~सुन्दर खड्का~
एकदिन कलेजको क्यान्टीनमा खाजा खाने क्रममा उसँग भेट भयो । सबैजना खाजा लिदै थिए । भिडमा म पनि कुपन लिएर छिरेँ । तरकारीको प्लेट तान्दै थिएँ, कसैले त्यही प्लेट समातेको थाहा पाएँ । पुलुक्क हेरेँ, उसैको हात । एक नजर अनुहारमा प¥यो, आँखा जुधे । प्लेट छोडेँ । एकैचोटि उसले पनि छोडी, प्लेट खस्यो । फेरि उसलाई हेरेँ । म मात्रै हैन, ऊ पनि डराएको आभास भयो । बोलें , ‘सरी’ । ‘सरी’ उसले पनि भनी, एकैचोटी । फेरी हास्यौँ दुवैजना, एकैचोटी ।
पेन्टमा लागेको दाग सफा गरेँ र अर्को प्लेट लिएर ऊ बसेकै टेबलपछाडि गएँ । अचम्मको हाँसो देखेँ मैले ओठमा । हाँसोमा कस्तो मादकता ! भलै उसका ओठ ठूला, लामा अझ भनौं, नमिलेका होलान् । हाँस्दा ती मिलेर आए । अनौठो संयोजन थियो ओठ, दन्तलहर, हँसाइको तरिका र आवाजको । त्यो घटनापछि बोलचाल राम्रै भयो । उसको बोली अझ प्रभावशाली लाग्न थाल्यो मलाई । उसको बोलीमा आत्मविश्वास छ, जसले मलाई प्रभावित पा¥यो । कक्षाकोठामा म उसको बायाँपट्टि बस्थेँ । यो पनि संयोग नै मान्नुपर्छ किनकि म पहिले देखि नै त्यही बस्थेँ । एकदिन मैले कलमले बेन्च बजाइरहेको थिएँ ।
उसले देखी र सोधी, ‘भाँच्न मन लागेको हो ?’
मैले पनि भनिदिएँ, ‘अँ ।’
उसले फेरि भनी, ‘लेऊ, म भाँचिदिन्छु ।’
मैले दिएँ । मलाई विश्वास थिएन उसले भाँच्ली भनेर । तर उसले भाँची हाँस्दै । म हेरिरहेँ ।
फेरि बोलेँ, ‘मसँग पेन छैन । अर्को पेन लेऊ ।’
उसले भनी, ‘मसँग पनि छैन ।’
‘मलाई पेन चहियो ।’
‘मैले के गरम् ?’
सर कक्षामा आइपुग्नुभयो । नोट दिनुभयो । सबै लेख्दै छन्, ऊ पनि । म हेरिरहेँ । कलम अरूसँग माग्न पनि सक्थेँ, तर मागिनँ । धेरै त उसलाई नै हेर्थें, ऊ मुसुक्क हाँस्थी । मलाई अति नै मीठो लाग्थ्यो र सधैँ लागिरह्यो । क्लास सकियो ।
फेरि मैले भनें, ‘अर्कालाई दुःख दिँदा खुब मजा आउँछ है ?’
‘आउँछ मलाई त । तिमीलाई आउँदैन ?’
‘अब मलाई पनि आउँछ । यो कपी लाने र नोट लेखेर ल्याइदिने ।’ मैले कपी दिएँ ।
आज्ञाकारी भएर उसले ‘हुन्छ’ भनी ।
‘अर्को पेन खोज अर्को क्लासका लागि ।’
उसले फेरी त्यसरी नै भनी, ‘हुन्छ ।’
मलाई हाँसो लाग्यो । म हाँसेको देखी र भनी, ‘अर्कालाई दुःख दिँदा खुब मजा आउँछ है ?’
म पनि के कम, उसकै उत्तर दोहो¥याइदिएँ, ‘आउँछ मलाई त । तिमीलाई आउँदैन ?’
‘आउँदैन’, उसले भनी ।
मैले फेरी भनेँ, ‘मलाई पनि आउँदैन ।’
‘किन दिएको त ?’
‘तिमीले गर्दा त हो नि ।’
‘तिमीले भाँच भनेको हैन ?’
‘पुग्यो बाबा, लेख्न गाह्रो भए लेऊ, म आफैँ लेख्छु ।’
‘पर्दैन ।’
अर्को क्लास सुरु भो । उसले आफ्नै ब्यागबाट कलम निकालेर दिई । जाने बेलामा उसको कलम फर्ता गर्दै मैले भनेँ, ‘थ्याङ्क यू ।’
उसले भनी, ‘तिमी नै राख ।’
‘मैले क्षतिपूर्ती मागेको हैन ।’
‘मैले पनि क्षतिपूर्ती दिएको हैन ।’
‘नत्र के त ?’
‘सम्झना हुन्छ, राख न ।’
‘पेन सम्झना दिने बेला अझै भएको छैन ।’ उसले कलम समाती, मुस्कुराई अनि गई ।
भोलिपल्ट उसले फिर्ता गरेको कापीमा एउटा कागजको टुक्रा देखेँ, जसमा लेखिएको थियो, ‘म तिम्रो चोरिएको खाजा फिर्ता गर्न चाहन्छु । क्यान्टिनमा भेट्ने, जसरी भए पनि ।’
माफीको वाक्य आज्ञार्थक वा आदेशमूलक । म पनि किन मानूँ ? क्यान्टिन ढिलो गएँ, कारण म चाहन्थेँ ऊ पर्खिरहेकी होस् । पुग्दा ऊ पर्खिरहेकी रहिछ ।
‘किन ढिला गरेको ?’, सोधी उसले ।
मैले भनेँ, ‘फिर्ता गर्नुपर्दैन । त्यो चोरिएको होइन, पोखिएको हो ।’
‘धेरै जान्ने हुने होइन, यहाँ बस ।’ उसले थर्काई, म डराएँ वा डराएझैँ गरेँ । मलाई पनि खाजा उसले नै ल्याइदिई । उसले सोधी, ‘किन ढिला गरेको ?’
मैले भने, ‘त्यत्तिकै ।’
केही बेरपछि फेरि म बोलेँ, ‘कति नमिठो हो ?’
उसले जवाफ फकाई, ‘नराम्रो हातले दिएर हो कि ?’
‘होइन ।’
‘किन त ?’
‘नराम्रो मान्छे अगाडि भएर ।’
‘जाऊँ म ?’, उसले रिसाउँदै सोधी ।
मैले भने, ‘मन लागे जान पाइन्छ ।’
मलाई लागेको थिएन, ऊ जाली । तर गई । मलाई नराम्रो लाग्यो । कालो मान्छेलाई जिस्क्याएर काले भन्यो भने पनि रिस उठ्छ रे । यस्तै पो भयो कि ? फकाउनु त प¥यो नै । उठेर उसकै अगाडि गएँ, गाउँदै –‘मनका सबै बोझहरू बिसाइदेऊ न बिन्ती, रिसाउँदा झनै राम्री रिसाइदेऊ न बिन्ती ।’
ऊ हाँसी । एकै छिनको मौनता भङ्ग गर्दै भनी, ‘कति नमिठो हो ?’ बदला लिने पुरानै तरिका । म बाठो भएँ, प्रसंग बदलिदिएँ, ‘खुब नाटक गर्न आउँछ है ?’
उसले भनी, ‘आउँछ तर तिमीलाई भन्दा कम ।’ त्यस दिन यस्तै कुराहरू भए । त्यो दिन बिशेष महत्वको यस अर्थमा भयो कि हामीले एक अर्कालाई विस्तृत रूपमा चिन्ने मौका पायौँ । हाम्रो सामिप्यता पनि बढ्यो । हामीबिचको पहिलो समानता पनि मैले त्यसैदिन थाहा पाएको हुँ । उसलाई हरेक कुरामा जित्नै पथ्र्यो र मलाई पनि ।
हामी कलेजबाहिर पनि भेट्न थाल्यौँ । ऊ बोलाउँथी, म जान्थेँ । कहिले पार्क, कहिले बजार र प्रायः क्याफे हाम्रो भेटघाट हुने ठाउँ बन्थे । अँ, उसको नाम त मैले भन्नै भुलेको, उसको नाम थियो प्रेरिसा ।
१२ कक्षाको परीक्षा आउन केही महिना बाँकी थियो । कलेज जाने दिन थोरै थिए । त्यस दिन प्रेरिसाले मलाई धेरै सोच्न बाध्य पारेकी थिई । साँझ पर्न लागिसकेको थियो । प्रेरिसा र म सँगै सडकमा हिँड्दै थियौँ । जिस्कँदै, पिट्दै, धकेल्दै अनि घरी रिसाउँदै । उसका चञ्चल हातका सिकार भइरहन्थे मेरा गाला पटक–पटक । यसै क्रममा हामी आइसक्रिम लिएर खाँदै हिड्न थाल्यौँ । यस्तैमा उसको आइसक्रिम खस्यो, मेरो हातमा ठोकिएर । मलाई थाहा थियो उसले खसालेकी हो, जानी–जानी । म जिस्काउँदै खान थालेँ ।
‘खाने भए पाइन्छ ?’, मैले भनेँ । उसको अचम्मको जवाफ आयो, ‘तिमी मेरो को हो र जुठो खानलाई ?’ म झसङ्ग भएँ र बोलेँ, ‘साथी ।’
‘साथी मात्रै ?’
‘नत्र के त ?’
‘केही पनि होइन ।’
उसले मलाई अचम्ममा पारी । उसको अनुहार पनि परिवर्तित भयो । केही सोचेजस्तो आभास मिल्थ्यो उसको अनुहारबाट । उसको प्रश्नले मेरो भने दिमाग घुमाइरहेको थियो ।
भोलिपल्ट कलेज गएँ । ऊ आई । उही हँसिलो चेहरा, उही पारा, उही बोलि । मैले उसमा हिजोको जस्तो निराशा अलिकति पनि पाईनँ । कलेजको अन्तिम दिन मैले उसको अनुहारमा फेरि उस्तै पीडा देखेको थिएँ, जस्तो त्यो साँझमा थियो । म कलेजबाट निक्लन ढिला भयो, बाहिर आउँदा उसलाई पर्खिरहेको देखेँ ।
बोलेँ, ‘तिमी त अझै यहीँ रहेछौ ?’
‘गाडी कुरेको ।’ उसको जवाफ आयो । मलाई कुरेको हैन रहेछ । गाडी कुरेको रे !
यत्तिकैमा गाडी आयो । बाई भन्दै ऊ गाडी चढी । मलाई थाहा छैन, उसले मलाई ‘बाई’ भन्नकै लागि कति वटा गाडी छोडेर बसी । भनिसकेको छु, उसको मुख जे बोल्छ मनले त्यो भन्छ की भन्दैन । म सबै जान्दछु । मनको कुरा अनुहारले बोल्दछ अनि दिमागको कुरा मुखले । सबैमा यस्तै हुन्छ कि उसमा मात्रै हो म जान्दिनँ । मलाई उसको त्यो बिदाईले हाम्रो सम्बन्धबारे सोच्न बाध्य तुल्यायो ।
मलाई डर लागेको थियो, त्यो बिदाईका कारण । कतै ऊ सधैँका लागि बिदा भएकी त हैन ? तर हैन रहेछ । उसले फेरी बोलाई, म गएँ । फेरि उनै क्याफे र पार्कमा उनीसँग डुलिरहेको हुन्थेँ । प्रेरिसासँगको सामीप्यतामा मैले चार बर्ष बितेको पत्तै पाइनँ । यसबिचमा धेरै कुरामा परिवर्तन आए । तर हाम्रो सम्बन्ध उस्तै थियो । पछि प्रेरिसा र म छुट्टा– छुट्टै कलेजमा भर्ना भयौँ । यसबिचमा हाम्रो भेटघाटका धेरै रमाइला पल छन् ।
क्याफे हाम्रो भेट हुने ठाउँ बन्थ्यो । बहाना कफी होस् या चिया । म साकाहारी मान्छेलाई सर्वभक्षी बनाइदिई उसले । जुन परिकार आज मेरो लत बनेका छन् ।
एक साँझ प्रेरिसाले मलाई आफ्नै घरमा लगी । भनेकी थिई, बाबाले भेट्न खोज्नुभएको छ भनेर । सबैसँग परिचय गराई । आमाचाहिँ प्रोजेक्टको कामले बेलायत जानुभएको रहेछ । बाबा, भाइ र बहिनी सबैले पूर्वपरिचितजस्तै गफ गरे । मलाई रमाइलो लाग्यो । साँझ त्यहीँ खाना खान कर गरियो । म बसेँ । बाबासँग निकै कुराकानी भयो । उहाँ प्रोफेसर हुनुहुँदोरहेछ । उहाँले आफ्ना धेरै कुरा सुनाउनुभयो । मलाई पनि सोध्नुभयो । बहिनीले धेरै देख्न मन लागेको कुरा व्यक्त गरिन् । भाइसँग चाहिँ खासै धेरै कुरा भएनन् ।
प्रेरिसालाई चाहिँ मलिन देखेँ । केही भन्न खोजेजस्तो देखिन्थ्यो, तर केही पनि भनिन । खानापछि प्रेरिसाले नै मलाई घरसम्म पु¥याइदिई ।
त्यस रात मेरो मनमा धेरै कुरा खेले । उसको घरमा गएपछि मेरो मन धेरै परिवर्तित भयो । केले परिवर्तन गरायो, म जान्दिनँ । मैले तोकेको साथीमात्रको सम्बन्धदेखि आफैँलाई रिस उठ्न थाल्यो । मेरो मनले भन्न थाल्यो, ‘हामी प्रेमीप्रेमीका हौँ ।’ त्यही दिनदेखि मैले उसलाई संसारकी सबभन्दा राम्री देख्न थालें । मानिस राम्रो रूपले होइन, मनले हुँदोरहेछ । मैले भोलिपल्ट उसलाई आफ्नो प्रेम प्रस्ताव राख्ने र सधैँका लागि आफ्नो बनाउने निष्कर्ष निकालेर निदाएँ ।
भोलिपल्ट बिहानै प्रेरिसाले मलाई फोन गरेर भेट्न बोलाई, आठ बजे उही क्याफेमा । मलाई झन् खुसी लाग्यो । सोचेँ, उसले पनि त्यही निष्कर्ष निकाली होला । म मख्ख थिएँँ । अझ दिउँसो घुम्न जाने योजनामा समेत थिएँ ।
क्याफे पुग्दा ऊ आइसकेकी रहिछ । म पछाडिबाट सरासर गएँ र टाउकोमा प्याट्ट हिर्काएँ । तर उसले एक्कासी रुँदै भनी –‘सुन्दर, आज ममा तिम्रो अनुहार हेर्ने सामथ्र्य छैन । यो राख । बाई ।’ ऊ मुख छोपेर रुँदै हिँडी । म पनि बाहिर निक्लेँ । हेर्दा हेर्दै ऊ गाडीभित्र पुगी । गाडी चल्यो, देखिन्जेलसम्म हेरिरहेँ । दिमागले केही सोच्न सकिरहेको थिएन । उसले हातमा राखिदिएको सामान हेरेँ । एउटा कलम र खामबन्दी चिठ्ठी थियो ।
कलम देख्ने बित्तिकै मेरो मुटु चिसो भयो । कुनैबेला म आफैँले भनेको थिएँ, पेन सम्झना दिने बेला आएको छैन । मेरा गोडा गले । आएर क्याफेको बेन्चमा ढल्किएँ । उसको चिठ्ठी पढ्न थालें–
प्रिय सुन्दर,
मलाई माफ गर । मैले यो दिन देख्न नपरोस् भनेर धेरै प्रयत्न गरेँ । तर असफल भएँ । तिमीलाई यो दिन अप्रिय लाग्ला वा प्रिय लाग्ला । तर मलाई यो दिनको ठूलो भय थियो । आज म युके जाँदैछु । तिमीलाई सधैँका लागी भुल्न । मात्र तिमीलाई भुल्नका लागी ।
सुन्दर, मेरो मनले शान्ति त अवश्य पाउने छैन । तर तिम्रो जिन्दगीको अवरोध भएर बस्न पनि चाहिनँ । म तिमीलाई थाहै नदिई जान पनि सक्थेँ । तर मनले मानेन, पहिलो र अन्तिम पत्र तिमीलाई लेख्दैछु । मात्र ‘म तिमीलाई प्रेम गर्छु’ भन्नकै लागि । गर्थें भन्नुपर्ने हो । मन लागेन, कारण प्रेम गर्न कोही आफ्नै हुनैपर्छ भन्ने मान्यता म राख्दिनँ ।
सुन्दर, तिमीलाई याद होला, मैले तिमीलाई यही वाक्य बोल्न कतिपटक बाध्य पार्ने कोसिश गरेँ । मात्र बोल्यौ साथी र ‘साथी मात्र’ । मैले तिमीसँग यस्ता व्यवहार गरेँ, जो प्रेमीकाले भन्दा अन्य कोहीले गर्नै सक्दैन । हुन त म पनि घमण्डी केटी हुँ । मैले यसअघि कहिल्यै ईश्वरसँग गुनासो गरिनँ ? तर आज तिमीलाई नपाउँदा गरेँ धेरैपटक । हुन त म आफैँले तिमीसँग प्रस्ताव गर्न पनि सक्थेँ तर गरिनँ । यसमा दुईवटा कारण छन् । एक, ममा तिमीबाट अपमानित हुनुपर्छ कि भन्ने भय थियो । अर्को, हाम्रो साथीको सम्बन्ध मात्रै भए पनि नबिग्रोस् भन्न चाहन्थेँ म । त्यसैले तिमीलाई अप्रत्यक्ष रूपमा भनिरहेँ । चार बर्षसम्म एउटै वाक्य जपिरहेँ ‘म तिमी सँग प्रेम गर्छु ।’ सधैँ तिमीबाट यही बोलीको प्रतिक्षामा ।
सुन्दर, तिमीलाई ‘तिमीबाट टाढा हुँदैछु’ भन्नकै लागि घरमा बोलाएँ तर हिम्मत गर्न सकिन । रातभर रोएँ । कुन हालतमा यो पत्र लेख्दैछु, आँसुमा लतपतिएका अक्षरहरूबाट अनुमान लगाउन सक्छौँ । तिमीलाई साँझ छोड्ने बेलामा मैले ठूलो आशा गरेकी थिएँ तिमीले यो वाक्य बोल्छौ कि भनेर तर बोलेनौ । म कुन पीडामा फर्कें, त्यो मलाई मात्र थाहा छ । रातभर अतीतका सबै रमाइला पलको पालो पु¥याएर रोएँ । अब नयाँ ठाउँमा नयाँ जिन्दगी खोज्न विवश छु ।
अन्त्यमा, एउटा बिन्ती गर्नु छ । सुन्दर, म तिमीले कोही राम्री केटीसँग बिहे गरेको सुन्न चाहन्छु, तिमै्र मुखबाट । एउटा साथी सम्झन्छौ भने पु¥याइ देऊ है । तिमीले नै कुनैबेला भनेका थियौ, पेन सम्झना दिने बेला आएको छैन । यो उही पेन हो, जुन दिन मैले तिमीलाई दिएकी थिएँ, अस्वीकार नगरीदेउ ल । जाने बेलामा, आजसम्म कतिपटक तिम्रो चित्त दुखाएँ होला, तिम्री साथी र ‘साथी मात्र’ सम्झेर माफ गरिदेऊ है । बिदा !
तिम्री हुन नसकेकी
प्रेरिसा
मलाई उसको अन्तिम इच्छाले ब्यूँझायो । मुटुमा तीरले घोच्दाझैँ घोच्यो । होसमा छु छैन पत्तो पाइनँ । अकस्मातको विस्मातले मलाई पागल बनायो । चिच्याउन मन लाग्यो, ‘आइ लभ यू टू प्रेरिसा । म पनि त तिमीलाई प्रेम गर्छु ।’
(स्रोत : Ratopati)