कविता : एटलान्टिक प्रेम

~राजव~ Janardan Pudasaini

सायद तिम्रो पिँडुला देखेर
अथवा तिम्रो खुट्टाका सङ्गला औंला देखेर
अथवा भुइँमा तिनको नाङ्गो स्पर्श देखेर
केले हो मैले तिमीलाई प्रेम गर्न थालेको
एटलान्टिक सागरको यो एकान्तको
बालुवाको न्यानो स्पर्श गर्दै
सोच्दै छु म
त्यस्ता के कुरा हुन्
जसले मलाई तिमीसँग प्रेम गर्न लगायो
सायद तिम्रो नवयौवनको
चिल्लो चम्किलो छाला हो कि
कि के हो त्यो तिम्रो सुन्दर कुरो
जसले मलाई तिम्रो प्रेममा धकेल्यो
अथवा कि हो
तिम्रा सामुन्द्रिक रङ्गका हरिया दुई ठूला ठूला आँखा
वा हुन्
एटलान्टिकको जलराशिमा भर्खर डुवेर निस्किएका
तिम्रा सुडौल भिजेका,कस्सिएका नितम्ब
कि हुन् तिम्रा तिघ्राभरि, पिँडुलासम्म
टाँस्सिएका सागरको पानीका चम्किला थोपा
कि हो नापमा मुठ्ठीभर हुने तिम्रो कम्मर
केले म तिम्रो प्रेममा लहसिएँ
म्यानहाटनको डलरको रेसकोर्सबाट
थकाइ मेट्न यो सामुद्रिक किनारमा आएको म
सोच्दै छु
केले हो म डुब्न लागेको सूर्यको बेलासम्म
पोष्टमोडर्न ग्यालरीको तिमीजस्तो स्त्रीको
नाङ्गो चित्रजस्तो
तिमीलाई हेर्दै छु
र विर्सँदै छु
मार्क्स र एंगेल्सको सौन्दर्यशास्त्र

( समय पुस ७, २०६२ मा प्रकाशित )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.