~गौरी मल्ल~
जिन्दगी , तँ क्रुर छस
स्वार्थी छस ,
तैँले कसैलाई केही दिईनस !
फगत लिन जानेको छस , लिँदैछस् …!
असिम् विश्वाशले
मानिसहरु तँलाइ हुर्काउँछन ,
अहोरात्र ..
तेरै गुण गाउँछन !
… तेरो बिखालो बिभत्स
अस्तित्वको पूजा गर्छन् ..!
तर तँ …?
तँ कत्ती मुर्ख छस ..,
न त तँ खुशी हुन्छस
न जिउन सक्छस
तँलाइ बाहार सँग प्रेम छैन
पतझड सँग सरोकार छैन
यहाँ सम्म .. , कि तँलाइ त ,
तेरो वरपरको दुर्गन्धले पनि प्रभाव पार्दैन ..
न सुगन्धले नै मोहित पार्दछ!
जिन्दगी ..,
तँ निरवतामा अट्टहास गर्छस
कोलाहलमा बिच्कन्छस् ..
तेरो यो बुख्याँचाको आडम्बर , कहिले सम्म?
जब तँ आफ्नो मदोन्मत्त
मोहनिन्द्राबाट बिउँझन्छस , त्येतिबेला ..
तँलाइ झसँग हुन्छ ,
तँ त फगत बिस्तारै बिस्तारै
चाउरीएर जाने रेखाहरु मात्र होस् !
जिन्दगी ..,
तँ बिभत्स हुनेछस , रुपहारा हुनेछस ..
तँ बाल्यकालको बामे सर्न ..
असमर्थ हुनेछस !
योवनको रङीन सपनाहरुबाट
टाढिसकेको हुनेछस ..!
तँ त केवल , बुढेसकालको
अट्टहास होस् .. चित्कार होस् ..!
जबकी , तँलाइ पनि थाहा छैन ..
तँ त फगत
आफ्नै मलामे मात्र होस् ..
जो ..
आँफै सँग मलामे जान्छ
आफ्नै चितामा सुत्छ
अनी पलभरमै खरानी हुन्छ …!!
जिन्दगी …
तँ केवल …,
डढेको मुढाहरु बिचबाट ,
जरजर भएर खस्ने
खरानी मात्र होस्
मात्र खरानी !!!