~रामनाथ खनाल~
गाउँको बीच भागमा सानो फुसको घर छ । घरभित्र पिलपिल बलिरहेको टुकी अँध्यारो चिर्न खोजिरहेको छ । वर्तन सिद्धिएको दियो जस्तै धिपधिप गरी निभूँलाझैं गर्छ ।
च्याँsss
अचानक बच्चीको चर्को आवाजले वातावरणमा कोलाहलता छाउँछ । रातको सन्नटा चिर्दै परसम्म आवाज फैलन्छ र निस्तव्धतामा विलाउँछ ।
च्याँsss
यो पटक अघि भन्दा बढी आवाज फैलन्छ र राधिकाको कानमा नराम्ररी ठोकिन्छ ।
राँड…
अनायसै उसको मुखबाट आवाज फुत्कन्छ ।
‘अघि भर्खर दुध चुसाएर सुताएको, एक घण्टा नै नभई विउँझिई।’ उ फतफताउँदै छोरी नजिक पुग्छे ।
अहँ छोरी शान्त देखिन्न । उसको रुवाईमा झनै कारुणिकता थपिँदै थियो । भोकले पेट हुँडलेर होकी निद्रा बिथोलिएर हो बच्ची अधैर्य देखिई ।
चुँ चुँ चुँ
काखमा लिन्छे । दुवै हातले च्यापेर हातमा खेलाउँछे ।
बच्चीको रुवाईको गति झन् तिव्र हुन्छ । अचानक उसको रिसको तापक्रम बढ्न थाल्छ । बच्चाको शरीरमा उसले मोटा हात बजार्छे ।
बच्ची झन् मच्चिएर रुन थाल्छे । फेरि, दाहिने तिघ्रामा चिमोटिदिन्छे । त्यसपछि भने राधिकाको रिसको पारो अघि भन्दा केही घट्छ । उ पनि छोरीसँगै सुँक्सुकाउँछे ।
‘किन रुवाएको छोरीलाई ?’
अचानक दुई जना कार्यकर्ताको साथमा जोगीराम भित्र पस्छन् ।
शान्त भइसकेको राधिकाको रिसको मात्रा पुनः एक्कासी बढ्छ ।
‘महासय ! यतिबेला घर आउने फुर्सद मिल्यो ?’
दिनभरीको कार्यकर्ता भेटघाट र मिटिङ्ले थकित अनुहारमा एकाएक प्रश्न बज्रिँदा सुरूमा त उसको अनुहारको भाव पनि नबिग्रिएको होइन । तै पनि आफ्नी श्रीमतीको रिसाहा बानीबारे ऊ कहाँ अनभिज्ञ थियो र ! तैपनि कार्यकर्ताको अगाडि नकराईदिए हुन्थ्यो उसलाई नलागेको होइन । तर, उसले नानीदेखि लागेको बानी कहाँ छोड्थी र !
सधैँ घरमा आईराख्ने कार्यकर्ता भएकाले खासै माइण्ड गरेनन् होला । उसले यस्तै केही सोच्यो ।
आफ्नो कोठामा छिर्यो ।
‘सुन्यौ ? आज म खाना खान्न नी ।’
उसले कोठा भित्र छिर्नै लाग्दा श्रीमतीलाई भन्यो ।
श्रीमान्को यो कुराले राधिकाको शान्त भएको रिस सयको विन्दुमा चढ्यो । तरपनि मुख फोरिनन् ।
लोग्ने र कार्यकर्ताको गानगुन उसको कानमा विस्तारै पथ्र्यो । विलिन हुन्थ्यो । यो क्रम केही बेर चलिरह्यो । कुराको बिचमा मिसिने अट्टाहसले भने उसलाई सहि नसक्नु बनाउँथ्यो ।
फू फू बर्षा सिध्धिए पछि पनि मूला झैँ ढाडिएका दाउराले चुल्हो तताउन सकेको थिएन । धुवाले पुरै घर रंगमंगीई सक्दापनि आगो बलेको होइन ।
‘किन धुवाँ पारेको ?’ जोगीरामले कोठा भित्रैबाट चिच्यायो ।
धुवाँले पोलेको आँखा मिच्दै राधिकाले भित्रै चिच्च्याई, ‘धुवाँ नहुन त दिउँसै आएर दाउरा चिर्नु पथ्र्यो ?’
मुखभरीको जवाफ पाए पछि जोगीरामको बोली बन्द भयो ।
‘भाउजु गयौँ है ?’ धुवाँले घेरीएको चुल्होमा फू–फू गरिरहेकी राधिकाले यत्ति सुनी ।
लठैतहरू बल्ल गए भन्दै राधिका लोग्नेको कोठमा फुत्त छिरी । र जानासाथ प्रश्न बर्षाइहाली ।
‘हैन कतिञ्जेल चल्छ हँ यसरी ? घरमा चामलको गेडा छैन, लखर–लखर रात दिन यसैगरी डुल्दै हिँडेर गुजारा चल्छ ? कहिले सुध्रन्छ तिम्रो मति ?’ यति सप्पै उसले एकै श्वासमा भनि ।
जोगीराम अवाक् भयो । बाक्य बिहीन भयो । भित्रबाट केही भन्न त खोजेको थियो तर बाक्य बिचमै अलप भयो ।
‘गम खाएर बोल्यो । ‘चिन्ता नगर न राधे, म सवै व्यवस्था गरिहाल्छु नी । संसद्को चुनावको टिकट छान्ने दिन भोलि । त्यसैको मिटिङमा व्यस्त भएँ । ढिला भयो ।’ उसले श्रीमतीलाई सम्झाउने प्रयत्न गर्यो ।
‘टिकट तिमीले पाउने हो र ? सधैँ अर्काको भरिया त हौ नी तिमी । अहिलेसम्म अरुलाई काँध हालेर तिमीलाई के चाँही फाइदा भयो र ? हाम्रो जीवन त यस्तै भयो, छोरी जन्मिई सकी त्यसको बारेमा त केही सोच ।’ ऊ अझै शान्त भइनँ ।
‘हैन, यसपाली मलाई टिकट देला जस्तो छ । स्थानीय तहबाट पनि मलाई नै सिफारीस भईसक्यो । भोलि केन्द्रले यसबारेमा निर्णय लिन्छ ।’ उसले श्रीमतीको अनुहार उजिल्ल्याउने कोसिस गर्यो ।
‘अँँ पाउला तिमीले’, उसले आँखी भौँ खुम्च्याउँदै मुख बिगारेर थपी, ‘कथम् कदाचित टिकटै पायौ भने चुनाव चाँही कुन पैसाले लड्छौ नी ?’ उसका जिज्ञासा रोकिएन । मानौ उ हरेक प्रश्नमा स्पष्टीकरण सोधिरहेकी छे ।
जोगीराम प्रत्येक प्रश्नबाट तर्किन खोज्थ्यो । तर, उसकी श्रीमतीले जवाफबाट सजिलै उम्कन कहाँ दिन्थी र !
‘त्यो त पार्टीले सहयोग गर्छ नी लाटी !’ उसले श्रीमतीबाट उम्कने उपाय स्वरुप उत्तर दियो । तर श्रीमती अझै रोकिनेवाला थिईन । उसले पुनः सोधि ‘अनि सप्पैले सघाउँछन् त ?’
‘सघाउँछन् । पार्टीले टिकट दिएपछि नसघाउने कुरै आउँदैन ।’ उसले आश्वस्त पार्ने कोसिस गर्यो ।
यसपटक भने राधिकाको मुहारमा कान्ति छायो ।
उ हान्निँदै भान्छामा लागि । उसले भर्साउनै लागेको भात छोडेर आएकी थिई । तर, उसले आगो निभाउन बिर्सिइछ ।
कुरै कुरामा भात भुसुक्कै डढाइछु । रिस नउठेको होइन । भात डढेर के भयो र सांसद् पत्नी हुन लागेकी छेस् नी । अघि निधारमै झरी सकेको रिस एकाएक अलप भयो ।
अँगेनाको डिलमा राखेकी कराहीको गुन्द्रुक पनि अघि नै सेलाइसकेछ ।
डढेको भात र सेलाएको गुन्द्रुक उसलाई निकै स्वादिष्ट लाग्यो । सायद त्यो खुसीको मानो थियो ।
भात निल्नै लाग्दा उसलाई अव दुःख सकिएझैँ लाग्यो ।
श्रीमान् नेतागिरी गरेर हिँड्दा उसले यस्ता कयौँ छाक भोकै बसी । गाउँलेले कुरा काटे । नेता पत्नी भन्दै गिज्ज्याए । माइती पर–पर भए । छरछिमेकले पैँचो पनि दिएनन् । नेतागिरी गरेर सम्पत्ति सिध्याउँछ भनेर विवाह गरेको एक वर्ष नवित्दै मूलघरबाट भिन्न गराई दिए ।
सव दृष्यहरु मथिङ्गलमा ताजा भएर आयो । सोच्दा सोच्दै कतिखेर थाल रित्तिएछ उसलाई पत्तै भएन ।
अव सुख पाउने भएँ । मनमनै विचार गरी । उसलाई यो रात जिन्दगीको सवै भन्दा खुसीको रातझैँ लाग्यो ।
आँ होस् । जुठा भाँडा माझ्ने र चुलोचौको लिप्ने काम पनि भोलि नै गर्छु । हातमुख चुठी । ओछ्यानमा पुगी । श्रीमान् अघि नै निदाई सकेछन् ।
निदाएपनि सिरकले खुट्टा राम्ररी छोपिएको रहेनछ । सिरक तानेर खुट्टा छोपिदिई जोगिरामको ।
अघि मान्छेको अगाडि किन कराए हुँला । श्रीमानप्रति अनयासै दया जागेर आयो र त्यो निद्रामा हराएका श्रीमान्को अनुहार हुँदै अंग अंगमा पुगेर पोखियो ।
उसलाई विनाकारण कराएकोमा पश्चातापबोध पनि भयो ।
‘बिचरा ! मेरै लागि त कुदेका त हुन् नी ।’ मनमनै उसले यस्तै विचार गरी र लोग्नेसँगै ओछ्यानमा गुडुल्किई ।
अहँ निद्रा परेन । निदाउन बल गर्दा पनि निद्रा आएको होइन । हिजो सम्म नेता पत्नी भनेर गिल्ला गर्नेहरू अव सांसद्पत्नी हुनेभई भन्ने डाहले भुतुक्कै हुने भए । उसले छरछिमेकी, गाउँले र माइतीका अनुहारहरूमा डाहको भाव देखि ।
धत् ! टिकटै पाएका छैनन । चुनावै हुनै बाँकी छ । त्यसै सपनाको महल खडा गरिसकेछु । फेरि ऊ यस्तै सोच्छे ।
अघिल्लो वर्षनै पाउनु पथ्र्यो । त्यस पटक अर्को पटकलाई भनेर अर्को नेता उठाएको थियो । उनले चुनाव जित्यो तर, चुनाव क्षेत्र कहिल्यै फर्किएन। जनता उप्रति रिसाएका छन् । स्थानीय उम्मेदवार नउठाएकाले थोरै भोटले मात्र जितेका थिए ।
उसले लोग्ने जोगिरामले टिकट पाउने र जित्नेमा शंका गर्ने ठाउँ देखिन । एकदिन सवैको पालो आउँछ भन्थे, आफ्नो पालो पनि आएकोझैँ लाग्यो उनलाई ।
आउने तिजमा सांसद् पत्नी भएर गलामा मंगलसूत्र र छड्के तिलहरी भिरेर माइत जाने इच्छाले मथिङ्गलमा मस्ति मार्न थाल्यो ।
सोच्दासोच्दै कतिखेर निद्रापर्यो उनलाई पत्तै भएन ।
भोलिपल्ट हिजोको जुठो भाँडा माझिन् । चुलोचौको, मझेरी र दैलो लिपपोत गरिन् । बस्तुभाऊलाई खोले पानी गरिन् । छोरीलाई जाउलो पकाइन् र खुवाइन् । लोग्नेलाई ओछ्यानमै चिया पुर्याउन पुगिन् ।
अघिपछि विहानै गालीको वर्षा गर्ने श्रीमतीले ओछ्यानमै चिया पुर्याउन आएको देखेर जोगीराम अचम्ममा परे ।
श्रीमतीको अनुहारमा एक किसिमको लाली पोतिएको थियो । त्यो झ्यालबाट पर क्षितिजमा देखिने घामको झुल्को भन्दा कम पारिलो थिएन ।
‘साँच्चि बुढा तिमीले टिकट त पाउँछौ नी ?’ यो प्रश्नमा जोगीरामले श्रीमतीमा बालपनको झझल्को देख्यो ।
‘अवश्य’ उसले श्रीमतीको चिउँडो उचाल्दै भन्यो ।
श्रीमतीले अंगालो हालूँझै गरी । उ पुलकित भयो ।
‘बुढी खाना बनाऊ । आज चाँडै जानुछ, दुई चारवटा टोल कमिटीको मिटिङमा पनि पुग्नु छ। ’
‘हवस ।’
उसले तुरुन्तै मानी । बिजुलीको बेगमा भातभान्छा तयार पारी । लोेग्नेलाई खुवाई । छोरी पनि अघिपछि भन्दा शान्त देखिई । ति अवोध बालिकाले पनि आमाबाबाको अतृप्त खुसी बुझेजस्तै गरी ।
जोगीराम खाइओरी निस्किए ।
राधिकाले घरको धन्दा अघि पछी भन्दा चाँडै सकिन् ।
टोलमा निस्किइन् । घरको सुरैमा छिमेककी मैया फेला परिन् ।
‘लोग्ने सांसद् उठ्ने हल्ला छ नी ?’
मैयाको प्रश्नले उसलाई झन् खुसी तुल्यायो ।
अँ । ‘कसरी थाहा पाउनु भयो ?’
‘गाउँमा हल्ला छ । यस पटक टिकट कन्फर्म छ रे ।’
यसले राधिकाको खुसीमा झन् उज्यालो थपिदियो ।
झमक्क साँझ परेपछि जोगिराम घरमा आए ।तर, उनको अनुहारमा हिजोको जस्तो कान्ति थिएन । अनुहार ओइलाएको सागझैँ गलेको देखिन्थो ।
‘किन बुढा निराश देखिन्छौ नी ?’
श्रीमतीको मायालू प्रश्नले उ किकर्तव्यविमूढ भयो ।
‘टिकट भीमसेनले नै हात पार्यो ।’
(स्रोत : Nepalpati)