कविता : भेडेटारको पिक्निक

~उपेन्द्र सुब्बा~Upendra Subba_1

हजुरको भक्तिप्रताप…
प्रचण्ड गर्मी छ भानुचोकमा
सडक तातेको छ, नारा–जुलुसले
उफ !
घाँटी सुकेर हैरान छ, पानी छैन ।

चिसो बियरले तालु छम्काउँदै
रामायणले मुख हम्काउँदै
कति बस्नुहुन्छ यो चोकमा ?
छोड्नोस् बाजे भक्ति–शक्ति !
जाऊँ आज पिक्निक माथि…
भेडेटारमा आज कति शितल होला ?

कति खानु धरानको कालो बंगुर मात्र
आज बिन लादेनको मुटुसँग
जर्ज बुसको कलेजो भुटेको अलिकति
सद्दामको कान पोलेर
अकबरे खोर्सानीमा मोलेको अलिकति
– मार्क्सको अण्डा
– हिटलरको गिदी, जिब्रो
– ब्रिट्नी स्पेयरको मुत एक बोतल
बाजेलाई विशेष–
पक्चानाको आलो दूध तात्तातो एक गिलास
भेडेटारमा, पिक्निक कति रमाइलो होला ?

– यी मोटरहरुको प्वँ… प्वँ
– यी रिक्सा, साइकिलहरुको किरिङकिरिङ…
– यी खलासी भाइहरुको उपद्रो चिच्याइ…
दिक्क लाग्दैन ?
जाऊँ–
चाल्र्सटावरको माथिल्लो टावरमा बसेर
तल मधेसको निला फाँटहरु हेर्नू
माथि लहरै जोल्ठेर बसेका पहाड, हिमालहरु हेर्नू
अल्सी लाग्यो भने
तरुनीको फिला सिरानी लगाएर
माथि आकाशको लाज हेर्नू
र, खुसुक्क तरुनीको कानमा भन्नू–
‘हेर त, आकाशले कट्टु नलाएको…’
साँच्ची बाजे !
भेडेटारमा पिक्निक कति रमाइलो होला ?

एकैछिनलाई मागेको साथीको भटभटे
पछाडि चढाएर आफ्नो नपर्ने भाउजू
घ्याच्च…घ्याच्च…घरिघरि ब्रेक !
बारबार हम्प्स नहुँदाको रिस
बाजे, भेडेटारको ओरालो कति रमाइलो होला ?

हजुरको भक्तिप्रताप
प्रचण्ड गर्मी छ भानुचोकमा
सडकको अलकत्रा पग्लिएर बग्लाजस्तो
उफ् !
भेडेटारमा यतिखेर कति शितल होला ?

(स्रोत : Esamata)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.