कविता : बाबु तँलाई धिक्कार छ

~रेशम बोहोरा ‘भाबुक’~Resham Bohora 'Bhabuk'

परिवर्तनका कुरा गर्र्थिस्
मुक्तिका कुरा गर्र्थिस्
यो देशमा, हाम्रा दिन आउँछन् पनि भन्थिस्
हजारले मुक्ति पाउँदा
एकाध मर्नु गौरव हो पनि भन्थिस् ।
त्यसैले,
तँ सहिद बनेको खबर सुन्दा
मेरो छाति गौरवले चुलिएथ्यो
तेरो मृत शरिरमाथि
हर्षले शलामी दिएकी थिएं मैले ।
किनकी तँ सहिद बनेको थिइस्
हजारौं नेपालीको परिवर्तनको लागि
नेपाल आमाको आजादीको लागि ।
तर बाबु
बल्ल बुझेकी छु मैले
कि ठूलो भूल गरिस् तैले
मर्न त यहाँ कुकुरले पनि मरेको छ
तैंले पनि त्यस्तै मरिस्
मृत्युको कुनै इतिहास रहेन
अर्थात फगत् भयो तेरो मृत्यु ।
बाबु पुजा गर्न निर्माण गरेको मन्दिरलाई
शौचालय बनाउने नेताले
तेरो बलिदानीलाई के मुल्याङ्कन गर्थे ?
तैले यो बुझ्नु थियो
तर गलत बुझिस् ।
तैले मलाई यो आन्दोलनको आँधीले
देशद्रोही र राष्ट्रघाती सबैलाई बढारेर लान्छ भन्थिस्
खोइ त को बढारियो र यहाँ ?
फगत् बाबु तँ आफै बढारिइस् ।
बाबु,
आज गाली गर्न मन लागेको छ तँलाई
लहै–लहैमा ज्यान फालिस्
सहिद त यहाँ आत्महत्या गर्नेहरु पनि भएका छन्
दुर्घटना, घर झगडामा मारिने पनि
तँ जस्तै सहिदको सुचिमा बकाइदा
तँ भन्दा पनि अगाडी ।
देश बनाउन तँ सहिद बनिस्
सहिद त यहाँ देश लुट्नेहरु पनि भएका छन् ।
तेरो मृत्युले के पायो देशले ?
आज देशको अगेनो निभेको छ
तेरी आमाको पेट भोकाएको उतिकै भयो ।
के यही हो तैले खोजेको लोकतन्त्र ?
बाबु तेरो मृत्युले
तेरी आमाको काख मात्रै रिक्तियो
तेरो मृत्युले गौरब गर्ने ठाउँ कतै छैन
बाबु तँ बाँचेको भए
कम्तीमा खाडी गएरै पनि
साहुको ऋण त तिर्थिस्
थाछ गैह्री खेत साहुको भयो
तेरा साथीहरु हर्के र मनेहरुले
मधेशतिर बसाइ सरे
तँ बाँचेको भए कम्तीमा
बेसीसम्म त झरिन्थ्यो
बाबु तैले देशका लागि मरिस्
तँलाई के दियो देशले ?
तेरो शालिकको छातिमा फूलको माला ?
देशले तँलाई गोलि ठोक्नेको छातिमा
तक्मा दियो, तल थिए माथिको पद दियो ।
त्यसैले बाबु तँ सहिद भएर पनि सानो छस्
उनीहरु अपराधी भएर पनि ठूला छन्
किनकी यो देश दुर्जनकुमारहरुको देश हो
यो देश लोकतन्त्रको देश किमार्थ होइन
यो देश त लोकमानहरुको देश हो ।
हामीहरु त नेताको लागि मुलाको बाँसुरी
बजे बजाइदिन्छन् नबजे चपाइ दिन्छन्
यस्ताको देशमा जन्मीएर पनि
सहिद बन्ने मुर्खता गरिस बाबु
न देशलाई मुक्ति दिन सकिस
न तेरो आमालाई खुसी पार्न सकिस्
तँ सहिद भएर पनि सहिद हुन सकिनस्
त्यसैले जितेर पनि तेरो हार छ
बाबु कुकुरले जस्तै मरिस् तैले
त्यसैले तँलाई धिक्कार छ ।।

(स्रोत : Ratopati)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.