~चन्द्र गुरुङ~
हिँडिरहेको एउटा मस्त घाम
मध्याह्न दिन, चिप्लिझर्छ धरहराको निँधारबाट …
घामसँगै लडिझर्छन् उज्यालाहरु
दुर्धटनाग्रस्त बन्छन् आशाका किरणहरु ।
हेर्दाहेर्दै
अन्धकारको साम्राज्य फैलिन्छ
अस्त–व्यस्त दृश्यहरुको भीड लाग्छ
अतास र हाहाकारको संयुक्त जुलुस निस्किन्छ ।
हर धडकनले दु:ख गाइरहेको यसपल
थाम्नु छ एउटा भुइँचालो मुटुभित्र ।
चारैतिर
विनाशको ताण्डव मच्चिन्छ
समय लरखराउदै हिँड्छ
चोटग्रस्त बन्छन् थुप्रै सुनौला सपनाहरु
सलबलाइरहन्छन् अकाल मृत्युहरु
जीर्ण आँखाले गुमाउँछन् आफ्ना जवान ज्योतिहरु
मनभित्र फुटिरहन्छ सन्तापको ज्वालामुखी ।
यस बेवारिस वर्तमानमा
थाम्नु छ एउटा भुइँचालो मुटुभित्र
यहाँवहाँ
निरीह अनुहारहरु घोचिरहन्छन् मनमस्तिष्कमा
चिन्ताग्रस्त निधारभरि फैलिन्छ निराशा
बागबगैँचातिर रुन्छ फूलको उदासी
हावा सङ्गीतविहीन बन्छ
हिमाल–पहाड भत्किएको पहिचान ओढेर बस्छन्
खुट्टाहरु अन्योल कवाज हिँड्छन् ।
यस भग्नावशेष परिवेशमा
थाम्नु छ एउटा भुइँचालो मुटुभित्र
र,
छातिभित्र सपनाहरु उजाडिएको समय
पीडाग्रस्त आकाशमा ताराहरु उज्यालो उदाएका छन्
साँझमा ढलेको थकित घाम
बिहान क्षीतिजमा सुन्दर सजिएको छ
दु:खको पहाडमाथिबाट चियाउदै छ चकिलो जून
झरीमा रुझ्दै विश्वासको चरी
गीत गाउँदै छ मनको कौसीमा ।
चारैतिर,
जोश–जाँगर जुरमुराउदै छ
आशा मुस्कुराउदै छ
विश्वास बौरिँदै छ ।
घण्टाघर अप्ठ्यारो समय बोकेर उभिएको छ !
भत्किएको घरको थुप्रोबाट जीवनहरु मुस्कुराउदै निस्किरहेका छन् ।
भोक र प्यासलाई मात दिँदै
धूलोले पुरिएको धर्तीबाट आशाहरु उठ्दैछन्
सहयोगी हातहरुको चहलपहल छ
साथ दिने खुट्टाहरुको ओहोरदोहोर छ
चर्किएका मनहरु जोड्न विशाल सागर उलिर्एको छ ।
यस सुन्दर चित्रमा भर्नु छ–
आँट नभत्किएको रङ्ग
आकाङ्क्षा नमेट्टिएको रङ्ग
रहर नहराएको रङ्ग
इच्छा नमास्सिएको रङ्ग
भरोसा नढलेको रङ्ग
र, जीवनको विश्वासिलो रङ्ग ।
थुप्रै जीवन शिर उठाउदै पुन: हिँड्न खोजिरहेछन्
यिनकै लागि
थाम्नु छ एउटा भुइँचालो मुटुभित्र ।
(स्रोत : Pancha Vismrit’s Blog)