~नारायण शर्मा~
आफ्नो मातृभूमि गुमाउँदाको पीडा कति गहिरो हुन्छ? यसलाई अहिले सिक्किमेली जनताले अनूभूति गरिरहेका छन्। सिक्किम कुनै बेला एक स्वतन्त्र राष्ट्र थियो। त्यहाँका जनता सार्वभौम थिए। तर अहिले उक्त स्वतन्त्र राष्ट्रलाई भारतीय विस्तारवादले निलिसकेको छ। जनमत संग्रह र संविधानसभाको नाममा भारतले कुटिल चालबाजीद्वारा सिक्किमको सार्वभौमिकता हडपेको थियो।
सिक्किमलाई भारतमा गाभ्नको निम्ति भारतीय विस्तारवादले धेरै पहिल्यैदेखि योजनाबद्ध प्रकारले काम गरिहेको थियो। खासगरी पछिल्लो समयमा इन्दिरा गान्धी प्रधानमन्त्री बनिसकेपछि उनले भारतीय गुप्तचर संस्था “रअ” लाई यस मिसनका लागि पूरा जिम्मेवारी दिएर योजनाबद्ध किसिमले खटाएकी थिइन। अन्ततः त्यही “रअ”को ग्रान्डडिजाइन बमोजिम स्वतन्त्र राष्ट्र सिक्किम सन् १९७५ सम्म आइपुग्दा पूरै भारतमा विलय भएको थियो।
भारतीय शासक वर्गको विस्तारवादी नीति अनुरूप “रअ” ले सिक्किममा आफ्ना विभिन्न एजेण्टहरू तयार पारेको थियो। ती एजेण्टहरूले प्रजातन्त्रको नाममा स्वतन्त्र राष्ट्र सिक्किमको अस्तित्वलाई नामेट पार्नको निम्ति योजनाबद्ध किसिमको काम गरिरहेका थिए। लेन्डुप दोर्जे लगायतका ती एजेण्टहरूको कुनियतलाई समयमै बुझ्न नसक्दा सिक्किमेली जनताले आफ्नो स्वतन्त्र सार्वभौमसत्ता गुमाउनु परेका थियो।
नेपालको राजनैतिक वृत्तमा “सिक्किमीकरण”को चर्चा धेरै पहिल्यै देखि हुने गरेको छ। अहिले इतिहास बनिसकेको सिक्किमको कथा र नेपालले विगत दुई दशदेखि भोग्दै आएको व्यथा निकै मिल्दा जुल्दा रहेका छन्। त्यही सिक्किमको कथा र नेपालको व्यथालाई मुख्य विषयवस्तु बनाएर युवा लेखक मुकुन्द कार्की तयार पारेको नयाँ पुस्तक बजारमा आइपुगेको छ। मुलुक तिव्रतर गतिमा सिक्किमीकरणको दिशामा अगाडि बडिरहेकेा वर्तमान सन्दर्भमा लेखकले निकै सान्दर्भिक सामाग्री पस्किएका छन्।
प्रस्तुत पुस्तकले नेपाल कसरी सिक्किमीकरणको दिशामा दौडिरहेको छ भन्ने तथ्यहरूलाई राम्रैसँग उजागर गरिदिएको छ। स्वतन्त्र राष्ट्र सिक्किमलाई आफ्नो पंजामा पार्न भारतिय विस्तारवादले इतिहासमा कस्ता कस्ता षडयन्त्रहरू रचेको थियो? विस्तारवादका एजेण्टहरूले सिक्किममा कसरी काम गरिरहेका थिए? यी सबै तथ्यहरूलाई सिलसिलेबार रूपमा सजाएका छन् लेखकले २३२ पृष्ठको सो रचनालाई ३ खन्डमा बाँडिएको छ। पुस्तकको पहिलो खन्डमा सिक्किमको संक्षिप्त इतिहास र नेपाल सिक्किम युद्ध लगायतका विषयहरू समेटिएका छन्। खन्ड २ मा नेपालसँग सम्बन्धित विषयहरू रहेका छन्। यस खन्डमा “नेपालमा राजतन्त्र” ००७ सालको क्रान्ति र भारतको हस्तक्षेप र विभिन्न सन्धिहरू, नेपालको पारवहन र सीमा समस्यामा भारतीय हस्तक्षेप लगायतका विषयहरू समेटिएका छन्। पुस्तकको खन्ड तीनमा सिक्किमको कथा र नेपालको व्यथा शीर्षकमा लेखकले तथ्यहरूको निचोड निकाल्ने प्रयत्न गरेका छन्। पुस्तकमा भूमिका इतिहासविद् डा.सुरेन्द्र के.सी.ले लेख्नुभएको छ जो निकै गहन देखिन्छ।
पुस्तकमा लेखकले सिक्किमले विभिन्न कालखन्डमा भारतसँग गरेका सन्धि सम्झौताहरू मात्र होइन, नेपाल र भारतका बीचमा इतिहासमा भएका विभिन्न सन्धि सम्झौताका पत्रहरू पनि उल्लेख गरेका छन्, जसले दुवैलाई तुलना गरेर शिक्षा लिन पनि काफी मद्दत गर्ने विश्वास लिन सकिन्छ। हाम्रा विभिन्न राजनैतिक पार्टीहरूको भूमिका र क्रियाकलापलाई गम्भीरतापूर्वक केलाउन प्रस्तुत पुस्तकमा उल्लेखित तथ्यहरूले हामीलाई अवश्य पनि बाध्य पार्ने छन्।
हाम्रो राजनैतिक वृत्तमा देखिंदै आएको एउटा सत्य के हो भने –कुनै व्यक्ति वा समूहले जे बोलिरहेको हुन्छ–आन्तरिक रूपमा पनि उसको नियत त्यही अनुरूपको प्रायः हुँदैन। हामी कहाँ सत्तामा पुगेका अहिलेसम्मका पार्टीहरूले सडकमा छँदा राष्ट्रियताको चर्को नारा उराल्ने गर्छन् तर कुर्सी हात परेपछि विस्तारवादको “ब” पनि उच्चारण गर्न सक्दैनन्। कुनै बेला त्यही विस्तारवाद सँग लड्न सुरूङ युद्धको उद्घोष गर्नेहरू पनि सत्तामा पुगेपछि त्यही विस्तारवादको अगाडि लम्पसार परेको नमिठो दृष्टान्त हामी कहाँ छ। त्यसैले कसैले चर्को राष्ट्रवादी नारा दिएकै भरमा, उग्रक्रान्तिकारीता छाटेकै आधारमा उ नै सच्चा राष्ट्रवादी हो भन्न सकिंदैन। उग्र क्रान्तिकारीता देखाउँदै चर्को राष्ट्रवादको वकालत गरिरहेकाहरू भित्र पनि लेन्डुप प्रवृति बोकेका एजेण्टहरू घुसेका हुन सक्छन्। ती सबै खाले एजेण्टहरूलाई चिन्न र बुझ्न पनि हामीलाई “सिक्किमको व्यथा र नेपालको कथा”ले सहयोगी भूमिका खेल्न सक्छ।
एक्काइसौं सताब्दीको यो वैज्ञानिक युगमा साम्राज्यवाद तथा विस्तारवादले आफ्नो स्वार्थपूर्तिको शैली र स्वरूप पनि युग सुहाउँदो ने बनाएको हुन्छ। अहिलेको जमानामा साम्राज्यवाद र विस्तारवाद सिधै बन्दुक उचाल्दै र बुट बजार्दै अवश्य आउँदैन। उ अनेक रूप रंग र शैलीमा साख्खै बनेर आउन सक्छ। त्यसलाई पहिचान गर्न निकै मुश्किल पनि पर्न सक्छ। राष्ट्रियताको चर्को वकालत गर्ने भित्रै पनि लेन्डुप प्रवृत्तिको बास हुन सक्छ। झ्वाट्ट बाहिरबाट हेर्दा र उसका भाषणहरूबाट मात्र त्यो लेन्डुप प्रवृत्तिलाई नचिन्न सकिन्छ। उसको इतिहास देखिको समग्र भूमिका र व्यवहारलाई मसिनो सँग केलाउन सकियो भने मात्र उसको पहिचान गर्न सकिने हुन्छ। कुनै पनि देशको राष्ट्रियता त्यस देशका जनताको सचेतनामा निर्भर गरेको हुन्छ। हाम्रो राष्ट्रिय अखन्डता आजसम्म अक्षुण रहनुमा पनि सचेत नेपाली जनताको जागरूक भूमिकाले काम गरेको प्रष्ट छ।
युवा लेखक मुकुन्द कार्कीको प्रस्तुत पुस्तक राष्ट्रप्रेमी नेपाली जनतामा आफ्नो राष्ट्र र राष्ट्रियताप्रतिको सचेतनालाई अरू प्रगाढ बनाउन सहयोगसिद्ध हुनेछ भन्ने अपेक्षा लिन सकिन्छ। समग्रमा भन्नुपर्दा “सिक्किमको कथा र नेपालीको व्यथा” हरेक राष्ट्रप्रेमीहरूले एक पटक पढ्नै पर्ने पुस्तक बनेर आएको छ।
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ३७ – २०६७ श्रावण १९ गते, बुधबार)