहाँहरूको गाउँमा बोलवाला भयो, एक माना खानसक्ने, धाक, रवाफ, अहम्, घमण्ड देखाउन सक्ने भयो । तर बाबुले त्यति धेरै सम्पत्ति कमाइ दिएर पनि उहाँको परिवार हामीले दुःख मात्र पायौं । हामी काकाकाकीका नोकर सरह भयौं । व्यवहार त नोकरकोभन्दा पनि निच थियो । बिहानको झिसमिसेदेखि रातको बाह्र बजेसम्म आमाले ढिकी-जाँतो, दाउरा-घाँस, मेलापात, खेताला-गोठाला गर्नु हुन्थ्यो, हामी उहाँलाई सघाउँथ्यौं । यति गरेर पनि आमाले कहिल्यै जस पाउनु भएँन, राम्रो लाउन-खान पाउनु भएँन । म र बहिनीलाई सबैले हेंला गर्थे । भाइबहिनीसहितले राम्रो व्यवहार गर्दैनथे । उनीहरू काकाकाकीलाई पोल लाउँथे जसले गर्दा हामीले खप्की खानु पर्थ्यो, अनाहकमा कुटाइ खानु पर्थ्यो । भाइबहिनी साधै स्कुल जान पाउँथे । तर मैले कहिलेकाहीं मात्र स्कुल जान पाउँथें, धेरैजसो घरकै काम गर्नु पर्थ्यो । कहिलेकाहीं स्कुल गएर पनि मैले एस.एल.सी. पास गर्न सकें । तर बहिनीले भने स्कुल नै देख्न पाइन ।”
“अनि तिमीहरूले विरोध गरेनौं ? आफ्नो अधिकारको निम्ति कसैलाई सहयोग मागेनौं ? यस्तो अन्याय-अत्याचार हुँदा गाउँले कसैले सहयोग गरेनन् ? सहोदर भाउजु, भतिजभतिजीलाई त्यस्तो अन्यायमा त नराख्नु पर्ने हो । मलाई त लाग्छ तिमीहरूमा मानसिक भ्रम भयो कि ? किनकि काम त जसले पनि गर्नैपर्छ, खानका लागि, बाँच्नका लागि ।” माधवले यो प्रशनहरू उसलाई तेर्स्यायो ।
“त्यो दुर्गम गाउँमा जसले एक माना खान पुर्याउँछ, उसले गाउँमा छलकपट गर्ने, अन्याय-अत्याचार गर्ने गर्छ । उसैलाई सबैले मान्न थाल्छन् । हाम्रा काकाहरू पनि त्यस्तै भएँ । लोभ, लालचले घरमा अत्याचार गर्थे, गाउँमा अन्याय गर्थे । उनीहरू नै गाउँका सर्वेसर्वा भएँ, प्रधान-पञ्च भएँ, शोषक सामन्ती भएँ । उहाँहरूको सामन्ती व्यवहार झन् झन् बढ्दै गयो । उनीहरूकोसामु कसैले बोल्ने आँटै गर्दैनथे । गाउँलेहरू बरु उनीहरूकै छहारी लाग्थे, चाप्लुसी गर्थे । हामीले केही विरोध त गरेका हौं । तर हाम्रो विरोधलाई त्यतिकै दबाएर राखे । त्यसको बदलामा हामीले अरु सास्ती खानु पर्र्यो । हामी भ्रममा कदापि थिएनौं । सबकोही हामी अन्यायमा परेको स्वीकार्थे । तर कसैले सहयोग र केही गर्न सक्दैनथे । सम्पत्तिले मानिसलाई पापी बनाउँदो रहेछ । सम्पत्तिका कारण आफ्नो सन्तान, आफन्त केही नभन्दा रहेछन्, मानिसहरूले । मानवता, दया, माया र धर्म केही नसम्झिदा रहेछन् । सम्पत्ति र सत्ता एउटै हुँदोरहेछ । सत्ताका कारण सेना र माओवादीले मान्छे मारिरहेछन् । राजदरवारमा वीरेन्द्रको बंश नाश भयो । सम्पत्तिका कारण हाम्रा काकाजस्ता धेरै मानिसहरू आफ्नै दाजुभाइ र दाजुभाइका सन्तानलाई अन्याय-अत्याचार गरिरहेका छन् । मारिरहेका छन् । र पनि, हामी नेपाली चूप लागेर बसेका छौं ।”
ऊ बोल्दा बोल्दै माधवले भन्यो,- “ठिकै भन्यौ भाइले । मानिसहरूको नैतिक-पतन दिनानुदिन भइरहेको छ । देशको व्यवस्था र हाम्रो विकृत मानसिकता झन् झन् बिग्रंदो छ । यसमा हामी सचेत र चेतनशील वर्गले सोच्नु पर्ने थियो । देशमा नयाँ व्यवस्था ल्याउनु संघर्षमा उत्रनु पर्ने थियो । तर हामी नेपाली विदेश लागिरहेका छौं । देशको स्थितिलाई भुलिरहेका छौं । अनि भाइ, कसरी हङकङ आयौ त ?”
ऊ बोल्दै गयो,- “हङकङ जन्मिनेहरू धमाधम आउन थालेको खबर हामीले पनि सुन्यौं । जन्मदर्ता किन्न मानिसहरू हाम्रो गाउँसम्म आए । आमा र मैले यता आउने उपाय सोच्न थाल्यौं । उद्धार विचारका मानिसहरूसँग सल्लाह लियौं । जे गरे पनि गाउँबाट त आउन सक्ने स्थिति थिएन । त्यसैले घुम्न जाने बहानामा म मामाघर धरान झरें । मामा र आफन्तहरूको सहयोगले म हङकङ आउन सफल भएँ । एक पटक त काकाहरूले मलाई नपठाएर भाइलाई पठाउने प्रयास गर्दै थिए । तर परिस्थिति प्रतिकुल भइदियो ।”
“भाइको कथाले अलि अलि मनलाई छाम्न खोज्दो रहेछ । केही कष्टकर जीवन भोग्दै आएछौ । अरु केही दुःख थपियो भने एउटा कथा बन्न सक्ला । तर यतिले चाहिँ पाठकको मन तान्न सक्दैन । अब केही भोग्दै जाउ … ।” माधवले उसलाई यसै भन्यो । जीवनका दुःख, कष्ट के चाहेर आएका हुन् र ? अरू थपिन्छ नै भन्ने के निश्चित ? तर माधवले दिलमानलाई अरू थपिन्दै गयो भने उसको कथा लेखिदिउँला भन्यो । दुःख, कष्ट त कसैबाट दिइएको अन्याय, अत्याचार हो ।
“तपाईंको निम्ति यो सामान्य लागे पनि मेरो लागि ठूलो घटना हो । यस्तो अन्याय-अत्याचार जुन आफ्नै घरमा भएँकोचाहिँ बिरलै पाइन्दो हो । लेखक साहित्यकारहरूको हृदय कोमल हुन्छ, उनीहरू सानै घटनाले भावुक बन्छन् भन्थे तर वाहियात रहेछ भन्ने कुरो तपाईंबाट प्रमाणित हुन्छ ।” उसको कमजोरीमा दिलमानले मज्जाले बजार्र्यो ।
उसको आँखाभरि विद्रोहको भाव स्पष्ट देखिन्थ्यो । निराशाका लहर मुहारभरि फैलिन्दै थियो । पीडा र दर्दका आभाहरू ओँठभरि लर्बराउदै थिए । त्यसपछि उनीहरू छुटे । अझ दिलमान बोल्थ्यो होला तर ऊ घरबाट निक्लेको समय निकै भइसकेको थियो । अलि ढिलो भयो भने उसकी स्वास्नीले उखर्माउलो मचाउँथी । उनी साह्रै दुर्छी, छुच्ची, मुखाले थिईन् । एकाध घण्टा ऊ कतै भुलियो भने बबण्डर मच्याउथी । कति पटक त माधव हुँदाहुँदै उसले आफूलाई अदपमा राख्दा राख्दै उसको सातो खाएकी थिई । उसले यो निसन्देह भन्न सक्छ कि दुवैले माधवलाई सम्मान र आदर गर्थे । कारण के थियो त्यो त ऊ भन्न सक्दैन तर उसको उपस्थितिमा उनीहरू आफूलाई अदपमा राख्न हरप्रयास गर्थे । दिलमान साह्रै निरीह थियो । आफूलाई अदपमा राख्दा राख्दै त उसकी स्वास्नीले त्यति विधि उसको हुर्मत लिन्थी भने खुल्ला र आवेशमा कसो गर्दिहोली कसैले सोँच्नै सक्दैनथ्यो । उनको यो अव्यवहारिक र अस्वाभाविक प्रवृतिले माधवको अन्तरमन नराम्ररी प्रभावित भएको थिएछ । त्यसैले एक दिन उसले हठात भनिदियो,- “बहिनीको अनुहारजस्तै व्यवहार र शीलस्वभाव सुन्दर भइदिएको भए भाइले यो धर्तीमा केही खोज्नु पर्दैनथ्यो । काश … ।” त्यसबेला दिलमानले निर्निमेष दृष्टिले उसलाई हेरिरह्यो मात्र, ऊ बोलेन । उसमा कुन भाव उब्जियो माधवले अनुमान लगाउन सकेन ।
एक दिन उनीहरूको विशेष समारोहमा पुनः भेट भयो । यसपाली दिलमान धेरै निराश, उदाश देखिन्थ्यो । उसको अनुहारभरि खुशीको थोरै पनि संकेत थिएन । अनुहारमा न रस देखिन्थ्यो न बोलीमा जोश । उर्जाहीन यन्त्रजस्तै मूल्यहीन देखिन्थ्यो ऊ । मलीन अनुहार पार्दै दिलमान बोल्यो,- “अब त दाइ मेरो कथा बन्छ होला नि “
कसरी ? के थपियो र त्यस्तो घटना ?” माधवले जिज्ञासापूर्वक सोध्यो ।
त्यस्तै भावमा दिलमान बोल्यो- “निर्दयी, निर्मोही स्वास्नी भनाउदिले मलाई छाडेर हिँडी ।” लगभग उसको स्वर खिइसकेको सुनिन्थ्यो । भन्दै गयो -“हेर्नु न दाइ, उसलाई बिहे गर्दा मलाई कम सास्ती परेको थिएन ! नेपाल गएर आमाबाबुबाट मीठो वचन लिई आएको थिएा तर यहाँ उसले ढिम्किन दिइन । म केमा ढुक्क थिएँ भने, हाम्रो संस्कार र परम्परामा आमाबाबुले वचन दिइसकेपछि त्यो अकाट्य हुन्छ । कथंकदाचित ! केटी कसैसँग गइहाली भने पनि फर्काउनु मिल्छ । अधिकार लाग्छ । हामी छोरामान्छेले पनि अर्को बिहे गर्न मिल्दैन । कतै त्यस्तो भइहाल्यो भने माफी माग्नुपर्छ, जरिवाना (नैतिकताको) तिर्नुपर्छ । त्यसैले वचन पाइसकेपछि हामी अनुकुल समयको प्रतीक्षामा बस्नुपर्छ । मैले पनि अनुकुल समय पर्खेर बस्नु पर्यो । किनभने केटीले मेरो परीक्षण गर्ने भई । एक वर्षे परीक्षण कालपछि मात्र उसले सहमति जनाई । अनि हाम्रो बिहे भयो ।”
“उनले कस्तो परीक्षण लिइन् ? के तिम्रो व्यवहार शंकास्पद थियो ? कि तिम्रो आनीवानी उनलाई थाहा थिएन ?”
“मेरो हाउभाउ र व्यवहार उसलाई अलि अनौठो र शंकास्पद लाग्यो रे । फेरि, त्यसबेला मेरा साथीहरू त्यस्तै थिए, लागुपदार्थ सेवन गर्ने । यी कारणले मेरो लामो परीक्षण लिनु परेको रे । वर्ष दिनको परीक्षण कालमा म सफल भएँ । हाम्रो बिहे भयो । हाम्रो जीवन सुखमय बित्यो । हाम्रो प्रेमको चिनो एउटा छोरो जन्म्यो । तर त्यो परीक्षण काल मैले काटेर पनि, हाम्रो छोरो भएर पनि आज ऊ हठात लापत्ता भई । उसका साथीहरू भन्छन् -“ऊ ब्रिटेन (युके) गएकी छे ।”
माधव उसको कुरो निश्चल, निशब्द सुनिरह्यो । केही छिनको मौनतापछि ऊ बोल्यो- “सायद, तिमीले बहिनीलाई कहिलेकाहीं सताएका थियौ होला ? जसले गर्दा उनले तिमीलाई दुई चार दिन तड्पाउनु चाहिन् । तर केही अपवादबाहेक धेरै छोरीमान्छे बच्चालाई सर्वस्व मान्छन् । त्यसैले छोरो सम्झेर पनि उनी आउने छिन् । तिमी ढुक्क बसे हुन्छ ।”
दिलमानले आफ्नो अडानबाट डेग नचली भन्दै गयो,- “मलाई त विश्वास लाग्दैन, उनी फर्केर आउछिन् भनेर ।” ऊ यसबेला साह्रै उदाश र निराश देखिन्थ्यो । उसको अनुहारमा कुनै जिज्ञासा, उत्साह, उमंग र विश्वास थिएन । त्यसैले मैले भनें,- “आमाबाबुको वचनलाई विश्वास गर्नेमान्छे तिमी, कसरी बच्चाको आमालाई विश्वास गर्दैनौं ? तिमीहरूको रीतिरीवाज र संस्कार सुनेर त मलाई ताजुप लाग्यो, आमाबाबुको वचन अकाट्य हुने तर बच्चाकी आमाचाहिँ …. ! बरु बच्चाकी आमा र बाबुलाई छोराछोरिसँगको सम्बन्ध अकाट्य हुनु पर्ने । आमाबाबुले दिने वचन त नारीहरूको स्वतन्त्रताको हनन हो । अविवाहित नारीले लोग्नेको चयन स्वतनत्ररुपमा गर्न सकोस् नकि आमाबाबुको वचन अकाट्यरुपमा मान्न परोस्। यस्तो विसंगतिलाई हामीजस्तो शिक्षित र सचेतवर्गले परिवर्तन गर्दै लानुपर्छ । सामाजिक संस्कार र परम्पराले मानव हितलाई बेफाइदा गर्छ भने त्यसलाई परिवर्तन गर्दै लानु हाम्रो कर्तव्य हो । यस्तो चलनले भाइको जस्तै घरव्यवहार डाँवाडोल हुनसक्छ ।”
उसले भन्यो,- “खोइ दाइ ! हाम्रो संस्कार यस्तै छ । हामीले मान्नैपर्छ । शिक्षित अशिक्षित सबैले मानिरहेकै छन् । कसैकसैले परिवर्तनप्रति सोच्दै होलान् कि … ।”
दिलमानको अवस्था साह्रै नाजुक थियो । मधुरो मलिन अनुहार सडिसकेकोजस्तो देखिन्थ्यो । विक्षिप्त र उदास शरीर लिएर ऊ निकैबेर बर्बरायो अनि छुटियो माधवसँग ।
केही महिनापछि फेरि उनीहरूको भेट भयो । त्यसबेला दिलमानको अवस्था साह्रै दयनीय भइसकेको थियो । उसको जीर्ण शरीरमा हाँसो र खुशीको रेखा रतिभर थिएन । दुब्लाएर हाड र छालामात्र देखिन्थ्यो उसको शरीर । त्यसबेला त ऊ पागलझैँ बोल्थ्यो । आफूलाई अदपमा राख्नै नसक्ने भइसकेको थियो ।
माधवले प्रश्न गर्यो,- “बहिनीको पता लाग्यो त ?”
दिलमान बोल्दै गयो,- “पत्ता लाग्यो । उनी पोइला गइसकी । अब उनी मेरी रहिनन् । उनको वियोगको तड्पाईमा मैले के गरिनँ होला । सबथोक गरेँ । म धेरै धार्मिक कृयाकलापतिर लागेँ । म मन्दिर, चर्च, मस्जिदमा गएर मनको पीरलाई भुल्ने प्रयास गरेँ । म कहिले गडएन्जल, कहिले साई बाबा, कहिले आत्मनन्दकहाँ गएर प्रार्थना, प्रवचन सुनेर ऊसँगको वियोगको पीर, व्यथा भुल्ने प्रयास गरेँ । यति गर्दा पनि उसलनई भुल्न सकिनँ । त्यसले गर्दा म गीत संगीततिर लागेँ । यो मेरो सानैदेखिको सोख र रुचिको विषय हो । म अहिले दिनेश दाइ (प्रख्यात संगीतकार दिनेश सुब्बा) सँग संगीत सिक्दै छु । यस परिवेशले निर्दयीको सम्झना र मनको तड्पाई भुल्न सजिलो भएको छ । मलाई बाँच्न केही सजिलो भएको छ । अनि दाइ ! अब त मेरो कथा लेखिदिनु हुन्छ होला नि, होइन ?”
माधवले मन नलाग्दै भन्यो,- “लेख्ने कोसिस गरौंला नि ।” त्यसपछि उनीहरू छुटेका थिए ।
हाम्रो नेपाली समाजमा घट्ने यस्तो घटना सामान्य भइसकेको छ, जसले हाम्रो अन्तरमनलाई छुनै सक्दैन । नेपाली समाज दिनानुदिन अधोगतितिर झरिरहेछ, जसले गर्दा कुनै शोषित पीडित तथा अन्यायको कथाले हामी गम्भीर हुनै सक्दैनौं । हामी हाम्रो समाजभित्रका विसंगति र कुरीतिहरूप्रति संवेदनशील हुनै सक्दैनौं, जसले ती विसंगति र कुरीतिहरूले हाम्रो समाजमा जरा गाडेर बसेको बस्यै छ । कतै कसैले यस्ता विषय र घटनालाई कथामा रुपान्तरित गरिहाले पनि पाठकहरूको अनिकाल खड्किँदो छ । अभाव छ । जसले गर्दा हाम्रा सर्जकहरू निरुत्साहित र निराश देखिन्छन् । यहाँ दिलमान साह्रै विक्षिप्त र दुःखित छ । ऊ एउटा पागलप्रेमी भएको छ । उसले जीवनभरि दुःखैदुःखमात्र भोग्दै आएको छ । अझ पनि त्यहीं दुःखले सताइरहेको छ, उसलाई । त्यसैले ऊ एउटा कलाकार (गायक, संगीतकार) बन्न संगीत सिक्दैछ । माधवले पनि जीवनमा यस्तै दुःख, पीर, व्यथा भोग्दै आएको छ । त्यही दुःखाइ र भोगाइलाई ऊ आफ्नो सिर्जनाहरूमा पोख्दै आइरहेको छ । अर्थात लेखक भएको छ । उनीहरूको भोगाइ दुखाइ समग्रमा समान छन् । र पनि माधवजस्तो सिकारु लेखकलाई कति पनि संवेदनशील र विचलित बनाएन, ऊ कति पनि गम्भीर भएन । ‘लेख्ने प्रयास गरौंला’ भनेर टारिदियो ।
तर यो घटनाले माधवलाई सोच्न बाध्य बनायो । ऊ आफूले आफैँलाई प्रश्न गर्छ,- “मप्रति आज एउटा विशाल प्रश्न तेर्सिरहेको छ -के मैले आफूजस्तै शोषित पीडित र आफ्नै वर्गको हृदय-विदारक घटनालाई कथामा अनुवाद नगरुँ त ?” माधव आफैँ अनुत्तरित हुन्छ । उत्तरहीन ।
समाप्त
(स्रोत : Bagaicha)