लेख : ‘नेपालीपन’ Vs ‘नेपाली पारा’

~मनोज गजुरेल~Manoj Gajurel

केही वर्षअघिको कुरा हो, सिक्किममा पवन चाम्लिङ्को पार्टीले नेपाल/भारतका कलाकारको ‘जम्बो’ टोली लगेर एउटा कार्यक्रम गर्‍यो। कार्यक्रममा ‘कलिउड कलाकार’ जितु नेपाल ‘मुन्द्रे’ देखि ‘बलिउड कमेडियन’ राजु श्रीवास्तवसम्मलाई बोलाइएको थियो । रमाइलो कुरा त, राजु श्रीवास्तव हेलिकप्टरमा पुगे भने जीतू नेपाल गाडीमा ! राजुको सुरक्षा विशेष प्रकारको थियो भने जीतु नेपाल एक्लै बिन्दास देखिन्थे ! अर्को गज्जब कुरा, कार्यक्रममा जितुले जति पारिश्रमिक पाए, राजुले त्यसको सयौं गुना बढी लिए। अंक उल्लेख नगरौं, तर नेपाली र भारतीय कलाकारले पाएको त्यो ‘फिगर’मा यति अत्यासलाग्दो अन्तर थियो कि, यो सुन्दा चसक्क चित्त दुख्दथ्यो!

मैले जितुलाई भनेको थिएँ- ‘भान्जा, हाम्रो कलाकारिताको बजार नै सानो छ । तर, अबको १० वर्षमा हामी पनि ‘बलिउड’को जस्तै संसारभरीका नेपालीहरुबीच फैलिनेछौं। हामी पनि विदेशमा ‘फुच्चे हलहरु’मा हैन, सुविधासम्पन्न ‘स्टेडियम’हरुमा शो आयोजना गर्न सक्नेछौं। अन्तर्क्रिया कार्यक्रमहरु साँघुरा रेष्टुरेण्टहरुमा हैन, आफ्नै ‘नेपाली कम्युनिटी सेन्टर’हरुमा गर्न सक्नेछौं । तर,त्यसका लागि हामी कलाकार र गैर आवासीय नेपालीहरुमा ‘नेपालीपन’ र ‘नेपाली मन’को विकास हुन जरुरी छ ।’

नभन्दै अहिले हामी त्यो संभावनाको संघारमा उभिएका छौं। उनै जितु नेपाल केही अघिमात्र आयरल्याण्डमा मनोरञ्जन दिन पुगेका थिए, लोकगायक रामजी खाँड र गायीका मुना थापा लण्डनबासी नेपालीलाई नंचाएर हिजोमात्रै नेपाल पुगे । यसै साता बद्रि पँगेनीले हङ्कङ्का नेपालीलाई भरपुर हँसाए । यता निर्देशक केपी पाठक फिल्म ‘मैना’ देखाउँदै यूरोप घुम्दैछन् भने कोमल ओली र मनोज गजुरेल अहिले बेलायत र जर्मनीका नेपालीहरुलाई हँसाई रहेकाछौं, नचाई रहेकाछौं । थप, थुप्रै नेपाली कलाकारहरु परदेसिएका नेपालीहरुलाई मनोरञ्जन दिन जाँदैछन् वा जाने तरखरमा छन् ।

यसको अर्थ, अहिले नेपाली कलाको बजार बिदेशतिर पनि फैलिंदैछ । यो विस्तारलाइ हामी कलाकारले अर्थोपार्जनको बाटोमात्र ठान्ने हैन, नेपाली कलाको संबर्धन र प्रर्बधनको रुपमा मान्नु हेर्नु पर्दर्छ, ‘आयोजक’हरुले पनि कलाकारलाई ‘इन्टरटेनर’को रुपमा मात्र हैन, अन्तराष्ट्रिय नेपाली समाजको ‘साँस्कृतिक दूत’को रुपमा पनि उपयोग गर्न जान्नु पर्दछ । मेची-महाकालीभित्रको ‘देश’सँगै संसारभर फैलिएको नेपाली ‘राष्ट्र’लाई जोड्ने दायीत्व पनि कलाकार र गैह्र आवासीय नेपालीहरुको नै हो ।

प्राय: म भन्ने गर्दछु, ‘नेपालीपन’ भन्नु भाषा, भेष र संस्कृतिमात्रै हैन- स्वाभाव पनि हो । अभर परेकाहरुलाई भरथेग गर्नु, अप्ठेरोमा भएकाहरुलाई सहयोग गर्नु, अरुको खुशीमा सहभागी बन्नु, दुखमा संवेदनशिल हुनु, अग्रजलाइ आदर, सानालाई माया गर्नु, बाँडेर खाँनु, ठगेर नखानु आदी ‘नेपालीपन×’हरु हुन् । देशका सिमानाहरु जोडिन्छन्, टुट्छन्- तर भाषा, संस्कृति र संस्कार अमर रहन्छ । कुनै ‘जाती’ वा समाजको पहिचानलाई युगौंयुगसम्म पनि जोगाई राख्ने पनि यही ‘आफ्नोपन’ नै हो ।

संसारको जुनसुकै कुनामा तपाईं हामीले चाहेरपनि ‘नेपालीपन’ छोड्न सक्दैनौं । तर एउटै चिज छ, जसले हाम्रो ‘नेपालीपन’लाई सिध्याउन सक्छ- त्यो ‘नेपाली पारा’ ! ‘पन’ र ‘पारा’को दुई बिपरित ध्रुव हुन् । ‘पन’ त्यो हो, जसले मन जोड्दछ । ‘पारा’ त्यो हो, जसले सारा समाजलाई सिध्याउँछ । परदेशको नेपाली समाजले पनि केही ‘नेपाली पारा’ सुधार्ने हो भने सुनमा सुगन्ध हुनेथियो । सानो उदाहरण, अहिले हामी ‘ओली’ र ‘गजुरेल’ बेलायतमा छौं- ‘तमु धिं, युके’को निमन्त्रणामा । जातीय संस्कृतिको संरक्षण गर्न गठित यस्ता संस्थाहरुले यसरी सबैलाई जोडनु सक्नु नै ‘नेपाली पन’ हो । ज्ञात होस्, यो ‘नुनको सोझो’ हैन, सोझो मान्छेलाई बुझ्ने कुरो पनि यही नै हो ।

भोलि धिरज राई वा रेस्मा सुनुवारलाई कुनै गैह्र राई संस्थाले निमन्त्रणा गर्यो भने देशका लागि त्यो भन्दा राम्रो शन्देश अरु हुने छैन । दुनियांले भन्नेछन्, फलानो जातिको संस्थाले आफ्नो भाषा संस्कृतिकोमात्रै कुरा गर्दैन है, सिंगो नेपाली समाजलाई एक बनाउन पहल गरिरहेको छ !

बिदेशमा बिभिन्न ‘पार्टी’का मोर्चाहरु पनि छन् । तिनको उद्धेश्य ‘अरु’को बिरोध गर्ने र आफु आफु संगठित हुनेमात्र हैन, ‘अरु’लाई पनि प्रभाव पार्ने र आफुतिर आकर्षित गर्ने खालको हुनु पर्दछ । अबको मान्छे किताबी सिद्धान्तलेमात्रै आकर्सित हुंदैन, ब्यवाहारका आधारमा नजिक वा टाढा हुने गर्दछ । बिदेशमा बिभिन्न जिल्ला र क्षेत्रका आधारमा खुलेका सामाजिक संस्थाहरुको काम आफ्नो ‘सर्कल’ बटुलेर ‘वीक इन्ड’मा ‘बिबिक्यू’ गर्नेमात्र हैन, छरपष्ट नेपाली ‘सर्कल’लाई एकत्रित गर्ने पनि हुनु पर्दछ । देशको ‘बर्षे च्याउ’ संस्कारको सिको गर्दै विदेशमा पनि परेको ‘बर्खे प्रभाव’लाई यति अनुरोध गरेर मैले गल्ती गरेको भए ‘सरी’ भनौंला, सही भए ‘सुधार’ गर्न पर्ला ! कसो ?

This entry was posted in लेख and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.