~हरि खनाल~
साँझ परिसकेको थियो । बाबा कार्यालयबाट नआउनुभएकोले सुमन गेटमै बसेर हेरिरहेको थियो । हुन त ऊ सधैँ बाबा आउने बाटो हेरेर बस्ने मानिस होइन तर त्यस दिन भने उसलाई बाबा चाहिएको थियो । ऊ बाबासँग केही महत्त्वपूर्ण कुरा सोध्न चाहन्थ्यो ।
‘सुमन ! आज किन भित्र नपसेको ? लेखपढका काम सक्यौ त ?’ आमाको आवाजले सुमनलाई पछ्याएको थियो । ‘आउँछु आमा ! तर आज बाबासँग केही बेर कुराकानी नगरी भित्रै पस्न मन छैन,’ उसले भन्यो । केही बेरपछि बाबा आइपुग्नुभयो । ‘बाबा ! बाबा !’ कार्यालयबाट आउँदै गरेका बाबालाई बाटैदेखि बोलायो सुमनले । बाबाले बुझ्नुभयो कि आज सुमन केही कुरा सोध्न निकै बेरदेखि पर्खिरहेको हुनुपर्छ । बाबाले सुमनको हात समात्दै भन्नुभयो । ‘छोरा ! तिमी के सोध्न खोज्दै छौ ? लौ सोधिहाल ।’
‘बाबा ! हामीले ग्यास नपाएको मोदीले नपठाएर रे हो ?’ सुमनले एकै सासमा सोध्यो ।
‘को मोदी छोरा ?’ बाबाले थाहा नपाएझैं सोध्नुभयो ।
‘बाबा पनि । ऊ क्या त इन्डियन प्राइमिनिस्टर नि । त्यो अस्ति नै पोहोर नेपालमा आको थिएन ? हो त्यही,’ सुमनले बाबाको हात फुत्काउँदै भन्यो ।
‘ए हो त मेरो छोरोले ठिक भन्यौ । हो, भारतले नाकाबन्दी लगाएरै हो हामीले ग्यास नपाएको र त्यो भारतको ठूलो मान्छे मोदी नै हो,’ बाबाले कुरा स्पष्ट पार्नुभयो । सुमनको जिज्ञासा सकिएको थिएन । ऊ थप कुरा सोध्न बाबाको मुखमा हेर्न थाल्यो ।
‘बाबा ! हाम्रो देशमा ग्यास छैन ?’
‘छैन छोरा ।’
‘तेल पनि छैन ?’
‘छैन ।’
‘नुन पनि छैन ?’
‘छैन छोरा ।’
‘चामल नि ?’
‘त्यो पनि छैन छोरा । अलिअलि छ धेरैजसो उतैबाट झिकाउनुपर्छ,’ बाबाले भन्नुभयो । ‘बाबा हाम्रो देश एग्रिकल्चरल कन्ट्री भनेको होइन ? धान पनि हुँदैन ?’ निराशा मिसिएको स्वरमा सुमन बोल्यो ।
‘हो सुमन तर हामीकहाँ खेतीपाती नयाँ तरिकाले हुँदैन । अलिअलि भएको पनि हामीले गर्न छोडिसक्यौं,’ बाबाले भन्नुभयो । सुमनको अनुहार अध्यारो भयो । उसको अनुहारमा नरमाइलोपन देखाउने खालका निराशाका रेखाहरू देखिए । ऊ कहिले बाटोतिर हेथ्र्यो त कहिले बाबाको अनुहारमा । ‘सुमन ! किन चुपचाप त ? सकियो तिम्रो प्रश्न ?’ ‘बाबा ! तपाईंहरू अफिसमा के काम गर्नुहुन्छ ?’ सुमनले सोधे । सुमनको यो प्रश्न सुनेर सुमनका बाबा चकित पर्नुभयो । सुमनको बालसुलभ बोलीभित्र गहकिलो प्रश्न थियो । ‘अफिसमा लेखापढीको काम हुन्छ छोरा ।’
‘त्यस्तो काम के काम बाबा ? न ग्यास बनाउनुहुन्छ , न चामल न नुन ? मोदीले नपठाए भोकै बस्ने भनेपछि हजुरहरूले गरेको कामले के हुन्छ बाबा ?’ ‘हुन्छ छोरा, हामीले गरेका कामले मानिसहरूले नागरिकता पाउँछन्, कर तिर्छन् । जग्गा किनबेच गर्छन् । स्कुल चल्छ….’ बाबाले सुनाउनुभयो । उहाँको कुरा सुनेर सुमन केहीबेर मुसुमुसु हाँस्यो । ‘बाबा ! यी सबै काम गर्न त खानुपर्यो नि । हजुरले मलाई जहिलै पहिले माम अनि काम भन्नुहुन्थ्यो । खानेकुरा नै नभएपछि के काम ?’ सुमनले भन्यो ।
‘हो छोरा ! यही नभएर हामीले दु:ख पाएका छौं । अब तिम्रो सोध्ने काम सकियो ?’
‘छैन बाबा ! आज निकै नरमाइलो लाग्यो ।’
‘किन बाबु ?’
‘हाम्रो देशमा त केही पनि रहेनछ ।’
‘छ नि छोरा, विश्वको सर्वोच्च शिखर यहीं छ । बुद्घको जन्मस्थल यहीं छ । पशुपतिनाथ यहीं छन् । ६ हजारभन्दा बढी नदीनालाहरू छन् । हिमालहरू यहीं छन्,’ बाबाले सुमनलाई आश्वस्त पार्न खोज्नुभयो ।
‘त्यो त हो बाबा, तर खानेकुरा रहेनछ । एउटा कुरा नि बाबा ! हजुरले मलाई पनि झन्डै बदमास मान्छे बनाउनुभएको ?’ सुमनले प्रसंग बदल्यो ।
‘के कुरा छोरा ? कसरी बदमास बनाउन खोजें मैले ?’
‘हो नि बाबा ! पोहोर साल त्यो मोदी आउँदा के भन्नुभाथ्यो सम्झनुस् त ? मलाई मोदीजस्तै ठूलो मानिस बन्नु भन्नुभएको होइन ? म नाकाबन्दी गर्ने मोदी भएँ भने राम्रो हुन्छ त बाबा ?’ सुमनले सोधे । बाबाको अनुहार मलिन भयो । हो त, बाबाले मोदी नेपालमा आएको बेला धेरै मानिसले उनलाई राम्रो भनेकोले सुमनलाई पनि तिमी पनि त्यस्तै बन्नुपर्छ भन्नुभएको थियो । बाबा केहीबेर नबोलेपछि सुमनले बाबाको अनुहारमा हेरे । बाबा त परपर पो हेरिरहनुभएको रहेछ । ‘बाबा ! अब म कोजस्तो बनूँ ?’ सुमनले सोध्यो । बाबाले निकैबेर सोच्नुभयो । उहाँले धेरैपटक सुमनको मुखमा हेर्नुभयो तर अलमलिनुभयो ।
‘बाबा ! म एउटा कामचाहिँ गर्छु । ठूलो भएपछि यहीं चामल बनाउने, यहीं तेल खोज्ने, यहीं ग्यास खोज्ने अनि कसैले नाकाबन्दी लगाए पनि केही नहुने देश बनाउँछु । त्यसपछि तपाईंलाई ग्यास लिन रातभरि लाइनमा लाग्न र बास बस्न नपर्ने हुन्छ, हो कि होइन ?’ सुमनले हाँस्दै भन्यो । ‘स्याबास छोरा ! अब म भन्न सक्छु तिमी को जस्तो बन्ने भनेर ।’ ‘
को जस्तो बाबा ?’
‘तिमी बन तिमी नै जस्तै । किनभने तिमी असल छौ । तिम्रो विचार असल छ,’ बाबाले थप्नुभयो । सुमन खिसिक्क हाँस्यो । बाबाले आकाशतिर हेर्नुभयो । आकाशमा चन्द्रमा मुसुक्क हाँसेका थिए । ‘बाबा ! के हेर्नुभएको ?’
‘तिमीलाई हेरेको छोरा ।’ सुमनले के बुझे कुनि मुसुक्क हाँसे र कोठातिर पसे ।
प्रकाशित: मंसिर २०, २०७२
(स्रोत : कान्तिपुर – कोपिला)
समसामयिक छ । यसले नयाँ विचार दिन्छ । राम्रो कथा ।