कविता : यो भूगोल मिल्दैन, यो इतिहास मिल्दैन

~केशव भट्टराई~Keshab Bhattarai

अचेल छोरा मसँग झर्किएर भन्छ :-
“ड्याडी ! यो भूगोल त मिल्दै मिल्दैन ।
ड्याडी ! यो इतिहास त मिल्दै मिल्दैन ।
यो भूगोल मिलाउनु पर्‍यो ।
यो इतिहास सच्याउनु पर्‍यो ।”

उसलाई लागेको छ, भूगोलले हामीलाई धोका दिएको छ ।
उसलाई लागेको छ इतिहासले हामीलाई झुक्याएको छ ।
त्यसैले ऊ भन्छ :-
“ड्याडी ! यो भूगोल त मिल्दै मिल्दैन ।
ड्याडी ! यो इतिहास त मिल्दै मिल्दैन ।
यो भूगोललाई मिलाउनु पर्‍यो ।
यो इतिहासलाई सच्याउनु पर्‍यो ।”

अकमक्क पर्दै म भूगोल नियाल्ने गर्छु,
अचम्भ पर्दै म इतिहास पल्टाउने गर्छु,
मैले हेरेको भूगोल त दुरुस्तै छ ।
मैले पढेको इतिहास त उस्तै नै छ ।

छोरा झन् झन् च्याँठिन लागेको छ आजकल ।
छोरा झन् झन् बाङ्गनि थालेको छ आजकल ।
अझ बड्बडाउँदै ऊ भन्ने गर्छ :-
“कसले बनायो यो बेकम्मा भूगोल ?
कसले लेखायो यो निकम्मा इतिहास ?
यस्तो भूगोल पनि बनाउने हो ?
यस्तो इतिहास पनि लेखाउने हो ?
यो भूगोल बनाउने कुनै पाखण्डी हुनुपर्छ ।
यो इतिहास बनाउने कुनै सन्की हुनुपर्छ ।”

ऊ फेरि भन्ने गर्छ :-
“यो राष्ट्र बनाउने मान्छे बुद्धिहीन हुनुपर्छ ।
त्यो सीमा कोर्ने मान्छेको सुद्धिहीन हुनुपर्छ ।
उसले त जानी जानी हाम्रो अधिकारमा आक्रमण गरेको छ ।
उसले त जानी जानी हाम्रो भावनामा चोट पुर्‍याएको छ ।
उसले हाम्रो राष्ट्र नरचिदिएको भए,
उसले यस्तो सीमा नकोरिदिए भए,
म कति खुशी हुन्थेँ ! म कति सुखी हुन्थेँ !
मेरो चिनारी यति सीमित हुने थिएन ।
मेरो राष्ट्रियता यति सँकुचित हुने थिएन ।
त्यसैले,
जसले यो देशको भूगोल बनायो, त्यसलाई सजायँ दिनुपर्छ ।
जसले यो देशको इतिहास बनायो, त्यसलाई सजायँ दिनुपर्छ ।
देश जसले बनायो, त्यसकै अस्तित्व मेटिदिनु पर्छ ।
जर्ज अर्विलको कल्पना जस्तै
कुनै संयन्त्र बनाई पुराना सबै मेट्नु पर्छ ।
इतिहास मेट्नुपर्छ, भूगोल मेट्नुपर्छ ।
तस्वीर मेट्नु पर्छ ।
तालिबानी शैलीमा अभिलेख फोड्नु पर्छ ।
इतिहास लेखिएका शीलालेख टोड्नु पर्छ ।”

अलि सम्हालिएर ऊ भन्दै जान्छ :-
“यो साँध नलाएको भए आज कति सजिलो हुन्थ्यो !
जता गए पनि आफ्नो मात्र हुन्थ्यो ।
मुग्लान पनि आफ्नो हुन्थ्यो, अरब पनि आफ्नो हुन्थ्यो ।
देश पनि आफ्नै हुन्थ्यो, विदेश पनि आफ्नै हुन्थ्यो ।
हेर्नुस् त ड्याडी ! मलाई कति अप्ठ्यारो पर्‍या’ छ ?
सीमाको समस्याले घरमै खुम्चेर बस्नु पर्‍या’ छ ।”

म आफू चकित छु, म विस्मित छु ।
म आफै प्रश्न गर्छु, आफै घोरिन्छु ।
यस्तो कुबुद्धि छोरामा कसरी पलायो –
यो वितृष्णा छोरामा केले जगायो ?
छोराको लालनपालनमा कुनै त्रुटि त भएन ?
छोराको शिक्षादीक्षामा कतै कन्जुस्याँइ त भएन ?

तथापि म शालीन भएर सम्झाउँछु :-
“हेर बाबु ! यस्तो उपद्रहृया कुरा नगर ।
यस्तो अलच्छिनी कुरा सोंच्ने नगर ।
यो सुखमय बास जलाउने प्रयास नगर ।
हामीले गर्न नसक्ने कुरा हाम्रा पुर्खाले गरेका छन् ।”
त्यसैले,
देश बनाउनेहरुको सम्मान गर ।
देश निर्माताहरुको सम्मान गर ।
अनि इतिहासको सम्मान गर ।”

तर फेरि पनि छोरो जङ्गनि छोडेको छैन ।
फेरि पनि ऊ एकोहोरो बड्बडाइरहेछ :-
“ड्याडी ! यो इतिहास त मिल्दै मिल्दैन ।
ड्याडी ! यो भूगोल त मिल्दै मिल्दैन ।
ड्याडी ! यो भूगाले मिलाउनु पर्‍यो ।
ड्याडी ! यो इतिहास सच्याउनु पर्‍यो ।”

-हङकङ

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.