~जनकराज भट्ट~
बुद्दिसागरका पुस्तकहरु भन्दा बढी कथावाचनको र मान्छेको फ्यान हुँ म । उनले फिल्म हेर्दा र डेटिङ जाँदाका सुनाउने किस्सा अहिले पनि ग्याङमा हिट छन् । अति साधारण लाग्ने घटना पनि साह्रै स्वाद लाग्नेगरी पस्किनसक्नु उनको खुबी हो । साधारण कुरा गर्ने र रमाइलो हुने हुनाले चिया गफ पनि रमाइलो हुने गरेको छ । त्यसैले पनि कर्णाली ब्लुज पढेदेखि नै बुद्दिसागरको अर्को कृति कहिले आउँछ भनेर प्रतीक्षा रह्यो, लामै समय लाग्यो पनि ।
यति भनिसक्दा मैले मित्र बुद्दिसागर र लेखक बुद्दिसागरमा फरक छुट्ट्याउन सक्दिनँ भन्ने लाग्छ भने यहाँभन्दा अगाडि नपढे नि हुन्छ।
यहींबाट शुरु गरौं, “फिरफिरे” कुनै महान् पुस्तक होइन । पुस्तकभित्र अनेकौं पात्रहरु आउँदै जाँदै गर्दा जेलिने कथाक्रममा दुई बालसुलभ दोस्तहरुको दोस्तीको किस्सा छ यसमा । साधारण अझ भनौं अभावै अभावमा जीउने केही थान मनुवाहरुको जीजिविषा यसमा भरिएको छ । सौतेनी नदीझैं सलल बग्ने कथामा यी दुई प्राणीहरुसँग ठोक्किन आइपुग्ने विभिन्न घटना र पात्रले कहिले मुस्कुराउन लगाउँछन्, कहिले घाँटी अवरुद्द पारेर रुवाउलान् झैं गर्छन्, कहिले रिस पनि उठाउँछन् । पुस्तकमा प्रजातन्त्र घोषणा भए आसपासको गाउँले समाज छ, धामीझाँक्री अन्धविश्वास छन्, गाउँको दु:ख अभाव र पीडा छ, सोझोपन छ । एउटा समाजको एउटा कालखन्डका मैनापुर, अम्बरपुर र बाँसबारी थपक्क उठाएर पुस्तकमा राखिदिएका छन् लेखकले ।
बाहिरबाट हेर्दा पुस्तक ठुलो देखिन्छ, मोटै पुस्तक लेखेका हुन्, पढ्न त जाँगर चाहिन्छ, लेख्ने जाँगर सम्झेरै सिरिङ्ग हुन्छ । तर पुस्तकमा घुस्दै जाँदा भिन्न पात्र र तिनका भिन्नाभिन्नै कथालाई गजबले मिलाएर राखिएको छ, कथा सकिँदा “ज्या ! सकिनै पो सकेछ” भन्ने भान हुन्छ ।
किताबको परिवेश लगभग लेखकको पहिलो कृति “कर्णाली ब्लुज”को जस्तै छ । मटेरा र कटाँसे बजारको रहर नपुगेको भए “फिरफिरे”को बाँसबारी लगभग त्यस्तै छ ।
किताबका मुख्य आकर्षण पवन र बन्ते नै हुन् । यिनीहरुका सपना, उपद्रो, झगडा, पुनर्मिलन, झन्डै किशोरवयको हुटहुटी, पारिवारिक सम्बन्धको रिक्तता र अनुभवको वरीपरी फिरफिरेको कथा उँड्छ । आफु गाउँमा हुर्केको, यस्तै साथी सङ्गती भएको, यस्तै धामी झाँक्री देख्दै आएको, यस्तै चकचक गर्ने, यसैगरी सपना देख्ने समाजमा हुर्केकाले मलाई “फिरफिरे” आफ्नै कथा जस्तो लाग्यो । म त यो भन्दा धेरै बदमाश थिएँ, तर यिनिहरु पनि कम छैनन् ।
पुस्तकका अन्य पात्रहरु पनि उत्तिकै प्रभावशाली र तीखा छन् । जुठी आमै, जीवाराम, पिच्कुमाझी, वसीर, जसोदा, सर्वजीत सर, रमा, मुनमुन, चीलगाडी लगायत अन्यको पनि छरिएको तर फिल्मी भाषामा शानदार रोल छ ।
लेखन शैली सरल छ, बुद्दिसागरको कथा भन्ने भाषाको त चर्चा गरीराख्नै परेन । पुस्तकमा ग्रामीण समाजमा भनिने लोककथा र उखानको राम्रै प्रयोग हुनुका साथै यसो गरे यसो हुन्छ भन्ने पाराका रुढीवादी त्रासहरु पनि टन्नै छन् । ग्रामीण (गाली) स्ल्याङहरुको भरपुर प्रयोग छ पुस्तकमा ।
उपन्यासको शीर्षक सार्थक देखिन्छ, कथामा साँच्चिकै आइपुगिराख्ने पातको फिरफिरे मात्र होइन, फिरफिरे झैं फनफन्ती घुम्ने दु:ख र वेदनाको, कहिले नसकिने जिउनुको भाउँतोको, गाँठा केलाएर नसकिने सम्बन्धका नालिबेलीको ।
पात्रहरुको छनौट र वर्णन यो पुस्तकको सबैभन्दा सबल पक्ष हो । पात्रहरु धेरै भएपनि तीनलाई न्याय गरेका छन् लेखकले। साना भूमिकाका पात्रले पनि आफ्नो कथा भन्न भ्याएकै छन् ।
कथा फ्ल्याशब्याकमा छ, झन्नै कर्णाली ब्लुजकै शैलीमा । भाषा सरल तर प्रभावशाली छ । पुस्तकको सम्पादनमा पनि ध्यान राम्रै पुगेको भान हुन्छ, साना गल्तीहरु छैनन्, या मैले नभेट्टाएको हुनसक्छ । पुस्तकको अन्त्यमा राखिएको गीत सुन्न गजब छ, भिडियो चाँही अल्छी गरेर बनाएजस्तो लाग्यो, मन परेन ।
यो पुस्तकको सबैभन्दा दुर्बल पक्ष यसको कभर हो । कभर कथा र पुस्तकको थिममा त मेल खान्न खान्न, एकदमै अल्छी गरेर बनाएजस्तो देखिन्छ । कुनै नेपाली कलाकारलाई चित्र या फोटो खिच्न लगाएर राख्देको भए हुने । यत्रो पुस्तक तयार गरिसकेपछि कभरमा अलिक जाँगर लगाएको भए हुने । पुस्तकको दोश्रो संस्करण आयो भने यसका कभर पृष्ठ कुनै पनि हालतमा फेर्न लेखक र प्रकाशकलाई सुझाव ।
पुस्तकको दोश्रो मलाई अलिक मन नपरेको पक्ष चाँहि भावुकता हो । लेखकले केही पात्रलाई आफ्नो कुरा भन्न लगाउन अति भावुक बनाएजस्तो देखिन्छ । तिनीहरु सधैँ आदर्शका कुरा गर्ने खालका छन् र कहिलेकाहीं पट्ट्यार लगाउँछन् ।
पुस्तकमा मैले कर्णाली ब्लुज जस्तै “पन्च इभेन्ट”हरु, जो फेरी पढेर हाँस्न सकियोस्, धेरै हुने अपेक्षा गरेको थिएँ, त्यो यसमा अलिक कम पाएँ । बुद्दिसागरको कथावाचनको प्रमुख पक्ष जस्तो लाग्छ मलाई त्यो ।
कथा अलिक कम गतिशिल छ, बर्दियातिरको कुनै गाउँको कथा मुस्किलले एकपटक नेपालगंज आउँछ । नत्र त्यो पनि फिरफिरेजस्तै बाँसबारीमै घुम्छ, जुठी आमैका घरदेखि शुरु भएर पिच्कुको छाप्रोसम्म ।
कथाको परीवेश पनि परिवर्तन गर्नुभएको भए राम्रो हुने थियो, जुन घटनाक्रमको वर्णन छ, ती विषय नेपालको सबै कुनामा लगभग उस्तै हुन् । बुद्दिसागरको अर्को पुस्तक चाँहि अर्को परिवेशमा होस् भन्ने आशा गरेको छु ।
४६को परिवर्तनको वरीपरीको कथा भएपनि त्यो बेलाको ‘मुड’ भन्न अलिक छुटाएका छन् लेखकले। हुन त राजनीतिक बिषयलाई त्यति चर्चा गर्नु उचित ठानिएन होला। तर सबै समाजमा यी कुराहरुको प्रभाव कुनै न कुनै हिसाबले पर्ने नै भयो । यी कुरा पनि आएका भए सुहाउँथे ।
समग्रमा बुद्दिसागरको दोश्रो उपन्यास एक पठनीय कृति हो । अन्त्यमा माओवादी द्वन्द्वका बेपत्ताहरुको बिषय पनि जुन छोइएको छ, बर्दिया प्रमुख क्षेत्र पनि हो त्यस विषयमा, ले पुस्तकलाई झनै गम्भीर बनाउँछ । आफ्ना आफन्त फर्केर आइहाल्छन् कि भन्ने पीडामा बाँच्नेहरुको कथा पनि हो यो ।
पुस्तक देखेर नतर्सिनु भए हुन्छ, ५३१ पेजको भए पनि तपाईंलाई पुस्तकले बाँधेर राख्छ र अब के हुन्छ भन्ने उत्सुकता बढाउँदै जान्छ । शहरमै हुर्केर गाउँ देख्दै नदेखेकाहरुलाई चाँहि अरुचीकर हुनसक्छ वा अझ रोमान्चक पनि हुनसक्छ । नबुझिने ठुला ठुला पहाडजत्रा कुरा केही छैनन् किताबमा।
समाजमा कायम रुढीवादी परम्पराहरु, जुनमध्ये केही अझै कायम छन्, बोक्सी धामी झाँक्री लगायत, का बारे पुस्तकले मिहिन रुपमा बोलेको छ । सबैभन्दा कमजोर आइमाइ मान्छेलाई कसरी बोक्सी बनाइन्छ, धामी झाँक्रीले कसरी झुक्याउँछन् भन्ने स्पष्टै वर्णन छ ।
मलाई यो पुस्तक पढेर बाल्यकालका सबै याद फेरी ताजा भएर आए । आउँछ आउँछ भनेर दसपल्ट मिति सारेर पनि यति राम्रो पुस्तक लेखिदिनुभएकोमा बुद्दिसागरलाई धन्यवाद ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)