~पीताम्बर भट्टराई~
हजुर आमाले भनेको
कल्पवृक्षको कथा
जे सोच्यो त्यही पुग्ने
जे माग्यो त्यही मिल्ने
चुनावको दौडानमा
कल्पवृक्ष सम्झेर
आफ्ना पीडा र
बेदनाहरुको अन्त्य सम्झेर
डम्म मतपत्रमा छाप लगाउने हातहरु
नयाँ आशा र उमंगहरु
बोक्ने कोटी कोटी छातीहरु
खडेरीको मुहान जस्तै
सुस्क बनेका छन् आज
निराशाको भूमरी भित्र
नुन जसतै पग्लिएर
हराएका छन् आज
कोटी कोटी भावनाहरु
कोटी कोटी आकांक्षाहरु
केबल नयाँ बानेश्वरको
संविधानसभा हलभित्र
कल्पवृक्षको कथा,
मौलाएको छ,
जनादेश बोकेर फुत्त छिर्ने
क्रान्तिकारी भनाउँदाहरु
प्रजातन्त्रवादी कहलाउँदाहरु
कुर्ची खेल खेल्दै छन् रे
सुरा र सुन्दरीमा रम्दै छन् रे
अप्सरा र गन्धकेको नृत्य
नाच्दै र हेर्दै मस्त छन् रे
हलभित्र,
कुबेर छिरी सकेको, हल्ला सुनेकोछु,
कल्पवृक्षको छहारी
बानेश्वर हलभित्र महसुस गरेको छु
हल बाहिर धेरै हलचल भैसकेको छ
नारायणहिटी पछि अर्को निशाना
बानेश्वर हलतिर गैसकेको छ
हलभित्र रम्नेहरुलाई के थाहा,
कुम्लो बोकेर कुनै दिन
आश्रयको खोजिमा
भौतारिनु पर्छ भनेर
खाँचीकोट–५, अर्घाखाँची
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ४१ – २०६७ भाद्र १६ गते, बुधबार)