~दिनमान गुर्मछान~
ऊ कोठाभित्र छिर्यो ।
आज पनि ऊ थकित देखिन्थ्यो । अनुहार निचोरिएको झैं थियो । उसको उदास र मलीन अनुहारले म झन् निराश भएँ । केही सोध्नै सकिनँ । ऊ सरासर आएर खाटमा पल्टियो । पल्टिनासाथ निदायो ।
म फेरि आफ्नै काममा लागें ।
हिजोआज ऊ सधैं साँझमा मात्र कोठामा आइपुग्छ । थकित अनुहार लिएर आउन थालेको छ । यसैगरी ऊ आउनासाथ खाटमा डङ्गरङ्ग पल्टिन्छ । अनि दुई घन्टासम्म मस्त निदाउँछ । राति अबेला उठेर खान्छ । दुई महिनाअघिसम्म त ऊ यस्तो थिएन । हिजोआज के भएको छ ? म अचम्म पर्छु ।
म काठमाडौं आएको छ महिना हुँदैछ । गाउँबाट सहरमा पढ्न भनी आएको । गाउँबाट आउँदा उसले मलाई सँगै बस्ने प्रस्ताव राखेकाले घरकाले मञ्जुरी दिएका थिए । सँगै बस्नेभएपछि सजिलो हुन्छ, खर्च कम हुन्छ भनेर सबै मानेका थिए ।
पाँच दिन बिदा लिएर गाउँमा उसले सात दिन बिताएको थियो । ऊ फर्किंदा उसको ठाउँमा अर्कैलाई काममा राखिसकेको रैछ । त्यसपछि ऊ बेरोजगार भयो । आफूलाई दुई दिन बढी बस्दा निकालिएको रनाहामा उसले साहुलाई धेरै दिनसम्म गाली गर्यो । युनियनमा गुहार माग्यो । उसलाई कसैले साथ दिएन । ऊ भन्थ्यो, ‘साला युनियनले बेलाबेलामा सदस्यता शुल्क लिन र सहयोग रसिद काट्नचाहिँ खुब चिप्लो घस्यो । तपाईंहरूको समस्याको बेला हामी साथ दिन्छौं भन्यो । अहिले मलाई पर्दाचाहिँ सबै लुके ।’
त्यसपछि ऊ ती युनियनकालाई गाली गथ्र्यो ।
कामको खोजीमा धेरै दिन भौंतारियो । चिनेजाने जति सबैलाई आफ्नो अवस्था बतायो । मिलेसम्म काममा लगाइदिने प्रशस्त सान्त्वना पायो । तर, धेरै समयसम्म उसले काम पाएन ।
आज पनि ऊ काम खोज्न भनेर बिहान खाएर निस्किएको थियो । खाएको भन्नु मात्र । दुई गाँस टिपेर हिँडेको थियो । कति विश्वास बोकेर बाहिरिएको थियो । अहिले फर्किंदा उसको विश्वास अनुहारमा ओइलाएको प्रस्टै थाहा हुन्थ्यो ।
खाना पाक्यो । उसलाई उठाउन जरुरी ठानें । ऊ अहिलेसम्म खाटमा घुर्दै थियो । मैले उसलाई घचघच्याएँ । निकै बेरपछि उसले आँखा खोल्यो ।
‘खान उठ,’ मैले भनें ।
आँखा मिच्दै मलाई हेर्यो । अनि ओछ्यान छोड्यो । हातमुख धोएर ऊ खान बस्यो ।
‘भोलिदेखि चाहिँ मैले काम पाउने पक्का भयो,’ उसले खाने बेलामा भन्यो ।
‘हो र ! यो त खुसीको कुरो भइगयो ।’ म खान छोडेर उसलाई हेर्न थालें । उसको अनुहारमा खुसीको कुनै भाव थिएन ।
‘काम पाएकोमा खुसी छैनौ कि क्या हो ?’ सोधें ।
‘हैन । एकदम थाकेको छु ।’ उसले हतार हतार खायो । हातमुख चुठेर ऊ ओछ्यानमा गएर पल्टियो ।
खाएको भाँडा मस्काएर म पढ्न थालें ।
—
कलेजमा पढाइको चापाचाप थियो । भर्खरै गएको भुइँचालोले एक महिना पढाइ बन्द भएको थियो । त्यसैले कोर्स सक्नैका लागि पनि छिटोछिटो पढाइरहेका थिए ।
‘तिम्रो नोटकापी मलाई देऊ न । हेर न, भुइँचालोपछि लगत्तै म आउन सकिनँ । गाउँ गएको थिएँ । गाउँको घर भुइँचालोले लगिहाल्यो । त्यही भएर चाँडै आउनै सकिनँ ।’ अनुराधाले क्लास सकिनासाथ मलाई रोकेर कुरा गरी ।
उसले बोलाउँदा म अलमल्ल परें । ऊ मलाई निर्निमेष हेरिरहेकी थिई । उसको जवाफ फर्काउन मलाई निकै बेर लाग्यो ।
‘हुन्छ ।’ थरथर कापेको आवाजमा जवाफ दिएँ । मेरो मुटु किन यति जोडले धड्किएको होला ! आफैंदेखि छक्क पर्छु । झोलाबाट उसले मागेको नोटकापी झिकेर उसतिर तेस्र्याएँ । उसले मुसुक्क हाँसेर हात अघि बढाई । मलाई एकोहोरो हेर्दै कापी समाई ।
‘तिम्रो गाउँको घर लडेकोमा मलाई दु:ख लाग्यो ।’ अलि साहस बटुलेर बोल्ने आँट जुटाएँ ।
त्यसपछि अनुराधा मसँग नजिकिँदै गई । हामी कलेजमा सधैंजसो बोल्न थाल्यौं । ऊ हेर्दा राम्री नै थिई । त्यति गोरीचाहिँ होइन । तर पनि उसमा एक किसिमको आकर्षण थियो ।
गाउँबाट सहर पढ्नका लागि आएको थिएँ । गाउँमा बाले दु:ख गरेको सम्झेर मैले यहाँ मिहिनेत गर्नुपर्छ भन्ने लाग्थ्यो । त्यसैले म कोठा र कलेजबाहेक अन्त खासै निस्कन्नथें । कलेजमा पनि कि त कक्षामा हुन्थें कि पुस्तकालयमा । केटासाथीहरू केटीसाथी लिएर घुम्न निस्किन्थे । उनीहरू मलाई भन्थे, ‘तिमी त नाम मात्रको पुरुष हौ ।’
म उनीहरूको जवाफमा फिस्स हाँसिदिन्थें ।
दिउँसोको समय मेरो कलेजमै बित्थ्यो । साँझ म कोठामै हुन्थें । एक छिन पढेर खाना बनाउँथें । पाकेपछि म सधैं उसलाई पर्खिन्थें । ऊ अर्थात् विश्वासलाई ।
बल्लतल्ल उसले काम पाएको थियो । काम पनि के पो गर्दै थियो कुन्नि ! सधैं अबेला आउन थालेको थियो । आउनासाथ ओछ्यानमा पल्टिन्थ्यो । खाना पनि कहिले उतै खाएर आएँ भन्दै उस्सै निदाउँथ्यो ।
काम पाएको महिना दिनमै उसले भन्यो, ‘मैले काम छोडें ।’
‘किन छोडेको नि !’ उसको कुराले म अचम्म परें । पढ्दापढ्दैको किताब थन्काएर उसलाई हेर्न थालें ।
‘साला, पेलिएर खट्नुपर्ने । अनि पैसाचाहिँ थोरै । किन गर्नु ? बरु अर्काे काम खोज्छु ।’
मैले स्नातक पढिसिध्याउन लाग्दासम्म उसले धेरै ठाउँमा काम गर्दै छाड्दै गर्यो ।
—
तेस्रो वर्षको अन्त्यतिर अनुराधाले मलाई प्रेम प्रस्ताव राखी । उसको त्यो अप्रत्यासितको प्रस्तावले अक्क न बक्क भएँ । प्रेम भन्नासाथ म भित्रैदेखि डराएँ । घर सम्झिएँ । अनि आफ्नो आर्थिक स्थिति झलझली सम्झना बनेर आयो । आर्थिक रूपमा म कमजोर थिएँ । त्यहीमाथि घरबाट बाले अब पैसा पठाउन सक्तिनँ, आफंै काम गरेर गुजारा गर्नु भन्नुभएको थियो । त्यसैले मैले उसको प्रस्ताव स्विकार्न सकिनँ ।
ऊ मसँग रिसाई क्यार ! त्यसपछि ऊ कलेज पनि आउन छाडी । ऊबिनाको कलेज मलाई पनि किन हो नरमाइलो लाग्न थाल्यो । पढाइ पनि सकियो । परीक्षा दिन पनि ऊ आइन ।
परीक्षा सकिएपछि म काम खोज्नतिर लागें । काम खोज्न थालेपछि पो थाहा भयो, यो खोज्नु भनेको हीरा खोज्नु बराबर हुँदो रैछ । त्यसबेला मैले विश्वासलाई धेरै नै सम्झिएँ । उसले आफू बेरोजगार हुँदा दिनहुँ काम खोज्न हिँडेको र लखतरान भएर साँझ निराश भई आएको म अचेल सम्झिन थालेको छु ।
अचेल मेरो हालत पनि त त्यही छ ।
विश्वासले भने काम पाएको थियो । दिनहुँ ऊ काममा जानु पर्दैनथ्यो । फोन आउनासाथ ऊ कुदिहाल्थ्यो । काम के थियो कुन्नि ? उसले मलाईचाहिँ कहिल्यै भनेन । मलाई पनि त्यस्तो काम मिलाइदेऊ भन्दा ऊ आनाकानी गथ्र्याे । ऊ भन्थ्यो, ‘तिमीजस्तो पढेकाले यो काम गर्ने होइन । पढेका छौ राम्रै काम पाइन्छ नि !’
उसले पनि मेरा लागि काम खोज्दै थियो । तर भनेजस्तो काम भने पाइएन ।
विश्वासको राम्रो आम्दानी थियो । महँगो मोबाइल बोक्न थालेको थियो । लुगा पनि महँगो लगाउँथ्यो । आखिर के काम गर्छ उसले ? म बेलाबेला आफैं दंग पर्छु । सधैं जानु पनि नपर्ने । यस्तो काम मैले पनि गर्न पाए !
बेलाबेला हुटहुटी भएर आउँथ्यो । र म उसलाई उसको काम गर्ने ठाउँमा मलाई पनि काम मिलाइदिन अनुरोध गर्थें । तर उसले जहिल्यै आलटाल गथ्र्याे । त्यसपछि मैले उसलाई कहिल्यै भनिनँ ।
—
स्नातक उत्तीर्ण भइयो । यो खबरले म खुसी हुनुपर्ने हो । तर, अहँ हुँदै भइनँ । गाउँबाट बाले जहिल्यै काम पाइस् भनेर सोधिरहनुहुन्थ्यो । एक महिनापहिले पाएको काम पनि छाडेको थिएँ । अनि बेरोजगार भई भौतारिन थालेको थिएँ ।
‘काम खोज्दै हिँडेको हो भाइ ?’ चिया पिउँदै गर्दा प्रश्न मेरोसामु तेर्सियो ।
‘हो, दाइ ।’ लाहुरेझैं देखिने अधबैसे मेरोसामु थिए । म उनको प्रश्नको जवाफ दिन थालें ।
‘म मिलाइदिन्छु भाइलाई काम । काम सजिलो छ ।’ उनी भन्दै थिए । म उनको कुरा सुनेर हर्षले फुलेल हुँलाझैं भएँ ।
‘कामचाहिँ के होला दाइ ?’ सजिलो काम भन्नासाथ सोधिहाल्न मन लाग्यो । सजिलो काम यसरी सजिलै त पाइन्न !
‘हिसाब किताब मिलाइदिने । उनीहरू दिनभर तास खेल्छन् । तास खेल्दाको हिसाब किताब मिलाइदिने । त्यस्तै अरू पनि !’ तास भन्नासाथ म एकमनले खिन्न भएँ । कहीं मलाई जुवाघरमा त काम लगाउन खोजेको होइन !
‘दाइ, जुवाघरमा पो हो कि क्या हो काम ?’ मैले कपाल कन्याउँदै भनें । अलि डर पनि लाग्यो ।
‘होइन । होइन । भाइले चिन्ता लिनै पर्दैन । एकदम कुलघरानमा हो ।’ उनले मलाई विश्वस्त पार्न खोजे । मैले खाएको चियाको पैसा पनि उनैले तिरिदिए । त्यसपछि मलाई लिएर जान तम्सिए । म पनि काम पाएको खुसीमा उनको पछि लागें ।
उनको जिप पन्ध्र मिनेटपछि एउटा गल्लीमा छिर्यो । गल्लीमा छिरेको एकैछिनमा उनले जिप एउटा घरको मूलढोकामा रोके । उनको जिप रुक्नासाथ भित्रबाट ढोका खोलियो । जिपबाट ओर्लिनासाथ देखे मेरो अगाडि एउटा भव्य महल खडा थियो ।
उनले मलाई हिँड्ने इसारा गरे । म उनको पछिपछि लागें । चौथो तलामा लगेर उनले एउटा बैठक कोठामा राखे । बैठक कोठामा बसेको केहीबेरमा उनले मलाई अर्काे काठोमा लगे ।
त्यहाँ तास खेलिरहेका थिए । खेल्ने जति सबै महिला थिए । तास खेलिरहेका महिला देखेर एक छिन त म अक्क न बक्क भएँ ।
‘भाइले यही हो काम गर्नुपर्ने । उहाँहरूले खेलेको तासको हिसाब मिलाइदिने । अनि अरू के अह्राउनुहुन्छ त्यही गर्ने । सक्छौ हैन ?’ उनले मलाई मैले गर्नुपर्ने काम सिकाउन थाले ।
बल्लबल्ल पाएको काम सक्तिनँ पनि भन्न सकिनँ । यसो हेर्दा काम सजिलो पनि थियो ।
उनी मलाई त्यही छाडेर बाटो लागे । म भने महिलाहरूको बीच एक्लो छाडिएँ । उनीहरू तास खेल्नमा व्यस्त भए । मैले सबैको हिसाब किताब राख्न थालें ।
पहिलो दिन खासै काम गर्नुपरेन । हिसाब किताब राखिदिएबापत पहिलो दिनमै एक हजार नै दिए । म दंग परें । काम त सजिलो नै थियो । त्यहीमाथि पोसिलो पो लाग्यो । त्यसपछि दिनहुँ जान थालें ।
मैले काम पाएकोमा विश्वास खुसी थियो । घरमा बा पनि खुसी हुनुभो ।
—
पुग्नासाथ स्यार्र पानी पर्यो । धन्न म पुगिसकेको थिएँ । कसो बाटोमै हुँदा पानी परेन ।
म पुगेको निकै बेरसम्म पनि कोही आइपुगेनन् । बिना म्याडम मात्र थिइन् । पानी पर्न रोकिँदा पनि कोही नआउँदा आज मैले काम गर्न नपर्ने होला भन्ने लाग्यो । अरू काम त मैले गर्नै पर्दैनथ्यो । घरभरि काम गर्ने नोकरचाकर थिए । म भने तास खेल्ने कोठामा धुमधुम्ती बसिरहें ।
‘गोपाल, यता आऊ ।’ बिना म्याडमको आवाज सुनियो । किन बोलाउनुभयो होला ! म सोच्दै उतैतिर लागें ।
‘चिसो भएन ? ड्रिङ्क्स लिऊ है !’ पुग्नासाथ भनिन् ।
मैले लिन्नको भावमा टाउको हल्लाएँ ।
‘धत लाटा ! लोग्ने मान्छे भएर पनि नपिएर हुन्छ ! आज मेरो मन राख्नकै लागि भए पनि तिमीले अलिकति पिउनैपर्छ ।’ मेरो सामु द्विविधा आइलाग्यो । नखाउँm बल्लबल्ल पाएको सजिलो काम उम्कने डर । खाऊँ भने कहिल्यै मुखमा परेको छैन ।
‘लिऊ यो तिम्रो लागि ।’
डराई डराई समाएँ । गिलास हातमा थियो । मेरो हात भने कापिरहेझैं लाग्थ्यो । मन झन् थरथरी कापिरहेको थियो । बिना म्याडमले निकै कर गर्न थालेपछि म हारें । मुखमा गिलास लगें । अलिकति घुट्क्याएँ । झन् कर गरेपछि आँखा चिम्लेर एकै सासमा सिध्याएँ ।
मलाई चक्कर आउलाझैं भयो । म कहाँ छु के गर्दैछु भन्ने होससम्म भएन । त्यसपछि के के भयो ? के के गरें ? कुनै सुझबुझ बाँकी थिएन । नशाले छोडेपछि मैले आफूलाई ओछ्यानमा पाएँ । छेउमै बिना म्याडमलाई देखें । अर्धनग्न रूपमा । त्यसपछि मेरा आँखामा धमिलो चित्रहरू आउन थाले । जुन म निदाउनुअघिको थियो । गिलास रित्याएपछि हामीबीच जे घट्यो धमिलो धमिलो सम्झिन थालें ।
मुटु जोडजोडले धड्किरहेको थियो । हतारहतार लुगा लगाएँ । चार तलाबाट कति छिटो ओर्लिएछु पत्तै भएन ।
आतंकित मन लिएर म कोठा पुगें । कोठामा पुगेर डङ्गरङ्ग ओछ्यानमा लडें । तब पो बल्ल थाकेको महसुस भयो । कम्मर मुन्तिर हल्काहल्का पीडा भएझैं लाग्यो । त्यसपछि आँखा चिम्लेर म रुन थालें ।
—
मोबाइलको घन्टी बज्यो । बिना म्याडमको कल थियो । उठाउन मन भएन । फोन आइरह्यो ।
हिजो म गइनँ । आज पनि जाने आँटै भएन । कुमार केटोले पहिलोपटक आफ्नो पुरुषत्व एक विवाहित महिलामा सेलाएको हीनताबोध भइरह्यो । त्यसैले काममा नजाने निर्णयमा पुगेको थिएँ ।
साँझतिर मोबाइलमा म्यासेज आयो । हेरें । म्यासेजले मेरो सातो नै उडायो । लेखिएको थियो, तिमी काममा नआए तिम्रो भिडियो सार्वजनिक गरिदिन्छु । एक्कासि निधार खुम्चियो । रिंगटा लाग्लाझैं भयो । हतारहतार फोन लगाएँ ।
‘मलाई थाहा थियो । तिमी मसँग भाग्ने छैनौ भनेर । तिम्रो नग्न भिडियो मसँग छ । तिमी यो सार्वजनिक नहोस भन्ने चाहन्छौ भने भोलिदेखि काममा आऊ ।’
हुन्छ भन्न करै लाग्यो । मेरो जवाफले बिना म्याडम हाँसिन् । उनको हाँसोले भने मलाई पोल्यो । बिझायो ।
—
अचेल तास खेल्न सबै महिला जम्मा हुँदैनन् । म आएपछि पनि यहाँ केही पुरुष आएका थिए । जसलाई लिएर अरू महिला जान्थे ।
बिना म्याडमको लोग्ने विजनेसम्यान हुन् । जसलाई मैले देख्ने मौका पाएकै छैन । म आउँदा उनी विदेश व्यापारको सिलसिलामा गएका थिए । उनी महिनामा एक दुई दिन मात्र घरमा बस्थे । त्यो समयमा मलाई फोनबाटै बिदा दिइएको जानकारी आउँथ्यो ।
मलाई पहिलोपटक यहाँ ल्याउने लाहुरेझैं देखिने मान्छे दलाल रहेछ । ऊ बेलाबेलामा आउँथ्यो र आफ्नो हिस्सा लिएर जान्थ्यो । उसले म आएपछि चारजना ल्याइसक्यो । जसलाई रूपा, लसिका, हसिना र इन्दु म्याडमहरूले छानेर लगे । उनीहरूलाई लिएर गएपछि तास खेलिन कम भएको थियो ।
—
एक दिन बोलाइएकै समयमा म पुगें । तर, पुग्नासाथ बिना म्याडम अत्तालिइन् । उनी भन्न थालिन्, ‘ला, गोपाल । मेरी सानी बहिनी आउँदैछे । त्यसले तिमीलाई घरमा देखी भने बित्यास पर्छ । तिमी यसो गर राधिकाको घर गएर बस । ऊ अहिले एक्लै होली । बहिनी गएपछि तिमीलाई बोलाउँछु ।’
राधिकाको घर देखाइदिइन् । उनलाई म राम्ररी चिन्दथें । तास खेलिँदासम्म उनी यहाँ आइरहन्थिन् । उनको श्रीमान् पनि धेरैजसो विदेशतिरै बस्थे । कौसीबाट हेर्दा उनको घर देखिन्थ्यो । दस पन्ध्र घर पर्तिर उनको घर थियो ।
बिना म्याडमको आत्तिएको अनुहार देखेर म पनि हतारिएँ । हतारमा ओर्लिएर मूलढोकामा पुगें । ढोका बाहिर पुग्नासाथ एउटी महिला आउँदै गरेको देखें । सायद यिनै होला बिना म्याडमको सानी बहिनी । म अनुमान लगाउन खोज्छु । तर यो अनुहार कहाँ देखेदेखे झैं लाग्यो । सिउँदोमा सिन्दुर, गलामा पोते । ओठमा रातो लिप्स्टिक लाउने हो भने अनुराधा यस्तै देखिन्थी होली ।
नजिकै आइपुग्दा उसको कान नजिकको कोठी ठम्याएँ । अनुराधा नै थिई । मैले चिनें । तर उसले मलाई चिनिन । किन ? ओहो ! निस्किँदा अनुहारै छोपिएलाझैं गर्ने क्याप जो लगाइदिएकी थिइन् । बिना म्याडमको चलाखीलाई चाहिँ मान्नैपर्छ ।
अनुराधाको धपक्क बलेको अनुहार अनि मोटाएको शरीर सम्भिँmदै म राधिकाको घर पुगें । दस मिनेटको बाटो बीस मिनेट लागेछ ।
‘राधिका म्याडम बिजी हुनुहुन्छ । एक छिन बैठकरुममै बस्दै गर्नुस् ।’ एउटीले भनी । जो कहिलेकाहीं राधिका म्याडमसँग बिना म्याडमको घर जान्थी । मैले उसलाई त्यहीं हो चिनेको ।
बैठककोठामा एक्लै बस्न पट्यारै लाग्यो । निकै बेरमा राधिका म्याडम निस्किनुभयो ।
‘गोपाल तिमी अचानक आयौ नि ! बिनालाई त ठीकै छ होइन ?’ राधिका म्याडम सोध्दै थिइन् ।
‘ठीकै छ । उहाँको बहिनी आएकी छन् । त्यसैले म एक छिन यतै बस्नु भनेर पठाउनुभएकोले आएको ।’ अनकनाउदै जवाफ दिएँ ।
एक छिन बस्दै गर भनेर राधिका म्याडम मास्तिर उक्लिन् ।
यो के राधिका म्याडम जहाँबाट बाहिरिनुभएको थियो । त्यहाँबाट यो अनुहार कसरी ? जो भर्खरै आफ्नो लुगा मिलाउँदै थियो । उसले पाइन्टको टाँक राम्ररी लाउन भ्याएको पनि थिएन । म उसैलाई निर्निमेष हेरिरहें ।
जब उसले मलाई देख्यो ऊ पनि अक्क न बक्क भयो । विश्वास र मेरा आँखा चार भए । बल्ल पो बुझें, उसको राम्रो आम्दानी हुने काम के रहेछ भनेर ।
र मलाई पुरुष हुनुको हीनताबोधले पोल्न थाल्यो ।
प्रकाशित: माघ २३, २०७२
(स्रोत : कान्तिपुर – कोसेली)