~पवन भण्डारी “किरण”~
केही पाइला पर
बडेमानको घोडामा
तरबारी भाषामा खबरदारी गर्ने राणादूत,
छेवैमा
भाग्लान् भनेर खटाइएको
सिंगो टुकडी फौज,
केही पर चौबीसै घण्टा जाग्राम बस्ने
बूढो घण्टाघर
देशको मध्यमुटुमा
जमिनमन्दा केही फिट माथि
त्योभन्दा माथि
फाँसी–उपहारको आदेश दिने
श्रीपेचधारी टाउको,
अरु माथि
रङ उडेको
छानो र झ्यालढोका नभएको,
प्रदर्शनीका लागि म्युजियममा राखिएका
लाचार मूर्तिजस्ता
हात–खुट्टा पूरै काटिएका
सारा नेपालीलाई मुक्ति दिएर
आफू आजीवन कैदी भएका
वीर सहिदहरु !
मंसीर १९, २०६४, काठमाडौं
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ९ – २०६७ पौष २८ गते, बुधबार)