~देवकी अभिलाषी~
फेरि अब
फुल्नेछैन गुलाब बोटमा
निर्दोष हरिया हाँगाहरूले
गर्नुपर्ने छैन मृत्युवरण
तिमीले कलमी गरेर
जबर्जस्ती सारेका बेमौसमी बोटमा
यसपालि
गुलाब फुलेन
ठीकै भो
त्यही हाँगा र फूलजस्तो
हाम्रो दूरी
अनन्त लम्बिएको छ अचेल
र,
हामी उभिएका छौं
फरकफरक बगरमा
राम्ररी जान्दछु म
प्रेमोत्सव कुनै अर्कै सहरमा छ
यो सहर त वियोगान्त उपन्यासका
निरीह पात्रहरूको सहर हो
हरेक वर्ष प्रेम दिवसमा
निष्प्राण चुम्बन र बजारिया राता गुलाबहरूमात्रै
साटासाट हुन थालेपछि
मैले गुलाब रोप्न छोडिदिएँ
तर, मलाई मञ्जुर छैन
प्रेमविहीन हुन
मसँग सुन्दर फूलबारीको योजना छ
हरेक फूललाई प्रेमको प्रतीक हुने
अधिकार दिलाउनेछु म
अर्को वर्ष
अवश्य दिनेछु कसैलाई
प्रेम दिवसको दिन फूल एउटा
तर, त्यो गुलाब हुनेछैन कदापि।
२०७२ माघ २३ शनिबार
(स्रोत : अन्नपूर्ण पोस्ट)