कथा : सौता

~रामप्रसाद दाहाल~Ram Prasad Dahal

मोहनकृष्ण र रुक्मिणीको बिहे भएको पन्द्रह वर्ष नाघI सकेको थियो तैपनि उनीहरूका कुनै सन्तान थिएनन् । घरमा आमाबाबु भएका भए मोहनकृष्णलाई कचकच गरेर, रोएर, कराएर उसको अर्को बिहे गराई सक्ने थिए होलान् तर मोहनकृष्णले उनीहरूलाई बालखकालमै बिदाइ गरी सकेको हुनाले त्यो फतफत र कचकचबाट उसले मुक्ति पाएको थियो । छोराछोरी नभएकोमा उसलाई कुनै आपत्ति थिएन किनकि रुक्मिणीलाई ऊ जति माया गर्थ्यो त्यति माया त ऊ छोराछोरीलाई पनि दिन सक्ने थिएन । चाहना नभएका छोराछोरी भएनन् भनेर उसले चित्त दुखाउने कुरा पनि आएन ।

मोहनकृष्णले सेनामा जागीर खाएको २० वर्ष बितिसकेको थियो र लप्टनबाट सुरु गरेको जागीरे जीवनमा कर्णेल भइसकेको पनि २।४ वर्ष नाघेको थियो । आर्थिक सम्पन्नता उसलाई बाबुआमाले नै छोडेर गएका थिए र स्वास्थ्य र शिक्षा उसले आफैले कमाएको थियो ।

छोराछोरी किन भएनन् ? त्यो उसले केलाउन चाहेन । ऊ कुनै पनि स्थितिमा रुक्मिणी छोडन चाहदैथ्यो र केलाउन थाले पछि रुक्मिणी या उसका कमजोरी देखा पर्न सक्ने जस्ता अनेक समस्या उब्जन सक्थे । वर्षौदेखि रहेको लोग्नेवास्नीबिचको आत्मिय सम्बन्धमा छोराछोरीको लालशाले फाटो ल्याउन चाहदैनथ्यो । छोराछोरी बिना नै ऊ सुखी र खुशी थियो भने छोराछोरीको निम्ति अतिरिक्त प्रयाश गरेर विपत्ति बोलाउनु ऊ अनावश्यक ठान्दथ्यो । उसले बिहे गरेको दिनदेखि नै रुक्मिणीलाई कहिले पनि छोडेन यताउता तालिममा जादा बाहेक । त्यसैले उसका साथीहरू या सहकर्मीहरू उसलाई उसको पछाडि जोइटिंग्रे भन्ने गर्दथे तर मोहनकृष्णकै अगाडि भनेको भए पनि उसले केही जस्तो ठान्ने थिएन ।

रुक्मिणीको सोचाइ भने मोहनकृष्णको भन्दा अलि फरक थियो । ऊ लोग्नेका सन्तान नहुने भए कसैलाई धर्मपुत्र या धर्मपुत्री पाल्न चाहन्थी र आफ्ना नहुने भए सौता ल्याउन पनि तत्पर थिई तर सन्तानको अति चाहना भए पनि र स्वर्ग नर्कको साह्रै डर माने पनि लोग्नेका जिद्दीका अगाडि उसको केही लागेन र उसले आफ्नो पराजय स्विकार गरेर बसी ।

मोहनकृष्णलाई ६ महिनाको लागि नै भए पनि अर्को बटालियनमा जानै पर्ने भयो । जागीर खाए पछि आदेश नमान्ने कुरा पनि भएन । त्यसलाई टार्न उसले हर प्रयास गर्यो तर उसको केही चलेन । अन्त्यमा झोक्किदै आएर रुक्मिणीलाई भन्यो – “छोडी दिन्छु म यो जागीर ।”

रुक्मिणीले उसलाई सम्झाएर भनी – “किन छोडनु पर्यो जागीर ? जागीर छोडेपछि तँपाई के गरेर बस्नुहुन्छ ? छ महिना बाहिर बसेर के भयो र ? बरु एक्लै नजाने भए म पनि जान्छु ।”

“जान्छ्यौ अब तिमी त्यो जंगलमा ? हुने कुरा पो गर्नु पर्छ त ।” – मोहनकृष्णले विरोध गर्योौ ।

“तपाईले जान हुने ठाउमा मैले जान नहुने के छ र ? त्यहाँ एक्लै जानु परे जागीर नै छोड्ने भने पछि मैले पनि साथमै जानु परेन त ? ” – रुक्मिणीले मानिन ।

“भनी हालेँ नि मैले तिमीले जान मिल्दैन भनेर ।” – मोहनकृष्ण अलि नरम भयो ।

“त्यसोभए तपाई जान्न नभन्नोस् त । बरु महिना महिना दिनमा आउनु । पाए अझ चाँडै आउन सके झन बेश ।” – रुक्मिणीले जोड दिई ।

स्वास्नीको तर्क काट्न नसके पछि मोहनकृष्णले भन्यो – “तिमी एक्लै कसरी बस्छ्यौ नि फेरि ? ”

उसले मुस्कुराउदै जवाफ दिई – “”केले खान्छ र मलाई एक्लै बस्दा ? त्यसमा पनि यो सैनिकको आवास क्षेत्रमा केको डर ? हो, यसो बोलचालगर्न कोही चाहिए ल्याउँछु नि कसैलाई ।”

“कसलाई ल्याउछ्यौ ? को मान्छ र आउन ? ” – मोहनकृष्णले जान्न चाहयो ।

“कोही भए भएन र ? पीर गर्नैपर्दैन तपाईले ।” – रुक्मिणीले सम्झाई र केही दिनमा मोहनकृष्ण बाहिर गयो ।

छोराछोरीको लालशा रुक्मिणीलाई असाध्यै थियो । त्यसैले आफ्ना नातागोता सबैका बालक छोराछोरीलाई टिपेर माया देखाउथी, म्वाँई खान्थी । जुनसुकै जस्तोसुकै बच्चा देखे पनि ऊ लोभिइन्थी र उसलाई उठाउन खोज्दथी तर आमाको काँख छोडेर नौलो मानिससँग जानुपर्दा उनीहरू चिच्याएर विरोध गर्दथे र रुक्मिणीले उनीहरूलाई तुरुन्त फिर्ता गरिदिन कर लाग्दथ्यो । कुनैकुनै उसको काखमा उसको माया पाएर अलमलिन्थे तर तिनीहरूलाई पनि आफ्नो काखमा धेरै बेर राख्न कहाँ पाउथी र ? एकै छिनमा आमा या बाबु आएर रुक्मिणीको धोको नपुग्दै लिएर जान्थे ।

रुक्मिणीको छिमेकबाट एउटी सानी केटी आउँथी वर्ष सातेककी । उसको नाम सानुमाया हो तापनि सबैले उसलाई सानु भन्ने गर्थे । सानु कुनै राम्री र टुपुक्क परेकी त होइन तर बच्चा केको पो राम्रो हुदनै र ? बच्चा त उँटको पनि राम्रो हुन्छ । सानु जोसुकैसँग पनि फतरफतर गरिरहन्थी र उसको त्यो फतरफतर कसैलाई पनि नराम्रो लाग्दैनथ्यो । त्यसैले सबैकोमा उसलाई प्रवेश खुला थियो र ऊ जहाँ पनि पुग्न सक्थी तैपनि उसको बास धेरै जसो रुक्मिणीकहाँ नै हुन्थ्यो । अरूका घरमा केटाकेटी थिए र ती बालकहरूले कहिले नकहिले त्यो असम्पन्न परिवारकी छोरी सानुलाई बिझ्ने कुरा भनेर उसको चित्त दुखाई दिई हाल्थे । सानुलाई रुक्मिणीकहाँ त्यो डर थिएन ।

छोराको आशमा आधा दर्जन छोरी नै छोरी जन्माइएको परिवारमा जन्मेकी सानुको घरमा उसको बेवास्ता त भई नै हाल्थ्यो । त्यसमा पनि सातौं बालक छोरो भएपछि छोरीहरूको भाउ नगण्य हुने नै भयो । अरू दिदीबहिनीले त परिस्थतिलाई सहज स्विकार गरे तर स्वभावले विद्राही सानुको आत्माले आफू र भाइप्रति हुने असमान व्यवहार कहिले पनि स्विकार गर्न सकेन । उसले जहिले पनि आफूले पनि भाइले जत्तिकै आमाको माया, घरको सन्मान र बाबुको उपहार पाउने अधिकारी ठानी र असमान व्यवहारको विद्रोह गरी । त्यसैले घरमा आमासँग उसको झगडा परी नै रहन्थ्यो र बाबुको थप्पड पनि ऊ पाउँथी । यी सबै कुराकेा परिणाम यही नै हुन आयो कि बाबु हुँदा सुत्न बाहेक ऊ घरमा बस्दिनथी र भाइको साथमा बसेर खान या भाइ त्यहीं भएको बेला आमाको नजिक जान पनि मन पराउदिनथी । मौका पाई भने ऊ भाइलाई १।२ चडकन जमाएर आमाले पत्ता पाउनु अघि नै कुलेलम ठोक्दथी । रुक्मिणीले त्यही सानुलाई मोहनकृष्ण फर्केर नआउन्जेल आफू कहाँ राख्ने विचार गरेर सानुकी आमा कहाँ माग्न गई । पहिले केही आनाकानी गरे पनि रुक्मिणीले प्रलोभन दिए पछि आखिर उसले मानी र आमाले मानी सकेपछि बाबुलाई मनाउने कुरा त्यति गाहारो भएन ।

रुक्मिणीको घरमा सानु आउनेजाने गर्दथी र रुक्मिणीका बोलीमा, वचनमा स्नेह पाउने हुनाले उसले दिएको खान समेत हिच्किचाउदिनथी अन्यथा जतिसुकै बतौरी भए पनि माया नगर्ने ठाउँमा गए पनि त्यहाँ खानहुन्न भन्ने उसको एउटा धारणा जमेको थियो र कसैको घरमा खानेसमय भयो कि सानु टाप कस्दथी र जति बोलाए पनि खाने समय नटरुन्जेल फर्कन्नथी । रुक्मिणीकोमा भने उसले त्यो नियम पालन गरेकी थिइन । मोहनकृष्ण नभएको समयमा रुक्मिणीले भँडारदेखि बैठकसम्मको काम सानुलाई अराउँथी र सानु पनि काम अफ्नै हो भने झैं गरेर गर्दथी । हो, मोहनकृष्ण भएको बेला भने सानु अगाडि पर्दिनथी । अपर्झट दिउँसो मोहनकृष्ण आइपुगे सानु भान्साको पछिल्लो ढोकाबाट भागी सकेकी हुन्थी । हुनत रुक्मिणीले सानुको बारेमा मोहनकृष्णलाई सबै कुरा सुनाई सकेकी थिई तापनि सानु र मोहनकृष्णका बिचमा कुनै मैत्रीसम्बन्ध कायम हुन सकेको थिएन । उसले त राम्रोसँग सानुको अनुहार पनि हेरेको थिएन किनकि उसको निम्ति सानु कुनै खाश व्यक्तित्व थिएन । मोहनकृष्णले सानुपट्टि पटक्कै सोचेको थिएन र सानुलाई पनि मोहनकृष्णको मित्रताको आशा र विश्वास थिएन । सानु र रुक्मिणीको मित्रता प्रति मोहनकृष्णको कुनै राग द्वेष थिएन र मोहनकृष्णको आफू प्रतिको बेवास्तामा सानूलाई कुनै गुनासो पनि थिएन ।

सानु रुक्मिणीको घरमा आई – मोहनकृष्णको अनुपस्थितिमा रुक्मिणीको रिक्त भएको स्थान भर्न । रुक्मिणी कसैलाई पनि साथमा नलिई एक्लै पनि बस्न सक्थी र कहिलेकहीं बसेकी पनि हो । अर्दली र नोकरचाकर त घरमा थिए नै तर पनि साथमा हन्बेर्नो जस्तो एउटा केटाकेटी हुदा घरमा मानिस भए जस्तै भइरहन्थ्यो । त्यसैले सानु जहिले पनि रुक्मिणीकै वरपर भइरहन्थी । रुक्मिणीले बराबर सानुलाई खोजी रहनाले र आफूसँग नै राखी रहने चाहना बुझेर सानु पनि उसको नजिक हुन थाली । पहिले त्यो घरमा बसी रहनु नपर्दा सानुले रुक्मिणीलाई कुनै साइनो नलगाए पनि टर्दथ्यो, केवल हजुर भने पुग्थ्यो तर एउटै घरमा बसे पछि त एउटा साइनो बाँध्नै पर्योल र सजिलो मानेर ‘आमा’ साइनो लगाई । आफ्नी आमालाई त ऊ भाइआमा भन्ने गर्थी ।

एक दिन रुक्मिणीकी बहिनीले सानुले आमा साइनो लगाएको सुनेर आश्चर्य मान्दै रुक्मिणीलाई भनी – “होइन, यो त आमा साइनो लगाउदी रहिछ तपाईलाई त ? ”

रुक्मिणीले कुनै भाव नदेखाई सामान्य स्वरमा भनी – “अनि अरू के भनोस् त यसले ? ”

सानुले लगाएको साइनोमा दिदीको पनि सहमति भएको बुझेर बहिनीले फेरि सोधी – “तपाई के भनेर बोलाउनु हुन्छ नि उसलाई ? ”

आश्चर्य र अविश्वास बहिनीको अनुहारमा देखेर रुक्मिणीले मुस्कुराउदै जवाफ दिई – “के भन्नु आमा भन्नेलाई ? छोरी भन्छु, सानु भन्छु ।”

“यो त अति भयो है, दिदी ।” – बहिनीले विरोध गरी ।

रुक्मिणीले लामो सास फेेरेर कुरा प्रष्ट गरी – “बहिनी ! तिमीहरूका पो आमा भन्ने धरै छन् । मलाई ‘आमा’ भन्ने त यही एउटी मात्रै हो । त्यसैले मलाई त केही अति लागेको छैन ।”

“अरू कोही आफू समानका घरका केटाकेटी ल्याएर, राखेर भन्न लाए पनि त हुन्छ नि ।” – बहिनीले विरोध छोडिन ।

रुक्मिणीलाई त्यो वचन निको लागेन र कडा नै जवाफ पदई – “मलाई आमा मानेर यो घरभित्र पस्न आउनेलाई छोरी मानूँ कि छोरी बन्न नचाहने कसैलाई बलजफ्फ्ती भित्य्राएर आमा भन्न लगाऊँ ? उसले आमा भन्दा तिमीलाई आपत्ति किन ? दिन्छ्यौ तिमी तिम्री छोरी मलाई आमा भन्न लगाउन ? ”

भएकी एउटै छोरी बहिनी पनि दिन कहाँ सक्थी र ? उसको भनाइ त आफ्नो घराना सरहको परिवारबाट छोरा या छोरी ल्याएर पाल्ने कुरासम्म थियो । त्यसैले आफ्नो भनाइमा दिदीको चित्त नबुझेको बुझेर “भैहाल्यो नि, दिदी । मैले त्यसो भन्न खोजेकी त होइन नि” भनेर आफ्नो कुरालाई तुरुन्तै फिर्ता लिई र रुक्मिणीले पनि कुरालाई अगाडि बढाइन ।

बेलुका सानुले रुक्मिणीलाई सोधी – “मैले तपाईलाई आमा भन्नु हुदैन ? ”

चिन्ता र अविश्वासले वाल्ल परेको सानुको अनुहार देखेर रुक्मिणीले उसलाई अँगालोमा लिदै म्वाँई खाएर भनी – “हुन्छ, मेरी सानु, हुन्छ । कसैले हुदैन भन्यो भने म त्यसको मुख चिथोरी दिन्छु । तिमी आमा नै भन ।”

रुक्मिणीको वचनमा विश्वास गरेर सानु उसको अँगालोमा नै निदाई । त्यो रात आमाछोरी एउटै ओछ्यानमा सुते र त्यस रातले रुक्मिणी र सानुका बीचको सामाजिक असमानता सधैंको निम्ति अन्त्य गरिदियो ।

रुक्मिणी र सानु एउटा जीवनका दुई अभिन्न अंगजस्तै हुनलागे त्यो छोटै अवधिमा पनि । आफ्नो भागबाट रुक्मिणीले सधैं छुट्याएर सानुलाई राखिदिन्थी भने आफूले भाग पाउदा आमालाई छ, छैन सानु सधैं हेर्दथी । घरको काम नोकरचाकरले नै गरे पनि घरमालिक्नीले गर्नुपर्ने कामको कमी हुदैनथ्यो र रुक्मिणीले काम गर्दा सानु सधैं सघाउन पुग्थी । हुनत ७ वर्षे केटीले के पो काम सघाउन सक्थी होला र ? तैपनि उसको सहयोग गर्ने तत्परताले नै रुक्मिणीको छाती नाङ्लो जत्रो बनाई दिन्थ्यो र रुक्मिणीले त्यसैमा आनन्द पाउथी ।

दुई महिना पछि मोहनकृष्ण काज मिलाएर घर आई पुग्यो । ऊ आई पुगेकोमा खुशी भएर रुक्मिणीले हाँस्दै भनी – “हेर । पहिले जान्न भन्ने मान्छेलाई एक महिनामा आउनु है भनेर पठाएको त दुई महिनामा पनि बल्लबल्ल । यस्तो जानेको भए त म पठाउने नै थिइनँ नि ।”

मोहनकृष्णले पनि उसको ठट्टा बुझेर मुस्कुराउदै जवाफ दियो – “भन्छयौ नि तिमी । छुट्टी नमिल्ने । यही काज पनि बल्लबल्ल मिलाएर आएको । यस्तै देखेर त जान्न भनेको नि मैले । तिमीले नै जोड गरेर पठायौ ।”

रुक्मिणीले सामान्य स्थितिमा आएर भनी – “के भयो त १।२ महिना बाहिर बसेर ? स्वास्थ्यलाई पनि राम्रै भयो, मन पनि बहलियो ।”

“तिमी एक्लै भयौ नि ।”

“म के एक्ली हुन्थें ? सानु छ नि म सँग ।”

“को सानु नि ? ”

“तपाईले देख्नु भएको छ नि धनप्रसादकी छोरीलाई । म सँगै बस्छे आजकल ।”

लोग्नेलाई भनी सकेपछि रुक्मिणी भित्र हेरेर कराई – “ए सानु ! यहाँ बैठकमा आइज त एक पल्ट ।”

केही क्षणमा सानु आएर रुक्मिणीले छेलिएर उभिई । उसलाई हात समाएर लोग्नेको अगाडि पार्दै रुक्मिणीले भनी – “ल, बुवालाई दर्शन गर त पहिले ।”

सानुले असाध्यै गह्रुँगो हातले मोहनकृष्णलाई नमस्ते गरे पनि अनुहार हेरी रहन सकिन । मोहनकृष्णको धक उसलाई उही पुरानै थियो ।

मोहनकृष्णले देख्यो – त्यो केटीलाई उसले पहिले पनि देखेको हो तर ऊ धनप्रसादकी छोरी हो भन्ने उसलाई थाहा थिएन । रुक्मिणीद्वारा सिंगारिएकी त्यो केटी उही पुरानी केटी हो भनेर ठम्याउन पनि गाहारो थियो । त्यसमा पनि रुक्मिणीको त्यो केटी प्रतिको सम्बन्ध उही पुरानेा देखिदैनथ्यो । उसलाई केही नमिले जस्तो लाग्यो र रुक्मिणीलाई सम्झाउने किसिमले प्रश्न गर्यो ‍- “तिमीले धेरै नजिक त ल्याएकी छैनौ यसलाई ? ”

“तँ भित्र जा, सानु ।” – पहिले सानुलाई अराएर सानु भित्र पसे पछि उसले लोग्नेलाई सोधी – “कस्तो धेरै नजिक भनेको ? ”

“पछि उसलाई आफ्नो घरपरिवार, आफ्नो समाजमा मिल्नै गाहारो पर्ने गरी नजिक्याएकी त छैनौ ? भनेको ।” – मोहनकृष्णले आफ्नो कुरा प्रस्टयायो ।

रुक्मिणीले मोहनकृष्णको भनाइको आशय बुझेर बिस्तारै भनी – “मैले उसलाई उसकी अमाको जति माया अवश्य पनि दिन सकेकी छैन । दिएकी छु त केवल केही राम्रा लुगाहरू र आफूले खाए जस्तो खाना । यो कुनै विशेष होइन ।”

आफ्नो भनाइ रुक्मिणीलाई चित्त नबुझेको देखेर मोहनकृष्णले कुरालाई अगाडि बढाएन । हो, रुक्मिणीले गरेको कामको बढाइ पनि गरेन ।

मोहनकृष्ण घरमा दुई दिन बस्यो र सानु दुई दिन रुक्मिणीबाट अलग्गिई । मोहनकृष्णले त उसलाई अर्कै कोठामा पठाउने राय दिएको थियो तर रुक्मिणीले केटाकेटीलाई एक्लै कोठामा नसुताउने निश्चय गरेपछि त्यही कोठा भित्र नै अर्को ओछ्यानमा सानु सुती । काममा फर्केर जाने बेलामा मोहनकृष्णले रुक्मिणीलाई जिस्क्याउदै भन्यो – “दुई महिना भित्रै छोरी पाएर हुर्काइ सकिछौ । अब चार महिनामा त छोरीको बिहे गरेर नाति नातिनीकी धनी पनि भइसक्यौी होला तिमी । तब त मेरो आवश्यकता नै नहोला तिमीलाई ।”

“डाही लाग्न थाल्यो अहिले नै ? ” – रुक्मिणीले चोथाले भएर जवाफ दिई ।

“लाग्दैन त ? खोसेर लगी भने तिमीलाई ? ” – उसले पनि ठट्टैमा जवाफ दियो ।

“अर्की ल्याउनु मेरो सट्टा ।” – ऊ अझै चोथाले भई ।

“भो, बा । मलाई त्यस्तो सल्लाह चाहिदैन । म पटक पटक पाएर गुमाउनु पर्ने दुर्भाग्य भोग्न सक्दिन । जो छ त्यसैलाई राखी राख्न पाए पुग्छ ।” – उसले जवाफ दियो । मोहनकृष्ण बिदा भएर गयो । रुक्मिणीले नियास्रो नमानेको देखेर एउटा सन्तोष भयो तर सानूप्रति उसको आत्मियता भने अलि चित्त बुझेन तैपनि रुक्मिणीको चित्त दुख्ला भनेर उसलाई अरू केही भनेन ।

यसै पनि सानुको घरमा उसको कुनै आवश्यकता नभएको, त्यसमा पनि रुक्मिणीबाट केही न केही चिज पाइने, सानु पनि सहजाएकी र खाने एउटा मुख पनि घटेकोले सानुका आमाबाबुले उसको खोजीनिति गर्न आवश्यक ठानेनन् । अझ छरछिमेकीले ‘सानुलाई त के र ? अयस छ । छोरी भएर बसेकी छ ।’ भन्दा आमालाई झन सन्ताष भएको थियो र त्यो रोग र भेाकको कुरुक्षेत्रमा फिर्ता पठाइ दिने पो हुन् कि भन्ने डर लाग्दथ्यो । जे जसो भए पनि राख्नेले राख्न मन गरेको, बस्नेले बस्न चाहेको, फिर्ता लान पाउनेले फिर्ता लान नखोजेको र फिर्ता पठाउने कोही नभएकोले सानु रुक्मिणीकी छोरी, साथी, सँगिनी जे भने पनि भएर बसी । उसले सानुलाई आफै नुवाइधुवाइ गरिदिन्थी, आफै सिंगार्थी । आफ्नै साथमा लिएर हिड्थी । चिनेजानेकाले यो कसकी छोरी नि ? भनेर रुक्मिणीलाई सोधे भने ‘अर्काको खोजीनिति चाहिने कस्ता हुन्छन् मान्छे पनि ?’ भनेर बर्बराउथी सानू । ऊ सकी नसकी रुक्मिणीको निम्ति पूजासामान तयार पार्थी, लुगाफाटा पट्याइदिन्थी र घरबुढीले झैं ‘तपाईलाई भोक लागेन, आमा ?’ भनेर रुक्मिणीको हेरचाह पनि गर्दथी र सानु र रुक्मिणीकको यो सम्बन्ध टोल भरी एउटा विवादको विषय भएको थियो – नकारात्मक हेराइको निम्ति नकारात्मक र सकारात्मकको निम्ति सकारात्मक । आखिर ६ महिना बित्यो र मोहनकृष्ण घर फर्कियो । रुक्मिणीले उसलाई हार्दिक स्वागत गरी । घरको संघारभित्र पस्ने बित्तिकै उसले रुक्मिणीलाई आफ्नो अँगालोमा उठाएर घुमाउदै म्वाईं खान खोज्यो । उसको त्यो चाला बुझेर रुक्मिणीले विरोध गर्दै भनी – “लौ, लौ, लौ । के गरेको यो ? सानुले देखी भने के भन्छे ? ”

मोहनकृष्णलाई सानुको अनावश्यक उपस्थितिको आभास भयो र ‘ए, साँच्ची । तिम्री सानु पनि छ नि हो कि आजकल त’ भनेर रुक्मिणीलाई यथास्थानमा राखिदियो ।

रुक्मिणीले लोग्नेलाई आफ्नो अधिकार माथिको विभाजन चित्त नबुझेको बुझी र त्यस प्रशंगलाई पन्साउन भनी – “लौ अब छिट्टै नुवाइधुवाइ गरेर आउनोस् पहिले अनि थकाइ मार्ने । म खाने कुरा पनि तयार पारी हाल्छु ।”

मोहनकृष्णले लाडिएर भन्यो – “म यसै खान्छु रे । पछि नुहाए पनि त हुन्छ ।”

“भो, भो, भो । फोहोरी भएर खान पाइन्न ।” – लोग्नेलाई बाथरुम तिर धकेल्दै रुक्मिणीले भनी – “फेर्ने लुगा म ढोकामा नै झुन्ड्याई दिन्छु । फेरेको लुगा त्यहीं कुनामा राखी दिनु ।”

मोहनकृष्ण बाथरुम पसेपछि सानुले रुक्मिणीको छेउमा आएर भनी – “बुवा त कस्तो मान्छे हो कि आफै नुहाउन जान पनि नमान्ने ? ”

मोहनकृष्णको विरुद्धमा सानुको गुनासो सुनेर रुक्मिणी मुस्कुराई ।

बेलुका मोहनकृष्ण, रुक्मिणी र सानु एकै चोटी खान बसे । आफ्नो लागको बानीले मोहनकृष्णले रुक्मिणीको भागबाट एक टुक्रा झिकेर लियो । रुक्मिणीलाई कुनै आपत्ति थिएन यसमा । लोग्नेको भागमा ऊ जुठो हात हाल्दिनथी तर लोग्नेले आफ्नो भागबाट झिक्दा सुरुसुरुमा विरोध गरे पनि त्यो विरोधको कुनै असर नभए पछि त्यसलाई स्वीकार गरेकी थिई तर सानुले त भनिहाली – “अर्काको भागमा किन जुठो पारी दिनु पर्ने नि ? ”

अप्रत्याशित विरोधले मोहनकृष्ण जिल्ल पर्योल । रुक्मिणी पनि छक्क परी र भनी – “कहीं बुवाको पनि जुठो हुन्छ मलाई ? ”

सानुले रुक्मिणीलाई उत्तर दिइन । उसले विरोध गरी, त्यति नै पर्याप्त थियो ।

बेलुका सुत्ने बेलामा सानुले आफ्नो भाग मोहनकृष्णलाई छोडिदिएर आफू रुक्मिणीले लगाइदिएको अर्को ओछ्यानमा गएर सुती । सुत्नु अगाडि सधैं कथाको माग गर्ने सानुले आमासँग कथाको निम्ति जिद्दी पनि गरिन तैपनि आफूलाई पर सारेकोमा सानुको मौन विरोध रुक्मिणीले बुझी । राति सानु निन्द्रैमा आत्तिएर कराई र रुक्मिणी उसलाई उसको ओछ्यानमा पल्टिएर थुम्थुम्याउदा थुम्थुम्याउदै त्यहीं निदाई ।

बिहान चिया ल्याएर रुक्मिणीले लोग्नेलाई उठाई । आफ्नो सामु चिया देखेर उसले भन्यो – “तिम्री छोरी सानुलाई खुवायौ त ? ”

उसको स्वरमा जानकारी लिने इच्छाभन्दा व्यङ्ग्य बढी थियो । रुक्मिणीले सानुतिर हेरी । ऊ सिरकभित्रबाट उनीहरूतिर नै चियाइरहेकी थिई । रुक्मिणीले सहज भएर भनी – “सानुलाई दुध ल्याएको छ । सानु ! अब उठ् ।”

सानु आफ्नो ओछ्यानबाट उठेर बाथरुमभित्र पसी ।

सानु रुक्मिणीको अनुपस्थितिमा मोहनकृष्णको सामु पर्दिनथी र मोहनकृष्ण उसको सामु रुक्मिणीप्रति आत्मियता देखाउदैनथ्यो । सानु मोहनकृष्णाको सामु रुक्मिणीको अंगरक्षक जस्ती देखिन्थी भने मोहनकृष्णलाई सानु रुक्मिणीको शरिरमा पलाएको अनवश्यक मासुको लुम्सो जस्तो लाग्दथ्यो । रुक्मिणी भने यी दुई प्रतिद्वन्द्वीका बिचमा बाँडिएर बसेकी थिई रातमा पनि र दिनमा पनि ।

सानु र मोहनकृष्णका बिचमा मित्रता पहिले थिएन र पछि पनि भएन । उनीहरूले एक अर्कोसँग मित्रता गर्ने प्रयाश पनि गरे तर त्यो व्यर्थ भयो । रुक्मिणीको मध्यस्थता पनि सफल भएन । रुक्मिणीका मायाका ती दावेदारहरू आफ्नो दावी छाड्न तयार थिएनन् ।

एक दिन ओइलाएकी सानुले रुक्मिणीलाई भनी – “आमा , अब बुवा सधैं यही बस्छ ? कहिल्यै बाहिर जादैन ? ”

सानुको भनाइको आशय बुझेर रुक्मिणीले उसलाई अँगालेमा लिदै म्वाँई खाई र सधैं जसो आफ्नो साथमा राख्नथाली । रातमा पनि ऊ आफ्नै साथमा लिएर सुत्दथी । सानु खुशी थिई फूलबारीकी पुतली जस्तै र रुक्मिणीको धेरै समय सानुमा नै बित्दथ्यो । मोहनकृष्ण भने मौन थियो । त्यति मौन जो आवश्यकता नै थिएन । रुक्मिणी बुझ्दिनथी त्यो मौनता ।

एक रात रुक्मिणी बिम्झेर हेर्दा मोहनकृष्ण आफ्नो ओछ्यानमा थिएन । रुक्मिणीले बत्ती बालेर हेरी ।कोठाभित्र कहीं पनि थिएन । बाहिर निस्कदा बैठकमा बत्ती बलेको देखेर भित्र पसी । मोहनकृष्ण सोफामा लम्पसार परेर पल्टिरहेको थियो । उसले छेवैमा आएर बस्दै सोधी – “किन ? के भयो ? ”

मोहनकृष्ण निकैबेर केही नबोली बसेपछि भन्यो – “रुक्मिणी ! तिमी सानुलाई उसैको घरमा पठाइदेऊ ।”

रुक्मिणीले विस्मित र चकित हुदै सोधी – “किन ? के गरी त्यसले र ? ”

मोहनकृष्णले थाकेको स्वरमा जवाफ दियो – “गरेकी त केही छैन तर उसको सामु म यो घरमा बस्न सक्दिनँ ।”

रुक्मिणीले उत्तर त पाइन तर ऊ सँग सोध्ने प्रश्न पनि भएन ।

काठमाडौं
२०४९।५।२६

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.