~समर परियार~
अस्ताउँछन् घामहरू
फेरि झुल्की नै रहन्छन्
बग्छन् पानी निरन्तर मुहानबाट
फेरि निस्कि नै रहन्छन्
मर्छन हरेक मानवहरू तर मर्दैनन् उसका विचारहरू
लड्दैछन् वीर अझै पनि न्यायको निम्ति
पार्नलाई निमिट्यान्न अत्याचारहरू
ए पाखन्डी हो छोड अब देश चिथोर्न
नेपाल आमाको संवेदनशीलतामा नलगाउ तिम्रा पापी हातहरू
आमाको न्यानो काखमा बसेर आँची गर्ने दुष्टहरू हो,
आमाको आँशु पुछ्न त कता हो कता
घाँटी निमोठ्न खोज्ने कुपुत्र हो
आमाको लागि भए पनि अब त सुध्र 164
मेची, काली सुस्ता, टनकपुर सबै खायौं
आलिशान महल, गाडी, बंगला बनायौ
मरे सर्वहारा, किसान, मजदुर भोकभोकै सुकेर
चुनावमा जोड्दै हात भोट व्यांक बनायौं
सम्मानको माला पहिरिएर जनतालाई छुरा रोप्यौ
धिक्कार छ सन्तानको नाममा कु–सन्तति हो
सन्तानको लागि भए पनि अबत सुध्र 164
तिमीहरूकै छन् पोल पहरे स्याहारेर सुसारे
जनता भोक, यातना र असुरक्षाले तड्पिरहेका छन्
रगत आँशु पसिना बगाउनेहरू अभाव झेल्दैछन्
आमाको स्तन पनि रित्यायौ सुकायौ फस्रो छ।
के खान्छन् भाईबहिनीहरू कोक्रोमै चिच्याईरहेका छन्
धिक्कार छ तिनीहरूलाई दाजुको नाममा भाइमारा
भाई बहिनीको लागि भए पनि अब त सुध्र्र 164
जाई नलाग्ने, आई लाग्नेलाई बाँकी नराख्ने
अब म खुकुरी साँद हाल्दैछु
आकारविहीनलाई आकारमा ढाल्दैछु
गोली बारूद्ध तिम्रा हातमा छ
म गुलेली मट्याङग्रा बनाउँदैछु
देश ताक्ने तिम्रा गिद्दे नजर हेर्ने आँखा फोर्दैछु
विरक्तियौ बिराला व्याँसोहरू चिच्याउ हुँडारहरू
उढ्दैछन् अब जनता सोझा निमुखा
बज्राउँदैछन् तिम्रा टाउकामा खुँडाहरू
जसरी बगायौं पीडितहरूको रगत
त्यसरी अब रगत तिम्रो बग्नेछ
अपराधी, पाखन्डी भ्रष्टाचारीको समूल अन्त्य हुनेछ।
लडेको देश अब जुरूक्कै उठ्नेछ।
देश रहे हामी रहन्छौं, राष्ट्रै खोक्रो बनाउने राक्षसहरू हो
राष्ट्रको लागि भए पनि अब त सुध्र
सप्तेश्वर–८ खोटाङ
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ७ – २०६७ पौष १४ गते, बुधबार)