~उमेश राई ‘अकिञ्चन’~
ओ ! इन्द्रेणी नायिका
सदियौ कुजिएर
एउटा फोटो फ्रेममा
कति कुरीरहन्छौ
घाम र पानीको आगमन
म
दिन चाहान्छु तिमीलाई
नीलो आकाशमा
उडदै गरेको चरा
तिमीले पोत्नुपर्छ मुस्कान समयको
तिमीले फर्नुपर्छ परिभाषा सौन्दर्यको
तिब्र गतिमा आएर
हुइकिएको बेपत्ता बतासले बोले जस्तो
दिन चाहन्न
उधारो उपमा
जस्तो कि
“रोपेको छु
तिम्रो आँखामा
सपनाको संसार
छोपेको छु
तिम्रो पछयौरीले
पीडाको कुरूप अनुहार
कोरेको छु
तिम्रो हत्केलामा
युग हिडने गोरेटो ”
बरु
सम्झाउन चाहान्छु म
घरको चार दिवारभित्र
किन सिमित हुन्छौ
बटुल्दैं
बगरमा टेकेका
सम्झनाका डोबहरू
किन गनेर राख्छौ
एउटा मान्छेको उमेरभरि
कत्ति पटक अस्ताउछ घाम ?
बरु
हिडनु
छिमेकी दिदी नोरासँगै
मानिसहरूको भिडमा
एकजोर स्वतन्त्र पाइला
छाम्नु
चरालेझैं
हावामा मिसिएको
स्वछन्द अनुहार ।
(अमेरिकाको बोस्टनमा आयोजित अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव २०१० मा प्रथम स्थान हासिल गर्न सफल कविता)
(नेपाली साहित्य प्रतिष्ठान/उत्तर अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको संयुक्त आयोजनामा जुलाई ३, २०१०का दिन अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिता सम्पन्न भएको थियो । उक्त प्रतियोगिताका सदश्य सचिव श्री सुन्दर जोशीको संयोजनमा ‘प्रतियोगी र पुरस्कृत कविताहरूको विशेष प्रस्तुती ।)
बिराटनगर -१६, मोरङ,
हालः किर्तीपुर, काठमाडौं
(स्रोत : नेपालीकविता डट कम)