संस्मरण : सदर काठमाडौँ, मोफसल काठमाडौँ

~श्यामल~Shyamal_1

काठमाडौँलाई कविता र कथामा गाली गर्नेहरूको संख्या कम छैन । तर पनि, काठमाडौँ आउने र तीन–चार आनादेखि रोपनीका रोपनी जग्गा खरिद गर्दै अन्यत्रबाट यहाँ सर्नेहरूको संख्या बढिरहेकै छ । काठमाडौँलाई सतहमा मात्र चिनेर भद्दा गाली गर्नेहरूलाई हाम्रो समयका कुशल कथाशिल्पी र कवि राजवले ‘काठमाडौँलाई गाली गर्नेलाई’ शीर्षकको कविता लेखेका थिए (हेर्नूस् : असमर्थ श्लोक कवितासंग्रह) । तर, यो उपल्लो र सतही काठमाडौँका भारदारहरू न कविता पढ्छन्, न त तिनले कविता नै बुझ्छन् ।

काठमाडौँलाई जहिले पनि शासक वर्ग र धनी उपल्लो वर्गको स्वर्गका रूपमा चिनाइएको छ । काठमाडौँकै इतिहास लेखिएको छैन । वास्तविक काठमाडौँ त्यो होइन, कलाकौशल गरी बस्ने, नाचगानमा रमाउने, बारीमा लसुन, प्याज, काउली, आलु, चम्सुर, पालुंगो उमारेर काँधमा हाली बाटोछेउ ढुकी बस्नेकोकाठमाडौँलाई काठमाडौँ हो भनी चिनाउन बाँकी नै छ । वास्तविक काठमाडौँ सहरतिर उक्लन छोडेको छ र गल्लीहरूमा घामको झुल्को पर्खेर बसेको छ । वास्तविक काठमाडौँलाई शासकहरूका नखरा मन पर्दैन । ऊ स्वयं मोफसल भएको छ ।

करिब १५ वर्षअघि म एक विख्यात अन्तरसरकारी संस्थाको विज्ञका हैसियतले कार्यक्रमको अनुगमन गर्न ओखलढुंगा पुगेको थिएँ । सदर ओखलढुंगा पुग्नुअघि रुम्जाटार विमानस्थलबाट निस्कनासाथ मैले मेरी सहयात्री फिनल्यान्डकी युवती क्रिस्टिनालाई भनेँ, “हेर, अहिल्यै माथि उक्लेर केही काम छैन । बरू, ऊ त्यो पारिको ठूलाछाप भन्ने गाउँको बाटो हुँदै बेलुकासम्म माथि पुगिने गरी जाम् । तिमीलाई पनि नेपाली गाउँको राम्रो अनुभव हुन्छ । यस जिल्लाका कस्ता खाले गाउँमा हामी काम गर्दैछौँ भन्ने तिमीलाई अनुमान गर्न सजिलो हुन्छ ।”

मैले यसो भन्दा उसको गोरो छाला उकालीओराली गर्नुपर्ने कारणले हुनुपर्छ, गुलाबी रातो भएको थियो । सोधेँ, “तिमीलाई जान गाह्रो लाग्छ भने भैगो, नत्र तिम्रै फाइदाका लागि भनेको मैले त । नेपालका पाखापखेरा नचिनी तिमीले विकासका कुरा गर्न सुहाउँदैन क्रिस्टिना ।”

ऊ हाँसी र मसँग म जान तयार छु भन्ने आशय व्यक्त गर्न मसँग हात मिलाई । अब हामी सीधै ओरालो हिँडिरहेका थियौँ । बाटोमा जहाँ हाम फाल्नु पथ्र्यो, मैले उसको जीउ थामिदिन्थेँ । त्यतिबेला उसका अनुहारमा लज्जाका स्वाभाविक तरंग दौडन्थे । हुन पनि यो विरानु बाटोमा, खेतबारीमा जाने मानिसबाहेक अरू हिँड्न छाडिसकेको बाटोमा, हामी दुई जना मात्र थियौँ । र, खोला खाल्सी, जंगल, उकालीओरालीमा डहरजस्ता बाटामा ऊ बडो सजग भएर ममाथि उसको ८० किलो शरीरको भार थपिरहेकी थिई । जे होस्, ठूलाछापको पुछार आइपुगेपछि मैले उसलाई भनेँ, “हेर् गौरांगी मैयाँ, यस जिल्लाका सभापति प्रेमनारायण प्रेमीको घर यही हो ।”
उसले टाढैबाट क्यामराको लेन्स त्यतातिर तेस्र्याई ।
अलि पर एक घरमुन्तिरको बारीमा दुई जना महिला कान्लामा केही खोस्रिरहेका थिए । क्रिस्टिनाले उनीहरू के गरिरहेका छन् हँ भनेर सोधी । मैले म हेरी आउँछु नि त भनेर उनीहरू भएका ठाउँतिर आफ्ना पाइला बढाएँ । नजिकै पुगेर भनेँ, “दिदी नमस्कार, ओहो तरुल त निक्कै बनाउनु भएछ !”

“हो सर, अलि अलि भएछ,” प्रौढले भनिन् । उनीसँगै एक युवती सानो शिशुलाई दूध चुसाइरहेकी थिइन् । उनले मलाई बडो विस्फारित आँखाले हेरिरहेकी थिइन् । एक अपरिचित व्यक्ति उनीहरूसँग बडो चासो लिएर कुरा गरिरहेको देखेर उनी छक्क परेकी रहिछन् । मैले जब क्यामरा उनीहरूको क्रियाकलाप खिच्न तेस्र्याएँ, युवती झस्किई । तैपनि, एक स्न्याप खिच्न भ्याइसकेको थिएँ ।

“हाम्रो फोटो खिचेर क्यार्नु हुन्छ र सर ?” त्यसले भनी । उसका भाषा र भंगिमामा निषेध, लज्जा, शंकोच र भय मिसिएको देखिन्थ्यो । यतिन्जेल गौरांगी पनि हाम्रो छेऊ आइपुगेकी थिई । त्यसका निधारमा पसिनाका थोपा टल्किरहेका थिए ।
“होइन, तपाईंको फोटो खिचेर क्यै गर्ने होइन, ओखलढुंगाको हाटमा कहाँबाट के के पुग्दा रहेछन् भनी थाहा पाउनलाई हो बैनी,” मैले उसलाई आश्वस्त पार्ने किसिमले भनेँ, “हेर्नूस्, प्रेमीजी मेरा साथी हुन् । हामी उनैलाई भेट्न आएको ।” “यो तरुल कति रुपियाँ किलोमा बिक्री हुन्छ भनेर सोध न”, गौरांगीले मेरो कानैमा भनी ।

“अँ दिदी, यो तरुल कति रुपियाँ किलोमा बिक्री हुन्छ, माथि हाटमा लग्नुभो भने ?” मैले युवतीकी आमालाई सोधेँ । आमाचाहिँले ६०/७० भन्न मात्र भ्याएकी थिई, छोरीले उछिनेर भनी, “हामी भट्टराई बाहुन हुम्, जाबो हाटमा लगेर तरुल बेच्न जान्छौँ भन्ठान्नु भा’होला !” उसको अनुहारमा क्षोभ देखिन्थ्यो । अनि थपी, “हाम्रा दाइ काठमाडौँ बस्नुहुन्छ, तरुल बेचेर खानु पर्दैन हाम्ले ।”

त्यस युवतीको काठमाडौँसम्बन्धी धारणाले म चकित भएँ । मैले भनेँ, “बैनी काठमाडौँमा पनि तरुल लगाइन्छ, नपुगेको बाहिरबाट झिकाएर हामी काठमाडौँमा तरुल खान्छौँ । अनि, मेरो घर पनि काठमाडौँ नै हो बैनी । यहाँभन्दा त्यहाँ झन् धेरै दु:ख छ ।”

मेरी सहकर्मी गौरांगीले थप उत्खनन गर्ने र ओखलढुंगाको अर्थतन्त्रबारे बुझ्ने मनसायले मसँग भनी, “यो युवती के भन्दैछ ? राम्रो आम्दानी हुन्छ भनेकी हो त्यसले ? सोध् त, एक सिजनमा तरुलबाट सरदर कति आम्दानी गर्दा रै’छन् ।”

मैले भनेँ, “हेर् केटी सबै सोधिसकेँ मैले । तँलाई माथि गएर बेलीविस्तार लाउँला ।”
यति भनेर मैले उसको हात समातेँ र तानेँ । मैले चाहेको थिएँ, यस युवतीले हामीलाई बडो उन्मुक्त किसिमले बुझोस् र सत्यसत्य बताओस् । तर, उसको दाइ काठमाडौँ बसेको थियो । सत्य उसका लागि यति बलियो थियो कि उसले त्यस सत्यलाई अँठ्याएर राखी ।

उनीहरूसँग नमस्तेले बिदावारी भएपछि हामी उकालो लाग्यौँ । सबै त होइन तर यो एक प्रतिनिधि सोच थियो । एक जना ओखलढुंगे युवतीका लागि काठमाडौँ धेरै शक्तिशाली रहेछ र त्यहाँ बस्नु पनि इज्जतिलो कुरो रै’छ भन्ने बुझेर म छक्क परेको थिएँ ।

काठमाडौँको उर्वर माटोलाई कंक्रिटको सहरले ढाकिदिएपछि अब काठमाडौँ पहिलेजस्तो कम्तीमा पनि तरकारीजस्ता उत्पादनमा आत्मनिर्भर रहेन । तर, काठमाडौँ परनिर्भर हुँदै गएपछि पनि काठमाडौँको कुनै मानिस अन्यत्र जिल्ला जाँदा उसलाई शक्तिकै प्रतिरूप मानिन्छ । तर, काठमाडौँ एक विशाल मोफसल पनि हो भन्ने धेरैले बुझेका छैनन् । यसको नक्कली शक्तिले यसलाई डुबाउँदै लगेको छ ।
०२४ सालको कुरा हो । मेरो दैलेखको गाउँमा मेरा दाजुले आफ्नो विद्यालयका गुरु लगेका थिए । उनी काठमाडौँका रैथाने नेवार थिए । उनको नाम थियो, बाबुकाजी तुलाधर । बेलुकी टुकीको उज्यालोमा जब उनले मोजा फुकाले, हामी धेरैले उनका खुट्टा हेरेका थियौँ । ती अत्यधिक गोरा र मुलायम थिए ।

यसबाट काठमाडौँबारे हाम्रो मन–मस्तिष्कमा गोरो र मुलायम विम्ब बन्यो । काठमाडौँका मानिस सम्पन्न, सुखी र समृद्ध हुन्छन् भन्नेमा म, मेरा बाआमा र मेरा दाजुभाइ विश्वस्त भयौँ । काठमाडौँ नआएसम्म हाकुचा, खेतमा कोदालो लिएर दिनभर काम गर्ने ज्यापू समुदाय हाम्रो मनमा कहिल्यै आएन । हुन त काठमाडौँ शक्तिको प्रतीक मात्र थिएन, संघर्ष, दु:ख र कष्टको पर्याय पनि थियो । त्यसैले सदर काठमाडौँले अझै पनि मोफसल काठमाडौँबारे सोचेजस्तो लाग्दैन । अनि विराटनगर, भरतपुर, नेपालगन्ज, महेन्द्रनगर र डोटीजस्ता ठाउँमा बसेर काठमाडौँलाई गाली गर्नु सहजवृत्ति बन्यो । काठमाडौँले कहिल्यै पनि त्यसको तर्कपूर्ण उत्तर खोजेन । मस्तराम काठमाडौँ !

करिब ३० वर्षअघि म आफ्नो जन्मथलो दैलेख गएका बेला बाटैमा एक अपरिचित महानुभाव भेटिए । लवाइखवाइ हेर्दा उनी खाँट्टी गाउँले थिए । मैले ‘तपाईंको घर कहाँ ?’ भनी सोध्दा उनले भने, “काठमाडौँ” ।

“काठमाडौँ कहाँ नि ?” मैले सोधेँ । “अलि पर पर्छ,” उनले भने । “बानेश्वर ?” मैले सोधेँ । “अलि पर,” उनले भने । “कोटेश्वर ?” उनले भने अलि पर । “भक्तपुर हो ?” मैले सोधेको थिएँ । “अझै उता ।”
मैले साँगा, बनेपा, धुलिखेल, पाँचखाल, दोलालघाट, बलेफी, लामोसाँगु भन्दै गएँ । उनले ‘अलि उता’ भन्दै गए । आखिर उनको घर रामेछाप रहेछ । त्यस मानिसले आफ्नो घर रामेछाप नभनेर किन काठमाडौँ भन्न रुचायो होला ? मैले आत्ममन्थन गरेँ र काठमाडौँको नामले यो व्यक्ति दैलेखका मानिसलाई तर्साउन आएको हुनुपर्छ । धेरैका मनमा काठमाडौँ शक्तिको प्रतीक हो ।

यो धेरै नेपालीका मनमा सामन्तजस्तो सवार भएर बसेको छ र काठमाडौँका गल्ली–गल्ली, काँठ र उपनगरहरूलाई मोफसल बनाइरहेछ । तर, खास काठमाडौँ त्यति मात्र होइन । काठमाडौँ उहिलेका शाह, राणा, थापाकाजी, वस्न्यात काजीहरूको मात्र होइन । यो गत जनआन्दोलनमा हातमा ब्यानर लिएर निस्केका लाखौँलाख मानिसको काठमाडौँ हो, जसले शाहराजलाई ठाडो चुनौती दिँदै सुनको गद्दीबाट ओरालेर तराईका भैँसीगोठालो यादवलाई मुलुकको सर्वोच्च पदमा पुर्‍याइदिएको थियो । काठमाडौँलाई काठमाडौँकै रैथानेले नचिनेपछि काठमाडौँबारे गलत धारणा बन्छन्, खराब विम्ब बन्छन् र काठमाडौँले बित्थामा गाली सुनेर ङिच्च हाँसिरहनुपर्ने अवस्था आउँछ ।

मित्र राजव, यतिबेला तपाईं अमेरिकाबाट तपाईंको प्यारो काठमाडौँ आउनुभएको छ, जतिबेला तपाईंकै प्यारो मधेसका नाममा केही मोदीपन्थीले काठमाडौँलाई कालोबजारीको स्वर्ग बनाइदिएका छन् । केही समय आफूलाई थेग्न सक्ने काठमाडौँको आर्थिक र सामाजिक ताकतलाई चुनौती दिँदै काठमाडौँ आएर काठमाडौँका सडक, गल्ली र भित्तामा पानको पिकले रंग्याउनेहरूले गाली गरिरहेका छन् र सरकारलाई वार्ता गर्ने भए तराईतिर झर्नुपर्छ भनिरहेका छन् । सायद काठमाडौँको यथार्थ विम्ब अझै देखाइएको छैन । त्यसैले काठमाडौँले आफूले नगरेको अपराधका निम्ति सजाय भोगिरहेको छ ।

हिजो वैशालीबाट आएर यहाँ शासन गर्नेहरू, हिजो सिमरौनगढबाट आएर यहाँको संस्कृतिलाई वर्णसंकर बनाएर सहिष्णु नेपालीको सांस्कृतिक धरोहरको निर्माण गर्नेहरू, हिजो उपत्यकालाई धुजाधुजा बनाएर घिउचाकु चाट्नेहरू लामबद्ध भएर काठमाडौँलाई गाली गरिरहेका छन् । तिनले ससाना भुरेटाकुरे राज्यलाई मिलाएर तपाईं–हामीलाई ठूलो नेपाल दिने गोरखाली राजा पृथ्वीनारायणलाई नगरेका कर्मका लागि गाली गरिरहेका छन् । लाग्छ, अंग्रेजका पीठमा चढेर जयप्रकाश फेरि काठमाडौँ भित्रिएको छ र आफनो् गुमेको काठमाडौँ प्राप्त गर्न चाहन्छ । यसका लागि उसले पृथ्वीनारायणले राजधानी बनाएको काठमाडौँसँग लड्नुपर्छ, पृथ्वीनारायणले खुट्टामा ढोगेकी जीवित देवी कुमारीसँग लड्नुपर्छ र उसले शताब्दीऔँदेखि आएर यहीँको संस्कृतिलाई अपनाउँदै छोयला–कचिला खाने मजस्ता नास्तिक बाहुनसँग भिड्नु पर्छ ।

काठमाडौँलाई गाली गर्नेलाई मुखभरिको जवाफ दिने मित्र राजव, तपाईं जन्मेको मरु प्याफलमा उभिएर हिजो म भावुक भएँ । तपाईं डाँछीका पुडासैनी बर्मुले मल्ल के सुन्दर नेवा: जत्तिकै वा त्यसभन्दा मीठो नेवारी भाषा बोल्नुहुन्छ भन्ने केहीलाई मात्र थाहा छ । तपाईंले नातिबज्रका कविताको कति मीठो नेपाली अनुवाद गर्नुभएको छ, मलाई थाहा छ । तपाईं कति राम्रो भोजपुरी बोल्नुहुन्छ, त्यो पनि मलाई थाहा छ । तर, तपाईंको गोरो वर्ण र सुलुत्त परेको नाकलाई हेरेर तपाईंलाई शासक वर्गमा पारेर नयाँ शासकहरूले वितण्डा मच्चाएका छन् । फर्कनोस् चाँडै, काठमाडौँको यथार्थ विम्बको रचना गर्न ढिलो भइसकेको छ ।

प्रकाशित: माघ ८, २०७२

(स्रोत : नेपाल साप्ताहिक)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.