कथा : पर्दाभित्र बाहिरका पात्रहरु

~भोगेन एक्ले~Bhogen Ekle

गोमाकी आमा छोरीको लक्षण निको नदेखेर सशंकित थिई । नभन्दै छोरीको महिनावारी रोकियो । ठूलो पीरमा परे बूढाबूढी । कसको हो, को हो, राम्ररी फकाएर सोध्नु लगायो बाउ चाहिंले । आमाले फकाउनै परेन । फलाफल धामीलेजस्तै बकी गोमाले, “अस्ति ठूलाघरे बाकोमा तिमीले धान लिन पठाउँदा घरमा बडामात्र थिए । धान झिक्न तल्लामाथि ढुकुटीमा लगे अनि … ।“

मर्नुको जूनी भयो आमालाई छोरीको कुरो सुनेर । राति ओछ्यानमा सबै कुरो सुनाइन् बूढोलाई गोमाकी आमाले । बाउको होस हवास गुम भयो । छाँगाबाट खसे उनी । बोल्नै सकेनन् धेरैबेरसम्म । “कसरी यस्तो गर्नु सकेको ठूलाघरे दाईले ! आफ्नो छोरीसमानको यसलाई । अब भोलि के होला ? टोल छिमेकीले के भन्लान् ?

बूढाको कुरा काटदै बोली गोमाकी आमा, “के भन्छन् ? हामीले के गरेका छौं र ? त्यो अधबेस्री, लठेप्रीको के दोष ?

रात टन्न निंद्रा पुर्याएर ब्यूंझियो भालेको डाकसँगै । तर ती दुईले आँखा झिमिक्‍कसम्‍म गर्न सकेनन् पुरा रात ।

भूइँमा राम्रो उज्यालै नखसी थेग्नै नसक्ने मनभरिको गह्रौं भारी बोकेर दुनिया तर्कनाहरु गर्दै गोमाको बाउले लर्खराएको गोडालाई बाटो लगायो ठूलाघरे जेठाको घरतिर । तिरिरि घाम झुल्कँदा ऊ ठूलाघरे जेठा बिर्खबहादुरको आँगनमा पुग्यो । बिर्खबहादुर सिकुवामा बसेर ठूलो मखमा चियाको सर्को लगाउदै थिए । जेठी आँगनमा कुखुरालाई चारो छर्दै थिइन् । नौलो मान्छेको आगमनले चारो टिप्दै गरेका आँगनका परेवाहरु भुटुटु उडे । कुखुराहरु तर्सेर छेउकुना लागे । जेठी कराईन् , “तँलाई पनि यतिबेलै आइपुग्नु पर्ने ।
ऊ केही नबोली आँगनको कुना लाग्दै सिकुवामा पुगेर बिर्खबहादुरलाई ढोग चढायो । बिर्खबहादुरले उसलाई पिढींमा पीरा तानेर बस्ने इशारा गर्दै जेठीलाई अह्राए, “होइन यो आज क्यारे एकाबिहानै कताबाट आइपुगे छ ! एक डबका जाँड बनाइदे है यसलाई ।
जेठी चुपचाप भित्र पसिन् । पाँच पाथे डालोमा एक डालो खोस्लाएको मकैघोगा लिएर केहीबेरमै निस्की जेठी सिकुवामा, “यो पुड्का पुड्की छोडाएर भैंसीलाई कुँडो बनाउनु पिसौं भनेको, छोडाउनै भ्याएको हैन, ला ला यो छोडाउदै गर । कम्ता साह्रो छैन । हामी आइमाई केटाकेटीको त पित्तामै नचल्ने । तिमीहरुको दह्रो हुन्छ नि नाडी । म जाँड छानेर ल्याउँछु ।” नारिन बानि परिसकेको गोरुले जुवामा गर्धन छिराएजस्तै चुपचाप डालोमा हात हाल्यो साहिंलाले ।

“अनि क्यारे, आज केको लागि यति बिहानै आइस् त साहिंला ?” साहिंलो बोलेन । ऊ बिनाउत्तरनै घोप्टिएर मकै छोडाइरहृयो । “किन केही बोल्दैनस् क्यारे, के भन्नुलाई आइस् ?” बिर्खबहादुरनै बोले फेरि ।

अब भने साहिंलाले मुस्किलले मुख फुटायो, “खै के भन्नुलाई आएँ म ? कसरी भन्नु ? के भनेर भन्नु ?” अरु बोली उसको घाँटीमै अट्कियो । बरु, थाहै नपाइ दुई थोपा आँशु छोडाउदै गरेको मकैको डालोमाथि खस्यो, तप तप । यो देखेर बिर्खबहादुरको मनभित्र कतै चिसो पस्यो क्यारे । एकैछिन अगाडिको उसको रवाफिलो अनुहार बाह्र ठाउँ मुज्जा परेर चाउरियो । भित्रबाट एउटा डबका र काठे आरीमा जाँड लिएर जेठी निस्किन् । “यति छोडाइ दिएर जा है साहिंला, भरै तल्लो घरको हिरेको आमालाई पिस्नु बोलाको छु । भोलिदेखि भैंसीलाई कुडोनै छैन । छोराछोरी स्कुले, बूढालाई गाउँ डुल्दै फुर्सत छैन, म एउटाले कता भ्याउनु, कता नभ्याउनु ।” डबकाभरि जाँड सारिन्, जाँडसँगै काम पनि भरि नै सारिन् जेठीले । रुझेको अनुहारले जेठीलाई एकपल्ट हेर्योमात्र साहिंलाले । जेठीलाई कसैको अनुहार पढ्ने फुर्सत थियो न मन । ऊ त्यतैबाट आँगनतिर निस्किई र डोको टिपेर बाटो लागी, कतै ।

“अँ, क्यारे तैंले के भन्न खोजेको हो साहिंला ? कुरो नचपाईकन क्यारे सिधा भन् त ।” बूढी आँगनबाट बढारिएपछि निकै सशंकित स्वरमा बोले बिर्खबहादुर यसपल्ट ।

“जेठा दाइ, बाउ बाजेका पालादेखि तपांईंहरुकै भरमा बाँच्दै आएका छौं हामी, तपाईंहरुकै जग्गा जमिन खनी खोस्री पेटमा माड हालेका छौं । नत्र हामी गरीब दुःखी उहिलै मासी सक्थ्यौं यो ठाउँबाट । तपांईंहरुकै आछापिछामै रही आएका छौं अहिलेसम्म ।”

“अनि क्यारे, के भयो त ? मैले क्यारे केही भनेको छैन । गरेर खान दिएकै छु । अड्को पड्को क्यारे, फुकाएकै छु । तँलाई के भयो र आज क्यारे यस्तो कुरा गर्छस् साहिंला ?

निकैबेर घोरिएर बोल्यो ऊ, “खोई, के भयो भन्नु दाइ पुर्खैगाल पारी त्यसले, गोमा दुई जीउकी भई । कसको भनेर सोध्दा तपाईंको नाम लिन्छे । मर्नुको जुनी पारी त्यसले मलाई ।” भनी सक्दा नसक्दा बरर आँसु खस्यो उसको आँखाबाट । साहिंलाको कुरा सुनेर बिर्खबाहादुरको सात्तो उड्यो, होस गुमभयो केहीबेर । हतार होस खोज्दै बोले, भनौं, कड्किए उनी, “के भन्छस क्यारे तँ ? तेरो लठेप्री छोरीको कुरा सुनेर क्यारे यत्रो अवगाल मेरो टाउकोमा लगाउनु आको तँ यहाँ । कसरी सकिस् क्यारे यत्रो दोष लगाउन मलाई ? तेरो लठेप्री छोरीलाई कतिवटाले क्यारे ओछ्यान बनाउँछ, नाम भने मेरो लिन्छ ? त्यो त आधा ज्ञान कि भई भई, तेरो पनि क्यारे बिर्को लाग्यो कि क्याहो ? तुरुन्त जा यहाँबाट, पहीला क्यारे त्यसलाई सिस्नो पानी लाएर सोध् । अनि पनि मेरो नाम लियो भने त्यसको थुतुनो काट् ।

साहिंलालाई खपिनसक्नु भयो, बिर्खबहादुरको कुराले । जानेदेखि एकै वचन जवाफ नलागेको उसले आज रिस र पीरको झोंकमा थाम्नै सकेन आफूलाई । “ठीकै छ ठूलाघरे दाइ, क कसलाई सीस्नु पानी लाउंनु पर्छ, क कसको थुतुनो र मुतुनो काट्नु पर्छ त्यो भोलि गाउँले दरदाजभाइहरुले टुंगो लगाउलान् । तपाईं हामी टाठा बाठा ढांटौंला छलौंला । त्यो त आधा ज्ञानकी छे । त्यसलाई कतिवटाले ओछ्यान बनायो, भोलि त्यसैले सबैको अगाडि बक्ला । मेरो वुद्धिमा विर्को लाग्यो कि तपाईको मति विग्‍र्‍यो यो तपई नै खुट्याउनुहोस ।” हातमा भएको मकैको घोगो सीकुवामा पछार्दै साहिंला जुरुक्‍क उठ्‍यो र निस्क्यो आंगनमा ।

बिर्खबहादुरको निधार मरीच चाउरिएभन्दा साह्रो चाउरियो । सरमले अनुहार काला न नीला भए । मनभित्र ढ्यांग्रो वज्यो उसको । नजानिंदो गरी जीउ थरर काम्यो । आँगनमा निस्किएर अन्तर्ध्यान भएको साहिंलो आज सँधै आफूले घोग्रेठ्याक लगाइ राखेको, जसो भन्यो उसो खुरु खुरु गर्ने चटकेको बाँदरजस्तो नभएर आफ्नो सात्तो लिन आएको यमराजजस्तो लाग्यो उसलाई ।

अब के गर्ने भन्‍ने जुक्तिको खोजीमा घोरिरहेको थियो ऊ । हातमा दुधेरी बोकेर जेठी आँगनमा देखिईन् । जेठोको झन् सातो उड्यो, बूढीको अनुहार देखेर । जेठी सिकुवामा पसी । डालोमा मकै अलग्गै थियो । डवकाको जाँडमाथि तीन चार वटा झिंगाहरु पौडी खेलिरहेका थिए । “हैन के भयो ? साहिंलो खै ? जाँड पनि खाएनछ ! मकै पनि अलग्गै छ ! के भन्‍न आएको थियो त्यो हकारेर लघार्यौ कि क्या हो ? त्यो मकै अब आफै छोडाउ ।” बूढी गनगनाउँदै भित्र पसी । बूढो डालोको हैन टाउकोको मकै छोडाउन थाल्यो बररर ।

लेखको जाडो पाहारिलो घाममा आँग सेकाउदै रत्‍ने डोकोचोया केलाउँदै थियो आँगनमा । टुप्लुक्‍क आईपुग्यो बिर्खबहादुर । अचानक ठूलाघरे बाको उपस्थितीले रत्‍ने केहिबेर अल्मलियो । हतार सिकुवाबाट थोत्रो मूढा झिकेर बालाई आसन टक्रयाउँदै शिर निहुरायो । बाले आफ्नो हात रत्‍नेको निधारमा ल्याएर ठोक्याउँदै भलीभाँती आशीर्वाद दियो । आज अचानक त्यती तल ब्याँसीबाट यति माथि आईपुगेका बासँग आश्‍चर्य पोख्यो उसले । जेठा बाले केहीबेरको भलाकुसारीपछि आफू आज आउनुको गाँठी कुरो खोल्यो रत्‍नेसँग । बिर्खबहादुरको काईते कुरा सुनेर कहिं नभाको झोंक चलेर आयो एकपल्ट उसलाई । तर सिधै जवाफ लाग्न सकेन । के भनौ, नभनौको अवस्थामा गम खाँदै अल्मलियो ऊ । जेठाबाले भएभरको लोलोपोतो, लोभलालच देखाउँदै खुबै रकमिपाराले फकायो रत्‍नेलाई । यहाँसम्म कि उस्लाई आफूबाट लिएको सम्पूर्ण ऋण मिनाहा गर्दिन पनि तयार भयो ऊ । अनि आखिरमा अड्को थाप्यो उसले । यदि आफ्नो कुरो नमाने, पटक पटक गरि जम्मा भएको तीस हजार रुपैयाँको एकै मुष्ट हिसाब यहि महिनाभित्र बुझाउनु पर्ने भाका पनि तोक्यो । रत्‍नेको मन जेठाबाको लोलोपोतोमात फसिएन तर भाकामा नराम्ररी तर्सियो । बिर्खबहादुरले आफ्नो कुरा सिद्धाएर रत्‍नेको अनुहार खुबै नियाँलेर पढ्यो, एकपल्ट । खै के देख्यो उसले त्यो अनुहारमा, सायद जालमा परेको एउटा माछै देख्यो होला । त्यसैले भोलि टुँगो लिएर उसकोमा जानुपर्ने खटन गर्दै बिर्खबहादुर बाटो लाग्यो ।

रत्‍ने, बालकैमा आमाको काख गुमाएको टुहुरो । पत्‍नी वियोगमा विरक्तिएर हिँडेको एकपाखे बाउको पछि लागेर तेह्र चौधकै उमेरमा कोईला खाँद भासिएको उ, कालान्तरमा बाउलाई पनि उतै कोईलाखानिकै सुरुङभित्र पुरेर पूरै टुहुरो भई, दश हण्डर खेपी आफ्नै गाउँ सोध्दै खोज्दै फर्किएर, ढलिसकेको आफ्नो घरको पुरानो जगमा दरदाजुभाइ र छरछिमेकको सरसहयोगले सानो कटेरो बारबेर पारी टाउको लुकाउने ओत बनाई भएको दूईचार गह्रा खनजोत गर्दै आफ्नो दुःख जेलो जसो तसो वेहोर्दै आएको दुःखी मानुवा ।

आज ठूलाघरे जेठा, बिर्खबहादुरको कुराले रत्‍नेको शान्त मनभित्र ठूलै तरङग पैदा गराइदियो । भोलि जसरी पनि टुँगो लिएर जानुपर्ने कुराले दिनभर उसको आँगमा घाम लागेन । साँझ पख उसलाई थ्याप्ले फत्काई खान पनि जाँगार चलेन । एक मख मही र छेक्लोको दूईचार वटा सुठूनी टिपी खाएर ओछ्यान पसेको उ, पटक्‍कै निदाउन सकेन । दिउँसो जेठाबाले भनेका कुराहरुलाई धेरैपल्ट ओल्र्टाई पल्र्टाई गरिरह्यो । थुप्रै कोल्टे फेर्यो ओछ्यानमा, उसको तनसँगसँगै मनले पनि । बाको लोभ लालचले त कति पनि छोएको थिएन उसलाई । तर, कुरो नखाए लिएको ऋणको साँवा ब्याज यसै महिनाभित्र बुझाउनु पर्ने कुराले भने उ पुरै खलवलियो । धेरै पहिलायो मनैमन, तर त्यत्रो रकम जम्मा गर्ने मेसो कतै पनि फेला पार्न सकेन उसले । आखिरमा प्रस्टै दूई वटा बाटाहरु देख्यो उसको थाकेको मनले । एउटा, बाको खटन पटन अनुसार भोगचलन गर्नु । र अर्को, भएको जायजेथा सुम्पिएर कुम्लो कुटुरो कस्नु । दुवै बाटो सहज थिएनन् । पहिलो बाटो लागे एउटा अधवेस्री त्यसमाथि अर्काको नासोसँगै जिम्मालिनु थियो । दोस्रो बाटो लागे सँधैका लागि गाउँ छोडेर मुग्लान भासिनु । ठूलो विलखवन्दमा पर्यो रत्‍ने । ओछ्यानबाट उठेर एक लोहोटा पानी पियो । पात्लेको पातमा एक खिलि सुर्ती वेह्री झोस्यो अगुल्ठोमा । धुवाँ तान्दै वाहिर निस्केर अलिकति तुर्कायो आँगनको डिलबाट । टहटह जून लागिरहेको थियो वाहिर । रत्‍ने पिँढीमा आएर टुक्रुक बस्यो । उसको चाल सुनेर बारीको पल्लो छेउमा भुक्दै गरेको काले पनि पुच्छर हल्लाउँदै आई उसै छेउ गएर टुसुक्‍क बस्यो । उसले कालेको टाउको सुम्सुम्याउँदै राम्ररी निहाल्यो आज त्यसलाई ।

कालेले पनि रत्‍नेको अनुहारमा टुलुटुलु हेरिरह्यो, सानो बालकले झैं ।आँखै नउघ्रि आमा स्यालको विषमा परि मरेपछि रत्‍नेले मैझालेम्पाको गोठबाट ल्याएर आफ्नो गाँसकाटि संगै ओछ्यानमा गुटुलक्याएर हुर्काएको थियो उसले त्यसलाई । उता आँगन छेउको सानो वर्खेमा लुरी उग्राइरहेकी थिई । चारवर्षअगाडि कान्छा पुरोहितलाई कसैले दान गरेको वाछी उसले नखत दुई सय र पाँच खेताला सघाएर आफ्नो बनाएको थियो । बाटोमा ल्याउँदा ल्याउँदै जिउ हेरेर न्वारान गरिदिएको थियो उसले, लुरी भनेर । आज त्यो रत्‍नेको स्याँहार सम्भार पाएर लुरीबाट एउटा पुष्ट, मोटी साँझ विहान चार माना दूधदिने आमा भएकी थिई । उसले जन्माएको वाछो र रत्‍नेको पनि । रत्‍नेले मुण्टो घुमाएर आफ्नो छाप्रोतिर पनि आँखा लायो । पोहोर सालको हुण्डरीले कटेरो उडाईदिएपछि टोलछिमेकको भनेजस्तो सवै सघौपघौमा र त्यही ठूलाघरे जेठासँग काढेको बीस हजारले काठपात जोरजाम पारेर उठाएको त्यो छाप्रो आज उसलाई छाप्रो होईन, देश पर्देश डुल्दा उस्ले देखेको थुप्रै आलिसन महलहरुभन्दा कता हो कता विशाल र अचाकली राम्रो लाग्यो । उधो फर्केर घुर्यानतिर हेर्यो । आफूले रोपेको स्याउको विरुवा वोटहरु आज हुर्किएर मस्त तन्‍नेरी भई झ्यांगिएका थिए ।जस्ले पोहोर सालमात्र उसको झुत्रो भोटोको भित्री गोजी भित्र सयसयको पाँच वोटा नोट खुसुक्‍क घुसारी दिएको थियो ।

रत्‍नेको मन साह्रै नराम्ररी निचोरियो । कहाँ हो कहाँ भित्रैवाट गाँठो परेर असाध्यै पिंडाभो छातीमा । आँखामा रसाएको आँशु पुछ्दै आँफैसंग वोल्यो उ, “यी सव छ र नैत म छु । यी नरहे म कहाँ रहूँला ? कसरी सुम्पन सक्छु म यो सवै त्यो पापी बिरे वजियालाई ?” उसले निधो गर्यो । “वरु जेजस्तो भएपनि आफ्नो जायजेथा निखन्न तै पापीको नासो वोकेको गोमालाई जिम्मा लिन्छु।देखाजाएगा, लठेप्रीकै कोखबाट भोलि बाठाबाठी जन्मिएपछि ।” ठूलो विस्मत संगसंगै सानो सन्तोषको सास फेर्दै रत्‍ने भित्र पस्दा खोपीको परेवाले रातको दोस्रो प्रहर छुट्यायो ।

समाप्त

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.