स्रष्टा परिचय : नेपाली संगीतका एक कालजयी गायक -पन्नाकाजी

~टीका भण्डारी~Tika Bhandari

तिरिरी मुरली बज्यो बनैमा ,बनैमा लौ माया नमारे
कस्को यो सम्झना मेरो मनैमा ,मनैमा लौ माया नमारे

#. किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ (पुरानो मेलोडी )
# लोलाएका ती तिम्रा (पुरानो मेलोडी )
‪# ‎हामीलाई‬ छाडी दाई त अब
# एकानी दुवानी
# रात यो नबित्ला
# जुनको परेली
# बतासले
# लालीगुराँस फुल्यो है
# मैले सिङ्गै बशन्त
आदी गायक तथा संगीतकार पन्नाकाजीलाई चिनाउने आधुनिक पुराना तथा सदाबहार गीतहरु हुन् !

बाल्यकाल र परिवार :

नेपाली सांगीतिक आकाशका एक सुरिला खम्बा हुन् पन्नाकाजी ! संगीतका हस्ती नातिकाजी शिवशंकर भन्दा अघि (२००७ साल मै ) रेडियो नेपाल प्रवेश गरेका पन्नाकाजीको नेपाली संगीतको क्षेत्रमा नाम उच्च स्थानमा रहेको छ ! बि. स.१९८८ साल पौष १५ गते ( ८४ वर्ष अघि ) काठमाडौँको ओमबहालमा माता बालकुमारी शाक्य र पिता चतुर्मान शाक्यका कान्छा पुत्ररत्नकारुपमा जन्मिएका हुन् ! उनि ४,५ बर्षको उमेर देखिनै घरमा तोते बोलीमै गीत गाउने गर्थे ! यो सुनेर उनका पिता चतुरमान खुशी हुँदै उनलाई भजन सुनाउँथे ! नभन्दै ९-१० बर्षको उमेर देखि राम्रैगरी भजन तथा अन्य गीतहरु पनि मजैले गुनगुनाउन थाले उनि ! केटाकेटीले गीतमा लय हालेर गाएको सुन्दा रमाईलो मान्दै उनलाई काखमा राखेर गीत गाउन लगाउँथे उनका अग्रजहरु ! उनि पनि खुशी हुँदै गीत गाउँथे ! १५-१६ बर्षको उमेरमा त उनि आफ्नो टोल ,स्कुल लगायतका ठाउँहरुमा विभिन्न गीतहरु गाएर,नाटकमा अभिनय गरेर सबैको प्यारो भईसकेका थिए ! उनि ज्यादै आकर्षक र सुन्दर थिए ! त्यसैले उनलाई त्यस बेलाका नाटकहरुमा राजकुमार,राजा जस्ता भूमिकाहरूमा खेलाईन्थ्यो ! उनले २००४ साल देखि त औपचारिकरुपमै गीत गाउन थालेका हुन् ! नाटकहरुमा पनि प्राय उनलाई खेलाईन थालियो ! उनले नास खल:,बिषन्तरया मच्चादान , कुंडाल जस्ता नाटकहरुमा खेले प्रमुख पात्रकोरुपमा ! उनि स्टेजमा सम्बाद मात्र हैन मिठासपूर्ण ढङ्गले गीत पनि गुन्जाउंथे ! यसले गर्दा स्टेजमा सबैको आकर्षणको केन्द्र बिन्दु बन्थे उनि ! पन्नाकाजी २० बर्षको उमेरमा ज्ञानदेबीसंग बैवाहिक जीवनमा बाँधिए जसले आफूभन्दा अघिनै धर्ती छोडेर गईन ! एक छोरी ४ छोराका पिता पन्नाकाजीका दुई सुपुत्र प्रबेशमान शाक्य र पवित्रमान शाक्य नेपाली सांगीतिक क्षेत्रका प्रसिद्ध गायक हुन् ! दुबैले नेपाली संगीतको क्षेत्रमा आ-आफ्नै ढंगले राम्रो छाप छोडेका छन् !

रेडियो नेपालको जागिर :

सुमधुर स्वरका धनी गायक पन्नाकाजी सांगीतिक जीवन बिताउन चाहन्थे ! त्यतिबेला संगीतमै जीवन रमाउन सक्नु ,बिताउन सक्नु सामान्य कुरा थिएन ! ईच्छा शक्ती प्रतिभा र क्षमता भए मानिसले ढिलो चांडो अवसर प्राप्त गर्न सक्छ भन्ने दह्रो आत्मबिस्वाश लिएका उनलाई एकदिन उनकै परमप्रिय मित्र रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमालले रेडियो नेपालमा जागिर खान सुझाए ! यसबाट उनीमा आफुमाथी बिस्वाश पलायो ! रेडियो नेपालका संस्थापक व्यक्तित्व नाटक निर्देशक बालकृष्ण समले उनको प्रतिभा तथा गायन दुबैको परिक्षा लिए ! समले निकै मनपराए उनलाई ! समको बिशेष सिफारिसमा रेडियो नेपालका प्रथम डाईरेक्टर तारणीप्रसाद कोईरालाले यिनलाई गायककारुपमा नै जागिर दिए २००७ सालमै र २००८ साल देखि उनले स्थाई नियुक्ती पाए जुन जागिरे जीवन उनको २०४० सालसम्म अनवरतरुपमा रह्यो ! त्यहीं उनले नासु पदबाट स्वैच्छिक अवकाश पनि प्राप्त गरे !

संगीतमा नारायणगोपाल प्रथम, स्वरमा पन्नाकाजी प्रथम :

त्यसबेला रेडियो नेपालले आधुनिक गीत प्रतियोगीता अत्यन्तै भब्यरुपमा उत्सव झैं मनाउने गर्थ्यो ! ४ दिवशीय ५ दिवशीय प्रतियोगीताहरु आयोजना हुन्थे ! रेडियो नेपालमा प्रथम भएका गायक गायिकाको शान ,मान ,सम्मान र प्रतिष्ठानै बेग्लै हुने गर्थ्यो ! २०२२ सालमा पन्नाकाजी रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगीतामा गायन तर्फ प्रथम भए भने सोही स्टेजबाट नारायणगोपाल संगीतमा प्रथम भए ! त्यसबेला नारायणगोपालको भन्दा पन्नाकाजीको चर्चा बढी भयो ! यो स्वाभाविक पनि थ्यो किनकि पन्नाकाजी गायनमा प्रथम भएका थिए भने नारायणगोपाल संगीतकारकारुपमा प्रथम भएका थिए ! नारायणगोपालसंग पन्नाकाजीको निकै सुमधुर सम्बन्ध कायम थ्यो ! पन्नाकाजी भन्छन -” नारायणगोपाल अरुजस्तो गायक हैन ,उ हृदयले गाउने मान्छे हो , उ धेरै भर्सटाईल थ्यो ,हामी संगसगै स्टेजमा गीत गाउँथ्यौं ,उ गीत संगीत भने पछि संसार बिर्संथ्यो , उ प्रती मेरो ठुलो सम्मान छ ,मान्छे नभएपनि उसको कर्मको त सम्मान गर्ने पर्छ नि !”

पुरस्कार नलिने घोषणा :

पन्नाकाजीले जीवनमा धेरै पुरस्कारका अफरहरु अस्विकार गरे ! पुरस्कार किन लिनु हुन्न ,पुरस्कार प्रतीको बिश्वास र सम्मान किन मर्यो तपाईंमा भन्ने प्रश्नमा उनि भन्छन -” कुनै पनि कलाकारलाई गरिने सबै भन्दा ठुलो सम्मान भनेको उनीहरुद्वारा गाईएका ,संगीतबद्ध गरिएका र लिपीबद्ध भएका गीतहरु सम्मानपुर्बक प्रसारण गर्नु हो ! जसले नेपाली संगीतको जग खने ,दुख सहेर नेपाली संगीतको शुन्दर मुहार निर्माण गरे आज तिनका गीत संगीत रचनाहरु आक्कल झुक्कल बाहेक कहाँ प्रसारण हुन्छन ? घर घरमा रेडियो स्टेसन छन् तर ती श्रष्टाहरुका गीत बज्दैनन अनि के को लागि सम्मान लिने, किन लिने ? सम्मान शब्दमा हैन व्यवहारमा हुनुपर्छ , ओठको सम्मान हैन हृदयले सम्मान गरिनु पर्छ ! अरु त अरु राज्यले खै कहाँ चिन्न सक्यो त राष्ट्रका ति संस्थापक स्रष्टा सर्जकहरुलाई ,देखावटी सम्मान बेकार हो !” केही महत्वपुर्ण अवार्ड त लिनु भयो नि त प्रश्नमा उनि उत्तर दिन्छन -” ढाँटनु हुँदैन पाप लाग्छ, त्यसबेला त हामी पुराना कलाकारका पनि गीत बज्थे ,रेडियो नेपालबाट पनि बज्थे ,भर्खरै प्रजातन्त्र आएकोथ्यो ,त्यो जोशमा स्वर्णिम गीतहरु पनि रेडियोहरुबाट खुब बजे ,खुशी भएँ हाम्रा पनि दिन आएछन भनेर ! पुरस्कारहरु पनि लिएँ जब हाम्रा गीत बज्न छोडे त्यसपछि मैले पुरस्कारको नाम सुन्ने बित्तिकै ईन्कार गर्न थालें ! वास्तवमा दिन आएका हैनन दिन त गएका पो रहेछन ! जसले पुरस्कार दिन्छु भन्छ पहिला पुराना श्रष्टाहरुको गीत बजाउनुस त्यसपछि पुरस्कार लिन आउंछु भन्ने गर्याछु !” उनले जीवनमा सन्तुष्ट रहेको बेला प्राप्त गरेका पुरस्कारहरु -सर्बोत्तम साधक गायक ,नातिकाजी सम्मान (नातिकाजी जीवित छँदै उनकै ईच्छामा प्रदान गरिएको पहिलो पुरस्कार ) ,बिरेन्द्र पदक ,गोदवा (२०३९ ),रेडियो नेपाल सेवा पदक ,शुभराज्यभीषेक पदक , ईमेज लाईफटाईम अचिभमेन्ट अवार्ड लिएका छन् !

राजा महेन्द्रका मनपर्ने गायक :

पन्नाकाजी नेपाली संगीत प्रेमीहरु माझ लोकप्रिय थिए र आजपनि छन् ! त्यसबेला राजपरिवारका पनि प्रिय गायक हुन् उनि ! विभिन्न अवसरहरुमा राजदरबारमा पनि सांगीतिक कार्यक्रमहरु भई नै रहन्थे ! ति कार्यक्रममा दुई काजीहरू अनिबार्य उपस्थित हुनु पर्थ्यो -पन्नाकाजी र नातिकाजी ! पन्नाकाजी राजा महेन्द्रका निकै प्रिय थिए ! बेलाबेलामा मौसुफबाट निम्तो बख्स भयो तुरुन्त आउनु पर्यो भनेर खबर पाईरहन्थे उनि ! दरबारमा उनि लगायत नातिकाजी ,तारादेबी , ज्ञानबहादुर ,आदिको बिशेष गायन प्रस्तुती रहन्थ्यो ! कार्यक्रम सकिएपछि राजा कलाकारहरु संगै बसेर गफिंदै खानेकुराहरु खान्थे ! खाए नखाएको ,यो खाउँ कि त्यो खाउँ ,मिठो नमिठो ,दुख सुख के कसो छ सबै सोध्थे ! व्यावहारिक जीवनका कतिपय कुराहरु दरबारकै सहयोगमा सम्पन्न गर्थे उनीहरु ! त्यसमा पन्नाकाजी अग्रणी स्थानमा थिए ! उनि भन्छन -”राजा महेन्द्र ज्यादै संगीतप्रेमी होईबख्सन्थ्यो ,राज परिवारका अन्य सबै सदश्यहरु संगीत र संगीतकर्ममा लागेका कलाकारहरुलाई निकै मन पराई बख्सन्थ्यो ,कला संगीतको बिकाश बिस्तारमा सबैले ध्यान दिईबख्सेको थ्यो ! स्वर्णिम यहीकारण दरबारमा त्यस्ता खाले कार्यक्रम आयोजना हुन्थे ”

रेडियो नेपालमा उनका स्वरहरु :

पन्नाकाजी रेडियो नेपालले जन्माएका एक स्वर्णिम गायक हुन् ! उनको स्वर्णिम सपना थ्यो रेडियो नेपाल ! सपना सोचे झैं साकार भयो !उनि भित्रकै सिर्जनात्मक एबं कलात्मक प्रतिभा र क्षमताले गर्दा उनि सफल भएका हुन् ! उनको उर्वर बैश , जीवनका हर महत्वपुर्ण दिनहरु उनले रेडियो नेपालमै बिताए ! सिंगो जीवन रेडियो नेपाल ,नेपाली संगीत,नेपाली स्रष्टा सर्जकहरू प्रती समर्पित गरे ! पन्नाकाजीले सांगीतिक जीवनको सुरुवाती चरणमा रेडियो नेपालमा रात यो नबित्ला (रचना: हरिशङ्कर अमात्य, संगीत :पन्नाकाजी आफ्नै ) ,कस्तो कस्तो ,(रचना: उत्तम नेपाली, संगीत: गायक स्वयम् ),एउटा मुटु ,रचना: कृष्णहरि बराल, संगीत: गायक स्वयम् ),झल्किन्छ तिम्रो, रचना: गौरी नेवा, संगीत: गायक स्वयम् ),म हुँ सराबी, रचना: ए. के. विकल, संगीत: गायक स्वयम् ),अन्जान भएर ,रचना: उत्तम नेपाली , संगीत: गायक स्वयम्) ,जुनको परेली, रचना: जीवन श्रेष्ठ, ,संगीत: गायक आफैं), आजफेरी, रचना: राजेन्द्र चोथाले, मैले सिङ्गै बशन्त, रचना: कमल प्रधान, संगीत: सी. के. रसाईली ,सिरानीमा जुन रचना शिव अधिकारि संगीत गायक स्वयम् ,आफ्नो संसार रचना यादव खरेल संगीत शिव शंकर ,कलेजा मेरो रचना विकल नेपाली संगीत गायक स्वयम् ,म तिम्रो नजर रचना विकल नेपाली संगीत गायक स्वयम् आदि गीतहरु रेकर्ड गरे ! उनि रेडियो नेपालको गायक पदमै कार्यरत रहेकोले पनि रेडियो नेपाल स्टुडियो उनका गीतहरु रेकर्ड भै नै रहन्थे ! अधिकांस गीतहरुमा उनको आफ्नै संगीत रह्रेका छन ! यसबाट पुष्टि हुन्छ उनि निकै राम्रा संगीत सर्जक पनि हुन् ! सांगीतिक जीवनको मध्यतिर उनले फेरी पनि कतिपय आफ्नै संगीतमा विभिन्न गीतकारहरुका गीत गाए ! अन्य संगीतकारहरु कुबेर गड्तौला ,सी. के. रसाईली ,शिवशंकर नातिकाजी आदिका संगीतमा पनि उनले गीतहरु गाए ! मबिबी शाहका मात्रै १० वटा गीतमा यिनले संगीत दिएका छन् ! यसपछि रेडियो नेपालमा गाएका गीतहरुमा आँखाको भाखा (रचना: शक्तीमोहन ,संगीत: गायक स्वयम् ),ऎसेलुको दाना ,(रचना: कुबेर गड्तौला, संगीत: कुबेर गड्तौला) ,जति भावना छ (रचना :तिर्थराज तुलाधर, संगीत: गायक स्वयम् ),के अधिकार ,(रचना: सी. के. रसाईली ),ब्यर्थै सखी (रचना: गोपालप्रसाद रिमाल ,संगीत: गायक स्वयम् ),म तिमी सित, गीत: छिन्नलता ,संगीत: शिवशंकर ),किन किन तिम्रो तस्बिर (रचना: मबीबि शाह, संगीत: गायक स्वयम् ),मनको कुरा रचना :रामबिक्रम सिजापती ,संगीत: गायक स्वयम्) ,कहाँ सम्म धाउन ,रचना: रामचन्द्र पुडासैनी ),आदि गीतहरु गाए उनले ! यी गीतहरु त्यसबेला धेरै संगीतप्रेमीहरुको हृदयमा बसेका गीतहरु हुन् त्यसोत आजपनि सदाबहार शैलीका गीत संगीत सुन्ने श्रोता उनका गीतहरु खोजी खोजी सुन्ने गर्दछन ! कतिपय रेडियोहरुले पुराना गीतहरुको कोटीमा उच्च स्थानमा राखेर प्रसारण गर्ने गर्दछन ! रेडियो नेपालका पुराना र सदाबहार गीतहरुको सृंखलामा प्राय उनका यिनै गीतहरु नै गुञ्जने गरेकाछन् ! रेडियो नेपालमा गीत रेकर्डिङ् भएका गीतहरुको पछिल्लो चरणमा उनले ‘मेरो मनको’ (रचना: ए. के. विकल, संगीत: गायक स्वयम् ),कहाँसम्म धाउन (रचना: रामचन्द्र पुडासैनी ,संगीत: गायक स्वयम् ),तिमी भन्दा याद (रचना: रामबिक्रम सिजापती ),एकैर थुंगा (रचना: कृष्णप्रसाद पराजुली ,संगीत : नातिकाजी ),सागर हो मेरो (रचना: राममान त्रिषित ,संगीत: शिवशंकर ),नौलाख तारा बन्द छौ तिमी (शाहदेव शम्सेर राणा संगीत :नाती काजि ) ,यस्तै मलाई भेट्न देउ (रचना :ए. के. विकल ,संगीत गायक स्वयम् ) लगायतका गीतहरु रेडियो नेपालमा रेकर्ड गराए उनले ! यसैगरी बिहानी घाम (रचना :मबिबि शाह,संगीत : गायक स्वयं),तिरिरी मुरली बज्यो बनैमा (रचना :शरदकुमार शाक्य (संगीत :पन्नाकाजी स्वयम् ),जाँदैछु आज (रचना :जनार्दन सम ,संगीत :गायक स्वयम् ),मनमा तिम्रो (रचना :भावुक, संगीत ;शिवशंकर ),जाली रैछौ (रचना :प्रदीप रिमाल ,संगीत:गायक स्वयम्) एकानी दुवानी (रचना :धर्मराज थापा ,संगीत :गायक स्वयम् ),बताशले (रचना: रत्नसमशेर थापा, संगीत :गायक स्वयम् ) ,कसरीमा बिर्सुं उनलाई (रचना :राम मान तृषित संगीत :शिव शंकर )पनि गायक संगीतकार पन्नाकाजीको जीवनमा निकै महत्व राख्ने र स्रोताको जीवनमा पनि अर्थ राख्ने गीतहरु हुन् !
यिनै गीतहरु नै गायक तथा संगीतकार पन्नाकाजीका जीवनका अमुल्य कृतीहरु हुन् !

संग्रहित कृतीहरु :

गायक पन्नाकाजीले रेडियो नेपालमा आधुनिक ,भजन ,स्वदेशगान ,लोकगीत ,नेपाल भाषा आदि गरि १०० जति गीतहरु रेकर्ड गरेकाछन् भने कुल ४०० गीतहरु रेकर्ड गरेको पन्नाकाजीको ठम्याई छ ! ३ वटा सोलो एल्बमहरु समेत प्रकाशित छन् ! यी एलबमहरू लिजेण्ड अफ पन्नाकाजी- कसरी बिर्सुं म (आधुनिक गीत ) ,लिजेण्ड अफ पन्नाकाजी-आफ्नो संसार (आधुनिक गीत ), साधक गायक पन्नाकाजी- (भजन किर्तन) हुन् !

भक्ती सङ्गीत र नेपाल भाषा गीत :

पन्नाकाजीले भक्ती संगीतमा पनि राम्रो स्थान बनाएका छन् ! उनले रेडियो नेपालमा एक दर्जन जति भक्ती संगीत गाएका छन् ! उनका मन छुने आफै द्वारा संगीतबद्ध तथा स्वरबद्ध गरिएका भजनहरु -तन मन ध्यान दिई (रचना :घनश्याम पुडासैनी),पशुपतीनाथ प्रभु (रचना :भिम बहादुर ),भवसागरको नाउ (रचना :भिमबहादुर ),भज रामको नाम (रचना :गायक स्वयम् ),जय जय हे त्रिपुरारी (रचना :गायक स्वयम् ),नारायणको नाम जपौं (रचना :प्रकाशमान सिंह ),हरी हरी जप्दै जाउँ (रचना :गायक स्वयम् ),राम भज कृष्ण भज (रचना :लिलाप्रसाद गिरी ) हुन् ! उनले २ दर्जन जति नेपाल भाषाक गीतहरु पनि गाएका छन् ! त दत्त मखनागु (रचना संगीत :नातीकाजी ),वा माया वा वा नेपाल (युगल योगेश बैद्य संग ) आदि उनका नेपाल भाषाका चर्चित गीत हुन् !

गायक प्रबेशमान,पवित्रमान र पन्नाकाजीको सम्बन्ध :

नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक प्रबेशमान शाक्य र अर्का चर्चित गायक पबित्रमान शाक्य एकै परिवारका दुई दाजुभाई हुन् ! प्रवेशले ३०० जती गीतहरु गाएका छन् भने पबित्रमानले पनि ५ दर्जनजति गीतहरु गाएका छन् ! प्रवेशमानले केहि नेपाली चलचित्रमा समेत गीत गाएका छन् ! लाउन त प्रित लाईदियौ बहार बनी बोलको गीतबाट प्रवेशमान बढी चिनिन्छन भने ‘कति बस्छौ ओडी लाजको घुम्टो मनमा पलाएका रहरलाई छोपी ‘ बोलको गीतबाट पवित्रमान बढी चिनिन्छन ! पन्नाकाजीका ५ सन्तान मध्ये यी दुईले नेपाली संगीतमा बेग्लै परिचयसहित पिता पन्नाकाजीकै पदचिन्ह पछ्याएका मात्र छैनन आफ्नै सांगीतिक पहिचान समेत बनाई सकेकाछन ! यस सम्बन्धमा गायक पन्नाकाजी भन्छन-” मैले कहिलै प्रवेश र पवित्रमानलाई गायक बन भनेर भनिन ,गीत गाउ पनि भनिन ,तर राम्रो राम्रो सभ्यता संस्कार र संस्कृती सिक भनेर चैं जीवनमा धेरै चोटी भने होला , उनीहरु आफै संगीतमा हेलिएका हुन् ,आफै गीत संगीतको क्षेत्रमा उदाएका हुन् , बरु मैले भने- मेरो नाम ले हैन ,मेरो कामले पनि हैन ,तिमीहरु आफ्नै क्षमता ,प्रतिभा र योग्यताले चिनिनु पर्छ !” वास्तवमा प्रवेश र पवित्रमानले पनि पिताले कल्पना र सपना कोरे झैं आ-आफ्नै बलबुता, ज्ञान र बिबेकलाई पछ्याउदै उनीहरु संगीत र जीवनपथमा अघि बढे र सफलता पनि प्राप्त गरिरहेकाछन जीवनमा निरन्तर ! पन्नाकाजी आफ्ना सन्तानलाई शिक्षा -दिक्षा दिन जति सफल छन् उनले पनि सन्तानबाट प्रसस्त माया प्रेम पाएका पनि छन् ! यहि सन्दर्भमा परदेशमा रहेका गायक पवित्रमान र पिता संगै दुखसुखमा साथ् रहेका प्रबेशमानले पिता स्वर्णिम गायक पन्नाकाजीले गाएका गीतहरु मध्ये १० वटा गीतलाई ‘ड्याडी वी मिक्स’ एल्बममा समाविष्ट गरेकाछन ! प्रवेश पवित्र दुबैले गायक संगीतकार पन्नाकाजीको संगीतमा गीत गाएका पनि छन् !

कृष्णप्रसाद भट्टराइले गीत गाउँदा गाउँदै रोके उनलाई :

कलकत्तामा २०१३ सालमा तिरिरि मुरली बज्यो बनैमा लगायतका गीत गाउँदा पन्नाकाजीसंग आत्मिय सम्बन्ध रहेका पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई पनि संगै स्टुडियोमा थिए ! पन्नाकाजीले एकपल्ट तिरिरि मुरली बज्यो बोलको गीत गाईसके पछि अर्को पटक गाउँदा भयो भयो ओके ओके फेरी किन दोहोरयाको भनेर कराए कृष्णप्रसाद ! सबै हाँसे स्टुडियोमा भएका मानिसहरु ! उनले एकपटक मात्र गाउँछन ,रेकर्ड गर्दा पटक पटक गाईन्छ भन्ने कल्पना समेत गरेका रहेनछन ! त्यसपछि भने ४,५ टेक गाए पन्नाकाजीले ,कृष्णप्रसाद अचम्म मानेर सुनिरहे मात्र ,बिचमा भयो भयो भनेर कराएनन !

९ महिना जेल परे :

उनि गायक संगीतकार मात्र थिएनन ! नेपाली कांग्रेसमा प्रतिबद्ध पनि थिए ! पूर्व प्रधानमन्त्रि कृष्णप्रसाद भट्टराई ,जनआन्दोलनका सर्बोच्च कमान्डर गणेशमानसिंह ,प्रकाशमान सिंह जस्ता व्यक्तित्वहरुसंग समेत यिनको गहिरो उठबस थ्यो ! यहीकारण २०१८ सालमा यिनले पनि ९ महिना नख्खु जेलको हावा खाए ! यिनले आफ्नै हातले स्केच गरेको ५ फिटको गणेशमानसिंहको तस्बिर अझै गणेशमान सिंहको घरमा सजाएर राखिएको छ जुन उनले उनलाई उपहार दिएका थिए !

मेरो अध्ययनमा उनि :

पन्नाकाजी नेपाली संगीतका संस्थापक गायक संगीतकार त हुँदै हुन ,रेडियो नेपालका पनि उनि संस्थापक मध्येका एक ससक्त कलाकार हुन् ! रेडियो नेपालको जन्म संगै उदाएका उनि रेडियो नेपाल जत्तिकै स्वाभिमानी र शालीन पनि छन् ! उनलाई आफ्नो बारेमा कसैले प्रचार गरेको मन पर्दैन ! उनलाई पाश्चात्य र बहुरंगी संगीतले छुंदैन ! देशलाई अति माया गर्छन ! अरुलाई पनि उत्तिकै माया र अपनत्व बाँड्न चाहन्छन ! पुरस्कार लिईदिनु परयो भनेर कोहि घरमा पुग्छन ,पहिले गीत त बजाएर सम्मान गर्नुस त्यसपछि स्टेज सम्मानको कुरा गरौँ भन्छन ! उनि रेडियो नेपालमा संगीत महासाखामा नै जीवन बिताएका राष्ट्र सेवक कर्मचारी पनि हुन् ! तर धेरैले पन्नाकाजी रेडियो नेपालमा नभएको भए अझ धेरै लोकप्रिय बन्ने थिए भन्ने गर्छन ! उनलाई जागिरे जीवनले पनि थिच्यो ,उनको गायन र कलालाई पनि केहि हद सम्म त थिचेकै हो ! उनका साथीहरु नातिकाजी शिवशंकर, नारायणगोपाल, तारादेबी ज्ञानबहादुर ,ईन्द्रलाल, पुष्प नेपाली ,उही गोबिन्दबहादुर गुरुङ ,रामहरी गुरुङ ,ईन्द्रलाल आदी उनलाई अती माया गर्थे ! सिर्जनाका क्रममा तिनका घरमा उनि पुग्थे, उनका घरका घरेलु कार्यक्रममा उनीहरु चुल्हे निम्तो मान्न आइपुग्थे ! यसबाट पन्नाकाजीको सहकार्य र स्वर्णिम युगका स्रष्टा सर्जकहरुसंगको सम्बन्ध प्रष्टिन्छ ! नारायणगोपालले उनका छोरा प्रबेशमानको बिवाहमा गरेका रमाईला सम्बाद अझै उनले बिर्सेका छैनन ! नेपाली संगीत शिखर अम्बर गुरुङ्गले पबित्रमानलाई बाबुको बिंडो थाम्न दिएका सुझाव अहिले पनि झल्झली सम्झिरहेका छन् ! यसबाट पनि पन्नाकाजीको महत्व झल्किन्छ !

२०४० सालमा रेडियो नेपालबाट अवकास पाइसके पछि पनि पन्नाकाजी नातिकाजी शिवशंकरसंग सहकार्य गर्न रेडियो नेपाल आइरहन्थे ! भेटघाटमा उनि रमाईला छन् ,हँसि मजाक पनि गर्छन त्यतिनै गम्भीर मुद्राका पनि छन् ! बोलि व्यवहारमा सम्मान उनको परिचय हो ! संगीतमा गहिरो साधना र अभ्यास उनको पन हो ,संगीतमा आधुनिकता र शास्त्रियता उनको शैली हो ! २०- २५ जना रेडियो नेपालका बाद्यबादकहरुको बिचमा उनि जमेर ४ घण्टा सम्म लाईभ गाउँथे ! गायकीमा कुनै कमजोरी थिएन ! आवाजमा कुनै भिन्नता महसुस हुनथ्यो ! एकनास दौडने धावक जस्ता उनि ! तर अहिले उनका ओठ लर्बराउँछन् ,पाईला धर्मराउँछन् ,गीत गाउन सक्दैनन ,न बोल्न नै राम्ररी सक्छन ,कतिपय कुरा ईशाराले खोल्छन ! सकी नसकी हार्मोनियम खोल्छन तर आवाज घाँटीबाट राम्ररी निस्कंदैन ! आफ्नी धर्मपत्नीको ७३ बर्षको उमेरमा निधन भएदेखि उनि शारीरिकरुपमा कमजोर बन्दै गए ! बिगत १० वर्ष यता उनको जिन्दगी संगीतबाट टाडिंदै गएको छ ! भित्तामा राखिएका आफ्नो स्वर्णिमकालका सम्मान पुरस्कार र मेडल प्रसंशा -पत्रहरु देख्दा उनि नोस्टाल्जिक हुन्छन ! जीवनको सम्पत्ति यसैलाई ठान्छन ! कला क्षेत्र एउटा काँडासरीको गुलाफ हो ,यसर्थ यसको संरक्षण र सम्बर्धन गर्न आफ्नो दक्षता त लुकाउनु हुँदैन भन्ने महान विचार लिने पन्नाकाजी दाई तपाईंको सुरम्य सांगीतिक यात्रा अझै सफल्रहोस ,जय होस् कालजयी तपाईंका गीत संगीतको ! दिर्घायु र सुस्वास्थको कामना !

टीका भण्डारी
संगीतकार गायक
उप -निर्देशक ,रेडियो नेपाल

( नेपाली संगीत सर्जक -श्रष्टाहरु प्रतिको उच्च सम्मान -शृंखला ४६ , गायक पन्नाकाजीका साथ् उनका पुत्रद्वय गायक प्रबेशमान शाक्य र पबित्रमान शाक्यसंग गरिएको लामो कुराकानीमा आधारित)

(स्रोत : रचनाकारको फेसबुकबाट सभार )

This entry was posted in स्रष्टा परिचय and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.