~देवी नेपाल~
अनन्त युगका साक्षी ब्रह्मपुत्र थिए त्यहाँ
काशी पर्दैन रे जानु विश्वनाथ स्वयं जहाँ
गुप्तकाशी पुग्यौँ पैले अनि सागर देखियो
के सक्थ्यो शब्दमा अट्न मनमा काव्य लेखियो ।
कतै ढुङ्गा कतै डुङ्गा कतै बगर सुन्दर
ढुङ्गा डुङ्गा चलिरन्छन् मान्छेका जिन्दगीभर
अपार जलको राशी छेउ बगर फुङ्ग छ
नचिने जलको मूल्य यस्तै जीवन बन्दछ ।
डिलमा पुगियो सारा हेरियो जलको कला
वर्णन गर्नका लागि अपूर्ण हुन्छ यौ गला
आँखा नजिकमा नाँच्ने परेला देख्न सक्छ को ?
त्यही सोचेर सोन्दर्य टाढैबाट अटाइयो ।
सुनेथेँ यसको गाथा पुर्खा यही तरी गए
हिजोका घरका काका आज विदेशमा पुगे
पुर्खाको मनको डुङ्गा ब्रह्मपुत्र किनारमा
पल्टेको देखियो आज हर्ष छैन मुहारमा ।
मुटु थिचेर ढुङ्गाले छाडेको गाउँको कथा
बसेको रै’छ ढुङ्गा भै कस्ता जिदीर्ण छन् व्यथा
पूर्वको घाम भो साक्षी गोर्खाली इतिहासको
त्यही साक्षीसँगै चित्र खिचियो बह्मपुत्रको ।
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान)