~दुर्गा कार्की~
कलेज छिरेको पहिलो दिन ऊसँग १६ वर्षीय जोस, जाँगर र उत्साह थियो। तेस्रो दिन थोरै घमण्ड पनि थपियो, कारण उसको ब्याचमा भएका थोरै नाइन्टी पर्सेन्टमध्येकी एक अनि उसको कक्षाकी एक्ली रहिछ ऊ।
ऊ कम बोल्न रुचाउने, छिट्टै कसैसँग घुलमिल हुन नजान्ने तर नजिक भएपछि अति नै हुने खालकी। ओरिएन्टेसनदेखि जिग्री दोस्त भइसकेकाहरूबीच ऊ एक्ली पर्नु स्वाभाविकै थियो। फर्स्ट बेन्चको कुनामा उसको ठाउँ। ट्वाइलेट र लाइब्रेरी जानबाहेक बाहिर त्यति ननिस्कने ऊसँग मित्रताको हात बढाउन चाहने कमै रहे भन्दा हुन्छ। केही आफूलाई अति फ्र्यांक भन्ठान्नेहरू ‘प्रज्ञा! खाजा खान नजाने?’ भनेर सोधिटोपल्थे। ऊ फिस्स हाँसेर मुन्टो हल्लाइदिन्थी। उस्तै हाँसो हाँसेर जान्थे उनीहरू। त्यति बेला खुब मिस गर्थी ऊ, आफ्नी स्कुलकी साथी अनुलाई।
कलेज सुरु भएको एक महिनापछि एउटी केटी आई, उसको क्लासमा। अब सिट लास्टमा र उसको बेन्चमा मात्र बाँकी थियो। ऊ पछाडि जान हिचकिचाई र उसकै पर्तिर आएर बसी। यसरी एक महिनापछि उसले आफ्नो बेन्च पार्टनर भेट्टाई, समिता। ऊसँग साथी बन्न उसलाई थप एक महिना लाग्यो।
थर्मोडायनामिक्सको क्लास थियो। सरले नयाँ च्याप्टर सुरु गर्नुअघि एउटा प्रश्न सोध्नुभयो। पाँच–सात जनालाई उठाउँदा पनि सही उत्तर आएन। ऊ उत्तर लिएर तयार भएर बसेकी थिई, कहिले सरले सोध्नुहोला भनेर। पछाडिपट्टि कुनै केटाले उत्तर दियो। सरले ठूलो स्वरले प्रशंसा गर्नुभयो, उत्तर मिलाएकोमा। तर त्यो उसको कापीमा लेेखिएको उत्तर भने थिएन।
उसले पछाडि फर्केर हेरी। सेकेन्ड लास्ट बेन्चमा बस्ने केटा मुसुक्क हाँसिरहेको थियो। उसलाई म्याथको हिसाब बुझाउन उठ्दा याद गरेकी थिई उसले। कहिलेकाहीँ ऊभन्दा पहिले हिसाब गरेर बुझाउँथ्यो। त्यति बेला नै मनमा अलिअलि चिसो त पसेको हो उसको। सरले केही बेर उत्तरलाई इल्याबोरेट गरुन्जेल ऊ उभिइरह्यो। ऊ हेरिरही। पहिलोचोटि कसैको खुबी देखेर उसलाई रिस उठ्यो।
उसले समितालाई अप्रत्यक्ष रूपमा उसको पर्सेन्टेज बुझ्न लगाई। ८८ रहेछ। त्यसपछि उसको बेचैनी अझ बढ्यो।
फिजिक्सको न्युमेरिकल गर्दा होस् या म्याथको, उसलाई खालि उसले पहिले बुझाउला कि भन्ने चिन्ता हुन्थ्यो। कहिलेकाहीँ त हतारिएर गर्दा उसकै हिसाब बिग्रन्थ्यो। कहिलेकाहीँ भने हिसाब बुझाउँदा उनीहरू सँगै हुन्थे र हेराहेर हुन्थ्यो। त्यस्तो बेला सर कापी लिन आइपुग्नुअघि ऊ औपचारिकताको हाँसो हाँस्थ्यो। ऊ के गरौं र कसो गरौं हुन्थी। जति कोसिस गरे पनि हाँसै आउँदैनथ्यो उसलाई र भुँइतिर हेरिदिन्थी।
ऊ अचम्मसँग बायोको प्राक्टिकलमा उसको गु्रपमा पर्यो। चार–चार जनाको गु्रप थियो। उनीहरूको गु्रपमा एक जना पुगेको थिएन। संयोगवश कक्षाभित्र ऊ छिर्यो।
उसलाई धेरै बोल्नुपर्ने। छुसछुस नगरी बस्नै नसक्ने खालको। बोल्न अप्ठ्यारो लागे पनि प्राक्टिल सँगै गर्दाखेरि कामैले पनि बोल्नुपर्थ्यो। कहिलेकाहीँ ऊ पर्सनल कुरा पनि सोध्थ्यो, जस्तै घर, स्कुल, आदि। पछिपछि भने सरमिसका बारेमा पनि कुरा काट्थे उनीहरू। यस्ता कुरामा भने समिता पनि उसको साथ दिन आइपुग्थी। त्यहीँबाट उसले अलिकति अनौपचारिक तरिकाबाट चिन्ने मौका पाई उसलाई। सोचेभन्दा फरक लाग्यो उसलाई ऊ– सरल, रमाइलो पाराको।
स्कुल छँदा केटाहरूसँग उति घनिष्ठ हुन सकिन ऊ। यसपछाडि दुई वटा कारण थिए– एक त उसको स्कुल धेरै फेरिनु र अर्को उसको लजाउने प्रकृति। पछिपछि चाहिँ अनु पनि यसको कारण बनेकी थिई। उनीहरूलाई दुई जना भएपछि कोही चाहिँदैनथ्यो।
आज आएर उसलाई अनौठो खाले भावनाले लखेटिरहेको थियो। आफूलाई उसको नजिक महसुस गर्न थालेकी थिई। क्लास चलिरहँदा बेलाबेला उसलाई पुलुक्क हेर्थी। कि साथीसँग चलिरहेको हुन्थ्यो, कि सुतिरहेकोे। कहिलेकाहीँ झुलिरहेको हुन्थ्यो। एकपटक ऊ झुलिरहँदा उसको साथीले नाकमा कागजको सुइरो घुसाइदियो। ऊ खुब नराम्ररी झस्कियो। समिताले थाहा नपाउने गरी ऊ पनि हाँसी।
किनकिन उसका उट्पट्याङ क्रियाकलाप उसलाई रमाइला लाग्न थालेका थिए। बायोको प्राक्टिल कहिले आउला जस्तो हुन्थ्यो। अब हिसाब बुझाउन उठेका बेला उसको हाँसोको जवाफ ऊ पनि फर्काइदिन्थी। हिसाब बुझाउनको लागि पहिलेजस्तो दौडधूप पनि हुँदैनथ्यो। के भो त, ट्यालेन्टेड छ। आफू बिग्रन्छु कि भन्ने डरलाई उसले यसरी धपाएकी थिई। तर फेसबुकमा रिक्वेस्ट पठाउनेबाहेक अरू केही गर्न भने सकिन।
एकपटक शुक्रबारे कार्यक्रम चलिरहेको थियो। उसलाई त्यो दिन छिटो घर जानु थियो। ब्याग लिन क्लास जाँदै थिई। क्लासको ढोका आधाभन्दा बढी लागेको थियो। भित्रबाट केटाहरूको चर्कोचर्को आवाज आइरहेकाले एकैचोटि खोल्न सकिन। ढोकैमा पुगेर उभिरही। समिता तलै थिई। ऊ भए पनि छिर्न सजिलो हुन्थ्यो। यस्तै सोच्दै थिई, भित्रको आवाजले उसको ध्यान खिच्यो– ‘यसलाई त हाम्रो क्लासको टपरले मन पराउँछे नि। कम भाग्यमानी छ मोरो!’
‘चुप लाग् साले! जेपिटी बोल्छस्?’
‘तँ चुप लाग् साले! तँलाई कस्तरी हेर्छे, फर्स्ट बेन्चबाट लुकीलुकी।’
‘ओइ, त्यही भन्छु, सधैं लाइब्रेरी जाने मान्छे बास्केटबल हेरेर किन बस्छे भनेको त कुरा त्यस्तो पो रै’छ!’
‘कसरी था’ हुन्छ यल्लाई, यो त सधैं अनिशालाई कागजका पोका फ्याँक्नमै व्यस्त।’
‘तँलाई के था’! एकचोटि त अनिशालाई हानेको डल्लो प्रज्ञालाई लाइ’रा! म त मार्ने भई भनेर भित्तातिर फर्केर बस्या थेँ, तर केही गरिन! लेख्या पनि के थ्यो भन् न, तिम्रो सर्टमा जुम्रा हिँडिरा’छ।’
उनीहरूको अट्टहास सुनियो।
‘लु भन केटा, अनिशा कि प्रज्ञा त?’
‘चुप लाग् साले! कहिल्यै त्यसको अनुहार राम्ररी हेर्याछस्? संसारका सबै केटी मरे र म त्यो एक क्विन्टल हात्तीको पछि लागूँ?’
गललल्ल हाँसो गुन्जियो। ऊ कक्रक्क परी। आफ्नो यति नराम्ररी मजाक उडाइएको उसलाई थाहा थिएन। दौडँदै तल गएर समितालाई ब्याग ल्याइदिन भनी। अनि जतिसक्दो चाँडो घर हिँडी। जति सम्हाल्ने प्रयास गरे पनि बाटोमा समेत उसको आँसु रोकिएन।
झोला खाटमा फ्यात्त फालेर ऊ दराजको ऐनाअघि उभिई। मोटा सिसा गरेको चस्मा खोली। राता आँखाभन्दा पहिले आँखा वरपरको डार्क सर्कल पहिलादेखि आज उसले। हत्केलाले गाला छामी, खस्रो, कालो छाला। पिम्पलले झन् बिझाउने बनाएको। बडेमानको नाक। मुन्द्रे कपाल। बाक्लो न बाक्लो आँखीभौं। आफू यति नराम्री छु भन्ने उसले सोचेकै थिइन। जीवनमा पहिलोचाटि ऊ नितान्त नयाँ विषयमा खुबसँग रोई।
ऊ हुर्की नै त्यस्तै वातावरणमा। चाडबाडमा साथीहरू जस्तो टीकाचुरामा सजिने मौका उसलाई मिलेन। उसकी आमा सधैं भन्ने गर्थिन्, लाउनमा बढी सोख राख्ने मान्छे त पोइल जान्छन्। उसलाई त डाक्टर बनेर बुबाममीको रहर पूरा गर्नुछ। अरूका जस्ता झिलीमिली जामा उसका लुगाकपडामा परेनन्। केटाकेटी छँदाका फोटाहरूमा धेरैजसो टिसर्ट र हाफपाइन्ट वा पाइन्ट लगाएकी छ उसले। पढ्न त कखरामा उसले पनि ‘राम्रो म’ भनेरै पढी। उसको ज्यानलाई ममी र हजुरआमाले सधैं ‘खाइलाग्दो’ भने। अनुले माया गरेर बोलाउने ‘मोटु’लाई आफ्नो शरीरको तौलसँग जोडेर हेर्ने प्रयास नै गरिन उसले।
पुरानो फोटो एल्बम पल्टाएर बच्चादेखिका फोटा हेरी उसले। अरू बेला बालापनको याद दिलाउने आज उसलाई ती फोटाले पनि खिसी गरे। दुई–चार वटा च्यातेर डस्टबिनमा नहुर्याई तर मन शान्त भएन उसको।
उसले अनिशालाई सम्झी– सिल्की लामो कपाल, गोरो, पातलो, अग्लो ज्यान। कलेज ड्रेसमै पनि कति राम्री देखिन्छे ऊ। उसँग त दाँजिन पनि लाज लाग्यो उसलाई। साथै ऊ देखेर रिस पनि।
उसको विरक्तिएको मन शान्त हुन शनिबारले पुगेन। कति दिन त कलेजै गइन। आफ्नो कुनै अत्यन्त व्यक्तिगत कुरा सबैले थाहा पाएझैं लागिरहेको थियो उसलाई। हिजोसम्म जुन कुराको वास्तै थिएन, आज त्यही कुराले उसलाई एक छिन छोडेको थिएन। अरूभन्दा पनि उसको अगाडि कसरी अनुहार देखाउनेझैं लागिरहेको थियो। उसलाई आफैं देखेर घिन लागेर आयो। आफूलाई यति नराम्री जन्म दिएकोमा ममीलाई मनमनै खुब गाली गरी। किताब हेर्न मनै लागेन। ऐनाले आफूलाई नै गिज्याइरहेझैं लाग्न थाल्यो।
कति सजिलै ‘नराम्री’ भनिदिन्छन्, मान्छेहरू। नराम्रो भएर जन्मनुमा कसैको के दोष? उसको के दोष? अनि राम्रो भएर जन्म लिनुमा उनीहरूले पूर्वजन्ममा धर्म गरेका हुँदा हुन् र? नराम्रो हुनुको पीडा उनीहरूलाई के थाहा? आजकाल यस्तै कुरामात्र खेलिरहन्छन्, उसको दिमागमा।
क्लासमा ऊ सुरुमा आएभन्दा पनि चुप रहन थाली। समितासँग करले मात्रै बोल्ने भई। सोध्न त सोधेकी हो समिताले, तर उसलाई आफ्नै बेइज्जत हुन्छ जस्तो लागेर भन्न मन लागेन। कुनै बनावटी घरायसी समस्या बताएर उसलाई ढाँटी।
एक दिन समिताले उसको कानैमा आएर सुनाई, ‘थाहा पाइस्? नीरज र अनुशाको चलेछ नि।’
‘ए, हो र,’ उसले यतिमात्र भनी। मनमनै खुब आरिस लाग्यो अनुशासित।
अनि ऊ मान्छेको रूपमा असाध्यै ध्यान दिने पो भई। माइक्रोमा सिट पाएका बेला देखेसम्मका मान्छेलाई हेर्नु र मुल्यांकन गर्नु उसको दैनिकी भएको छ। कसैको नाकका पोरा असुहाँउदोसँग फुलेका हुन्छन्। कसैको ढ्याप्रे ओठ। कसैको नाक चाहिनेभन्दा बढी लामो। कसैको छाला कालो, कसैका दाँत साह्रै नराम्ररी बाहिर निस्केका। ऊ कल्पनै कल्पनामा कसैको नाक छोट्याइदिन्छे, कसैको छाला फेरिदिन्छे। कसैको दाँत ह्यामरले ठोकठाक पारेर ओठभित्र धकेलिदिन्छे। बानीजस्तै भएको छ उसलाई, त्यति नगरे के गरौं कसो गरौं हुने। यसरी दाँज्दै गर्दा उसले आफ्नो पनि चित्त बुझाउने ठाउँ भेट्टाएकी छ– आफूभन्दा नराम्राहरू कसरी बाँचेका छन् त?
एकपटक टिभी हेर्दै थिई, एउटी ब्युटिसियनको अन्तर्वार्ता आएको रहेछ। कार्यक्रमको अन्त्यमा उनले भनिन्, ‘कसैले पनि आफूलाई नराम्रो नठानौं, बजारमा यति धेरै मेकअपका सामग्री उपलब्ध छन्, तिनको उपयोग गरौं।’
हुन त उनको सुझाव नौलो थिएन, तर उसलाई आफ्नो रोगको ओखती भेटेझैं लाग्यो।
हो त! मेकअप नगर्दाको बलिउड हिरोइनहरूको तस्बिर उसले धेरैपहिले नै फेसबुकमा देखेकी थिई। एकपटक ढिलो भएर गाजल नलगाई आउँदा समिताले ‘बिरामी भएकी?’ भनेर सोधेकी थिई। उसले क्लासका एकएक आफूले राम्रा ठान्ने केटीलाई सम्झी र उनीहरूलाई मेकअपविना कल्पना गरेर हेरी। कोही–कोहीबाहेक अरूलाई नराम्रा नै देखी उसले।
स्कुल हुन्जेल उसलाई कहिल्यै गाजल लगाउने फुर्सद भएन। फुर्सद भएन कि ध्यान गएन, त्यो ऊ जान्दिनँ। आज समात्दै थिई ऊ, लाइनर। छचोटि पुछ्दा पनि भएन। भाउजूलाई लाइदिनू भन्ने आँट आएन। जसोतसो लगाएर गई।
समिता दंग परी। पछाडि बस्ने केटीहरूले कमेन्ट गर्न भुलेनन्। उसमा अलिकति हिम्मत आएजस्तो भयो। त्यसपछि उसले कहिल्यै लाइनर छुटाइन।
अर्को दिनदेखि उसको ओठमा ग्लस र कानमा टप पनि थपियो। आँखीभौंका अनावश्यक रौंहरू फ्याँकिदिई।
‘तँलाई कस्तो राम्रो देख्या’छ आज,’ समिताको कमेन्ट सुन्दा उसलाई नीरजको मनमा पनि यस्तै भावना आएको छ होला जस्तो लाग्थ्यो। उसलाई आफू थोरै भए पनि हेर्न हुने देखिए झैं लाग्न थालेको थियो। अब नीरजअघि जान हिचकिचाहट अलिकति भए पनि हटेको थियो। ऊ आफूमा आएको परिवर्तन उसले पनि नोटिस गरोस् भन्ने चाहन्थी। त्यसैले प्राक्टिकलका दिन उसको लाइनर झन् बाक्लो हुन्थ्यो। अझ अनुशाको जस्तै, आँखाको छेउछेउमा चुस्स–चुस्स तानेको पनि।
खरिबोटको माइक्रोमा खुट्टा राख्ने ठाउँ पाउनसमेत मुस्किल हुने। सिट कुरेर बस्ने हो भने त एक–दुई वटा क्लासै सकिइसक्थ्यो। एकपटक ऊ दोस्रो सिटलाई समातेर उभिएकी थिई। टाउको एकातिर, खुट्टा एकातिर अनि झोला कसैको काखमा। कसैले उसको हातलाई हटाउँदै भन्यो, ‘दाइ, यो हात हटाउनु न, मेरो कपाल च्याप्यो।’ बोलाउनेपट्टि ल्याउँदै गरेको उसको टाउको टक्कै अडियो। ऊ फेरि खिस्सिई। ‘तेरा छिप्पिएका हातले नकुट् न!’ अनु भन्थी। दिनैभरि यी दुई वाक्यले खेदिरहे उसलाई।
भाउजूको दराजबाट एउटा नङपालिस झिकी। कलरको मतलब थिएन। उसलाई त बस् हात केटीका बनाउनु परेको।
त्यस दिनदेखि बरु उसले इलेक्ट्रोस्टाटिक्स क्लास छोडेर बायोको प्राक्टिकल गरेर बसी, तर घरैदेखि नङपालिस पोत्न भने बिर्सिइन। तर टन्न पैसा कमाएपछि प्लास्टिक सर्जरी गरेेर हात मिलाउने उसको रहरचाहिँ मरेन।
दस कक्षासम्म होस्टेल बस्थी ऊ। छुट्टीमा घर गएका बेला उसका लामा रौं उमि्रएका पाखुरा मुसार्दै हजुरआमा भन्नुहुन्थ्यो, ‘मेरी नातिनीलाई गाईबस्तु बेस्सरी फाप्छ जस्तो छ। हेर न, पाखुरामा कस्तरी रुम उम्रेका।’
‘साँच्चै हो र हजुरआमा? त्यसो भए म पछि कृषि पढ्छु नि त,’ ऊ खुसी हुँदै भन्थी।
अर्को छुट्टी जाँदा हजुरआमाले उसलाई रातमाटा लगेर उसको नाममा एउटी राती बाख्री किनेर ल्याइदिनुभयो। राती त्यति बेला पहिलो बेत ब्याएकी थिई। भैंसीको जत्रै कल्चौंडो। उफ्रीउफ्री हिँड्ने स–साना दुइटा पाठा। त्यसपछि पनि रातीले कहिल्यै एउटामात्र पाइन। त्यसमा पनि एउटा पाठो त कहिल्यै टुट्दैनथ्यो। फोनमा हजुरआमा रौसिँदै सुनाउनुहुन्थ्यो, ‘नानी, तेरो रातीले दुइटा बोके पाई।’
राती अझै छे। बूढी हुन लागी। आज उसैलाई सम्झीसम्झी पाखुराका रौं फ्याँकी उसले। अब राती नफापे पनि उसलाई चिन्ता छैन।
आफ्नो ५५/५६ को ज्यानलाई क्विन्टल भनेको पीडाबोध हटेको थिएन। त्यसैमाथि उसमा अनिशाजस्तो बन्ने रहर जो जागेको थियो। ऊ डाइटिङ गर्न थाली। वेइङ मेसिन नै किनेर ल्याई, दिनैपिच्छे आफ्नो तौल लिन थाली।
राम्री बन्ने होडमा ऊ यसरी लागिपरेकी थिई, मेकअपले अबेला भएर एक–दुई क्लास छुटे पनि उसलाई नराम्रो लाग्दैनथ्यो। उसको प्रि बोर्ड राम्रो भएन। कमसेकम उसले जितेको चाहिँ थिएन। बोर्ड ठिकैमात्र भयो। घरमा चुप बनाउने उपाय सोचिसकेकी थिई। क्लासका फेसनेबल केटीहरूसँग हिमचिम बढ्दो थियो। कपाल स्ट्रेट र हाइलाइट गर्ने सोचमा थिई।
फेसबुकमा सेल्फी राख्न थालेकी थिई, विभिन्न इफेक्ट राखीराखी। फोटो अपलोड गरेका बेला पाँचपाँच मिनेटमा फेसबुक खोल्ने गर्थी। लाइक र कमेन्टका लागि अनेक तरिका अपनाउँथी। कहिले फोटोको प्राइभेसी पब्लिकमा राख्नु त कहिलेदेखिका कमेन्टलाई रेस्पोन्स नदिएर पछि मात्रै लाइक वा रिप्लाई गर्नु उसको बानी भएको थियो। उसका फोटो लाइक गर्नेमा नीरज पनि हुन्थ्यो। कमेन्टचाहिँ गर्दैनथ्यो। उसले नगरे पनि ऊ भने नबिर्सी उसका फोटामा कमेन्ट गरिदिन्थी। कमसेकम उत्तर पाउने आशामा।
अनुशासँग उसको अचम्मको दुस्मनी बनेको थियो। नीरज र ऊ रिलेसनसिपमा छन् भन्ने उसलाई थाहा नभएको होइन, तर ऊ अनुशालाई चिढाउनकै लागि मात्र भए पनि नीरजसँग बोल्थी। हिसाब नआएको निहुँमा होस् या फिजिक्सको प्राक्टिकल ट्याली गराउन, उसलाई आफू नीरजसँग बोलिरहँदा अनुशाले हेर्ने कर्के आँखाको स्वाद लिन खुब मनपर्थ्याे। यसो गर्दा जितेको अनुभव हुन्थ्यो उसलाई।
दसैं कार्यक्रममा उसले पनि अनुशाले फेसबुकको फोटोमा राखेको जस्तै वानपिस लगाई। त्यो डे्रस लगाएको फोटो फेसबुकमा राखेपछि उसले आफ्नो र अनुशाको लाइक दाँज्नसमेत भ्याएकी थिई। अलिकतिले मात्रै उसको लाइक कम थियो। पहिलेपहिले धेरै नै कम हुन्थ्यो। उसको खुसीको सीमा रहेन।
लामो प्रयासपछि ऊ स्लीम नै नभए पनि मोटीचाहिँ छैन। उसलाई आफू राम्री पनि लाग्न थालेको छ। ऊ राम्री कि मेकअप त्योचाहिँ उसलाई पनि थाहा छैन। नीरजसँग बोलचाल पनि राम्रै छ। कहिलेकाहीँ फेसबुकमा च्याटमा कुरा पनि हुन्छ। भलै गफगाफ उसले नै सुरु गरोस्, तर बोल्न थालेपछि ऊ पनि खुलेरै बोल्छ। ऊ उसको र अनुशाको हालखबर सोध्न छुटाउँदिन। रिलेसनसिपका बारेमा भने ऊ त्यति खुल्दैन।
आजकाल नीरज र अनुशा क्लासमा त्यति बोल्दैनन्। उसलाई रमाइलो लाग्छ। उसलाई च्याटमा नीरजसँग यस्ता कुरा उप्काउन झनै रमाइलो लाग्छ।
एकपटक ऊ र समिता गफ गरिरहेको ठाउँमा नीरज हतारिँदै आयो र भन्यो, ‘बायोको ड्रइङ गर्देऊ ल।’
अरू बेला नीरजको बायोको प्राक्टिकल अनुशाले गर्दिन्थी। पक्कै उनीहरूबीच ठाकठुक परेको हुनुपर्छ। उसलाई खुसी लाग्यो, तैपनि ठूलो स्वर पारेर सोधी, ‘अनुशा आएन र?’ उसले अनुशालाई सुनाउन यसो गरेकी थिई।
बेलुकी फेसबुकमा उसले नीरजको म्यासेज देखी। लेखिएको थियो, ‘अनु एन्ड आई ह्याड ए ब्रेकअप।’
उसको मन हुनसम्म फुरुङ्ङ भो। म्यासेजमा लेखिएको ‘अनु’ शब्दलाई निकै बेर घुरेर हेरिरही। अनलाइन आए राम्ररी सोधौंला भनेर रातिसम्म कुरेकी थिई। नआएपछि ‘आई अम सो सरी’ म्यासेज छोडेर सुती।
त्यसपछिका केही दिन अनुशा कलेज आइन। नीरज ऊसँग राम्रैगरी बोल्थ्यो। ब्रेकअपको कारणबारे अति कर गरेपछि यतिमात्र भन्यो, ‘म अरू केटीसँग बोल्नै नहुने रे।’
कारण, उसले सोचेजस्तै निस्केको थियो। उसले नभने पनि उसलाई पक्का विश्वास थियो, त्यो अरू केटी ऊ नै हो भन्ने। उसलाई कहिले उसले प्रोपोज गर्लाजस्तो भएको थियो।
एक दिन कलेज आउनासाथ समिताले झोला बेन्चमा राख्न नपाउँदै भनी, ‘थाहा पाइस्, अनुशा त टिसी लिएर अर्कै कलेज गई रे नि।’
‘हो र! किन रै’छ?’ उसले मख्ख पर्दै सोधी। मन त उसलाई ‘अब मुखै देख्न नपर्ने भो’ भन्ने थियो।
‘तेरा बाजे!’ उसको कानैनेर आएर उसले भनी, ‘सि वाज प्रेग्नेन्ट!’
‘ह्वाट?’ उसलाई भमिट होलाजस्तो भयो। ‘तैंले कसरी था’ पाइस्?’ उसले आत्तिएर सोधी।
‘ऊ मेरो दिदीको क्लिनिकमा अबोर्सन गराउन आएकी थिई,’ समिताले ठूलाठूला आँखा पार्दै भनी।
उसले लामो सास फेरी।
उसलाई आज अनुशासित आरिस लागेन, पटक्कै लागेन। बरु कताकता माया लागेर आयो। अचानक उसलाई एकपटक ऐना हेर्न मन लाग्यो। ब्यागमा सानो ऐना त थियो तर समिताका अगाडि निकाल्न मन लागेन। ऊ बाथरुम गई। ऐना हेरी। आज उसलाई आफू नराम्री लागेन। राम्री पनि लागेन। अचम्मसित त्यो कुरा महŒवहीन भएजस्तो लाग्यो।
बाहिर आउँदा उसलाई शरीर एकदम हलुका भएजस्तो भने लाग्यो। तर उसलाई आज वेइङ मेसिन खोज्न पनि मन लागेन।
(स्रोत : Nagariknews)