~योगेन्द्र काउचा~
ए खहरे
बेफुर्सदी मान्छे तँ
मौसमी राग त उराल्नै पर्यो
आफू भित्र हेर्नु छैन
अरूलाई टेर्नु छैन
बाटो किन चिन्नु पर्यो
जता जता सोंर्याक पर्यो
उतैउतै दौडे भैगो
किन आँखा खोल्नु पर्यो
अन्धो को हात्ती भए पुगिहाल्छ
नूनमा ढुंगा मिलाए नि
चामलमा बियाँ मिसाए पनि
बाघसँग बाख्रा हिँडाए पनि
धेरै त हुन्छ पक्कै
राता र सेता वाहियात पो त
भेल त हुनै पर्योे
के काले के गोरे
अगाडि उभिए भैगो
के घूसखोरी
के हत्यारा
के दरबारिया
क्या मजा
सबै सारथी महान यात्राको
लिएर हिंड्न पाए भैगो।
ए खहरे
तेरा हुलका सारथीहरू,
जिउँदो लास पो त
चिसोले सुन्याएको रोगी पो त !
निमोनियाले गलाएको बालक पो त !
तँलाई के थाहा?
अँध्यारो भित्र
उज्यालो खोज्नेहरूको कथा
बेमौसमी यात्राको कथा
हूलसँग नझुक्नेहरूको कथा
क्षितिज उघार्नेहरू कथा
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ३८ – २०६७ श्रावण २६ गते , बुधबार)
