~युद्धप्रसाद मिश्र~
चुराका हत्कडी पोते
मिसाएको छ गलफन्दी
गरेको धरपकड देखी
रहेका छौं भई बन्दी
हजारौं नारीका बन्छौ
तिमी चाहिँ भने स्वामी
मरेको च्यानलाई के
कुरी राखौं सधैं हामी
विवशतामाथि विवश पारी
भयंकर यो बलात्कारी
गरेका पाशविक हत्या
सहन्नौं वास्तविक नारी
उठेको चेतनाको युग
त्यसै फर्कि कहाँ जाला
छ बन्नु लाशको पर्वत
रगतको भै नदी नाला
तिमी जस्ताहरूको अब
छुँदैनौं दिन्दिनै पाउ
अवैज्ञानिक दियौं फिर्ता-
विहे, तिम्रा ल-लैजाउ
विवश छौं औपचारिकता
फगत गर्छौं तिमीमाथि
कतै अन्तस्करणको यो
दिदैनौं प्यार दर्शाई
रगत हाम्रा पिएकाले
भएका मात्र छौ मोटो
परन्तु विश्व चिन्तनको
उज्यालोमा भने खोटो
समझदारी भए नारी-
हृदय पो जित्नुपर्नेथ्यो
सकेनौ छिः गयौ हारी
अनि डण्डा उठायौ त्यो
सुनेनौ आज युगको
रगतमा न्याय चिच्यायो
दलितमाथि ठूला ठालु
हुने दिनले पल्टा खायो
(२०४७ भदौ)