~रामनाथ घिमिरे~
म आमाले घाँसको भारी बिसाउन नपाउँदै
मलखादमा जन्मीएको मान्छे ।
मैले जन्मीने साथै माटो स्पर्स गरे
तिमीले, भुवादार विदेशी सेन्टयुक्त मलमल
मेरो शाल घाँस काट्ने हसिँयाले काटियो
तिम्रो धार युक्त पत्तिले
तिमी र म जन्मिँदाको चित्कार नै फरक छ
तिमी सबै मानिस समान छन् भन्छ्यौ
म त हाम्रो जन्म मै ठुलो अन्तर देख्छु ।
तिमीले कलम खेलाउदाँ
म हसिँया र कुटोसंग खेल्थे
तिमी बाल उद्यानमा रमाउदाँ
म जंगलमा गाईबाख्रा संग रमाउथे
तिमीले कापीमा अक्षर भर्दा
म घाँसले डोको भर्थे
तिमी र मेरो जिवनको आरम्भ नै फरक छ
तर तिमी सबै मानिस उस्तै हुन भन्छ्यौ
म त तिमी र म बीच नै ठुलो अन्तर देख्छु ।
तिमीले जहाज देख्दा
मैले हलो देखेको हुनुपर्छ
तिमीले पाईलट बन्ने सपना देख्दा
मैले हली बन्ने सपना देखे होला
म माटोसंग मित लगाएर हुर्केको मान्छे
तिमी चिल्ला सडक र आलिसान महलसंग
तिमी पिजा बर्गर र स्याण्डवीज मन पराउने मान्छे
म मोही मकै र रोटी
तिमी अझै सबै मानिस उस्तै हुन भन्छ्यौ
कसरी सम्झाउ तिमीलाई ,
हामीबीचको फरक
म सडक छेउमा हिड्दा तिमी चढ्ने मोटरको
धुवा र धुलोले लपेटिएको छु ।
तिमीले चढ्ने गाडिमा
मेरो पसिनाका केही अंस छन्
तिम्रा बाले पिउने ह्स्किी र रेड लेवलमा
मेरा बा—आमाका आँसुको केही अंस छ
तिमी त्यसो कसरी हुनसक्छ भन्छ्यौ
खै के भनौ मत साधारण मान्छे,
तिमी मलाई हेछ्यौ र
सबै मानिस समान छन् भन्छ्यौ
म त तिमी र म बीच नै ठुलो
अन्तर देख्छु ।
बस् यत्ती हो
तिमी मुखले दुनियाँ समान छ भन्छ्यौ
म यो दुनियाँमा विभेदै विभेद देख्छु ।
रहुन्जेल राम
(स्रोत : Topnepalnews)