कविता : सम्बन्धको घेरा

~विमल पोखरेल~

मलाई बाँच्नु नपर्ने भए
खाना र भोको पेटको नाता
तोडिदिने थिएँ मैले
मेरो यति धेरै श्रम
एकमाना चामलका लागि
त्यो चामल काँचै चपाउने कि
पकाएर भात बनाउने?
एक माना चामलको परिपरि
करिब आधा दर्जन पेट कराइरहेका छन् !

ढुंगा र काँडाले मेरो खुट्टालाई
नघोच्ने, नरोप्ने भए
चप्पल र खुट्टाको नाता पनि
तोडिदिने थिएँ मैले
म चामलको लागि काम गर्छु
मैले चप्पल कसरी किन्ने?
एक जोडी चप्पल किनुँला रे !
खाली छन् एक दर्जन खुट्टाहरु !

घाम, पानी र लाज नभइदिएको भए
कपडा र शरीरको नाता पनि
तोडिदिने थिएँ मैले
मेरा आधा दर्जन शरीरमा तर
एकसरो लुगा छैन
एउटा ठूलो घरभित्र
तर एउटा शरीर ढाक्न
दराज भरी लुगा
चाङ लगाएर राखिएका छन्
म टुृलुटुलु हेरेर बसिरहेको छु

(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ४१ – २०६७ भाद्र १६ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.