~श्यामल~
मैले पहिलोपटक कवि भूपी शेरचनलाई एकेडेमीमा भेटेको थिएँ । यद्यपि म उनलाई भेट्न निकै आतुर थिएँ, तर त्यसअघि म नेपालगन्जमा भएकाले उनीसँग भेट्ने कुनै तारतम्य मिलेको थिएन । ‘हामी’, ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ र ‘हो चि मिन्हलाई चिठी’ जस्ता बहुचर्चित कविताका स्रष्टा भूपी मेरो मानसमा रहस्यमय प्रतिभाझैँ थिए । म उनलाई छुन चाहन्थेँ । म उनका रचना प्रक्रिया र विचार बुझ्न चाहन्थेँ । म उनको अध्ययनको पाटो कति बलियो छ भन्ने जान्न चाहन्थेँ । तर, त्यो अवसर सहजै उपलब्ध थिएन ।
एकपटक भूपीले कविता त्रैमासिकका लागि कविता पठाउन मलाई अनुरोध–पत्र पठाए । मैले यस्ता आदरणीय कविको आग्रहलाई निकैबेर सुम्सुम्याइरहेँ र भर्खरै लेखेको कुनै कविता (बाह्र बजे शीर्षकको कविता) स्व. रामशरण दर्नालका हातमा थमाइदिएँ । दर्नालले बडो इज्जतसाथ मेरो कवितालाई आफ्नो कमिजको गोजीमा राखे र भूपीदाइलाई नै दिने बताए । त्यो भूपीको हातमा नगएर अर्कैको हातमा पनि पुग्न सक्थ्यो । तर म चाहन्थेँ, पहिले भूपीले नै मेरो कविता पढून् अनि तोक लगाएर प्रेसमा पठाऊन् ।
पहिले भूपीले नै मेरो कविता पढून् भन्ने मेरो आशय थियो—उनका आँखा मेरा हस्ताक्षरबाट गुज्रून्, उनले त्यसको स्वाद लिऊन् र मप्रति सकारात्मक धारणा बनाऊन् । एक अग्रज कविको आँखाबाट एक अनुज कविको रचना गुज्रनु आल्हादकारी अनुभव हो । पछि थाहा भयो– उनी कविताबाट मात्र होइन, मेरा हस्तलिपिबाट पनि अति नै प्रभावित भएका थिए । उनले मेरो कविताको पाण्डुलिपि बालकृष्ण पोखरेललाई देखाए । पोखरेलले लामो समयसम्म त्यसलाई हेरिरहे र रामशरण दर्नालसँग आग्रह गरे, ‘जसरी हुन्छ यस कविलाई खोजेर ल्याउनू ।’
पदमा कनिष्ठ तर इमानदार रामशरण दर्नाल त्यसपछि मलाई खोज्न कुद्न थाले । उनले गिरिराज जोशीसँग सम्पर्क गरेर मलाई भेटे र बडो गम्भीरतापूर्वक दुई प्राज्ञले भेट्न चाहेको र करिब एक हप्तासम्म फेला पार्न नसकेको बताए ।
त्यसअघि कहिल्यै पनि एकेडेमी नछिरेको म त्यहाँ जान चाहन्नथेँ । वामपन्थी वृत्तमा भूपी राजाको मानिस भएर एकेडेमी गए भनेर आलोचना गरिएको थियो । हुन पनि भूपी त्यसकालमा वैचारिक विचलनतिर अग्रसर भएका थिए (पछि एक साहित्यिक पत्रिकामा उनले दुई ‘क’ अर्थात् कम्युनिस्ट र कवि भएकोमा पश्चात्तापको भाषा बोले) । उनी डा. केशरजंग रायमाझीको मातृसमूहमा आबद्ध थिए भनिन्थ्यो । दरबारका विश्वासपात्र रहेका डा. रायमाझीकै सिफारिसमा उनी प्राज्ञ भएको अनुमान गर्ने थुप्रै थिए । जीवनको उत्तराद्र्धमा उनलाई क्रोनिक ब्रोन्काइटिस र मधुमेहलगायत चार रोगले गाल्दै लगेको थियो र सम्पन्नताको गिर्दो अवस्थाले विचलित बनाइरहेको थियो । सम्भवत: काठमाडौं र पोखराको द्वैत परिवारको आर्थिक र मानसिक भारले पनि उनलाई त्यस अवस्थामा पुर्याएको थियो । अनि चारै वर्षका लागि किन नहोस्, नियमित आयको स्रोत र प्राज्ञिक क्रियाकलापले उनको बोझलाई कम गर्न सक्थ्यो र यो सर्वथा अनुचित थिएन । उनको वैचारिक धार भुत्ते हुँदै जानु र अर्को अतिमा फस्नु भने दु:खद यथार्थ थियो । तथापि एक लोकप्रिय कविका रूपमा उनको प्रतिष्ठा र चर्चा कम भएको थिएन, छविमा थोरै दाग भने लागेको थियो ।
एक दिन, सायद १ बजेपछि म दर्नालको कार्यकक्षमा पुगँे । दर्नालले नै मलाई भूपीको कार्यकक्षमा प्रवेश गराए । भूपी कञ्चन सेतो दौरा सुरुवालमा कुर्सीमा विराजमान थिए । एउटा टेबुलमा राम्रोसँग माड लगाइएको ढाका टोपी थियो र ह्यांगरमा कालो कोट झुन्डिएको थियो । मेरो नमस्कारको प्रत्युत्तरमा भूपी निकै मीठो मुस्कानसहित प्रस्तुत भए । उनको ओइलाउँदो अनुहारमा एक विशिष्ट प्रकारको आभा छरियो ।
कतै उनी हात मिलाउन आफ्ना हात अघि सार्दैनन् कि भनेर म डराइरहेको थिएँ । किनभने हातको त्यो स्पर्श मेरा लागि महत्त्वपूर्ण थियो । उनका हात अतिशय कोमल थिए । जसलाई भेट्न मैले निकै प्रयत्न गर्नुपर्ने थियो, उसैले मलाई भेट्न बोलाएको छ । म भावोद्वेगमा थिएँ । उनले मलाई सोफामा बस्न भने र कुर्सीबाट उठेर बिस्तारै एकातिर राखिएको अर्को कुर्सीमा बसे ।
‘कहाँ पर्यो यहाँको घर ?’ उनले मन्द मुस्कानसहित सोधेका थिए ।
‘दैलेख ।’ मैले उनको विनम्रतापूर्वक गरिएको प्रश्नको उत्तर ठाडै दिएँ, ‘हजुर, भेरी अञ्चलको उत्तरी पहाडी जिल्ला । दाइ पुग्नुभएको छैन होला ।’
‘पुग्ने अवसर त पाएको छैन, तर कतातिर पर्छ भन्नेसम्म थाहा छ,’ उनले भने, ‘सायद नेपालगन्जतिर पर्छ क्यारे †’
‘नेपालगन्जबाट पैदल हिँड्दा चार दिनमा पुगिन्छ । प्लेन सुर्खेतसम्म मात्रै छ । मेरो जिल्लामा अहिलेसम्म न मोटरबाटो पुगेको छ, न हवाईजहाज जान्छ । म काठमाडौं आउँदा भारतको बाटो रेलयात्रा गरेर आउनुपर्छ ।’
त्यसपछि उनले मेरो जीविकाको बाटो, दैलेखको भौगोलिक र मेरो पारिवारिक परिवेश र मेरो लक्ष्य सोधे । मैले सरासर बताएँ । उनको विनयशीलता अद्भूत थियो, एकप्रकारले बिझ्ने खालको । के म त्यस्तो विनयशील भाषामा, त्यो लयदार बोलीमा, त्यस्तो मोहक उतार–चढावयुक्त तुकबन्दीले भरपूर वार्ता गर्न सक्छु ? मेरा लागि यो निकै कठिन काम थियो । जब कसैले उनको वार्ताशैलीको अनुकरण गर्न सक्तैन, उसले कसरी उनका कविताको अनुकरण गर्न सक्ला ?
अनुकरण गर्न सकिने उनका कविताले समातेका विषय र कविताको भाषामा तिनको उपचार गर्ने विधि थियो । उनी व्यंग्य गर्दागर्दै पाठकका मनमा परिवर्तनको लहर दौडाउने सामथ्र्य राख्छन् । उनी साधारण शब्दमा असाधारण अर्थ भर्ने सामथ्र्य राख्छन् । उनी ती अर्थपूर्ण सामान्य शब्दहरूलाई गेयात्मक बनाइदिन सक्छन् । यही सामथ्र्यको खोज उनका अनुज पुस्ताले गर्ने प्रयास गर्दै थिए ।
… ए जून,
तिमी रुन्छौ र तिम्रो आँसु शीत बन्छ
म रुन्छु र मेरो आँसु गीत बन्छ ।
लगभग आधा घन्टाको च्याम्बर बसाइमा उनले मेरो कविता र हस्ताक्षर दुवै अब्बल दर्जाको रहेको ठहर गरे । यस्तो प्रशंसापूर्ण स्वीकृति पाउँदा कुन अनुज कवि प्रसन्न नहोला † म आत्ममुग्धताको अवस्थामा थिएँ । कतै त्यो अतिप्रशंसा त थिएन ?
त्यसपछि उनले प्रा.बालकृष्ण पोखरेलको च्याम्बरतिर मेरो अगुवाइ गरे । यी महानुभावका नामै अनौठा अनौठा थिए । बालकृष्ण रूपावासी, गडतिरे साइँलो, केकेमनुच्यो पोखरेल जस्ता थुप्रै नामका पगरी गुथेका थिए यिनले । यसो लाग्थ्यो, यी मानिसले तारानाथ शर्मासँग मिलेर चलाएको भाषिक ‘झर्रो आन्दोलन’ यिनकै बोलीको र शैलीको झर्रोपन हो । यिनका थुप्रै पुस्तक मैले पढिसकेको थिएँ । भाषाजस्तो रुखो विषयमा लेख्दा पनि उनी त्यसमा पठनीयताको मधुर रस भरिदिन्थे । यिनका कथा अरूभन्दा फरक थिए, यिनका निबन्ध तानाशर्माका झैँ सलल्ल बगेका हुन्थे । तर, मैले यसअघि यिनलाई भेट्ने अवसर पाएको थिइनँ ।
सोफामा बसेका बालकृष्ण पोखरेलसँग चिनाए भूपीले मलाई । म उभिएकै अवस्थामा थिएँ, तसर्थ मैले किञ्चित झुकेरै नमस्कार गर्नुपर्यो । झुक्नु मेरो स्वभावको प्रतिकूल थियो । तथापि विद्वत्पुरुषका अगाडि झुक्दा मलाई कतै ग्लानिबोध भएन । मेरो पाखुरै तानेर आफूसँगै बसाए उनले । संकोचवश निहुरिएको म उनको छेउमै बसाइएँ ।
‘यति सुन्दर हस्तलिपि रहेछ यहाँको । मैले यति राम्रो अहिलेसम्म देखेकै थिइनँ ।’ मेरो कविता हातमा लिँदै उनले मतिर जिज्ञासु भावले लेघ्रो तानी–तानी भने । म भित्रैदेखि प्रसन्नताले भरिएँ ।
‘हजुर, मैले पनि मेरो जत्तिको राम्रा हस्तलिपि देखेको छैन । हुन त होलान् कसैका यति ठूलो दुनियाँमा ।’ मैले उनको अनुहारतिर हेर्दै भनेँ । बाक्लो फ्रेमको चस्माभित्रका चिम्सा थकाली आँखा भएका भूपीदाइ हामी दुई भाइका अनुहारतिर हेरिरहेका थिए ।
‘हुन त मैले मेरो सात पुस्ताअघिदेखिका सुन्दर हस्तलिपि देखेको छु । ती मेरो पिताजीका संग्रहमा अझै छन् । यो त मेरो वंशानुगत सीप हो कि जस्तो लाग्छ । तर, तारानाथ दाइका हस्तलिपि निकै सुन्दर छन् भन्ने सुन्छु दाइ म त ।’ मैले सुझाएँ ।
‘तारे पनि अति राम्रो डिका दिएर लेख्छ । तर, तारेको भन्दा यहाँकै राम्रो ।’ उनले निर्णय सुनाए ।
आफ्ना अति प्रसिद्ध अग्रज समालोचक, उपन्यासकार, निबन्धकार, भाषाविद्, अंग्रेजी र नेपाली भाषाका प्रकाण्ड विद्वान् डा. तारानाथ शर्माका सुपरिचित र बहुचर्चित हस्ताक्षरभन्दा मेरो हस्तलिपि राम्रो भनिदिँदा मलाई खपिनसक्नुको आनन्द प्राप्त भयो । तर, न म उनीजस्तो प्राज्ञिक हैसियतको थिएँ, न त आफू जन्मँदा झर्रो आन्दोलन चलाएर र चित्त नबुझेका लेखकलाई सिस्नुपानी लगाउनेसम्मको समालोचना लेखेर चर्चाको शिखरमा रहेका त्यस्ता प्रसिद्ध पुरुषको तुलनामा आउन सक्ने मानिस नै थिएँ । उनकै अति निकटका मित्र रहेका र सबैले उद्भट विद्वान् मानेका बालकृष्णले भनिदिएपछि पक्कै हो कि क्या हो जस्तो मलाई लाग्यो ।
‘यति राम्रो त मैले पनि देखेको छैन, बालकृष्णज्यू ।’ भूपीदाइले यति थपिदिएपछि मलाई त्यहाँ बसिराखेर यी दुई प्रसिद्ध पुरुषका प्रशंसामय शब्दहरूको झरीमा भिजिरहूँ जस्तो लाग्यो ।
चिया आइपुग्यो । चियाको चुस्की लिँदै बालकृष्ण पोखरेलले भने, ‘यसो गरौँ, लामो जति भए पनि हुन्छ, चौडाइमा यत्ति होस् । नेपाली पहाडी कागजमा एउटा कविता लेखिदिनोस् । म मेरो विराटनगरको घरमा बैठक कोठाको भित्तामा फ्रेममा राखेर सजाउँछु । सकिएला कविज्यू ?’
भूपीकै अगाडि मलाई ‘कविज्य’ू भनेपछि साँच्चै म पनि कवि भइसकेको रहेछु जस्तो लाग्यो । यद्यपि मेरा कतिपय कविता छापिएका थिए, पाठकबीच कविका रूपमा म देखिइसकेको थिएँ, तर भूपीजस्तो र भूपीको उचाईको कवि त म थिइनँ । संकोच मान्दामान्दै मैले ‘हस् हुन्छ’ भनिदिएँ । र दुवै महानुभावलाई नमस्कार गरेर बाहिरिएँ ।
त्यसउप्रान्त भूपीदाइले मलाई बारम्बार सम्झिरहे । तर, बालकृष्ण पोखरेलले त्यो प्रसंग नै बिर्सेछन् ।
बिमार परेर डाक्टरको निगरानीमा औषधि खाइरहेका र भाउजूका रेखदेखमा घरैमा बसिरहेका वेला उनी यदाकदा मलाई घरमा बोलाउन थाले । म पनि कहिले अफिस बिदा लिएर, नत्र बिदाका वेला उनको नारायणचौरस्थित घरमा जान थालेको थिएँ । उनीसँगको बसाइ र गफगाफमा साहित्यिक रौनक हुन्थ्यो र उनको वार्तालापको मीठो र लयात्मक शैलीका कारण उनको घरमा जाऊँ–जाऊँजस्तो लागिरहन्थ्यो । तर, उनको अवस्था मानिसहरू गइरहन अनुकूल थिएन । झन् हामीजस्ता मानिस जाँदा परिवारमा गलत खालको धारणा बन्ने डर थियो । के भने, उनी मद्यपानमा रुचि देखाइहाल्थे । र, यसले कटुता उत्पन्न गर्ने ठूलो जोखिम थियो ।
एकपटक म जाँदा उनी मास्क लगाएर पल्टिरहेका थिए र पलङको सिरानीतिर अक्सिजन सिलिन्डरसँग अक्सिजन मास्क जोडिएको थियो । भाउजू काम विशेषले कतै बाहिर निस्केका वेला थियो । उनले त्यो एक्लोपनबाट मुक्त हुन मलाई बोलाएका रहेछन् । मुखमा अक्सिजनको मास्क र हातमा अल्बेयर कामुको ‘द स्ट्रेन्जर’ लिएर पढिरहेका थिए उनी । छेउको एउटा कुर्सीमा म बसेपछि पुस्तकलाई सिरानीमै राखेर उनले मसँग भलाकुसारी सुरु गर्दै भने, ‘कविज्यू, ऊ त्यहाँ एउटा सानो चिज छ, निकालिदिनोस् न ।’
उनले खाटमुनि लुकाएर एक क्वार्टर मधुरस राखेका रहेछन् । मैले डराई–डराई त्यो झिकेँ । र, उनको हातैमा सुम्पिदिएँ । ‘ढोका यस्सो लाइदिनुहुन्थ्यो कि ?’ उनले यति भनेपछि मैले कुरा बुझेँ र ढोकामा चुकुल मारिदिएँ ।
‘त्यहाँ दुइटा ह्विस्की ग्लास छन् । यसो निकाल्न सकिएला ?’
त्यसपछि नेपाली कविताका कुरा चले । सरलता र जटिलताका कुरा चले । फ्रेन्च दार्शनिक र माक्र्सवादको प्रयोगका कुरा चले । हो चि मिन्ह र सोभियत मोडेलका कुरा चले । गोर्की र सोलोखोबका बारेमा कुरा भए । मोहन कोइराला, भवानी घिमिरे, हरिभक्त कटुवाल र भूपी शेरचनकै कुरा भए । सरलतामा काव्यको खोजका कुरा भए । रिमाल र देवकोटाका कुरा भए । शंकर लामिछाने, वासु शशी, मञ्जुल र विमल निभाका कुरा पनि भए । एकताका कविताको मूलधारमा प्रवेश गरेर पछि हराएका रत्नदेव शर्माका बारेमा कुरा भए । यसमा पारिजातको प्रसंग पनि वेलावेला मिसिएर आउँथ्यो ।
देवकोटालाई उनी हाम्रोभन्दा भिन्नै दृष्टिले हेर्थे । उनले भने, ‘देवकोटा ठूला प्रतिभा त हुन् तर त्यसभन्दा महान् हुनुपर्ने हो ।’ यस वार्तालापबाट थाहा भयो, उनी रिमाललाई निकै ठूला क्रान्तिकारी कवि मान्थे ।
करिब तीन घन्टासम्म उनीसँग बस्ता यस्तो लाग्यो, उनी हामीजस्ता अनुज पुस्तासँग अन्तक्र्रिया गर्न उत्सुक छन् । हामीसँग निकै गम्भीर सवाल–जवाफ गर्न चाहन्छन् । हाम्रो पुस्ताका केही कविप्रति उनी निकै भरोसा राख्छन् र नेपाली कविताले विश्वका कवितामा आफ्नो विशिष्टता कायम गर्नेमा विश्वास गर्छन् । तर, नेपालको राज्यले त्यस प्रयासलाई समर्थन गर्ने क्षमता राख्दैन ।
मैले उनलाई एकेडेमीमा गएको विवादका बारे सोधेँ र वामवृत्तबाट उनलाई वैचारिक विचलन भएको आरोपका सम्बन्धमा पनि सोधेको थिएँ । उनले सहज उत्तर दिएका थिए, ‘म त अन्तिमसम्म पनि मातृ पार्टीमै छु, अरू कहाँ–कहाँ पुगिसके ।’
०४० सालतिर हुनुपर्छ, उनी बिमार पर्न थालेका थिए, एकप्रकारले घरभित्र सीमित हुनुपर्ने अवस्था आइरहेको थियो । तर मित्रता, सामाजिकता, घुमघाम र कविताका सौखिन भूपी यति चाँडो जीवनको उत्सव र उल्लासबाट थाकेर घरभित्रै सीमित भइहाल्लान् भन्ने लाग्दैनथ्यो । तथापि उनको शारीरिक स्थिति उति राम्रो थिएन । म नेपालगन्ज जाँदै थिएँ, भूपीदाइको टोली इलामबाट फर्कंदै रहेछ । मुग्लिनमा हाम्रो भेट भयो । आफ्नो गाडी एकातिर थन्क्याएर अघिअघि भूपीदाइ र पछि–पछि केशवराज पिँडाली एउटा बारभित्र छिर्दै थिए । मैले वयोवृद्ध पिँडालीलाई भनेँ, ‘तपाईंको त स्वास्थ्य ठीकै छ, भूपीदाइको ख्याल गर्नुहोला ।’
उनीहरू दुवैले ख्याल त गरे, तर सायद मैत्रीपूर्ण मद्यमय स्वास्थ्यको मात्रै ख्याल गरे । बाँचुन्जेल जीवन भोग गर्ने हो, दुवैजना अहिले यस लोकमा छैनन् ।
भूपीदाइ बित्दा म पोखरामा थिएँ । उनको त्यो पोखरामा, जहाँ उनी कहिल्यै फर्कन नपाउने भएका थिए ।
(स्रोत : www.enayapatrika.com )