~यमुना पराजुली अधिकारी~
राकेश मण्डल र श्याम भट्टराई साथी हुन् । उनीहरू दुवै ५ कक्षामा पढ्छन् । श्यामको घर रामेछाप हो । उनका बुबा नेपाल प्रहरीमा जागिर खान्छन् । त्यही भएर श्याम पनि बुबासँगै सर्लाहीमा बसेका छन् । डेढ वर्ष भयो त्यहाँ बसेको । आमा र बहिनी रमिला पनि सँगै बस्छन् । राकेशको बुबाको त्यहीं सानो किराना पसल छ । राकेशको पसल र श्याम बस्ने घर जोडिएको छ । उनीहरू अति मिल्छन् । स्कुल सँगै जान्छन् । होमवर्क सँगै गर्छन् । स्कुलमा पनि सँगै बस्छन् । खाजा पनि कहिले कसको घरमा कहिले कसको घरमा खान्छन् । उनीहरू मात्रै होइन, आमाहरू पनि निकै मिल्छन् ।
राजेशको परिवार तराई मूलको र श्यामको परिवार पहाड मूलका हुन् । पहाडी समुदायले मनाउने चाड राकेशको परिवारले मनाउँछ । तराईमा मनाइने चाड श्यामको परिवारले पनि मनाउँछ । श्यामको आमाले राकेशको आमाबाट छठमा बनाइने प्रसाद ठेकुवा बनाउन सिक्नुभयो । बगिया बनाउन सिक्नुभयो । राकेशको आमाले सेलरोटी बनाउन सिक्नुभयो । अन्य पहाडे परिकार बनाउन पनि सिक्नुभयो । यसरी मिलेर बसेको थियो दुई परिवार ।
यसैबीच, तराईमा आन्दोलन सुरु भयो । मधेसको अधिकार स्थापित गर्ने भन्दै स्कुल बन्द भयो । यातायात बन्द भयो । राकेश र श्यामलाई आन्दोलनबारे केही थाहा थिएन । मतलब पनि थिएन । स्कुल बन्द हुँदा सँगै खेल्थे । संँगै खान्थे । बन्द भएको धेरै दिन भयो । धेरै बन्द हुँदा उनीहरूलाई बोर हुन थाल्यो । बिस्तारै बिस्तारै सडक तात्न थाल्यो । सडकमा भाला, लाठी, बन्चरो लिएर आन्दोलनकारी आउन थाले । डन्ठी बोकेर हिँडेका प्रहरीको संख्या पनि सडकमा बाक्लो हुन थाल्यो । कोहीले ढुंगा हान्न थाले । प्रहरीले पनि लट्ठी हान्न थाल्यो । गोली पड्काउन थाल्यो कतै कतै । आँखा नै पोल्ने ग्यास पनि प्रहार गर्न थाले प्रहरीले । त्यो देखेर राकेश, श्याम दुवै डराउँदै भित्र आइहाल्थे । बन्दुक पड्कदा खाटमुनि लुक्थे ।
सधैं स्कुल बन्द हुँदा पढ्नुपर्छ भन्ने उनीहरूको दिमागबाटै हरायो । दिमागमा खाली बन्दुक पड्केको, नाराजुलुस मात्रै आउन थाल्यो । राकेशको घरमा एक हूल आन्दोलनकारी आए । मधेसको अधिकारका लागि लड्नुपर्छ भन्दै आन्दोलनमा सहभागी हुन लगे । पसल त पहिले नै बन्द भएको थियो । दुई दिनपछि राकेशको बुबा घरमा आए । घरमा आएर अब श्यामसँग खेल्ने होइन, त्यो पहाडे हो भने । ‘पहाडेले हामीलाई थिचोमिचो गरेका छन्, अब हाम्रा शत्रु हुन् पहाडे, बुझिस्’ भने । त्यही माथि ‘त्यो पुलिसको छोरो हो, पुलिसले हामीलाई दु:ख दिएको छ’ भनिदिए । राकेशले कुरै बुझेन । अक्क न बक्क भयो ।
श्यामका बुबाले पनि श्यामलाई त्यसै भनिदिए । ‘लाठी बोकेर हिँड्ने, ढुंगामुढा गर्नेको छोरासँग नखेल्नू’ भने । श्याम पनि छक्क पर्यो । राति अबेरसम्म सोचिरह्यो । धेरै बेर निद्रा लागेन ।
बिहान राकेश उठेर बाहिर निस्क्यो । श्यामलाई बोलायो । उसको बुबा कराए । श्यामलाई नबोलाउनु भने । बोल्नै दिएनन् । श्यामलाई पनि त्यसै गरे उनका बुबाले । दुवैलाई एक अर्कासँग भेट्न दिएनन् । भेट्न नपाउँदा उनीहरू दु:खी भए । राति निद्रामा पनि श्यामकोमा जाने भनेर राकेश बर्बराउन थाल्यो । आन्दोलन सुरु भएको एक महिनापछि भारतले पनि नाकाबन्दी लगाइदियो । ग्यास पाइन छाड्यो । गाडी पातलो चल्न थाले । एम्बुलेन्स चल्ने पनि तेल पाइएन । तेल नै पाए पनि चल्न सम्भाव भएन । एम्बुलेन्समा पनि आन्दोलनकारीले ढुंगा हान्न थाले । गुइँठा जोरजाम पारेर खाना बनाउन थाले । दाउरा खोज्न थाले ।
त्यही बेला राकेश बिरामी भयो । बिरामी साथी भेट्न श्यामलाई धेरै इच्छा भयो । तर परिवारले दिएनन् । श्यामलाई तनाव भयो । ऊ टोलाइ रह्यो । खान मन गरेन । उसको चाला देखेर बुबाआमालाई एकदम टेन्सन भयो । राकेशलाई ज्वरोले छाडेन । उसलाई अस्पताल लैजानुपर्ने भयो । तर केमा लाने ? समस्या भयो । श्याम लुकेर राजेशको घर गयो । श्यामलाई देखेर राजेश खुसी भयो । श्यामलाई देखेर राजेश खुसी भयो । उसको अनुहार उज्यालो भयो । राजेशको आमा छेउमा बसेर गुनासो गरिन्, ‘छोरालाई कसरी अस्पताल पुर्याउने ?’ श्याम घर आयो । घरमा सबै कुरा सुनायो । राकेशलाई उनीहरूले आफ्नै छोरो जतिकै माया गरेका थिए । यस्तो बेलामा सहयोग गर्न नपाएकोमा श्यामका बाआमालाई नमज्जा लाग्यो । श्यामबा बुबाआमाले सल्लाह गरे । भ्यान बोलाए । त्यसैमा राकेशलाई हस्पिटल लगे । अस्पताल लैजान ढिला भएको भए ज्यानै जाने रहेछ । राकेशलाई निमोनिया भएको रहेछ । यो थाहा पाएर राकेशका बुबा आमा केही बोल्नै सकेनन् । एक साता अस्पताल बस्नुपर्यो । डिस्चार्ज गरेर राकेशको बुबाले उनलाई घर लान लागे । एम्बुलेन्स मगाए । घर जान लाग्दा बाटोमा आन्दोलनकारी भेटिए । एम्बुलेन्स रोक्न खोजे । रोक्न खोजेपछि राकेशका बुबा ‘यो कस्तो आन्दोलन हो, एम्बुलेन्स पनि रोक्ने’ भन्दै जंगिए । उनको रिस अझै मरेन । ‘तिमीहरूसँग मानवता छैन ? बिरामी बोक्न समेत दिँदैनौं ? अस्तिसम्म म आन्दोलनमा थिएँ । तर अब म यस्तो मानवताविरोधी आन्दोलनमा सहभागी हुन्न’ भनिदिए । आन्दोलनकारीले पनि खै के सोचे कुन्नि, एम्बुलेन्स छाडिदिए ।
घर आउँदा राकेश र श्यामका आमासँगै बसेका थिए । खाना पनि राकेशकै घरमा बनेछ । यो देखेर राकेश धेरै खुसी भयो । श्याम पनि राकेशको छेउमा आयो । एकै ठाउँमा बसे । राकेशको आमाले श्याम र राकेशलाई खाना दिइन् । अनि भनिन्, ‘श्यामको घरमा ग्यास सकिएर बिजोग भएको रहेछ । त्यही भएर मैले चुल्होमा यतै खाना बनाएँ । मसँग गुइँठा प्रशस्त छन् । हामी यतै मिलेर खाना बनाउने, खाने गर्नुपर्छ । जहिलेसम्म ग्यास पाइँदैन, त्यही बेलासम्म मिलेर खानुपर्छ । तिमीहरू पनि राम्ररी पढ । एकै ठाउँमा बस । श्यामले उज्यालो मुख लगायो । ‘राकेश केही दिन आराम गरोस्, ‘श्यामले भन्यो, ‘lsquo;त्यसपछि सँगै खेलौंला । सँगै पढौंला ।’
अब बिहान स्कुल खुल्छ जस्तो छ । केही दिनमै स्कुल जान पाउनेमा आशावादी छन् राकेश र श्याम । को पहाडी, को मधेसी ? को हिमाली ? हामी सबै नेपाली भन्ने भावना छ उनीहरूमा । उनीहरूले स्कुल खुलेपछि पहिलाजस्तै एकै ठाउँमा मिलेर पढ्ने योजना बनाएका छन् ।
प्रकाशित: मंसिर १३, २०७२
(स्रोत : कान्तिपुर – कोपिला)