कथा : मीठा जहरहरू

~शिव प्रकाश~SHiva Prakash

“हो, अंकल ! धेरै बाबुआमाले धेरै छोराछोरी विदेशीका लागि जन्माए। अहिले ती धेरै छोराछोरीले झन् धेरै छोराछोरी विदेशका लागि जन्माउँदै छन्।”

अंकल एकोहोरिनुभयो र मेरो अनुहारमा एकछिन हराउनुभयो।

“तपाईंले मेरो मनकै कुरा भन्नुभो आलोकबाबु, उनीहरू गएको आज २० वर्ष भयो।” चियाको सुर्को तान्दै सुस्केरामिश्रति स्वरमा श्याम अंकल बोल्नुभयो। छेउमा बसेकी आन्टी एकटकले भुइँतिर हेररिहनुभएको छ। लाग्छ, छोराछोरीका विम्बहरू उहाँहरूले टेकेको त्यो धर्तीमा नाचिरहेका छन्।

काठमाडौँको ‘भीआईपी’ एरयिामा करबि तीन रोपनी जग्गामा उहाँहरूको घर छ। घरमा जम्माजम्मी श्रीमान्, श्रीमती र दुई जना सहयोगी। केही क्षणका लागि म एक जना थपिएको छु। घर साँच्चिकै घरजस्तो देखिन्छ तर छोराछोरी, नातिनातिना अर्थात् परिवारबिनाको घर, घरजस्तो नहुँदो रहेछ !

कुराको सिलसिलालाई अंकलले अघि बढाउनुभयो, “पढ्न गएकी छोरी उतै बसी। पछि पढ्नै भनेर गएका छोराबुहारी पनि उतै बसे।”

अंकलको गला एकछिन अवरुद्ध भयो। फेरि शूष्क स्वरमा भन्नुभयो, “उनीहरूलाई यहाँ नपुग्दो केही थिएन। अहिले पनि छैन। हाम्रा लागि यो घर पनि एक प्रकारले बोझ भइसकेको छ।”

छोराछोरीको बिदाइका क्षणहरू शोकमय अनुभूति बनेर अंकलका अनुहारभरि झल्किरहेका थिए। आन्टी भने मिश्रति मुडमा देखिनुहुन्थ्यो, कुनै बेला नदीजस्तो कुनै बेला तलाउजस्तो।

शरदको आगमन स्वीकार्दै वर्षा भर्खरै बिदा भएको छ। गेटबाट छिर्नेबित्तिकै त्यो घरको वातावरणले मलाई सम्मोहित बनायो। मनमनै सोचेँ, यहाँ फूलको सुवास छ तर घरभित्र उदासी मात्रै छ। घरभित्रका फूल भनेका त सन्तान हुन् नि!

यो घरको छोरा भएको भए म पक्कै यन्त्रवत् घन्टे जिन्दगी बाँच्न अमेरिका जाने थिइनँ। मान्छेको मूल्य श्रमका रूपमा भएको तर भावनाको मूल्य पटक्कै नभएको, घडीले मान्छे घुमाउने त्यो देशमा अवश्य जाने थिइनँ, धर्तीको स्वर्ग छाडेर।

निकै बेरपछि भावुक भएर अंकलले मुख खोल्नुभयो, “अमेरिका त के, म यो ठाउँ छाडेर जिउँदै स्वर्ग जा भने पनि जान्नँ।”

मेरा आँखा उहाँका आँखामा ठोक्किए र केही बेर रोकिए। मलाई लाग्यो, यो घरभन्दा ठूलो घर अंकलको मनभित्र छ। छोराछोरीको सम्झनाको घर, तिर्सनाको घर अनि अनेक तर्कना-वितर्कनाको घर !

एकाएक मेरो मन सुदूर भविष्यतिर दौडियो। सायद भोलि मैले पनि यही नियति र पीडा भोग्नुपर्नेछ। छोरा अमेरिकामा छ। सायद यस्तै शून्य र रत्तिो हुन सक्छ, मेरो घर र भविष्य ! जतिबेला छोराछोरीको सहारा चाहिन्छ, त्यतिबेला आफ्नो सहारा आफैँ हुन बाध्य हुनेछु !

“यो कस्तो रहर हो बाबु, सबै मान्छे अमेरिका भासिने?” अंकलको प्रश्नले मभित्र अर्को प्रश्न उब्जायो। के अमेरिका रहर मात्र हो? बाध्यता होइन! सायद अंकललाई जीवन थोरै रहर र धेरै बाध्यता हो भन्ने अनुभूति अहिलेसम्म छैन। सामान्यतः सम्पन्नताले रहर बढाउँछ र विपन्नताले बाध्यता। संसारमा सम्पन्नभन्दा विपन्न धेरै छन्, त्यसैले बाध्यता पनि धेरै छन्। अंकल ती थोरैमा पर्नुहुन्छ र रहर भन्नुहुन्छ, जसरी आफ्ना छोराछोरी रहरको सिकार भए।

“अंकल हाम्रा लागि अमेरिका र युरोप रहर मात्र हैन, बाध्यता पनि हो। अनि, यो पनि हो- अमेरिका र युरोप थोरै बाध्यता र धेरै रहर। हामी नेपालीको सम्पूर्ण बाध्यताको पिरामिड त खाडीमा उभिएर हाँसिरहेको छ। त्यहाँका ऊँटहरूसँग मरुभूमिमा हिँडिरहेछ दिनरात। भेडाहरूसँग रेगिस्तानमा चररिहेको छ, हरेक दिन। तातो हावामा पसिना बनेर नेपाली हाडछाला तर्तरी बगिरहेको छ, हरेक पल। दिनहुँ दिनदहाडै खुलमखुला च्यातिँदै छन्, नेपाली चेलीका आस्था र अस्मिताहरू। काठका लामा बाकसमा कुहिएर फर्किंदै छन्, यहाँबाट गएका जिउँदा सपनाहरू !”

अंकलका आँखा बेलाबेलामा भित्तामा गएर अडिन्छन्। लाग्छ, अंकलका आँखाका साथी भएका छन्, भित्ताका ती निर्जीव तस्बिर, जसमा छोराछोरीका हँसिला अनुहार अनूदित भएका छन्। तर, तिनै तस्बिर अहिले पीडा बनेर अल्झिरहेछन्, आँखामा।

अनुभूतिशून्य आँखा मतिर तेस्र्याउँदै अंकल फेरि उस्तै प्रश्न गर्नुहुन्छ, “अमेरिकामा त्यस्तो के छ? जो गयो त्यहीँ हराउँछ।” अंकलका अनुहारमा मानसिक वेदनाका धर्साहरू वक्ररेखा बनेर कोरिएका छन्। तिनलाई पढ्न गाह्रो छ।

“अमेरिकामा मीठा जहरहरू धेरै छन्, अंकल। जसले पालैपालो मान्छेलाई हमला गर्छन् र दीर्घरोगी बनाउँछन्। अनि, अमेरिकाको सिमाना काट्न नसक्ने गरी कँुज्याएर राख्छन् तर पनि अमेरिका जाने मान्छे सपनाको घोडामा संसारभर अझै दौडिरहेको छ।”

एउटा बाबुभित्रका उकुसमुकुसहरू ज्वालामुखी भएर अंकलका बोली हुँदै निस्किन खोज्छन्। तर, आन्टी बेलाबेलामा ‘ब्रेक’ लगाउनुहुन्छ, “आ कति विरक्तिएको?” वात्सल्यमयी बाबुको मनको गहिराइ छुन मलाई अति गाह्रो भइरहेको छ।

“छोराछोरी पढेर आउँछन् र आफ्नो देशकै लागि केही गर्छन् भन्ने सगरमाथाभन्दा अग्ला हाम्रा सपना अमेरिकाको टि्वन टावरजस्तै गरी ढले। ”

मेरा आँखा अंकलका आँखामा गएर फेरि ठोक्किए। स्तब्ध, निस्तब्ध भए हामी दुवैका आँखा एकछिन। मलाई हजार काँडाले एकैपटक घोचेजस्तो लाग्यो। केही बोल्न सकिनँ। अंकलले थप्नुभयो, “आज मान्छे शरीरले हैन, भावनाले नजिक हुनु जरुरी छ…।”

“हो नि, देश सिमानामा मात्र हैन, भावनामा पनि हुन्छ। आफूले टेकेको माटो मात्र देश हैन, देश त छातीभित्र हुन्छ। जुन छातीमा देश हुन्छ, त्यही छातीमा देश दुख्छ। त्यही छातीमा देश रुन्छ।”

“क्याबात !” भन्दै अंकलले ताली पिट्नुभो। आन्टीले पनि। दुवै मुस्कुराउनुभयो। के यिनीहरू हाँस्नका लागि मात्रै हाँसेका हुन् अहिले? म आफैँलाई प्रश्न गर्छु।

अंकल फेरि बोल्नुभयो, “अब त अनुहार पनि बिर्सने बेला भइसक्यो। हामी उल्टीपहरका घामजस्ता भइसक्यौँ।” छोराछोरी स्मृतिबाट हराउँदै गरेको विम्ब उहाँका आँखाका पानीसँगै छछल्किए। म हेररिहेको छु। सुनिरहेको छु।

धनले मान्छेलाई कति निर्धन बनाउँदो रहेछ! उहाँहरूसँग सबै छ तर सबै भएर पनि केही नभएजस्तो छ।

“अमेरिका रमाइलो होला, यहाँभन्दा सुख-सुविधा होला। बच्चाबच्ची पढाउन सजिलो होला र त बसेका हुन् नि! भनी त रा’छन् तिनले पनि !” आन्टी बीचबीचमा हस्तक्षेप गर्नुहुन्छ। कताकता मलाई पनि रमाइलो लाग्छ। हो, भावुकतामा धेरै किन बगिरहनु?

“अनि, बाबु अमेरिकामा बच्चा-बच्चा भन्छन्। पढाइ छ भन्छन्। अनुशासन सिकाइन्छ भन्छन्। के सिक्छन्, के सिकाउँछन् हँ, त्यहाँ बच्चालाई? हाम्रा यहाँका त सबै जंगली नै हुन् जस्तो गरी कुरा गर्छन्, ‘एडजस्ट’ हुन सक्दैनन् भन्छन् ! कसैका नभा’का बच्चा ! के हो?” आन्टीले रोमान्टिक मुडमा कुरा गर्नुभयो। मलाई पनि लागिरहेको थियो, वातावरणलाई कति बोझिलो बनाउनु?

“आन्टी, अमेरिकामा धेरै कुरा सिकाइन्छ। सबैभन्दा पहिला ‘कम्प्लेन’ गर्न र ‘मेरो’ भन्न सिकाइन्छ। ‘मी’ अर्थात् ‘म’ र ‘माइन’ अर्थात् ‘मेरो’ ! हामी र हाम्रो भन्न सम्भवतः कहिल्यै सिकाइँदैन। आफ्नै समुदायमा पनि आफ्नो भाषा बोल्दा सानो होइन्छ भन्ने सिकाइन्छ। आफ्नै घरपरिवारका कुरामा पनि ‘आई डन्ट केयर’ भन्न सिकाइन्छ। परिवारको सामूहिक समस्यामा पनि ‘इट इज नट माई प्रब्लम’ भन्न सिकाइन्छ। आदि इत्यादि…।”

भन्न त मन लागेको थियो आन्टीलाई- अमेरिकामा निधार खुम्च्याएर, कुम कक्य्राएर, हात फिँजाएर उड्न लागेको गिद्धजस्तो गरी कुरा गर्न सिकाइन्छ। सिकाउँदै जाँदा हरेक स-साना कुरामा ‘कम्प्रमाइज’ हैन ‘कम्प्लेन’ गर्न र ‘इस्यु’ बनाउन सिकाइन्छ। आफूलाई अलिकति मन नपरेको कुरा, मान्छे, विषयवस्तुलाई ‘आई हेट’ भन्न अनि १२-१३ वर्षदेखि आफ्नै बाबु-आमालाई पनि ‘आई हेट माई प्यारेन्ट्स’ भन्न सिकाइन्छ। गाँजा-सिगरेटका धूवाँमा उडाउन झन् मजाले घरबाटै सिकाइन्छ। १८ वर्ष पुगेपछि ‘ब्वाइफ्रेन्ड-गर्लफ्रेन्ड’सँग बस्नुपर्छ, बाबु-आमा वा परिवारसँग बस्नु हुँदैन भन्ने कुरा रटि्ठो नबिराई सिकाइन्छ। बूढाबूढी घरमा भए भने टेन्सन हुन्छ, त्यसैले ‘सिनियर सेन्टर’मा लगेर राखिदिनुपर्छ भन्ने कुरा सिकाइन्छ। बाबुआमा, दाजुभाइ, दिदीबहिनी, इष्टमित्र, जोहोस्, मरेकै दिन ‘ही/सी वाज ओल्ड एन्ड सिक, सो ही/सी गन, इट्स ओ के, इट इज टाइम टु गो’जस्ता संवेदनहीन शब्दहरू स्वाभाविक रूपले भन्न सिकाइन्छ। अनि, सबैभन्दा बढी ‘एफ’ लाएर बोल्न सिकाइन्छ। ‘अमेरिका इज सेक्स फ्री कन्ट्री’ भन्ने कुरा कलिलै उमेरमा प्रयोगात्मक विधिले सिकाइन्छ तर ‘फ्रिडम इज नट फ्री’ भन्ने कुरा कहिल्यै सिकाइँदैन।

“आज उनीहरू छोराछोरी भनेर अमेरिका बसेका छन् तर यो सोच्दैनन् कि मेरा बाबुआमा पनि छोराछोरी भनेर हाम्रा लागि बाँचेका छन्।” अंकलको पीडा फेरि पग्लन्छ।

“हो, अंकल मान्छे जुन आँखाले आफूलाई हेर्छ, त्यो आँखाले अरूलाई हेर्दैन। मान्छेको कमजोरी यही हो।” अंकलको सान्त्वनाका लागि केही शब्द थपेँ।

“पढाइ सकिएपछि आउँछु भने, आएनन् ! अब केही काम गरेर, केही सीप र अनुभव बटुलेर आउँछु भने, आएनन् ! बच्चा जन्मिए, साना छन् अलि ठूलो बनाएर आउँछु भने, आएनन् ! बच्चा ठूला हुँदै गए, अब हाम्रा बच्चा त्यहाँ ‘एडजस्ट’ हुन सक्दैनन्, कसरी आउनु पो भन्न थाले।”

मनमा गुँडल्किएर बसेका गुनासा पोख्दापोख्दै अंकलमाथि फेरि आन्टीको हस्तक्षेप भयो, “हजुर कति गनगन मात्र गरिस्या भन्या? उनीहरूले अब मम्मी-ड्याडी उतै आउनु भनेकै छन् नि! हामी दुवैको गि्रनकार्ड बनाउँछु भनेकै छन् नि! हामी पनि उतै सेटल हुने नि ! देखाइदिऊँ न हामी पनि यो समाजलाई। कति अरूका मात्र फुइँ हेर्नु? मैले त भन्दिया छु, हाम्रो पनि गि्रनकार्ड बनाओ, हामी उतै आउँछौँ।”

आन्टीको इच्छा अमेरिकामै सेटल भएर बस्ने, यो समाजलाई देखाउने। त्यो हेर्न यो समाज अझै लालायित छ। मलाई थाह छ- नारी-इच्छा सामु पुरुष-चाहना सियोको स्थिरताबिना धागोको प्रवेश असम्भव प्रायः भएजस्तै हुन्छ ! पराजित प्रायः ।

प्रकाशित: जेष्ठ ११, २०७१

(स्रोत : नेपाल साप्ताहिक)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.