~सुधीर ख्वबि~
आजभोली शिर ठड्याउँदै
मस्तिष्कभित्र सल्बलाउँदैछ
डाइनोसोरको वंशाणु
मानिस भित्रभित्रै ।
बिस्तारै बिस्तारै मानिस
दिनहुँ आफ्नो रंग बदल्दै
छेपारो बन्दै , छेपारोबाट क्रमश:
डाइनोसोरमा प्रतिविम्बित हुँदैछ ।
एकछ्त्रको साम्राज्यको पूर्वाभ्यास
शक्ति संचयको योजना
आफ्नो खुंखार मनमा बुन्दैछ
आदिम युगको सपना !
आफ्नो नंग्रा लुकाउन
लोकतन्त्रको पालिस लगाई
बहुमतको बुरुशमा
तानाशाही मन्जन लगाई
रक्त-रंजित दाह्रा सफा गर्दैछ ।
दिनहुँ , अनुहार फेर्दै , रंग फेर्दै
छेपारोबाट डाइनोसोर बन्दै
मानिस, आफ्नो प्रतिद्वन्दी आफै बन्दैछ
जिब्रो लपलपाउँदै
आफुले आफैलाई चुनौती दिंदै ।
सुधीर ख्वबि