कथा : बिग ब्रदर

~भूपिन~Bhupin Byakul

भौगोलिक रूपमा सहर सधैं एउटै हुन्छ जो आफ्ना तमाम आभूषणसहित सधैं आकर्षक र मायालु लाग्छ । यसले बिनाकुनै भेदभाव सबै प्राणीलाई उस्तै व्यवहार गर्छ । मानिसलाई, चरालाई, किटपतंगलाई र सडकमा ढसमस्स सुतिरहेका साँढेलाई पनि । यसको माटोमा गरीबले छरे पनि बीउ उस्तै उम्रिन्छ । पानीले छूत अछूत भन्दैन । जंगलले सबैलाई उस्तै हावा र घामले सबैलाई उस्तै ताप दिन्छ ।

तर चेतनाको तहमा सहरमा सधैं दुईवटा सहर देख्छु, जसले मजस्तो ल्याङफ्याङे जीवात्माप्रति विशेष ध्यान दिन्छन् । एउटा सहर, जो मेरो हुलियाका गाउँले मानिसलाई सन्देहबस सधैं आगो बलिरहेका आँखाले हेर्छ । यसको आँतमा मजस्ता आउटसाइडरलाई चपाउँन तम्तयार धारिला दाँतहरू हुन्छन् । पैसा, शक्ति, कपट धुत्र्याइँ आदिको बलले सहर मलाई धपाउन खोज्छ । मानौं सहरका लागि म कुनै अपराधी हुँ, जसले उसका अपराधहरूको खिलाफमा बोलेको छ । यस्तो बेला सहर मलाई जर्ज अरवेलको ‘बिग ब्रदर’ जस्तो लाग्छ, जसले टेलिस्क्रिन मार्फत विन्स्टन स्मिथजस्तो निरीह पात्र सोचेर मलाई पछ्याइरहन्छ । मानौं उसको काम सिर्फ मेरो निगरानी गर्नु हो ।

सायद सहर सोच्छ मेरा हर कदमअनुसार उसको जीवनको रणनीति नबन्दा ऊ घोर संकटमा फस्नेछ । जस्तै : म जसरी जीवनबारे विचार गर्छु त्यसको विरुद्धमा मिसन सञ्चालन गर्नुस् म जसरी गतिशील हुन्छु, त्यसलाई गलत प्रमाणित गर्न पैतालादेखिको बल लगाउनु । केही सीप नचले मैले जुलियासँग आँखा जुघाएकै निहुँमा चरित्रहत्याको तहमा उत्रनु । बिचरा उसलाई यति पनि थाहा छैन कि यो उसको लागि सबैभन्दा बढी घाटाको पेसा हो । सहर कुनै सूर्यमुखी फूल त होइन जो सधैं घामलाई पछ्यावस् मात्र । म चाहन्छु, ऊ घाम बनोस् । तर स्थिति उल्टो छ, भ्रमवस घाम सम्झेर ऊ मलाई पछ्याइरहन्छ । उसले ठम्याएझै कुनै चमत्कारले भरिएको रहस्यमयी जीवात्मा होइन म, जसलाई प्रयोगशालामा चलाउँदाचलाउँदै उसले कुनै जादुयी आविष्कार गरोस् र भन्न सकोस– युरेका युरेका †

अर्को सहर, जो सधैं नरम नरम फूलका आँखाले मलाई हेर्छ । म रुँदा रुन्छ, हाँस्दा हाँस्छ । मरिगए मसँग कुनै सिकायत गर्दैन । मानौं म हुँ उसको सच्चा प्रेमी । सहरले यसरी निसर्त प्रेम गरिदिएपछि म यसप्रति आकर्षित नहुनु असम्भव प्राय: छ । तर मेरो अन्तरकथा अर्कै छ ।

(तेस्रोथरी सहर पनि छ, जसले मलाई तटस्थ भावले हेर्छ । यसको क्षेत्रफल अरू दुई सहरको भन्दा ठूलो छ । म जति लामो यो सहरमा बस्छु, तटस्तथाको पोखरीमा ढुंगाहरू हान्दै जान्छु । पोखरी तरंगीत हँदै जान्छ ।)

बिग ब्रदर मजस्तो अति संवेदनशील मनुष्यका लागि तनाव उत्पादन गर्ने कारखाना हो । यसले केवल मेरो गल्ती पर्खेर बस्छ । म गल्ती गर्न निपुण छु, ऊ सजाय तोक्न माहिर छ । वास्तवमा भर्खरै सम्राटको ताज गिरेको राज्यमा म एक ‘गल्ती सम्राट’ नै हुँ । मैले आफ्नै कहानीका केही सुनिमयामा अभिनय गर्ने बाध्यात्मक अवसर पाएको छु, जुन हेरेर कला समीक्षकहरू मलाई ‘बेस्ट एक्टर इन नेगेटिभ रोल’ का लागि लायक सम्झिदिन पनि सक्छन् । म वास्तवमा गल्तीले च्यातिएको जीवनमा रफु गर्दै बाँच्ने एक थान प्राण सिवाय के नै हुँला र ?

गाउँको मजस्तो मानिसलाई सहरमा अभ्यस्त हुन अत्याधुनिक सभ्यताको भाषा र शैली बुझ्नु जरुरी हुन्छ । लोकधुन सुनेर हुर्केबढेको म, यसको हाइटेक भाषा र हिपप शैली उतिसारो बुझ्दिनँ । यसको भाषा कुनै गुरिल्लालाई पक्रिन पुलिसले प्रयोग गर्ने कोड भाषाजस्तो जटिल लाग्छ । उसको ‘रोजर रोजर’ मेरो समझबाहिर छ । कहिलेकाहीं पढ्न खोज्छु, लिपिसमेत ठम्याउन गाह्रो लाग्छ । आक्कलझुक्कल बुझे पनि त्यसलाई आफ्नो जीवन शैली बनाउन मन पराउन्न । जीवनको उद्योग टाट उल्टाउन आफ्नै शैली पर्याप्त छँदैछ मेरो लागि ।

कहिलेकाहीं सोच्छु– सहरमा आए र फसे । यो पनि गल्तीको एक अध्याय थियो सायद, तर यसप्रति कुनै गुनासो हुनु गल्ती सम्राटलाई सुहाउने कुरा भएन । गाउँमा बिताएको उमेरजत्तिकै मैले सहरमा आफ्नो उमेर छिप्पाइसकेको छु । हो, कहिलेकाहीं जीवनसँग गहिरो खेद लाग्छ । आमा सम्झिन्छु । आफन्त सम्झिन्छु । गाउँको माया सम्झिन्छु । सल्लेरी र कालीगण्डकी सम्झिन्छु । हेत, सिरानी भिजाएर रात काट्छु ।

(यो सहरले थाहा नपावस्, म वास्तवमा पत्याउनै नसक्नेगरी कमजोर छु । ससानो दु:खमा पनि रोइदिन्छु । यस्तो बेला प्राय: आफूले आत्महत्या गरेको समेत कल्पना गर्छु । कल्पना गर्छु, मेरो लास देखेर को को रुनेछन् । कल्पनामा जब कोही प्रियजन मेरो लासको छेउमा बसेर रोइरहेको देख्छु, मलाई खपीनसक्नुको हिक्का आउँछ । स्वाभाविक छ, मेरो कल्पनामा बिग ब्रदर सधैं मेरो मृत्युउपर हाँसिदिन्छ । अनि मैले आत्महत्याको कल्पना गर्न बन्द गरिदिन्छु । परोक्ष रूपमा यो सहरले मलाई बलियो बन्न सघाएको छ । यसका लागि म सहरप्रति कृतज्ञ छु ।)

कहिलेकाहींचाहिँ कस्तो लाग्छ भने, मैले यस सहरलाई नै चरम तनावमा धकेलिदिएको छु । मेरो चकचक र दौड देखेर यो सहरको निद्रा भङ्ग हुन्छ । प्यावलवको कुनै अवतारले प्रयोगका लागि यस सहरको घाँटीमा नली फिट गर्‍यो भने नलीबाट र्‍यालको धारै बग्थ्यो होला । भोकले हैन ईश्र्याले । सोच्छु, यो सहर गायक माइक जागर हो जो फन्नी गीत गाइरहेछ– ‘ह्वेन यु कल माई नेम, आई स्यालभेट लाइक अ पाव्लव डग’…. प्रेमले हैन घृणाले । आखिर मानिससँग प्रेम ग्रन्थि हुन्छ भने घृणाको ग्रन्थि पनि त अवश्य हँदो हो ।

हेत, यो सहर आफूलाई मेरो विधाता नै सम्झन्छ । ईश्वर त नमान्ने म, मेराजस्तै सयौं कमजोरीसहितको उसलाई किन विधाता मानूँ ? यो सहर मेरो निर्माता होइन तर यसको निर्माता मजस्तै गाउँबाट यस भूमिमा झरेका गाउँलेहरू हुन् । प्रत्येक सहरको इतिहास भन्छ, त्यसको निर्माणमा गाउँबाट झरेकाहरूको पसिनाको सिञ्चन छ । न्युयोर्कको ट्रेन स्टेसनमा बरालिँदा मैले त्यसका चिसा सुरुङहरूमा अफ्रिकाबाट दास बनाएर झिकाइएका निग्रोहरूको पसिनाको गन्ध चाल पाएको थिएँ । यो सहरमा ट्रेन चिप्लिने सुरुङहरू त छैनन् तर जे जति निर्माण छन्, त्यहाँ गाउँले पुर्खाहरूको गन्ध डुल्छ । ती सुरुङहरूमा सोझा गाउँलेहरूको पसिना छ, रगत छ । सारा सुविधाहरू हडपेर यसले गाउँलाई आकर्षित गरेको गर्‍यै छ र कम पैसामा श्रम गराएर यसले मेरा पुर्खाहरूको श्रमको शोषण पनि गरेको गर्‍यै छ । सहरसँग पुँजीको अहंकार छ । यसो सोचिल्याउँदा अन्तर्यमा बिग ब्रदरको सोच सधैं क्यापिटलिस्ट पाउँछु । दुर्भाग्य, मानिसहरू यससँग समाजवादी सोचको अपेक्षा गर्दछन् । खासमा यो सहरको चिम्नीबाट जुन धूवाँ निस्कन्छ, त्यो म र मजस्ता हजारौं मजदुरका सपनालाई खरानी पारेर निस्किएको हो ।

जब यो सहरले सारा वैभवको दम्भमा मलाई सधैं हेपेको महसुस गर्छु, म आफैंले पत्याउन मुस्किल हुनेगरी ज्याद्रो बन्छु । जब सपनामा सहर प्रकट हुन्छ, म उसलाई मेटाफिजिकल कवि जोन डनको कविता ‘डेथ बी नट् प्राउड’ सुनाउँछु–

जसलाई सम्झिन्छस् तैले मेटिदिएको छु जरैदेखि
वास्तवमा ऊ मर्दैन न मार्न सक्छस् अहिले मलाई तैंले ।
एक निद्रा पछि सधैंका लागि म जाग्छु
र तँ मरेर जान्छस् ए मृत्यु †

कविता सुनेपछि सहर मलाई झन् खेद्न थाल्छ बन्चरो बोकेर । म जोन डनको पद्यबाट ओर्लिएर निजी गद्यको सडकमा आउँछु र चिच्चाउँछु, ‘म भकुन्डो हुँ । जब तँ सम्पूर्ण बल लगाएर हिर्काउनेछस् मलाई, बन्चरो उछिट्टिएर तेरो कन्पारो फुट्नेछ, घुँडा फुक्लिनेछ, खुट्टा चुँडिनेछ ।’

मेरो गद्य धम्की सुनेर सहर अट्टहास गर्छ । म झल्यास्स ब्युँझन्छु ।

कहिलेकाहीँ यो सहर मलाई बडो आत्मीय भएर फोनमा सोध्छ, ‘कहाँ छस् ?’

म भन्छु, ‘घरमै छु ।’

तर यो सहर मानिसले नपत्याउने तरिकाले ससाना कुराहरूको पनि रेकर्ड राख्छ । जस्तै : म जहाँ बस्छु घर सम्झिने गल्ती गर्छु, तर सहरलाई कण्ठ छ– नगरपालिकाको कार्यालयमा मेरो घरको नक्सा पुगिसकेको छैन । घर भए पो पुग्दो हो त्यहाँ ।
मेरो जवाफ सहरलाई फिटिक्कै मन पर्दैन । भन्छ, ‘के को घर नि ? डेरा भन् न डेरा ।’

म चोटिल हुन्छु । हेत्, यो सहर मलाई मेरो घरै छैनजस्तो व्यवहार गर्छ । कतै घर नहुनेहरूलाई अझ कति हेप्दो हो यो ? मानौ सहरलाई लाग्दो हो, सहरमा घर नहुनु मानिसको जीवनको ठूलो असफलता हो, जसले मानिसका सारा सफलतालाई धुलिसात पारिदिएको छ ।

सहरसँग यस्तो रेकर्ड पनि त छ कि यो सहरमा लाखौं डेरावासी छन् । उनीहरूको मनमा ओरिगाँठेका खुट्टाजस्ता असंख्य गिजिङमिजङ सपनाहरू छन् । सपनाका सहस्र खुट्टाहरू समाएर उनीहरू जीवनको आकाशमा घोडा कुदाउँदै उडिरहन्छन् । के मानिसको अन्तिम सपना घर हो ?

मर्ने बेलामा फुटिकौडी नभएका केही चिन्तक, लेखक, संगीतकार, वैज्ञानिक वा चित्रकारहरूको याद आउँछ । क–कस्को नाम उल्लेख गरूँ ? बिल गेट्स भन्छ, ‘गरिब भएर जन्मिनु तिम्रो कमजोरी होइन, गरिब भएर मर्नु तिम्रो कमजोरी हो ।’ माइक्रोसफ्टका हरेक गेस्टसँग बिल उठाएर धनी भएको बिल गेट्सले पैसाको कारण गरिब धनीको कुरा गरेको हो भने उसको भनाइ आंशिक मात्र सत्य हो । आध्यात्मिक चिन्तनले सोच्दा मानसिक रूपमा धनी भएर पनि पैसाको कारण गरिबी भोगेका र गरिबीमै मर्न विवश असंख्य मानिसको आत्मा अझै भड्िकन्छ यो दुनियामा । बिल गेट्सले पढेको होला, जीवनकालमा टक्काले नपत्याएका यस्ता हजारौं जिनियस छन् जो मृत्युपछि महान् मानिएका छन्, अमूल्य सिर्जना र विचारका कारण । एथेन्सका युवाहरूलाई दर्शन सिकाउने तर सिकाएबापत पैसा लिन इन्कार गर्ने सुकरात कौडीविहीन भएर मरे । चिन्ता र मानसिक रोगको कारण छातीमा गोली ठोकेर मर्ने डच पेन्टर भ्यान गगको जीवनमा जम्मा एउटा चित्र बिक्यो, त्यो पनि भाइ थियोले लगानी गरिदिएर । उनका चित्रहरू अहिले मिलियन डलरमा बिक्री हुन्छन् । पैसा मूल्यवान कि विचार ? पैसा मूल्यवान कि सिर्जनशीलता ? यो सीआईडी सहरलाई यस्तो गम्भीर विमर्शमा फस्नु छैन ।

अमेरिकन संगीतका पिता स्टेफेन फोस्टर मर्दा उनको खल्तीमा सीमित पेनी मात्र थियो । रेगीं संगीतका पिता मानिने जो हिग्स, जो बब मार्ले, पिटर टोस, डेनिस ब्राउनका समेत संगीत गुरु थिए, उनी १९९९ मा मर्दा कौडीविहीन थिए । मध्यम वर्गीय मानिसका घरेलु विषयवस्तुलाई कलामा पोत्ने डट पेन्टर जोहान्स भर्मिर होउन् वा आनुवंशिकताको महत्त्वपूर्ण सिद्धान्तका व्याख्याता ग्रेगर मेन्डल, लेखक फ्रान्ज काफ्का होउन् वा स्वनिर्वासनमा अठार सय कविता लेखेर मर्ने बेला बहिनीलाई ती सबै जलाइदिन अनुरोध गर्ने कवि एमिली डिकेन्सन, उनीहरूको जीवनकाल घोर अभावमा बित्यो । काफ्काले पनि त मर्नुअघि आफ्ना मित्र म्याक्स ब्रोडलाई सबै अप्रकाशित पाण्डुलिपि नष्ट गरिदिन भनेका थिए । उनको दुर्भाग्य कि तिनै कृतिको प्रकाशनपछि उनी विख्यात बने । सोचिल्याउँदा म्याक्स ब्रोड दुनियाँको एक प्यारो धोकेबाज न हो ।

अमिलो अंगुरको कथा लाग्ला, मलाई घर र पैसा भएको तर गतिलो सपना नभएको मानिसभन्दा असल र सिर्जनशील सपना भएको तर पैसाले बुङ्गो मानिस बढ्ता मन पर्छ । घर नबनाई डेरामा, अपार्टमेन्टमा वा सरकारी आवासमा जीवन बिताएका केही महान् चिन्तक र सर्जकहरूको जीवनकथा पढेको छु मैले । जसरी यो सहर मलाई पछ्याउँछ, ठीक त्यसरी नै म उनीहरूको आदर्शलाई पछ्याउने यत्न गर्ने मानिस हुँ । सहरलाई थाहा छ, मसँग कमसेकम सयवटा सपनाका घरहरू छन् । म बुझ्दछु, मेरो घर नभएको भन्दा पनि मसँग सपनाहरू भएकोमा तर्सिन्छ यो सहर ।

जब कुनै सहर तपाईंको अस्तित्वसँग एकपटक झस्किन्छ, सहरको चरित्रमा डबल स्टान्डर देखापर्छ । जस्तै– जब तपाईं कतै भूमिगत बसेर केही दिनपछि सहरसँग भेटिनु भो भने चेपारे पारेर तपाईंको चरम रिक्तता महसुस भएको कुरा गर्छ । तर तपाईं सहर छोडेर सदाका लागि बाहिर कतै जाँदै हुनुहुन्छ भने उसलाई चयनको गहिरो निद्रा लाग्छ । ऊ हितैसीसँग खुसी बाँड््छ, ‘आज म बेहद खुसी छु । पार्टी गरौं ।’

साला यो सहरको डबल स्टान्डर छ । छोराको बिहे रोजीरोजी गाउँकी केटीसँग गराउँछ । किनकि गाउँकी केटीले घर गरेर खान जान्दछे । खुब दु:ख गर्दछे । सहन्छे । तर आफ्नी छोरीको बिहे गाउँसँग मरिगए गर्दैन । किनकि उसकी छोरीलाई गाउँमा बाँच्न सकस हुन्छ ।

यो सहरको डबल स्टान्डर छ, गाउँको परिश्रमको ओठे प्रशंसा गर्छ तर अन्न र तरकारीको भाउ कसीकसी किन्छ । वास्तवमा यसलाई गाउँको पसिना गनाउँछ ।

यो सहरको डबल स्टान्डर छ, ‘अल एनिमल्स आर इक्वल’ भन्ने पर्चा बाँडेर क्रान्तिको चर्को गफ गर्छ, तर आफू सत्तामा पुगेपछि ‘बट सम एनिमल्स आर मोर इक्वल देन अदर्स’ थप्छ ।

हेर्छु, राज्यका सबै सुखसुविधा हसुरेर सहर डकारिरहेछ । चिप्लो चिल्लो बाटो यसैलाई, मीठो खानेकुरा यसैलाई, ठूल्ठूला पद प्रतिष्ठा यसैलाई, दलहरूको ठूलो कुर्ची यसैलाई, शिक्षा स्वास्थ्य यसैलाई, उद्योग यसैलाई र विदेश भ्रमण यसैलाई ।

दुर्भाग्य, रेस्टुरेन्टमा बसेर गाउँको दु:खको गफ यही दिन्छ, मलाई बान्ता होलाजस्तो हुन्छ । ठूल्ठूला परिवर्तनका गफहरू यही दिन्छ, मलाई रिंगटा लाग्छ । आफूलाई अग्रगमनको ठेकेदार र गाउँलाई सधैं पश्चगमनकारी देख्छ, मलाई यसको चलिरहेको कुरूप थुतुनो देखेर घिन लाग्छ । यस्तोबेला एनिमल फर्मको सुंगुर नेपोलियनलाई म खुब मिस गर्छु ।

सहरमा हुँदा पनि म गाउँबाट टाढा हुन्न । मनमा गाउँ नै गाउँ हुन्छ । गाउँमा आमा हुनुहुन्छ । आफन्त छन् । कुनै विशिष्ट मनोदसामा मैले कुनै दिन आफूलाई हिँड्ने रूखजस्तो पाएको थिएँ, जसले मूलजरा गाउँमा नै विकसित गरेको छ र हाँगा र पातहरू लिएर जो सहरमा बाँचिरहेको छ । तर जब गाउँ जान्छु, गाउँले सीधा बोल्छ, ‘तँ सहरिया †’

जब गाउँले मलाई गाउँको मान्न कन्जुस्याइँ गर्छ, म टुट्छु । मनमा घाउ बोकेर सहरमा आउँछु । सहरमा जे जस्तो भए पनि मेरो ससानो दुनियाँ छ । पत्नी, छोरा र साथीहरू छन् । तर सहरले मलाई सहरको मान्दैन । हेत् † न मलाई गाउँले आफ्नो मान्छ, न सहरले । मेरो जीवनको महानतम् त्रासदी यही हो । म संसारका अर्बौं मानिसझैं खास पहिचानको चक्रब्यूहमा फसेको छु । जताततैको लागि आउटसाइडर भएको छु ।

बिग ब्रदरसँग भिड्दाभिड्दा अब बुझेको छु जीवनमा केही कुराहरू इग्नोर गर्नु नै उपयुक्त हुँदो रहेछ । यस्तो नहोस् कि सम्झनुपर्ने कुराहरू सबै बिर्सिएर बिर्सनुपर्ने कुरा मात्र हामीसँग बाँकी रहून् ।

यस्तो नसोचियोस् कि म यस सहरप्रति कृतघ्न छु । मेरो जीवनको प्रतिगामी नियम यही हो कि मैले यसलाई अब्सुलुट्ली खतम सोच्न सक्दिनँ । जसरी नवधनाढ्य सहरियाहरूले गाउँलाई घृणा गर्दछन्, त्यसरी सहरलाई घृणा गर्न सक्दिनँ । मलाई गाउँले सकेसम्म माया बाँड्न सिकाएको छ । म यो सहरलाई पनि माया गर्छु ।

म यो सहरका आगो बलेको आँखा र घडामा पानी राखेर पर्खिरहेको आँखाको बीचमा छु । तर न म यसको शत्रु हुँ न यही सहरको लागि मरिहत्ते गर्ने असली प्रेमी । जीवनमा कुनै ठूलो गडबडी भएन भने मेरो असली चिहान कालीगण्डकीको बगरमा बन्नेछ । यता यो सहर मेरो चिहान यतै हुन्छ कि भनेर अनावश्यक चिन्ताले मरिचझैं चाउरिँदै गएको छ । उसको अज्ञानताप्रति दु:खी छु ।

मेरो र सहरको अन्तरसंघर्ष जारी छ । न म हारेको छु, न सहरले म माथि मनोवैज्ञानिक युद्ध लड्न छाडेको छ ।

काठमाडौं

प्रकाशित: माघ ९, २०७२

(स्रोत : कान्तिपुर – कोसेली)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.