संस्मरण : पुरानो सन्दुक

~सरिता तिवारी~Sarita Tiwari

अचानक एक दिन जुर्‍यो संजोग, पुरानो सन्दुक छोई हेर्ने । निकैबेर त्यसलाई हेरेँ, सुम्सुम्याएँ । एकैछिनमा खै कसरी दुवै आँखाबाट नुनिला नदी बगिरहेका रहेछन् । मन अलि दह्रो बनाएपछि नदी आफैं बाँधियो बाँधले । यो सन्दुक मेरो स्मृतिको सानो आँखीझ्याल हो । बैँस त यसको उहिल्यै हो निखि्रएको तर रूप उग्लिएको पुरानो कुनै सहरजस्तो यसमा अझै बाँकी छन् केही क्लासिक सौन्दर्य । बाँकी छन् यसैसित गाँसिएर आउने केही अमिट झलक ।

यसको लम्बाइ होला करिब एकफिट र चौडाइ आधा फिट मात्रै होला । कलात्मक बुट्टाहरू, भक्तपुरे घरका झ्यालहरूको झल्को दिने सुन्दर आँखीझ्याल र बुर्जाकारमा कुँदेर बनाइएका चारवटा खुट्टा । करिब-करिब यिनै कुराको योगले बनेको छ यो सन्दुक ।

हामीसित पोखरादेखि साथ लागेर आएको हो यो । सं. २०४२ मा बसाइँ आउँदा फुलबडी भएको ट्रकको पछिल्तिर साना-ठूला दुई थान मदुस, टिनका फौजी बाकस, डोका, मान्द्रा, थुन्से, पेरुङ्गो, गौवा, स्याखु आदिसँग हजुराँले सधैँ भन्ने गरेको ‘मउलान्’ आएको थियो यो पनि । नौ डाँडा र नौ नदी तरेर आउँदा हजुराँको मन कसरी नौ चिरा परेको हुँदो हो, यसले देखेको हुनुपर्छ । तर बिचरा ! यो मूकदर्शक, यो निर्जीव वस्तु, असमर्थ छ यतिखेर ऊबेलाको ‘हाल’ बयान गर्न ।

छचल्किएको आधा गाग्रोजस्तो मनोदशामा आधा-आधा भएर हिँडेको थियो हाम्रो परिवार । कुनै युद्धभूमिबाट शरणार्थी शिविरतिर जाँदै गरेको सवारीझैँ ट्रकको पछिल्तिर हजुराँको काखमा गुडुल्किँदै आएको दिन अझै सम्झन्छु अलि-अलि । त्यही दिनको एउटा मौन साक्षी हो यो सन्दुक । हजुराँ रुँदा उहाँको आँसुका ताता थोपा आफ्ना गालामाथि तप्किएपछि झसङ्ग भएर ब्युँझिएको सम्झन्छु म । त्यो निर्मम क्षणको एक प्रत्यक्षदर्शी हो यो सन्दुक ।

दिदीहरू पहिल्यै ल्याइएका रहेछन्, सं. २०४१ को हिउँदमै र हाम्रै आफन्तकोमा बसेर स्कुल पढ्न थालिसकेका रहेछन् । हजुराँ र म झिटी-झाम्टासहित पछाडि आएका रहेछौँ ।

कारणहरू प्रशस्त थिए- आमाले त्यो शीतल हावा, चिसो पानी र हिमालको काख छोडेर आउनुमा । कुन बरियोले बाँध्नुभएको थियो कुन्नि, आमाको मन बलियो थियो, डेग नचल्ने ! हजुराँले लाख कोसिस गर्दा पनि टसको मस हुनुभएन आमा र जीवनको नयाँ अध्याय लेख्न झर्नुभयो मधेस ।

त्यसै भएर हुनुपर्छ, हजुराँ खुब मिस गर्नुहुन्थ्यो- चिसो पँधेराको पानी । खम्कामा फल्ने बयेँर्नी र ओढारेको जेठो बूढो सम्झँदै बडो मुस्किलले निल्नुहुन्थ्यो मधेसको बेस्वादको भात । पोखरा उहाँका लागि आफ्नो मुलुक थियो र मधेस थियो मुगलान । हजुराँ आफ्ना दिनहरू पोखराकै सेरोफेरामा बिताउन चाहनुहुन्थ्यो सायद । बूढीबजार, राखीडाँडा, आर्बा, तारकाङ, स्याक्लुङ, चिसङ्कु यिनै थिए उहाँको जीवनका केही अल्पविराम । तर उहाँको कमजोरी हुनुहुन्थ्यो आमा । आमालाई च्याप्नुपर्ने नैतिक जिम्मेवारीले बाँधिनुभएको थियो हजुराँ । आमाको मायामा वा भनूँ हाम्रो संरक्षण गर्ने दायित्वमा उहाँका व्यक्तिगत इच्छाको महत्त्व स्वतः कम भैदियो ।

पूर्व-पश्चिम हाइवेको एउटा किनारमा झिटीगुन्टासहित हामीलाई मिल्काएर गयो त्यो ट्रकले । अब हामी ‘मउलान्’ को जमिनमा थियौँ । त्यहाँको हावामा, पानीमा, दृश्यमा र मानिसहरूका अनुहारमा जताततै मउलान् उपस्थित थियो । ठाउँ-ठाउँमा रिल टुटेको सिनेमाजस्तो सम्झन्छु, मानिसहरू अनौठो भावमा हेरिरहेका थिए हामीलाई र अझ खासगरी हाम्रा थुन्से, मान्द्रा, मदुस, गौवा आदिलाई । यो सन्दुक पनि त्यतै कतै हुँदो हो । त्योबेला यसको अस्तित्व हुनु वा नहुनुसित खास सरोकार थिएन मलाई । बस् यो थियो, यत्ति हो ।

दिदीहरू जहाँ बसेका थिए, त्यही घरमा बस्यौँ हामी अलिदिन । त्यसपछि कोही नबसेको एउटा खाली घरमा सर्‍यौँ । त्यस घरमा भुइँतला र आँटी थियो तर दुवै तलामा गारो थिएन । अर्को प्रकारले भन्दा त्यस घरको संरचनामा अस्थिपञ्जर मात्रै थियो ठडिएको । डरलाग्दो लाग्थ्यो त्यो, दिनमा भन्दा अझ रातमा । सर्प र लामखुट्टेको भयङ्कर त्रास, गर्मीको प्रकोप उस्तै । मध्यरातमा चारैदिशाबाट कानमा ठोकिन आउने आवाजहरूका आतङ्कको झन् के कुरा ! भुइँतलामा घरमालिकका बाख्राको खोर थियो । हमेसै आइरहन्थ्यो नाकमा बाख्राको मूतको तिखो गन्ध र त्यसैको एउटा छेउमा थियो हाम्रो भान्सा ।

‘ए आँबोई ! तिम्री कान्छी नातिनीले आँटी’डी मुत्दी रै’चे । यस्ता फोहोरी मन्छेलाई एकछिन पनि बस्न दिन्नँ म । मेरो घरा’डी भोलि नै निस्क, निस्किहाल !’

कुनै म्याद, कुनै अल्टिमेटमबिना एक्कासि उर्दी लगाए घरसाहुले ।

हजुराँको मनोदशा कस्तो भयो होला त्यो बेला ? कल्पिन्छु म ।

पहाडमा पूरै गाउँकी भँडारे हुनुहुन्थ्यो हजुराँ । कत्रो मान्, कत्रो इज्जत छोडेर आउनुभएको थियो आफ्नो पछाडि । तर त्यो मुग्लान्को मरुभूमिमा उहाँको परिचय बालुवामाथि पानीको थोपा खसे जस्तरी बिलाइदियो । र यो उहाँका लागि असाध्यै निर्मम र विषादपूर्ण स्थिति थियो ।

त्यो अस्थिपञ्जर घरको आँटीबाट पिसाब गर्ने ‘अपराधी’ मै थिएँ र मेरै अपराधको सजायस्वरूप भोलिपल्टै खाली गर्नुपरेको थियो त्यो घर । हामी अब आफैंले किनेको जमिनमाथि गयौँ तर घर भने झन् बिलायकको थियो । कुनै सिकारु डकर्मीले बनाउँदा-बनाउँदै झ्यालै राख्न बिर्सिएको जस्तो थियो त्यो घर । हामीले सम्झौताको समयभन्दा अघि आइदिएर त्यस घरका मानिसहरूलाई अप्ठ्यारो पारिदिएका थियौँ । हामी दुई भिन्दै जात, दुई परिवेशका परिवार एउटै घर ‘सेयर’ गरेर बस्न थाल्यौँ तर समस्या त्यहाँ पनि कम थिएनन् ।

‘कान्छी ! जाँड खान्छस् ? ला !’

आफूले खान थालेको सिलाबरको बोटुकाको जाँड तेस्र्याउँदै भन्थे त्यस घरका बाजे । हाम्रो बैठके कचौरामा थापेर घुट्क्याइदिन्थेँ म । त्यो सानो घरको एकातिर सुँगुरको खोर थियो । अर्कोतिर कुखुराको । हजुराँका लागि यी सप्पै कुराले चिन्ता र दिग्दारी दिन्थे सायद ।

हामी पल्किन थालेछौँ जाँडमा । बूढाबाजेसित मागेरै खाने भयौँ, सान्दिदी र म । अब त अचाक्ली भो । हजुराँले आमालाई सुनाएर घोषणै गर्दिनुभो-

‘हेर् नानी ! यो च्वाँच्यो खोराँ बस्न सउतिनँ म । यी बालखीहोर्लाई पनि राउथिनँ ।’

त्यो सज्जन मगर परिवार आफ्ना सुँगुर, कुखुरा र सर-सामानसहित सरक्क बाटो लाग्दियो ।

केही समय त्यही घरमा निर्वाह गरेपछि आमाले नयाँ घर उभ्याउनुभो । म त्यही घरमा हुर्किएँ । उमेरसँगै फैलिएको मेरो सपनाको आकाश त्यही घरका कौसी र आँगनबाट देखेँ । मलाई इन्द्रेणीका सात रङ र बादलका अनौठा-अनौठा आकार देखाउने झ्याल अझै छ त्यो घरमा । अझै छ, मैले सुनेको सबभन्दा पहिलो सिलोकको गुञ्जन । अझै छन् स्वरका ती आदिम लहर र मधुर गीतहरूका फाँकी अनेक-अनेक । ती सिलोक, ती गीत हजुराँका मौलिक रचना अवश्य थिएनन् तर तिनैमा भेट्छु आज म उहाँको सजीव ध्वनि ।

हजुराँले ‘मउलान्’ भन्न छोड्नुभएको थियो तर दिक्दार लागेको बेला त्यस ठाउँलाई सम्बोधन गर्ने नयाँ शब्दको आविष्कार गर्नुभयो ‘त्यसका बाउका छाती ।’ तर खै कसरी-कसरी त्यही ‘बाउका छाती’ मा उहाँ रत हुन थाल्नुभयो । त्यसैलाई माया गर्न, त्यहीँका मानिसहरूका हृदयमा एकाकार हुन थाल्नुभयो । हजुराँसित प्रेमको सङ्लो मूल थियो, कैल्यै नसुक्ने । त्यो मूलको पवित्र पानी पिएपछि जोकोही उहाँको फिदा हुन्थ्यो । कसैले दिएको वा आफैंसित भएको कुनै पनि चीज वा खानेकुरो बाँड्न घरमा धेरै मान्छे जम्मा हुने बेला कुर्नुहुन्थ्यो । पुगेसम्म बाँड्नु र अरूलाई खुवाएर आफू तृप्त हुनु ठूलो आनन्दको कुरा थियो उहाँलाई ।

हामीले लेख्-पढ् गर्ने अवसर पाउनुमा हजुराँको भूमिका निर्णायक छ भन्ठान्छु म । हजुराँ- हाम्रो घरको लगभग स्थायी भान्से । आमाले भान्साको काम गरेको देख्नु दुर्लभ दृश्य हुन्थ्यो ।

‘जाओ, जाओ ! पड्न जाओ तिमोरू’ भन्दै धपाउनु हुन्थ्यो हामीलाई र घरका जम्मै सुसेधन्धा आफैं गर्दिनुहुन्थ्यो ।

लेख्-पढ्बाहेक गोठालो जानु, खेतको काम गर्नु वा घाँस-दाउरा गर्न जानु, पानी ओसार्नु आदि हुन्थे हाम्रा काम । अँ, शनिबार-शनिबार लुगा धुने काम पथ्र्यो हामीलाई । बाँकी जम्मै काम धानेर समेल्नुभएको थियो हजुराँले घर ।

हजुराँ कामधेनू गाई हुनुहुन्थ्यो तर हामी थियौँ गाईको जात नचिन्ने उद्रकेश । हामीले हजुराँलाई नजानेर धेरै दुःख दिन्थ्यौँ । घुर्की लाई-लाई सताउँथ्यौँ । उहाँको मायालाई नाप्ने र जोख्ने धृष्टता गथ्र्यौं । यस्तो सम्झिएर मन ग्लानिले भरिन्छ । अपराधबोध हुन्छ ।

दाइ काठमाण्डू बसेर पढ्नुहुन्थ्यो । कैलेकाहीँ मात्रै आउनुहुन्थ्यो । दाइ आउँदा हजुराँको व्यस्तता बढ्थ्यो एकाएक । दाइलाई मन पर्ने खानेकुरा पकाउँदा उहाँको प्रफुल्लता घरभरि फैलन्थ्यो इन्द्रकमल फूलको सुगन्धजस्तो । दाइका लागि तयार भएका पकवान हामीले पनि खान पाउँथ्यौँ । तर केटाकेटीको बुद्धि न हो, म ठान्थेँ, ‘हजुराँ, हाम्लाई हेलाँ गर्नुहुन्छ । दाइको मात्रै मनपर्ने कुरामा ध्यान दिनुहुन्छ । दाइलाई मात्रै माया गर्नुहुन्छ, हाम्लाई गर्नुहुन्न’ आदि । दाइ आ’को बेलामा मीठा-मीठा खानेकुरा पाक्ने भान्सामा अरू बेला सामान्य कुराहरू मात्रै पाक्थे । यस कुरामा मेरो ठूलोे आपत्ति थियो । दाइले चाडपर्वमा आएर नखाइदिएको पकवान हजुराँका लागि विषबराबर हुन्थ्यो । खीर, खिचडी र फुरौला खान पनि दाइ नै चाहिने ! दाइ नआई कथम्काल पकाइहाले पनि त्यो चीज खान उहाँलाई कुनै उत्साह नजाग्ने ।

यस कुरालाई लिएर विद्रोह गर्ने मनस्थितिमा पुगेँ म एकपल्ट । विद्रोह त गर्ने तर कसरी ? एउटा जुक्ति आयो र जुक्तिमुताविक बनाएँ योजना । केही न केहीगरी निहुँ खोज्नु थियो मलाई ।

गोठको एउटा छेउमा जाँतो, ढिकी आदि थिए । हजुराँ केही निफन्दै हुनुहुन्थ्यो जाँतोनेरै बसेर ।

‘हजुराँ !’ -नजिकै बसेर साखुल्ले हुँदै बोलाएँ मैले ।

मेरो मुखतिर हेर्दै नहेरी बोल्नुभयो- ‘हई !’

उहाँका नजर नाङ्लामै गाडिएका थिए ।

‘एउटा कुरो सोध्चु तपैँलाई, रामोरी सोचेर भन्नु है ?’

हजुराँ केही बोल्नुभएन । केही बोल्नुहुन्छ कि ! पर्खेर हेरेँ । अहँ, हजुराँ चुप् ।

‘एउटा कुरा सोध्चु भनेको के, सुन्नु न !’    -म झन्डै चिच्याएँ ।

‘ल, ल भन् के कुरा हो ?’

‘पैला त्यो नाङ्लो भैँमा राख्नुस् अनि !’    -मैले सर्त राखेँ ।

उहाँले त्यसै गरेर मतिर हेर्दै प्रश्नको प्रतीक्षा गर्नुभयो ।

‘तपैँलाई हामी चारजना (दाइ, दुई दिदी र म) मा सबभन्दा धेरै कसको माया लाउँच भन्नोस् न ?’

‘तिमोरू सप्पैको लाउँच नि !’ सामान्य भावमा आयो हजुराँको उत्तर ।

‘सप्पैको त लाउँच तर अलिकति भए’नि बढी माया कस्को लाउँच भनेको के ?’

मैले हजुराँलाई सङ्कटमा पार्न थालेँ । उहाँ अनेक गरेर तर्कन खोज्नुभयो तर म माने पो ! कसैगरी मैले उम्किन नदिएपछि हजुराँको मुखबाट निस्कियो त्यो शब्द जसलाई क्षेप्यास्त्र बनाएर म उहाँको मुटुमै प्रहार गर्नेवाला थिएँ ।

‘दाइकै लाउँच नि बा !’

उहाँले यत्ति भनिनसक्दै मलाई पुगिहाल्यो ।

‘तपैँले नाति र नातिनीलाई भेदभाव गर्नुन्च, छुट्याउनुन्च । अब हाम्ले किन माया गर्नुपर्‍यो ? दाइलेई मान्नुन्च तपैँलाई माया । हजुराँ भ’र नाति र नातिनीलाई भेदभाव गर्नी ?’ आदि-आदि ।

म जे भन्न चाहन्थेँ, सो भनेँ । यति भनिसकेपछि मलाई खुब आनन्द आयो । तर सायद हजुराँ घोप्टी परेर निफन्दै रुँदै हुनुहुन्थ्यो चुपचाप । मचाहिँ विजयको उन्मादमा कुन्नि कतातिर लागेँ ।

म सानै थिएँ तर त्यति सानै पनि होइन जसको दुर्वाच्य सहजै पचाउन सकियोस् । छोरा र छोरीमाथि लिङ्गका आधारमा हुने फरक व्यवहारबारे चेतना पस्दै गरेको किशोरी उमेर थियो । त्यही चेतनाको उपज थियो । हजुराँलाई त्यस्तो गम्भीर आरोप लगाउने दुस्साहस ।

अहिले सम्झन्छु, दाइ काठमाण्डू बसेर रूखोसुखो खाँदै पढ्ने विद्यार्थी हुनुहुन्थ्यो । हामी घरको दूध, दही, मोहीमा डुबुल्की मार्दै हुर्केका थियौँ । हामी हजुराँको हातले परिपाठ पारेर पकाएको खाना खान्थ्यौँ सधैँ । तर दाइलाई यस्तो अवसर वर्षमा दुई/चार दिन मात्रै उपलब्ध हुन्थ्यो ।

त्यसमाथि अर्को गूढ कुरा थियो । हजुराँ दाइलाई आफ्नो मायाले, प्रभावले आफूसित बाँधिरहन चाहनुहुन्थ्यो । कारण थियो- कालान्तरमा आफ्ना हात-पाखुरा बसेको दिन नातिबाट पाइने रेखदेख र सम्मानको आशा । र अवश्यै त्यो हजुराँका आँखाबाट हेर्दा गलत कुरा थिएन । पितृसत्तात्मक मनोविज्ञानबाट आजको सभ्य र शिक्षित भनिएको समाज त मुक्त हुन हम्मे-हम्मे परिरहेको छ भन्देखि हाम्री हजुराँ पुरानो समयकी अपठिता, त्यसमाथि छोरीसित बसिरहेकी वृद्धा हुनुहुन्थ्यो ।

हजुराँले निकै चित्त दुखाउनुभयो यस कुरामा । धेरै दिनसम्म चुपचाप बस्नुभयो । तर खै किन ? ममा उहाँसित माफी माग्ने अक्कल आएन । अहँ मागिनँ मैले माफी ।

अलि वर्षपछि कोही आफन्त आउँदा हजुराँको बह पोखियो यसरी- ‘टुहुरा नाति-नातिनी बाटाका बुर्की होलान् भनेर गुनियाँका मुजामा पोको पार्दै हुर्काएँ । क्यार्नी, अइले तिघ्रा हाले’सी यिनैले वचन लाउँचन् । मनमा ठेस लाउँदो र’च । घू-मूत सोहोरेर कत्रा दुःखले हुर्काका यी नाति-नातिनी छोडेर कता जाँ ? यिनले मया मान्दिनम् भने’नि यिनैको मया लाउँदो र’च !’

त्यतिखेर पनि कस्तो-कस्तो शरमजस्तो लाग्यो । र अपराधबोधले उत्तिखेरको उत्तिखेरै दिनको उज्यालो पनि झ्याप्पै रात परेजस्तो भयो । मैले भन्नै सकिनँ- ‘हजुराँ, ऊबेला त मैले नबुझेर पो त्यसो भनेको । अब त भन्दिनँ नि ! म तपैँको दुःख र बलिदानको मूल्य बुझ्ने भएकी छु । म अज्ञानलाई माफ गर्दिनोस् न है ?’

सकिनँ मैले यसो भन्न ।

——

सं. २०६३ सालको भदौ ४ गते, हजुराँ भरतपुर अस्पतालको इमर्जेन्सी वार्डमा हुनुहुन्थ्यो । दाइ, दिदीहरू सप्पै पोखरा थिए । हामी चितवनमा नै भएकाले थाहा पाउनेबित्तिकै पुगेका थियौँ ।

गाउँका आफन्तसहित आमा पनि हुनुहुन्थ्यो त्यहाँ ।

अमरापुरीको हाम्रो घरमा अब आमा र हजुराँ मात्रै हुनुहुन्थ्यो बाँकी । हामी त खुट्टा लागेर आफ्ना-आफ्नै दुनियाँ बसाउन हिँडेका थियौँ । अचानक सिकिस्त हुनुभो हजुराँ । छरछिमेक, आफन्त सबैको कुरो एउटै थियो, ‘हात्तीपाइले औषधिको रियाक्सनले यस्तो भएको ।’

सरकारको आफ्नै नीति भएकाले होला, सरकारी अस्पतालका डाक्टरहरू फिटिक्कै तयार भएनन् त्यसलाई औषधिको गम्भीर साइड इफेक्ट मान्न ।

हजुराँ पीडान्त पीडामा बर्बराइरहनुभएको थियो, ‘ए बाबु ! मलाई फूल’ओ बुटामुनि लैदेऊ, फूल’ओ बुटामुनि … ।’

मैले सम्झिएँ- घरअघिल्तिरको ठूलो गुलमोहरको रूख । सम्झिएँ- सिँदूरे रङ्को गलैँचा ओच्छ्याए जसरी भुइँमा त्यसका फूलहरूले रङ्गिने हाम्रो मूल बाटो र आँगन ।

महेन्द्र हाइवेको किनारैमा सडक विभागले रोपेको बोट थियो त्यो । त्यसको छेवैमा हाम्रो घरतिर जाने सानो पुल जुन अझै छ । हजुराँ त्यैँ बस्नुहुन्थ्यो एक्लै हुँदा । कतैबाट कोही आउँछ कि ! भन्ठान्दै । तर कोही आइहाल्ने सम्भावना यदाकदा मात्रै हुन्थ्यो । ओहोर-दोहोर गर्ने गाउँलेहरूसित खै खबर गर्दै बस्न हजुराँको पि्रय ठाउँ थियो त्यो ।

हजुराँको मन फूलको बोटमुनि पुगिसक्यो । इन्कार गर्न चाहन्थेँ म सत्यको अनुहार हेर्न । कदाचित् मान्न चाहन्नथेँ हजुराँ वर्तमानबाट भूत हुँदै हुनुहुन्छ भन्न ।

हजुराँ ‘बाबु ! बाबु !’ भन्नुहुन्थ्यो ।

त्यो पुकार दाइका लागि थियो तर दाइ आइपुग्नुभएको थिएन । मिनरल वाटरको बिर्कोले पानी ख्वाइरहन्थेँ बेला-बेला म ।

‘ए बाबु ! तिमी काँ छौ ?’ आर्तनाद गर्दै चिच्याउनुहुन्थ्यो हजुराँ ।

घरी-घरी जुरुक्क-जुरुक्क उठ्नुहुन्थ्यो । उहाँको पिसाब पोलिरहेको थियो भत्भती । चुकजस्तो बान्ता, चुकजस्तै थियो पिसाब । घरी मूच्र्छा परेजस्तो, घरी बौरिएजस्तो भइरहन्थ्यो । यो असाध्य पीडा थियो तर म ठान्थेँ हजुराँलाई निको हुन्छ ।

हजुराँ फेरि उसैगरी हरियो रङ्को चौबन्दी, खरानी रङ्को फरिया र सेतो मलमलको पछ्यौरा ओढेर आफ्नै अन्दाजमा चप्पल पिट्पिट् पड्काउँदै हिँड्नुहुनेछ जीवनको अझै केही बाटो ।

भोलिपल्ट भयो ।

हजुराँको ‘बाबु’ आइपुग्नुभएन तर उहाँको पुकारा भने वार्डभरि गुन्जिन्थ्यो घरीघरी ‘बाबु-बाबु !’ बिहानको खाना खानेबेला टरिसकेको थियो तर खाने मन कहाँ हुनु !

‘कान्छा, तिमोरू भोकै भयौ, जाऊ खाना खा’र आऊ ।’

आमाले यसो भने पनि म अटेर गरेर हजुराँको बेडमा टाँसिइरहेकी थिएँ ।

‘हजुराँलाई सञ्चो हुन्छ अनि खाम्ला’ मनले भन्थ्यो । आखिर आमा पनि भोकै त हुनुहुन्थ्यो । त्यसबेला मलाई लाग्यो, भोक भन्ने कुरा पनि सामान्य अवस्थामा मात्रै लाग्दो रै’छ । असामान्य अवस्थामा भोकभन्दा अर्थोकै कुराले पोल्दोरै’छ मान्छेको पेट ।

अचानक हजुराँले मलाई च्याप्प समाउनुभो र चिच्याउनुभो- ‘कान्छा ! मलाई फूल’ओ बुटामुनि लैदे न !’

दाइ आउनुभएन भन्ने बुझ्नुभयो वा आफ्नो छेउमा मलाई नै लगातार देखिरहेर हो हजुराँले मलाई सम्बोधन गरेर फिराद गर्नुभयो । यही नै मैले सुनेको उहाँको अन्तिम वाक्य भयो आखिर ।

‘म लान्चु हजुरलाई फूलको बुटामुनि ।’ यतिमात्रै भन्न सकेछु मैले र गम्लङ्ग अँगालो हाल्न पुगेछु ओच्छ्यानमा पल्टिरहेकी हजुराँलाई । हामी नातिनी-ज्यामाका आँसुले एक-अर्काका गाला लछप्पै भएछन् ।

त्यसपछि मैले अन्तिमपल्ट पानी ख्वाएँ हजुराँलाई ।

आमाले कसैगरी दीपेन्द्र सरलाई अनुरोध गर्नुभएछ ।

‘तिमीले खाना नखाएर हजुरआमालाई सन्चो हुने होइन । हिँड, खाना खाऊँ !’

पतिको मायालु आग्रहका अगाडि कति सजिलै कमजोर भएछु म । खाना खाएर फर्किंदा आमा प्यासेजमा चुपचाप उभिरहेकी देखेँ । भित्र वार्डमा हेरेँ । हजुराँको मुखमा अझै थियो अक्सिजन मास्क । इमा दिदी थिइन् छेवैमा ।

‘के भयो दिदी ? ठीकै छ ?’

‘हजुराँ गइसक्नुभयो,’    दिदीले भनिन् ।

मेरा आँखा डब्डबाए । ओँठ थर्थराए । थचक्क बसूँ, बाहिर जाऊँ, घ्वाँघ्वाँ गरेर डाँको छोडी-छोडी रोऊँ कि के गरूँ ?

मैले यति नजिकको मानिसको मृत्यु भोगेकी थिइनँ । बाहिर गएर आमाको छातीमा टाँस्सिएर भक्कानिँदै रोएछु । तर आमा भने निष्पृह हुनुहुन्थ्यो, शान्त र सामान्य ।

‘मेरी आमा मोर्नु भ’को हो । तेरी आमा त ज्युँदै छु । नरो !’ आमा कड्किनुभयो । म चुप् ।

नियतिले आमालाई ढुङ्गा बनाइदिएको थियो उहिल्यै । जीवनका ठूल्ठूला वज्रपात पनि सायद सामान्य कुरा भइसकेका थिए आमाका लागि । आँसु खिँचेर भित्रै फर्काउने असफल प्रयत्न गरिरहेँ निकैबेर ।

आखिर हजुराँलाई फूलको बोटमुनि लैजान दाइ आइपुग्नु नै भएन । उहाँको निर्जीव शरीर लिएर आमासित घर जाँदा बाटोमा भन्ठानेँ कि मेरो किशोरकालको बच्काना प्रहारका लागि उहाँको अन्तरमनले क्षमा दिइसकेको छ मलाई ।

यस्तो ठान्दा मलाई एउटा अनौठो सुखबोध भयो । छातीका कुना-कुनासम्म पुग्ने गरी फैलिए त्यो अनुभूतिका मसिना तरङ्ग ।

घर पुग्दा फूलको बोट त्यहीँ थियो, उसैगरी उभिरहेको । मानौँ, उसले पनि हजुराँलाई नै पर्खिरहेको होओस् ।

——

आमाले बनाएको उही काठे घरको आँटीमा छु म । धेरै दिनपछि आएकी हुँ आमाको घरमा ।

यसपल्ट उक्लिन मन लाग्यो आँटीमा र पसेँ यो भित्री कोठामा । फलेकहरूले बारेको यो कोठा कुनैबेला हाम्रो ‘मास्टर बेड रुम’ थियो । यही कोठाको भित्तामा मैले चकले लेखेकी रहेछु अङ्ग्रेजीमा, ‘प्रोमिथियस पेन आइ बियर/विद् टियर अन टियर/एट अ सङ अफ् जोय मस्ट रेइज/माइ गड टु प्रेइज ।’

यी पङ्क्ति महाकवि देवकोटाका हुन् कि जस्तो लाग्छ । एसएलसी दिएर बस्दा लेखेँ कि ?

म पो छैन । हामी कोही छैनौँ तर भकारी, डाला, डोका, आदि अझै छन् यहाँ- उदास र चुपचाप । हिजोको रङ्गीन वर्तमान आज कसरी श्यामश्वेत अतीत बनिदिएको छ यो एक-एक देखेका छन् यिनले तर भन्न सक्तैनन् ।

नजिकै काठको बाकस छ, जुन पहाडबाट ल्याइएको एउटा मदुस भत्काएर बनाइएको थियो किताबहरू राख्न । त्यसभित्र हुन्थे जिल्द च्यातिएका वा उग्लेका अङ्ग्रेजी र हिन्दीका किताब । माक्र्स, लेनिन र माओका सङ्कलित रचना र विचारको बायाँ पाखो चिनाउने साहित्यिक किताबहरू पनि । घोषणा, मिर्मिरे, कादम्बिनी नामका केही पत्रिका पनि हुन्थे । कसले होला तेत्रा किताब र पत्रिका जम्मा गरेको ? बाले कि दाइले ? मलाई साहित्यप्रेमी बनाउने अमुक प्रेरणा सायद यिनै किताब र पत्रिकाहरूले दिएका हुन् ।

बाकस नजिकै छ, आफ्नो ‘क्लासिक ब्युटी’ सहित टुक्रुक्क भुइँमा बसिरहेको सन्दुक । त्यसलाई छुन मनलाग्यो । छोएँ । वर्काइ-फर्काई हेर्न मनलाग्यो, हेरेँ । एउटा खुट्टाको केही भाग मुसाले

खाइदिएछ । माकुराको जालो पनि लागेको रहेछ प्रशस्तै । सफा गरेँ ।

यो हजुराँको थियो । मलाई यसबारे योभन्दा बढी थाहा थिएन । हजुराँले के-के राख्न प्रयोग गर्नुहुन्थ्यो म सम्झन्नँ । तर उहाँको सिरानीनेरै हुन्थ्यो यो, सम्झन्छु ।

हजुराँको त्यो पि्रय वस्तु अहिले बेवारिसजस्तो बनेको छ । म यसलाई यसरी सुम्सुम्याउन थाल्छु-  मानौँ, हजुराँका मुजा परेका बूढा गालाहरू वा नसा-नसा देखिने हातहरू सुम्सुम्याइरहेकी होऊँ । मलाई निमेषभरका लागि हजुराँसितै छु जस्तो लाग्छ । हजुराँको सास नजिकै, गन्धनजिकै ।

सन्दुकबारे आमालाई सोधेँ । ‘कम्तीमा सय वर्ष पुरानो हुनुपर्च यो ।’ आमाको अनुमान हो, नमिल्न पनि सक्छ ।

आमाले सुनेअनुसार यो आमाका जिबाले बर्माबाट ‘नेपाल’ हुँदै र्फकंदा ल्याउनुभएको हो रे । हाम्री बूढी ज्याँवै उमेरैमा बर्मामै बितेकी । सासू नभए पनि ससुराका हातबाट गरगहना राख्ने प्रयोजनका लागि पाउनुभएको रै’छ हजुराँले । उहाँले यसलाई खुब प्रेमले, खुब जतनले राख्नुभो । पछि-पछि हाम्रै लागि सिद्धिए हजुराँका गहना अनि सायद गहना राख्नकै लागि यो आवश्यक परेन । पोखराबाट यता आउँदा यसको ढक्कन कतै छुट्टयिो र बुच्चो देखियो यो । तैपनि हजुराँको माया घटेन यसमाथि । उहाँलाई हामीले यो छोएको, चलाइदिएको अलि मन पर्थेन । सो, हामी चलाउन्नथ्यौँ पनि ।

तर मन भरिने गरी छोइदिएँ मैले यसपालि । छाती रुझ्ने गरी, उभिएको माटो पनि भिज्ने गरी चलाइदिएँ । हजुराँसितका हार्दिकता र ग्लानिका जम्मै स्मृति जीवित भएर चलायमान भएका छन् आँखामा । म उभिएकी छु जीवनका ज्ञात-अज्ञात गल्तीका लागि फेरि एकपल्ट याचनाको मुद्रामा यही सन्दुक अघिल्तिर ।

आँखा चिम्म गरेर हेर्छु आफूभित्र, हजुराँ सौम्य र शान्त भावमा उज्याली भएर मुस्कुराइरहनुभएको छ ।

प्रकाशित: वैशाख २६, २०७१

(स्रोत : कान्तिपुर – कोसेली)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.