~बादल सुरेश~
गर्नेहरूले त प्रेम
त्यो मधुर रोशनी देखेर
जूनको पनि गर्लान्
त्यो मनमोहक सुवास देखेर
फुलको पनि गर्लान्
तर
जसरी मेरी आमाले
जन्मिँदै नजन्मेको मलाई
देख्नुअगाडि नै प्रेम गर्नथाल्नुभयो
जसरी मेरा बा’ले
मेरा रहर र चाहनाहरूलाई
चिन्नुअगाडि नै प्रेम गर्न थाल्नुभयो
हो जब पाउनेछु स्वार्थबिनाको
केहि यस्तै बहानाहरू
तब पक्कै प्रेम गर्नेछु तिमीलाई।
तिमी सल्सलाउने रेशमी केशमा
बाँधेर राख्न सक्दैनौ मलाई
न त डुबाउन सक्छौ गहिरा आँखाहरूमा
तिमिले मस्केर हेर्दा
बरू म झस्किन सकौँला
तिमी मृगजसरी लच्केर हिँडौली
बरू म हच्किन सकौँला
किनकि
गर्नेहरूले त प्रेम
तिम्रो मादक हेराई देखेर
तिम्रो आँखाको पनि गर्लान्
तिम्रो नशालु अधर देखेर
गुलाबी ओठको पनि गर्लान्
तर
जब भेट्नेछु यी लोभी चाहनाहरूभन्दा फरक
तिमीलाई निस्वार्थ प्रेम गर्ने बहानाहरू
तब पक्कै प्रेम गर्नेछु तिमीलाई।
तिमी हृदय फराकिलो बनाएर
टुहुराका सिँगान पुछ्नेछौ
बृद्धाश्रमका बृद्धहरूको आँशु पुछ्नेछौ
साना नानीहरूले
जब स्नेहि बनेर पछ्याउनेछन् तिमीलाई
बुढा बा’आमाहरूले आँखाको नानी
बनाउनेछन् तिमीलाई
तब सारा दुनियाँ नै तिम्रो प्रेममा पर्न सक्छ
जब बग्नेछ कुनै बिरामीको नशामा
तिम्रै नशाबाट बगिरहने रगत
तब आफैँ बग्नेछ
कसैको आँखाबाट तिम्रो निम्ती केहि थोपा प्रेम।
त्यसैले प्रिया
गर्नेहरूले त प्रेम
तिम्रो सुरिलो आवाज सुनेर पनि गर्लान्
तिम्रो छिनेको कम्मर
मिलेको बक्षस्थल
र नरम हातगोडा देखेर पनि गर्लान्
तर जब सुन्नेछु तिम्रो मनको आवाज
चिन्नेछु तिम्रो आत्माभित्रको मान्छे
तब लाखौँ मनहरूको लाममा पछिल्तिर उभिएर
पक्कै प्रेम गर्नेछु तिमीलाई!