~डा. विश्वम्भर प्याकुरेल~
कोठामा छिरेर घुप्लुक्क पल्टेको मात्र थिएँ, कसैले ढोका ढक्ढकायो । उघारेर हेर्छु त अगाडि उही छ, नारायण गोपाल ।
‘ए बाजे, वर्ल्डकपको दिन मलाई अस्पताल छोडेर आउने ?’
ऊ मलाई ‘बाजे’ भनेर जिस्क्याउँथ्यो। म ‘नागो’ भनेर चिढ्याउँथेँ ।
ऊ मेरो जवाफै नकुरी सरासर टिभी खोल्न गयो ।
‘का वे ढुंकलः (ल आइसकेछ) ।’
एकछिन अघिमात्र वीर अस्पताल भर्ना गरेर आएको किड्नीको बिरामी। त्यतिखेर म त्रिभुवन विश्वविद्यालयको प्रोफेसर क्वार्टरमा बस्थेँ, कीर्तिपुरको ल्याबोरेटरी स्कुलसँगै । मलाई गाडीमा कोठा आइपुग्न आधा घन्टा पनि लागेन । त्यतिञ्जेलमा ऊ मेरै कोठामा मलाई सोध्दै नसोधी टिभी खोलेर फुटबल हेर्दैछ। सबभन्दा रिस उठ्ने कुरा त, जे सोधे पनि एउटै जवाफ दिन्छ, ‘वर्ल्डकपको दिन पनि कोही अस्पताल बस्छ । त्यहाँ त टिभी पनि छैन ।’
उसको यो मूर्खतमा हाँसुँ कि गाली गरुँ- म ठम्याउन सकिरहेको थिइनँ । ‘भाउज्यूलाई खबर गरेको छस् हैन?’ ऊ केही बोलेन । मैले पेमला भाउज्यूलाई खबर पठाइदेँ । त्यसपछि ऊ बोल्यो, ‘डायलसिस सायलसिस गराउँदिनँ म ।’
त्यतिखेर उसलाई भर्खरै किड्नीको समस्या सुरु भएको थियो । डा. पुष्कर सत्यालले ‘डायलसिस गराउनुपर्छ’ भनिरहेका थिए । ऊ यही निहुँमा घरिघरि मकहाँ आएर फत्फताउँथ्यो । त्यस दिन पनि डायलसिसको कुरा उठेपछि झोँक्किएर आएको रहेछ ।
हामीले त्यो रातभर फुटबल हेर्यौं । ऊ छिनछिनमा फत्फताइरह्यो ।
*************
नारायण र मेरो चिनजान भएको २०२४/२५ सालतिर हो । त्यतिखेर म रेडियो नेपालमा गीतिकथा लेख्थेँ । दिनहुँ आउनेजाने हुन्थ्यो। नारायण पनि गीत रेकर्डिङ गर्न आइरहन्छ भन्ने सुनेको थिएँ । एक झलक देख्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो, तर साइत परेको थिएन ।
रत्नशमशेर थापाको शब्दमा तारादेवी र उसले गाएको ‘ए कान्छा ठट्टैमा यो वैंश जान लाग्यो’ गीत म स्कुलछँदै चलेको थियो । त्यो सुन्दा हामी ठिटाहरू आफूलाई त्यही ‘कान्छा’ का रूपमा कल्पना गर्थ्यौं । एकदिन त म देख्छु, हाम्रो ‘कान्छा’ रेडियो नेपालको क्यान्टिनबाहिर विश्वबल्लभ, मधुकर बस्नेत, भैरवनाथ जोशीहरूसँग जोक गर्दै हाँसिरहेको ।
पहलमानजस्तो मोटोघाटो । हातऔंला पनि बाक्लाबाक्ला । कुलकुले कपाल । तेल नहालेको, तर लपक्क मिलेको । माथिल्लो लहरको अगाडिको दाँत अलिकति उठेको । एकदमै पातलो जुंगा । मोटो कालो फ्रेमको पावरदार चस्माभित्र तेजिला वजनदार आँखा । घरमा रेडियो आएदेखि सपनामा छिरेको ‘कान्छा’ मेरो सामुन्ने थियो ।
त्यतिखेर म ट्र्याम्प मोटरसाइकल चढ्थेँ – दुई सय सिसीको । त्यसको भुटुटुटु आवाज सुनेपछि सबै फर्कीफर्की हेर्थे । त्यही मोटरसाइकलले उसको ध्यान चोरेको हो कि जस्तो लाग्छ । म पुग्नेबित्तिकै उसले भन्यो, ‘तपाईंको मोटरसाइकल त गज्जब छ नि ।’ म फिस्स हाँसे ।
त्यो छोटो भेटमै मित्रताको बाँध खुलेको थियो हाम्रो । विश्वबल्लभ, भैरवनाथ, मधुकर, नारायण र म त्यसपछि त दिनहुँजसो जम्न थाल्यौं । हामी रेडियोमा भेला हुन्थ्यौं । पाइला स्वतः काल्चाको रेस्टुरेन्टतिर लम्कन्थे । न्यूरोड गेटबाट अलिकति भित्र – मासुचिउरा निकै प्रसिद्ध त्यहाँको । अरू पनि थुप्रै अड्डा थिए । जनबहालनिरको मासम गल्ली । असनमा गोपाल दाइको भट्टी पसल ।
डिल्लीबजारको चटामरी । रातो रक्सी । मंगलबजारको छो्यला। कहाँ-कहाँ पुगिएन? हामी खान्थ्यौं। पिउँथ्यौं । टेबल ठटाएर गाउँथ्यौं । अनि थाकेर बटारिँदै घर फर्कन्थ्यौं ।
तिनताक ऊ ठमेलको नरसिं क्याम्पमा भाडाको घरमा बस्थ्यो । म उही दुई सय सिसीको ट्र्याम्प बाइक भुटुटुटु गर्दै उसलाई बेलुकी घर पुर्याउन जान्थेँ । ऊ अगाडि तन्कीतन्की भन्थ्यो, ‘तपाईंको यो मोटरसाइकल गज्जब छ ।’
‘तपाईं-तपाईं’ को सम्बन्ध लामै चल्यो । म उसलाई ‘नारायणजी’ भन्थेँ । ऊ मलाई ‘विश्वम्भरजी’ भनेर डाक्थ्यो ।
यहीबीचमा म अमेरिका पढ्न गएँ, चार वर्षका लागि । फर्केपछि अनायासै हाम्रो गाँठो कस्सियो । किन हो, कसरी हो जान्दिनँ । म उसलाई भेट्न जाउँ भन्दै थिएँ । एकदिन अचानक राष्ट्रिय नाचघरअगाडिको घुम्तीमा हामी ठोक्कियौं ।
म त्रिभुवन विश्वविद्यालयको प्रोफेसर क्वार्टरमा बस्न थालेको थिएँ । उसले महाराजगञ्जमा घर बनाएछ । कीर्तिपुरको शान्त माहोलले
उसलाई तानेको हो कि भन्ने लाग्छ । ऊ शनिबार नबिराइकन मकहाँ आउँथ्यो । कोठामा मन नरमाए हामी चोभार उक्लन्थ्यौं । पुराना अड्डा पनि खुबै चाहार्यौं । खानेपिउने कुरामा हामी मनकारी थियौं ।
खानेपिउने उसकै घरमा पनि चल्थ्यो । पेमला भाउज्यू जिन र टनिक मिलाएर पिलाउनुहुन्थ्यो । ऊ भाउज्यूलाई ‘सोम’ भन्थ्यो – ‘मेरो सोमजस्तो बार टेन्डर संसारमै कोही छैन ।’
ऊ मुड चले हारमोनियम बजाएर सुरु हुन्थ्यो । इतिहासको सोखिन । नेसनल ज्योग्राफी पत्रिका खुबै मन पराउने । ग्राहक बनेको थियो । हामी संगीतमा हराउँथ्यौं, इतिहास र भूगोलका बेतुकका कुरामा हाँस्थ्यौं ।
मित्रताको बाढी उर्लिसकेको थियो । थाहै भएन, कतिखेर म उसको ‘बाजे’ र ऊ मेरो ‘नागो’ भइसकेछ ।
***********
सांस्कृतिक संस्थानको महाप्रबन्धकबाट ‘रिटायर्ड’ भएपछि ऊ अलि ‘फ्रस्टेटेड’ थियो ।
ऊ कुनै पनि घटनामा उत्साहित हुने वा निरासाले च्याप्पिने खालको मान्छे होइन । तर, सांस्कृतिक संस्थानसँग उसको जीवनकै ठूलो सपना गाँसिएको थियो।
‘म यसलाई क्षेत्रीय स्तरमा लैजान्छु। नयाँ कलाकार खोज्छु, प्रतिभा तिखार्छु,’ उसले यस्तैयस्तै सपना बुनेको थियो । तर, एउटा कार्यकाल पर्याप्त भएन । सरकारले अवधि थप्न चाहेन । ऊ निराश हुँदै भन्थ्यो, ‘आखिर मेरो पनि के उपादेयता रैछ र?’
उसलाई यो निराशाबाट बाहिर ल्याउन मैले सोधेँ, ‘त्रिभुवन विश्वविद्यालयमा संगीत, कला, साहित्यको प्राध्यापन गरिन्छ । तिमी चाहन्छौ भने म सह-प्राध्यापक नियुक्त गर्न प्रस्ताव गर्छु ।’
त्यसबेला महेशकुमार उपाध्याय विश्वविद्यालयका उपकुलपति हुनुहुन्थ्यो । उहाँले तुरुन्त मेरो प्रस्ताव कार्यकारी परिषद्मा लैजानुभयो ।
झन्डै दुई वर्ष सह-प्राध्यापक रह्यो ऊ ।
२०४५ सालतिरको कुरा । मरिचमान सिंह प्रधानमन्त्री थिए । भारतसँगको सम्बन्ध चिसिएको थियो । तत्कालीन सरकारले राष्ट्रियता झल्किने गीत गाउन भनेर एकेडेमी, रेडियो नेपाल र सांस्कृतिक संस्थानका कलाकारको टोलीलाई सीमावर्ति क्षेत्र खटायो । नारायणलाई पनि डाकिएको थियो । ऊ मानेन ।
‘म त सह-प्राध्यापक,’ उसले जवाफ दियो, ‘सांस्कृतिक संस्थानमा पनि छैन, एकेडेमीमा पनि छैन । सरकारले भनेको ठाउँमा गाउँदिनँ । कुनै ठाउँमा गाउन मन लागे आफैं आउँला ।’
त्यतिखेरै विश्वविद्यालयले नारायण, म र परीक्षा नियन्त्रक नरेन्द्रबहादुर महर्जनलाई देशका विभिन्न ठाउँ घुमेर लोकगीत संकलन गर्न पठायो । उसले सरकारी टोलीमा बस्न नमानेपछि कसैले सोचविचार गरेरै यो कार्यक्रम बनाएजस्तो लाग्छ । हामी जहाँजहाँ जान्थ्यौं, टोली त्यहीँ पुग्थ्यो । तर, नारायणले सबैमा गाएन ।
हामी बर्दियाको गुलरिया पुगेका थियौं । टोली त्यहीँ रहेछ । नातिकाजी, शिवशंकर, प्रेमध्वज, प्रकाश श्रेष्ठ, दिप श्रेष्ठ, अम्बर गुरुङ, तारा देवी सबै थिए ।
गुलरिया, मेरो जन्मथलो । जहाँ नारायणको गीत सुनेर म ‘फ्यान’ भएको थिएँ । म उसको त्यही गीत सुन्न चाहन्थेँ, जसले मलाई आफूभित्रको रोमान्टिक ‘कान्छा’को झझल्को दिलाउँथ्यो ।
‘गुलरिया त म जन्मेको ठाउँ,’ मैले भनेँे, ‘तिम्रो र मेरो यति राम्रो दोस्ती छ। तिमीले गीत गाउनुपर्यो ।’
ए कान्छा ठट्टैमा यो वैंश जान लाग्यो
मेरो फरमाइस सुनेर ऊ अन्कनायो । त्यो तारादेवी र नारायणको युगल गीत थियो । त्यतिखेर दुवैको बोलचाल थिएन, झन्डै पाँच/सात वर्षदेखि । मलाई नारायणले सुनाएको थियो- एउटा फिल्मको गीत गाउँदा उनीहरूले बीचमा पर्दा राखेर एकअर्काको मुखै नहेरी गाएका थिए रे ।
यी दुईलाई मिलाउने मेरो ‘आइडिया’ सबैले मन पराए । हामीले सल्लाह गर्यौं – नारायणलाई म फकाउने, तारादेवीलाई अरूले ।
प्रयास सफल भयो ।
**********
नारायण र म नेपालगञ्जको ‘आनन्दलोक’ होटलमा बसेका थियौं – माथिल्लो तल्लामा । सरकारी टोली त्यहीँ आइपुगेको छ भन्ने हामीलाई थाहा थियो । हामी कोठाको बार्दलीमा थियौं । तल सडकबाट नातिकाजीहरूले देखेछन् ।
‘ए सानुभाइ हारमोनियम ढुलाः (छ)?’ नातिकाजी नारायणलाई माया गरेर सानुभाइ भन्नुहुन्थ्यो ।
‘युनिभर्सिटीको काममा आको मान्छेसँग हारमोनियम हुन्छ?’ नारायणले माथिबाटै जवाफ फर्कायो ।
‘पठाइदिउँ ।’
‘सक्छौ भने पठाइदेऊ ।’
नभन्दै बेलुकी एउटा हारमोनियम आइपुग्यो। त्यसपछि त नारायण बिहानै-बेलुकै त्यसमा टाँस्सिरहने । ऊ एउटा नयाँ धुनमा खटिरहेको थियो । मलाई थाहा थिएन कसको गीत बनाउँदैछ ।
उसले एकाएक मलाई आधारातमा गहिरो निद्राबाट ब्युँझायो । ‘ए बाजे, उठ् त, एउटा गीत सुनाउँछु ।’
‘किन बेकारको कचकच गर्छस् नेगो,’ मैले उसलाई गुट्मुट्याउन खोजेँ, ‘आधा रातमा कोही गीत सुन्छ।’ ऊ के मान्थ्यो । हारमोनियम बजाएर गाउन थालिहाल्यो ।
‘माया लाउनेको चोखो माया पनि देखियो’ त्यो गीत कालीप्रसाद रिजालले लेखेर दिएको रहेछ ।
‘कालीलाई म सरप्राइज दिन्छु,’ नारायणले भन्यो, ‘उसले त गजल भनेको थियो । मैले लोकधुन, गजल र क्लासिकल मिक्स गरेर कम्पोज गरेको छु । कस्तो छ?’
‘ठिकै छ,’ निद्रा बिथोलेको झोँकमा मैले आँखा मिच्दै भनेँ । उसले पनि कुरा बुझ्यो । ‘ल ल सुत् ।’
बाँकी रात मेरा कानमा त्यही गीत गुन्जिरह्यो ।
************
‘हिजोको गीत वार्षिकोत्सवमा गाउँदा के हुन्छ?’ बिहान उठ्नेबित्तिकै मैले सोधेँ । त्यतिखेर त्रिभुवन विश्वविद्यालयको वार्षिकोत्सवमा नारायणको एकल गायन तय भइसकेको थियो । त्यो उसैको प्रस्ताव थियो ।
‘रिटायर्ड लाइफ’मा सह-प्राध्यापकको पद दिएर सम्मान गरेको गुण तिर्न चाहन्थ्यो । त्यसको संयोजक मै थिएँ ।
‘अनि हिजोचाहिँ के को नाटक नि बाजे?’ उसले मलाई अँठ्यायो ।
म हाँसेर फुत्केँ ।
वार्षिकोत्सवको दिन नारायणलाई ज्वरो आएको थियो । खोकी पनि चलिरहेको थियो । तर, उसले बाचा पूरा गरेरै छोड्यो । मेरो बोली पनि राख्यो । रोगले भित्रभित्रै गलिसकेको नारायणले कालीप्रसाद रिजालको त्यो गीत पछि स्टुडियोमा रेकर्डसम्म गर्न भ्याएन ।
त्रिभुवन विश्वविद्यालयको इतिहासमा त्योजत्तिको ‘कलरफुल’ वार्षिकोत्सव कहिल्यै भएको छैन ।
************
‘रानी (ऐश्वर्य) को गीत गाउनुपर्यो भन्ने कुरा आएको छ,’ उसले एकदिन मलाई सुनायो । सरकार र दरबारको काम भनेपछि उसको मन मर्थ्यो । एकचोटि दरबारमा ‘दर्शनभेट’ को लागि डाकिएको रहेछ । ऊ गएछ पनि । तर, घन्टौं कोही नझुल्किएपछि रन्थनिएर निस्केछ । दरबारमार्गको अलि वर आइपुगेपछि सिपाहीहरू दौडँदै लिन आएछन् । ऊ भने अरठ्ठिएर ‘मेरो पेट खराब भयो, यस्तरी सरकारसँग के भेट्नु’ भनेर फर्किएछ ।
‘गाइदेन त,’ मैले भनेँ ।
‘रानीको नाममा अरूले फाइदा उठाउन खोजेका हुन् कि?’ उसको शंका थियो ।
यसबारे छलफल गर्न संगीतकार दिपक जंगमले दरबारमार्गको अम्बर रेष्टुरेन्टमा डाकेको रहेछ । म पनि सँगै गएँ । दिपकले ‘नारायण गोपाललाई गीत गाउन लाउने रानीको एकदम इच्छा छ’ भन्ने सन्देश सुनायो ।
म त्यसबेला परिवार नियोजन संघमा महासचिव थिएँ । रानीकी सहोदर बहिनी प्रेक्षा शाह संघकी अध्यक्ष ।
‘धन्दा नमान, साँच्चै हो कि होइन म पत्ता लगाइदिन्छु,’ मैले कानमा खुसुक्क भनेँ ।
त्यहाँबाट फर्केर प्रेक्षासँग ‘रानीको इच्छा हो कि होइन’ सोधेँ । उनलाई पनि थाहा रहेनछ । ‘सोधेर भन्छु’ भनिन् । पछि उनको फोन आयो । हो रहेछ ।
‘एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा’
नारायणलाई बोल्दा ‘ट’ र ‘त’ को समस्या परे पनि गीतमा कहिल्यै त्यो सुनिँदैन । तर, रानीको गीत रेकर्ड गर्दा के भएर हो ऊ ‘एउटा’लाई ‘एउता’ भनिरहेको थियो। स्टुडियोमा कोही उसलाई सच्याउन आँट गरिरहेका थिएनन् । मैले हत्तपत्त रेकर्डिङ रोकेर भनेँ, ‘नारायण के हो यो? एउता-एउता भइरहेको छ ।’ उसले स्टुडियोभित्रै दुई खिली चुरोट बुङबुङ उडायो अनि फेरि रेकर्ड गरायो ।
दिपकले यो गीत दुईवटा ट्युनमा रेकर्ड गरे । नारायण, पेमला र मैले अहिले बज्ने ट्युन छान्यौं । रानीले त अर्को भन्दै थिइन् रे । तर, नारायणले अड्डी कस्यो ।
**********
एकदिन सिनेमाका नायक शिव श्रेष्ठ र नारायण गोपाल आधा घन्टाको फरकमा मेरो क्वार्टरमा आइपुगे । मैले भर्खर डेक ल्याएको थिएँ ।
नारायणले ‘न्युरोड गएर ३/४ वटा अंग्रेजी फिल्मको क्यासेट ल्याउँ’ भनेर प्रस्ताव राख्यो । त्यसबेला उसलाई खुबै अंग्रेजी फिल्म हेर्नुपर्ने ।
‘माछा पकाएर ख्वाउँछस् भने जाउँला,’ मैले भनेँ । ऊ एकदम राम्रो ‘कुक’ थियो । उसलाई सोधेर पकाउँदा-पकाउँदा मकहाँ काम गर्ने केटाधरी मिठो पकाउने भइसकेको थियो ।
उसले सुरुमा त जीउ बटार्यो । पछि मान्यो ।
नारायण, शिव र म न्युरोड गयौं । बाटोमा जो पनि शिवसँग बोल्न खोज्ने । हात मिलाउन खोज्ने । मैले नारायणलाई कोट्याएर भनेँ, ‘तँलाई चिन्ने त हाम्रो पुस्तामात्र हो कि क्या हो ।’
‘हो दाइ केही त गर्नैपर्यो,’ शिवले थप्यो ।
‘के गर्ने?’ नारायण उत्सुक देखिन्थ्यो ।
‘एउटा कार्यक्रम गरौं ।’
ऊ राजी भयो । मैले प्रक्रिया बढाएँ । वसन्त चौधरीसँग मेरो राम्रो सम्बन्ध थियो । ऊ अर्बुद्धरोग निवारण संघको महासचिव, म परिवार नियोजन संघमा । दुवै संस्थाको प्रायोजनमा कार्यक्रम गर्ने भइयो ।
‘यो साँझ भनेको गोल्डन साँझ हो, त्यसैले यसको नाम स्वर्णिम सन्ध्या हुनुपर्छ,’ मैले कार्यक्रमको न्वारन गरेँ । एकजनाले एकैचोटि त्यति धेरै गीत गाएको त्यो पहिलो अवसर थियो । माछा खाँदै फिल्म हेर्ने चक्करमा एउटा ऐतिहासिक कार्यक्रमको बीउ रोपियो । त्यस दिन हामीले माछा पनि किन्यौं, फिल्म पनि ल्यायौं। तर, तीनैजना फिल्ममा भुल्दा भान्छामा माछा पकाएको भुसुक्कै बिर्सिएछ । पूरै डढ्यो ।
***********
‘नारायणलाई सरकारको गीत गाउन लगाइदिनुपर्यो,’ स्वर्णिम सन्ध्या चलिरहँदा घरिघरि दरबारबाट फोन आउँथ्यो । हामी नारायणलाई सम्झाउँथ्यौं । ऊ के मान्थ्यो । ‘कराएर हुन्छ, आफ्नो टाइममा गाइन्छ नि ।’
त्यसको भोलिपल्ट दरबारमा सामाजिक संस्थाहरूको बैठक थियो, रानीको अध्यक्षतामा । नारायणले उनको गीत नगाइदिए भोलि कसरी मुख देखाउने? प्रायोजक पनि आफैं छौं ।
‘ल नारायण, जसरी भए पनि हामीलाई जोगाइदे,’ मैले भनेँ, ‘बरु मेरो गीत नगाए केही छैन, रानीको गाइदिनुपर्यो ।’
ऊ ‘ल ल’ भन्दै टक्टकिन्थ्यो । अन्तिम समयतिर बल्ल उसले ‘एउटा मान्छेको मायाले कति’ गायो । त्यसको केही बेरपछि मेरो गीत पनि गायो ।
‘तिमीले भनेका सारा देव छोएर’
त्यतिखेर हामीले सिभाज रिगल र ब्ल्याक लेभल तयार राखेका थियौं । पहिला अरू कार्यक्रममा ऊ सधैं पिउँथ्यो । विश्वविद्यालयको कार्यक्रममा दुई पेग पिएको थियो । तर, त्यस दिन छुँदै छोएन । कार्यक्रम सकेपछि राति १० बजेतिर एभरेष्ट होटल गएर हामीले दुवै बोतल रित्यायौं । भोलिपल्ट रानीसँग भेट भयो । वसन्तले ‘टु हर म्याजेस्टी’ लेखेर कार्यक्रमको अडियो क्यासेट रानीलाई उपहार दिए । उनले भनिन्, ‘द्याट् वाज ग्रेट इभेन्ट ।’
**********
उसले मेरो गीत गाएको त्यही एउटा हो ।
‘तिमीले भनेका सारा देव छोएर’
मैले आइएस्सी पढ्दा लेखेको। नारायण र दिप श्रेष्ठबाहेक अरूलाई गाउन लाउन्न भन्ने थियो । २०३२ सालतिर दिप र म दार्जिलिङ गएका थियौं । श्रेष्ठ लजमा उसले त्यो गीत ट्युन गरेर सुनायो । तर, मलाई खासै चित्त बुझेन । मेरो शब्द पनि अलिकति तलमाथि परेको थियो ।
पछि शम्भुजित बाँस्कोटाले त्यो गीत सुन्यो । ‘दाइ यो मै गर्छु, तपाईं कसैलाई नदिनुस्,’ उसले भन्यो । त्यो समय वसन्त चौधरीले दरबारको दक्षिणी ढोकानिर ‘गु्रप-थ्री’ भन्ने एउटा स्टुडियो खोलेको थियो । शुभबहादुर र शम्भुजित (शुभ-शम्भु) त्यहीँ मेरो गीतमा काम गरिरहेका रहेछन् । नारायण पनि घुम्दैघुम्दै पुगेछ । गीत सुनेर ऊ टक्क अडिएछ । फेरि गाउन लाएछ । ‘कसले लेखेको थाहा छ दाइ?’ शम्भुजितले भनेछ, ‘विश्वम्भरले ।’ ‘ए त्यो बाजेले त मलाई सुनाउँदै सुनाएन ।’ उसले मेरो अगाडि कहिल्यै त्यो गीतको कुरा गरेन। अरूसँग भने खुब तारिफ गर्थ्यो रे ।
*********
त्यो दिन विश्वकप हेर्न अस्पतालबाट भागेर आएको नारायणलाई त्यसपछि अस्पतालले छोड्दै छोडेन । ऊ थला पर्यो । सुगर पनि विस्तारै बढ्दै गयो । हातगोडा सुन्निन थाले । दाँत झर्दै थिए । उसलाई पनि थाहा भइसकेको थियो, ऊ अब रहन्न । ‘पेमला एक्ली छे । हेर्दिनू,’ ऊ नजिकका साथीहरूसँग भन्ने गर्थ्यो । मलाई लाग्छ, अन्तिम समयमा यही कुराले उसको मन बढी बिथोल्यो ।
अर्को पनि इच्छा सुनाउँथ्यो – ‘पेमलालाई चाहिनेजति ठाउँ छुट्टयाएर घरमा संगीत प्रशिक्षण केन्द्र खोल्नू ।’ हामी केही साथीले अस्पतालमा कुर्न पालो मिलाएका थियौं । भेट्ने आउनेको ताँती लाग्थ्यो । नारायणलाई देखेर तिनका आँखा रसाउँथे । ऊ भने आएजतिलाई हँसाउँथ्यो ।
‘म (राजा) वीरेन्द्रलाई फोन गर्छु,’ एकदिन उसले भन्यो । ‘किन?’ हामी चकित पर्यौं ।
‘म भन्छु, अब संवैधानिक राजतन्त्रमा तिम्रो काम छैन । म पनि अस्पतालमा लडिहालेँ, काम गर्न सक्दिनँ । हामी दुई भाइ मिलेर तास खेलौं ।’ ऊ जीउ चल्मलाउँदै हाँस्थ्यो । हामी चुप्पै लाग्थ्यौं । खासमा गला अवरुद्ध हुन्थे ।
(स्रोत :नागरिक दैनिकमा प्रकाशित नारायण गोपाल विशेषाङ्कबाट)