~घनश्याम ओली~
त्यतिबेला सरिता बीएमा अध्ययन गर्दै थिइन् । ‘बढेकी छोरीलाई अब घरमा राख्नु हुन्न, यसको पनि बिहे गरिदिनुपर्छ’ उनका बुबाआमाले गाइँगुइँ कुरा गरेको उनको कानमा प¥यो । उनलाई मनमा चिसो पस्यो । त्यसको हप्ता दिनपछि उनकी माइजूले एउटा केटा लिएर आउनुभयो सरिताका लागि । आमाले ‘छोरी चिया लिएर आइज’ भन्नुभयो । उनले चिया ल्याएर सबैलाई दिइन् । त्यो केटाले सरितालाई निकै घुरेर हे-यो । दुई जनाको बिहेको बारेमा निकैबेर भलाकुसारी भयो । केटाले सरितालाई मन पराएछ । उनलाई पनि केटो ठिकै लागेको थियो । केटाको घर चितवन रहेछ । पढे लेखेको, हेर्दा पनि खाइलाग्दो केटो देखेर सरिताले मनमनै यत्तिको केटासँग घरजम होला भन्ने सोचिन् । सामान्य परिवारको केटो पार्टीको कार्यकर्ता पनि रहेछ ।
मंसिरको महिना थियो । सरिता खेतमा धानको बिटा लगाएर चिया खान भनी घरमा आइन् । केटाको परिवार बिहाको कुरा छिन्न भनेर घरमा आएका रहेछन् । उनलाई बुबा आमा, दाजुहरुले ‘के छ तेरो विचार’ भनेर सोधे । उनी पहिला त नाजवाफ भइन् तर उनले अन्त्यमा परिवारले बुझेको केटासँग ‘हुन्न’ भन्न सकिनन् र स्वीकृति दिइन् ।
त्यसको पर्सिपल्ट नै केटा पक्षबाट बिहेको टुंगो लगाउन उसका बाबु र दाजु आए । मंसिरकै २२ गतेतिर बिहेको साइत जु¥यो । दुवैतर्फ बिहेको तयारीमा जुटे । ठूलो रवाफ नगरी सामान्य रुपमै विवाह सम्पन्न भयो । सरिता त्यो घरमा माइली बुहारीको रुपमा भित्रिइन् । घरमा माइलो र कान्छो छोरो बुबा आमाको साथ रहेछन् । जेठी छोरीको बिहे भइसकेको र कान्छी छोरी १० कक्षामा पढ्दै रहिछन् । जेठो छोरो बिहेको २—४ वर्षमै अलग भइसकेको रहेछ ।
केटालाई सबैले नेताज्यू भन्दा रहेछन् । नाम रहेछ प्रेम । ऊ कांग्रेसको सक्रिय कार्यकर्ता रहेछ । घरमा खान लाउन दुःख थिएन । परिवार राम्रै थियो । सुरुमा नयाँ बुहारी, नयाँ भाउजू र नयाँ श्रीमती सबैबाट माया पाइन् सरिताले । परिवारमा रमाइलोसँग उनका दिन बित्दै गए । बाहिरको काम केही गर्नु पर्दैनथ्यो उनले । घरमा काम गर्ने केटी पनि थिई । कहिलेकाहीँ भान्साको काम उनले गर्नुपथ्र्यो । ‘कस्तो मीठो खाना पकाउँदी रैछ हो बुहारीले भन्दै सबैले मीठो मानी मानी खान्थे । उनले आफ्नो पढाइलाई निरन्तरता दिँदै गइन् । भान्साको काम सकेर दिनभर बीएको परीक्षाको तयारीमा जुटिन् । यही क्रमले ७—८ वर्ष बिते ।
समय बित्दै गयो । वसन्तले बिदा हुने संकेत दिँदै थियो । चैते हुरीसँगै चैते नेतामा पनि परिवर्तनको आभास देखिन थाल्यो । ‘नयाँ हुइन्जेल नौपला गाँस पुरानो भएपछि जगटाको नास’ भन्ने उखान उनको जीवनमा पनि चरितार्थ भयो ।
रातको ९ बजेको थियो । यति अबेरसम्म पनि आफ्नो पति भनाउँदो घर नफर्केकोमा उनी चिन्तित थिइन् । उसलाई खाना कुरेर सरिता भोकै बसिन् । एक्कासि ढोकामा लात्तले हानेको आवाज आयो । उनले विस्तारै ढोका खोलेर हेरिन् । भित्रैबाट रक्सीको गन्ध ह्वास्सै आयो । उसका खुट्टा राम्ररी टेकिएका थिएनन् । अनुहार गोबरमा लात्तले हानेजस्तो थियो ।
‘एै ढोका खोल भन्या सुनिनस् । यति बेलासम्म के हेरेर बसिराखेकी छस् । खोई मेरो खाना तताएर ले, सुनिनस् ।’ ऊ यस्तै के के बर्बराइरहेको थियो । सरिताले उसलाई समातेर पलङमा राखिन् । ऊ जुत्तासहित पलङमा डङ्ग्रङ्ग लड्यो । उनले खाना खुवाउने कोसिस गरिन् तर उसले थाल भुइँमा उछिट्ट्याइदियो । ऊ घुर्न थाल्यो । सरिता पनि विवश भएर सुत्न बाध्य भइन् । रातभर रक्सीको गन्धले उनलाई निद्रा परेन । यत्तिकैमा उज्यालो भयो । ऊ आठ बजेसम्म सुतिरहेको थियो । बिहान उठेपछि सरिताले उसलाई सोधिन— ‘हजुरले राति के खाएर आउनुभएको ? खाना पनि खानु भएन । पहिला पहिला त यस्तो गर्नुहुन्नथ्यो, एक्कासि हजुरलाई के भयो ?’ उनको प्रश्न भुइँमा खस्न नपाउँदै ऊ जंगियो— ‘म जे खाऊँ, जे गरुँ तँलाई के चासो ? तँ चुप लागेर बस । बढी भइस् भने…।’
यो क्रम चलि नै रह्यो । ऊ सधैं रक्सीले लठ्ठ भएर घर आउन थाल्यो । उनले हरेक चोटि उसलाई सम्झाउने कोसिस गरिन् । ‘म बरु स्वास्नी छोड्न सक्छु, रक्सी छोड्न सक्दिनँ’ भनेर उसले जवाफ फर्कायो । यसै विषयमा उनीहरुबीच विवाद बढ्दै गयो । सरितामाथि उसले नराम्रो व्यवहार गर्दै गयो ।
‘अब तँ यहाँ नबस, तेरै माइत जा । बडी बाठी हुँदी रहिछ है नकच्चरी’ भन्दै दिनहुँ उनलाई गाली बेइज्जती गर्न थाल्यो । घरका अरु परिवार पनि ऊदेखि आजित भए । कसैले भन्दा नलाग्ने साँढे भयो ऊ ।
सरिता भित्रभित्रै रुन्थिन् । पिरोलिन्थिन् । रातदिन छटपटिन्थिन् । कुनै दिन यो सप्रिन्छ कि भनी बाटो हेर्थिन् । मीठो बोलीले, मायाले फकाउने, सम्झाउने हर प्रयास गरिन् उनले तर सफल हुन सकिनन् । उनले त्यस घरमा चैनको सास फेर्न सकिनन् । आफ्नो मान्छे नै बेकामे भएपछि कसको के लाग्दो रहेछ र । उसले सरितालाई फुटेको आँखाले पनि हेर्न छाड्यो । यसको रहस्य बुझ्दै जाँदा उसको ‘निरु’ भन्ने केटीसँग लसपस रहेछ ।
सरिता आफ्नै पीडाले छटपटाइरहेकी थिइन् । उनीसँग लोग्ने भनाउँदो अनेक निहुँ झिकेर झगडा गर्न आयो । ‘अबदेखि तँ यस घरमा नबस । तेरो बस्ने ठाउँ ऊ त्यो कटेरो हो, जा त्यहीँ गएर बस ।’ उसले सरितालाई त्यस घरबाट निकाल्ने समेत धृष्टता ग¥यो । उनले दुःखका आँसु पिइरहिन् । एक वर्षसम्म त्यस कटेरोमा कष्टपूर्ण जीवन गुजारिन् ।
कति वसन्त आए, गए उनका इच्छा आकांक्षारुपी कोपिलाहरु पल्लवित हुन पाएनन् । लहराहरु झाँगिन पाएनन् । ८—१० वर्षसम्म त उनीहरुको दाम्पत्य जीवन जसैतसै घिस्रियो । जीवनमा कति तुषारापात भयो । काला बादलहरु मडारिए । आँधी तुफानको सामना गर्नुप¥यो ।
उनीहरुका दुई सन्तान थिए— एक छोरा एक छोरी । छोरी १० वर्षमा हिँड्दै थिई भने छोरो ६ वर्षमा बामे सर्दै थियो । सरितालाई ठूलो बज्रपात भयो । ‘अब म यी लालाबाला लिएर कहाँ जाऊँ । कसको शरणमा परुँ । माइत जाऊँ माइतीले कति दिन पाल्छन् । आफन्त, छरछिमेकीले उल्टै कुरा काट्छन्— घर खान नसकेर आई भनेर ।’ यस्तै तर्कनाहरु उनको मनमा खेल्न थाले । उनी मर्नु न बाँच्नुको स्थितिमा पुगिन् । उनको दिमागले केही सोच्न सकेन । उनी पटक पटक मृत्युको मुखमा पुगेर बाँचिन् । न कालले लान सक्यो न सहज रुपमा बाँच्न नै दियो ।
अन्त्यमा उनी डिभोर्स गर्ने निचोडमा पुगिन् । उनले अदालतमा डिभोर्स दिइन् । उसले पनि त्यसलाई सहर्ष स्वीका¥यो । छोराछोरी पाल्ने, पढाउने उनको हैसियत थिएन । उनलाई अदालतले उसको सम्पत्तिबाट थोरै अंश दिलाएर छोराछोरी उसैको साथ पठाइदियो । सरितालाई छोराछोरी भेट्न समेत बन्देज लगाइयो । उनलाई पीडामाथि झन् पीडा थपियो । ‘अब मैले कसको मुख हेरेर बस्नु, म सन्तान भएर पनि निःसन्तान भएँ । घर भएर पनि सुकुम्बासी भएँ । पति भएर पनि एकल महिला भएँ’ उनलाई यही पीडाले जलाइरह्यो ।
एक्लो भएपछि उनीपछि अरुका पनि गिद्देदृष्टि पर्न थाले । नारीमाथिको अत्याचारका विरुद्ध आवाज उठाउन उनले नारीहरुलाई नै एकत्रित गर्न थालिन् । ‘सशक्त नारी प्रतिकार सघ’ गठन गरिन् र त्यसको नेतृत्व आफैं गर्न थालिन् । उनले महिलाहरुलाई जागरुक गराउँदै लगिन् । सबैलाई सचेत गराउँदै लगिन् । उनले महिलाहरुको ठूलै जमात तयार गरिन् । आज उनी महिलाहरुको ठूलो समारोहबीच सम्बोधन गर्दैछन्— ‘सम्पूर्ण महिला दिदीबहिनीहरु । अब हामीले पत्नीपीडक पतिहरुको भण्डाफोर गर्नुपर्छ । उनीहरुको अत्याचार सहेर बस्ने होइन, हातमा हात मिलाई, काँधमा काँध मिलाई डटेर सामना गर्नुपर्छ । यो पुरुषप्रधान समाजको हालीमुहाली हामीले कहिलेसम्म खपिरहने ? यी हामीमाथिको प्रताडनाहरु, हाम्रा चित्कारहरुको अब सुनुवाइ हुनुपर्छ । के नारीमाथिको अत्याचारलाई दण्ड दिने कुनै निकाय जन्मिँदैन हाम्रो समाजमा । यो राष्ट्रमा ?
हामी कसैका दास होइनौं । हामी प्रकृतिका सुन्दर फूल हौं । संसारका सृष्टिकर्ता हौं । हामी आमा हौं । हाम्रो यो सुन्दर बगैंचामा अब गिद्दहरुको रजाइँ हुनेछैन । यी पत्नीपीडकहरुलाई, स्वास्नी पिटेर आफूलाई ‘बहादुर’ कहलाउने हुतिहारा, पामर र नपुंसकहरुलाई धिक्कार छ धिक्कार लाखौं चोटि धिक्कार ।’
उनको यो ओजपूर्ण विचार सुनेर सबैले तररर ताली बजाए । ‘अब हामी पनि अत्याचारको विरुद्धमा उठ्नेछौं, आफूलाई अन्याय हुन दिने छैनौं ।’ सबैतिरबाट एउटै स्वर गुन्जियो । सरिताका विगतका घाउहरु विस्तारै पुरिँदै गए । आज उनी सबै महिलामाथि हुने अत्याचारको अचुक औषधि बनेकी छिन् ।
(स्रोत : श्री रुपरेखा)