~टि पी मिश्र~
याङे दाइ सिकवाको छेउमा छन् । छोप्ने कुरालाई मात्र ढाक्ने बुच्चे हापिन र जयबंगलाको धेरै ठाउँ टालेको सर्टमा छन् उनी । हाम्रो घर आइपुग्न यिनलाई त्यस्तै १० मिनेट जति लाग्ला हिँडेर । खाली खुट्टा हिँडेर हामीकहाँ आएर होला बिचरा जाडोले काँपिरा’थे । फूलपातीको दिन भएकोले म धेरै खुसी थिएँ । बाले खसीको पुच्छर र कान चैँ पक्कै मलाई नै दिने मेरो आशा !
दाजु-भाइमा जेठो छोरो हुन् याङे । मेरा बाले चैँ यिनलाई “ठुले” भनेर बोलाउने गर्थे । बाको यो शैली एकखालको हेपायासीपन लाग्थ्यो मलाई। इन्द्रचौक गाउँमा याङे दाइ निकै प्रसिद्ध थिए । लाग्छ यिनी त्यहाँको गाउँ मुखियाभन्दा कम छैनन् । त्यतिका सुकिलामुकिला चैँ नहोलान् । पढेलेखेका कारण यिनी त्यसरी चिनिएका भने होइनन् ।
हात-मुख जोड्नकै लागि उनका हरेक दिन भालेको डाकसंगै सुरु हुन्छन् । गाउँभरिबाट ल्याएका फाटेका कपडा टाल्न होस् कि कसैको आंगमा नयाँ कपडा थपिदिन, याङे दाइ स-परिवार जहिल्यै ब्यस्त रहनु पर्ने बाध्यता । लास छोप्ने कात्रो होस् वा जजमान गर्दा चाहिने धरो, बेहुला-बेहुली सज्जिने सुट होस् वा पुरोहितलाई दान गर्ने कपडा, बाहुनी बजैको मजेत्रो होस् वा पण्डितको कछाड, जग्गे माथिको चंदुवा होस् वा लामाको सेन्पब-सेन्जा, टासीको काब्नी होस् वा डेकीको तेगो, सबै यिनै याङे दाइकै भरमा ।
“ठुले! आइस्?”
बाले आर्मीको मेजरझैं कमाण्ड गर्दै सोधे ।
“हजुर! अब हजुरकहाँ नआएर कहाँ जानु र?”
याङे दाइलाई मैंले भित्रै जानकोलागि भनें । “कान्छा, म तिम्रो घरमा भित्र पस्नु हुन्न,” उनको जवाफ आयो ।
“किन ?” मैंले सोधें ।
“मिल्दैन के”
याङे दाइ आफू हतारमा भएको पनि सुनाउँदै थिए बालाई । दशैंमा लाउने कपडाहरुको डङ्गुर रहेछ उनीकहाँ । सबैलाई सिलाएर दिनु पर्ने । याङे दाइ अरुलाई खुसी भएको हेर्न चाहने मान्छे : कारण उनी टिकाको दिन पनि त्यही बुच्चे हापिनमा हुन्छन् । त्यस ताका लुगा सिलाए बापत भेटी दिने चलन त्यति नभएरै होला उनी अरुले जे दिए पनि खुसी भएर लिन्थे । कतिप्रायले त वर्षभरि उनले गरेको सहयोगका लागि इनाम स्वरूप एक पटक मात्र बाली थमाउने गर्थे । मेरा बाले पनि त्यही भएर होला उनलाई फूलपातीका दिन “पुछ्रे” दिनको लागि डाकेका रहेछन् ।
आमाले पुछ्रेको बारेमा मलाई भन्या – खसीको पुच्छरसहितको भाग झन्डै तीन पावा जति हुँदोरहेछ ।
वर्षभरि हाम्रो घरका लुगा-फाटो सिलाएको ज्याला त्यति मात्र ? त्यत्रो ठूलो कार्य गर्नेलाई पुछ्रे मात्र किन? ऊ पनि त हामी जस्तै मानिस होइन र ? उसको घरमा हामी पस्न हुने अनि ऊ चैँ हाम्रोमा किन नहुने? प्रश्नहरुको तगारो तेर्साएर आमालाई मुलढोकामै रोकें । खसी भुत्ल्याउने तातो पानी बोकेर बाहिर निक्लन खोजेकी रहिछन् आमा ।
“बिस्तारो बोल है भाइ ! बाले अहिले सुने भने मार्छन्,” आमाको जवाफ आयो।
“किन?”
जे ‘हुन्न’ भन्यो त्यही गर्नु पर्ने बच्चाको स्वभाव मैंले पनि देखाइरहें, या भनौँ मेरो जिद्धिपन । अनपढ, त्यसमा पनि सोझो स्वभावकी मेरी आमा अहिले पनि बादेखि त्यतिकै डराउँछिन् । डर नलागोस् पनि कसरी र! बाले घरमा “हिटलर सासन” चलाएकाथे निकै लामो समयसम्म ।
“बा घरमा नभएको बेला चैँ याङे दाइलाई हाम्राँ पस्न दिँदा हुन्छ,” आमाले कानेखुसीकै शैलीमा भनिन् ।
लाग्थ्यो आमा नपढे पनि पढे-लेखेको विद्वान झैँ कुरा गर्थिन् । यता याङे दाइ ओलन मात्र लगाएको एक बटुकी फिक्का चियाको भरमा धोतिसरोको पिरामा जाडोले सिउसिउ गर्दै पुछ्रेको पर्खाइमा छन् ।
कठै, बिचरा!
याङे दाइका दुवै हातका औंलाहरुमा सियोले जताततै घाउ बनाएको प्रस्टै देखिन्छ: लेकको जाडो, कति दुख्दो हो घोचेको ठाउँमा !
यति नै बेला हाम्रो घरको आँगन हुँदै ढकाल मन्तरे झन्डै एक मन जतिको घोर्ले खसी घिसार्दै आए ।
“याङे ! मैंले तेरोलागि दुई माना चिउरा र गोडा-बिसेक कोसा कोला राखिदिएको छु । तुसारोले भुइँ छोडे पछि यो घोर्ले ढाल्छु, एक किलो सिकारपनि लैजालास्” ।
तुवाँलो लाग्ने गरी बिंडीको सर्को छोड्दै ढकाल मन्तरे अघि बढे ।
“भैहाल्छ नि हजुर,” मुस्कुराए याङे ।
“बिचराको कर्ममा नै यस्तै होला,” मैंले सोचें ।
“होइन यो त पालना गर्नै पर्ने नियम पो हो त साँची,” आफ्नै जवाफ ।
“धेत्तेरी! यो त माथिल्लो जात भनाउँदाले लगाएको जबर्जस्त नियम पो त,” सोचें ।
“शास्त्रले लेखेका कुरा होलान् त्यसो भा’,” मन-मनै कल्पिएँ |
“थेत ! त्यस्तो पनि हुनै सक्दैन,” फेरि आफ्नै जवाफ ।
“अनि के त त्यसो भा’ ?,”
“खोई !”
याङे दाइकी ठूली छोरी सेतुसंग दिदी मेनुको मितेरी साइनोको फाइदा उठाउँदै मैंले कति पटक उनको ‘पानी नचल्ने’ घरमा खाना नै खाएको थिएँ । खाजा त झन कति हो कति, फेरि हाम्रो पानी भर्ने पंधेरो उनकै बलेँसी छेउमा थियो । सेतुमाथि गाउँका ठिटाहरुको कड्के आँखा पार्न थालिसकेको थियो । पुंगी जेठोदेखि गोतामे बले, मंगर बिरेदेखि दले घले हुँदै भर्खर बनारसबाट कनीकुथी ज्योतिष विद्या सिकेर गाउँ फर्केका ओमे खतिवडासम्म सेतुका पछि लाग्थे ।
एकपटक हामी दाजु-भाइ बस्तुभाउ चराउन गा’को बेला ओमेले सेतुको हात मुसार्दै गरेको देखेको । दसैंमा पिङ खेलाइदिने सर्त तेर्साउँदै ओमेले हाम्रो मुखमा बुजो हालिदिएका थिए । बाटो बिराउन थालेका अल्लारे ठिटाले त याङेनी भाउजूकहाँ बेला बखत …पिउने गरेका रहेछन्, घराँ’ आँखा छलेर । तिनै ठिटा कहाँ याङे दाइ भने जहिल्यै सिकुवामा मात्र बस्न पर्ने !
बिहानको ११ बजेको छ । बा’ले सिकार बनाइसकेका रहेछन् । एउटा ठुलो टपरीमा पुछ्रे ल्याएर दिए बाले । याङे दाइ ओरालो लागे टपरी बोकेर । म पनि उनको पछि-पछि लागें । आमाले पोल्टोको सातपत्रे भित्रबाट झिकेर केही रुपयाँ याङे दाइलाई दिनको लागि मेरो हातमा थमाएकी थिइन् ।
“बाले नदेखी दिनू नि !” आमाको चेतावनी ।
निकै अग्ला याङे दाइले छिटो-छिटो खुट्टा लम्काएकाले म पछि-पछि दगुरिरहें । बाटोमा भेटेका जतिलाई उनी “जदौ” गरिरा’ हुन्थे । निकै पर पुगेपछि उनले जब पछाडी फर्केर हेरे, मलाई देखे । मैंले आमाले दिएको पैसा उनको हातमा राखेर घर फर्किएँ ।
“बिस्तारै घर जाऊ है कान्छा । मेरो त तल गोतामे माइला साहुकहाँ गएर अलिकति जाउलो पकाउने चामल लिनु छ,” अगाडी हेर्दै यसो भन्दै उनी ओरालो लागे ।
बीस बसन्त भइसक्यो, याङे दाइका बारेमा नसुनेको । जीवित छन् या स्वर्गलोक पुगे, दागानाको इन्द्रचौकमै छन् या त अन्यत्र सरे, थाहा-पत्तो छैन । भूटानमा पनि धेरै परिवर्तन भइसक्यो रे, सायद याङे दाइका दु:खका दिनहरु पनि गए होलान् । किन हो किन, आज याङे दाइका बारेमा म निक्कै सोचमग्न भएको छु |
(याङे दाइले इन्द्रचौकमा पुर्याएको योगदानप्रति समर्पित )
……………
नर्थ क्यारोलिना
(स्रोत : Bhutaneseliterature)